site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्धडको टिकुला
Ghorahi CementGhorahi Cement

साँझ हुँदै थियो । कोठा फर्कन वाग्मती पहेँलो पुलमा ओर्लिएको मात्रै थिएँ, अन्धड बिहाइरले वेग मार्यो ।

सडकको दुवै लेनबाट गाडीहरू तुफानी गतिमा ओहोर–दोहोर गर्दै थिए । पारि जानै गाह्रो भयो । म अन्धड (हुरी)मै रुमल्लिएँ । तत्काल त्यहीँ अभिनुबाहेक अरू केही गर्न सकिनँ ।

अन्धडको वेगमा गाडी, मोटरसाइकल सबै चाँडोभन्दा चाँडो घर पुग्न चाहन्थे । सहरमा सबै हतारमा रहन्छन् ! त्यत्तिकै हतार सडकमा पनि थियो । त्यस्तोमा गाडीको गति कम हुने सोच्न सकिने कुरै थिएन ।

Agni Group

हामी पैदलेलाई हुने हतारोको अर्थ कहाँ रहन्छ र, त्यस्तो समयमा ! सायद, अन्धडभन्दा तीव्र गति गाडीहरूको थियो ।

अन्धडको वेग नाप्ने मेसिन थिएन । भएको भए यति बेला अन्धडको गति कति ? भनेर लेख्न सकिन्थ्यो होला । सकिएन । सम्भव पनि त थिएन ।

Global Ime bank

सडकमा गाडीको कहर पातलिएको मौका पारेर पारिपट्टिको बिसौनी चौतारोमा छिरेँ ।

बिसौनी चौतारोमा बस्ने ठाउँ त के, उभिने ठाउँ पनि थिएन । तर पनि हावाहुरीबाट जोगिन भिडमा कोच्चिएँ ।

धन्न, त्यो बेला कोरोना कहरको डर थिएन । आज हुन्थ्यो भने बाहिरै धुलो, माटो, पानी खाएर उभिनुपथ्र्यो ! अथवा, कोठातिर दौडिनुपथ्र्यो ।

अन्धडको वेग कम नहुँदै धमिलो धमिलो उज्यालो पनि अँधेरियो । र, कड्किन थाल्यो बिजुली, आँखा, कान दुवैलाई असर गर्ने गरी । घरी कान थुन्यो । घरी आँखा । अनि, घरी नाक ।

बादल बिजुली कड्किएको आवाजले जिउ सिरिङ बनाउँथ्यो । त्यस्तो बेला नरसिंह... नरसिंह... आवाज निकाल्दै त्रास कम गर्न खोजिन्थ्यो !

पानी पर्दैन होला भन्ने सोचेको, पानी पनि दर्किन थाल्यो । हावाको वेगले पानीलाई चारैतिरबाट खुला चौतारोभित्र धकेल्यो । अघिसम्म धुलोले पुरिएका हामीलाई पानीले पखाल्न थाल्यो । यो बाछिटाबाट बच्ने उपाय नै थिएन ।

पानी परेपछि अन्धड केही कम होला कि भन्ने सोचेँ ।  बिजुली चम्किन पनि कम गर्ला ! हावा–पानीको बीचमा मनले ढाडस दिँदै थियो ।

यहाँबाट हिँडेर कोठासम्म पुग्न १५ मिनेटभन्दा बढी लाग्दैन । तर, अन्धड, बिजुली र पानीको त्यो एकछत्र राजमा डाँडा उक्लिने हिम्मत भएन । जस्ताले छाएको बिसौनीमै चिस्यान र हुरीको गति नाप्दै ज्यानले अडेस लगायो ।

कसो पुस÷माघको महिना थिएन । वैशाख लागिसकेको थियो । फागुन नै भए पनि चिसोले सेक्ने थियो ।

वर्षा दर्के पनि हुरीको वेग कम भएको थिएन । साठी किलोको मानिसलाई त धकेल्न खोज्ने अन्धडले पानीलाई के छोड्थ्यो । नचाहँदा नचाहँदै ‘नेचुरल सावर’ लिँदै थिए, ओत लागेका सबै ।

मेरो प्यान्ट घुँडामुनि निथु्रक्क भिजेको थियो । पातलो कमिजको हालत पातलिएको थियो । लाग्यो, लछप्पै भिजेको कमिज मलाई उकास्दै छ– यहाँ उभिँदा पनि भिजिन्छ । बरु, भिज्दै जा ।

यो अन्धड, बिहाइर, चम्कँदो बिजुली र पानीलाई चुनौती दिँदै १५ मिनेटको बाटो छिचोल्ने आँट मलाई आइरहेको थिएन ।

चार वर्षअघि भोगेको पुलछेउको सम्झना अस्ति साँझको अन्धड र बिजुलीको कड्काले गरायो । र, सम्झायो– अन्धड/पानी/बिजुलीलाई तर्साइदिने हाम्रो त्यो हिम्मत । 

०००

एउटा समय थियो, अन्धड बेतोडले आइरहन्थ्यो । बिजुली आँखै खाने गरी चम्किरहन्थ्यो । मेघ कड्किरहन्थ्यो । झरी दर्किरहन्थ्यो ।

हामी केटाहरू भने आमा (हजुरआमा)सँगै फूलबारीको आँप गाछीहरूबाट झरेका काँचो आँपको टिकुला बिछ्न यताउता दौडिरहन्थ्यौँ ।

अचम्म ! उतिखेर न अन्धड, पानी र चट्याङको नै डर लाग्थ्यो । न त सर्प अनि बिच्छीकै ! टाउकोमा गाछीका हाँगा भाँचिएर झर्ला भन्ने डर पनि थिएन । थियो त एउटै लक्ष्य, आफ्नो फूलबारीमा झरेको आँप अरूले टिप्न नपाऊन् ।

फूलबारी निकै ठूलो थियो । दशौँ बिघामा फैलिएको आँप बगैँचा (फूलबारी)मा गाउँलेका हजार बढी आँप गाछी थिए, अनेक जातका बम्बई र माल्द, श्रीधन, कपुरीया, कृष्णभोग, कलकतिया, चौरिया, बिज्जुलगायत कति–कति । नामै पो बिर्सिसकियो ।

घरदेखि पश्चिममा रहेको फूलबारी हरेक सिजनमा हाम्रो खेल्ने कुद्ने ठाउँ हुन्थ्यो । दसैंताका नाटकको पूर्वाभ्यास गर्न पनि फूलबारी नै पुग्थ्यौँ । गर्मीमा शीतल खोज्दै टहलिने ठाउँ पनि गाछी नै थियो ।

त्यही फूलबारीको बीचमा थियो, बिल्टे दादाको भट्टी । जहाँ साँझपख ‘मजमा’ (जमघट) चल्थ्यो । हामीलाई ‘महुवा’ र ‘मडुवा’ (कोदो)को मजमामा रमाउनु थिएन । भट्टीको सुगन्ध–दुर्गन्धमा हाम्रो कुनै सरोकार थिएन ।

हाम्रो सरोकार त मात्रै काँचैमा चपाउन मिल्ने आँप झार्नुमा थियो । चौरिया, कृष्णभोग, बम्बई र श्रीधन । यी आँप काँचैमा सकिन्थ्यो, यदि रखवारी नगर्ने हो भने ।

हजुरआमा काँचो आँप (टिकुला)को अचार हाल्नुहुन्थ्यो । कुच्चा, फँडा र खटमिट्ठीजस्ता अचार बनाउन काँचो आँपको दर्कार पर्दथ्यो । तर, गाछीबाट काँचो आँप तोड्न माया लाग्ने भएकोले होला, अन्धडले झारेको आँपबाटै हरेक घरमा अचार बन्थ्यो ।

आँप नझार्दा भोलि ठूलो भएर पाक्ने निश्चित छ । आफ्नो पूर्णआकार पाएर आँप पाक्दा र खाँदाको स्वाद सम्झेरै अचारका लागि आँप तोड्न दिन्थेन उहाँहरूको मनले ।

जब चैत–वैशाखमा अन्धड बिहाइर चल्थ्यो, टिकुला र ठूलै आँप पनि भटाभट् झथ्र्यो । र, आफ्नो गाछीको आँपमा अरूले रजाइँ नगरून् भनेरै अन्धड आउनुअघि नै सबै घरका हजुरआमाहरू, मामाहरू बोरा र ढकिया बोकेर फूलबारी दगुर्न तम्तयार रहनुहुन्थ्यो ।

अन्धड चाहे बिहान आओस्, दिउँसो आओस् वा मध्यरातमा । बोरा लिएर कुद्नु नै थियो ! हामी पनि हजुरआमाको पछाडिपछाडि कुद्थ्यौँ, गाईका पछिपछि बाच्छाबाच्छी लागेसरी ।

म हजुरआमालाई सघाउन बोरा बोकेर कुद्थेँ । त्यो बेला मेरो स्वार्थ भनेको कृष्णभोग र श्रीधन आँपमा दाँत मार्नु हुन्थ्यो । यस्ता आँप तोडेर खाँदा हजुरआमाको गाली खाइन्थ्यो । गाछीबाट आँप तोड्नु वर्जित जो थियो । अन्धडमा झरेका आँप खाने छुट भने मनग्यै मिल्थ्यो ।

यति बेला सम्झिँदै छु– अहँ ! अलिकति पनि डर लाग्थेन ! पानी पर्दा गाछीको आड लियो । तर, कान आँप झरेको ‘ढप्प’ आवाजमा हुन्थ्यो । जसै त्यस्तो आवाज सुनिन्थ्यो, दौडेर पुग्थ्यौँ । अनि, झरेको आँप टिप्दै बोरामा राख्थ्यौँ । अरू कोही फुच्चा–फुच्ची आफ्नो फूलबारीमा आयो भने भगाउँथ्यौँ ।

मेला नै लाग्थ्यो अन्धडका बखत ! आँप टिप्नेहरूको भिड हुन्थ्यो । केटाकेटी बुद्धि, कहिलेकाहीँ अरूको बारीको आँप पनि टिप्थ्यौँ । तर, हजुरआमाले यसरी लिएको देख्यो कि गाली गर्नुहुन्थ्यो । त्यसैले अरूको गाछीमा पनि नजाने र आफ्नो गाछीमा पनि कसैलाई टिप्न नदिने । दह्रो रखबारीको काम गथ्र्यौ हामी पनि ! 

काँचो आँपमा चोभा मार्ने दाउमा रहने हामीले डम्हाएको (अधपक्कु आँप) फेला पार्दा युद्ध जितेको अनुभूति हुन्थ्यो । त्यसैले त्यस्ता आँपको खोजीमा सधैँ रहन्थ्यौँ, किरण, पुष्कर, म अनि अरूहरू ।

खासमा चोभा मार्ने काम पाकेको आँपमै खासा हुन्थ्यो । आँप महिनामा खाजा खाने बेला एक बाल्टिन पाकेको आँप पखालेर राखिन्थ्यो । र, रुचेजति, पचाउन सक्नेजति आँप चुसेरै खाइन्थ्यो । कुहिनोबाट रस चुहाइ–चुहाइ आँप चुसिन्थ्यो ।

त्यो बेला आँप काटेर खाएको मलाई सम्झना छैन । अचेल आँप खाइँदैन । आँपको चिरा खाइन्छ । टुक्रे आँप खाइन्छ ।

आजजस्तो चाउचाउ र मोमो पाइन्थेन । आँपको मौसममा आँप मात्रै हो खाजा । बिहानको खाजा आँप । बिहानको खानासँग आँप । दिउँसोको खाजा आँप । अनि, राति पनि रोटी, दूध, आँप ।

अरू बेला दिउँसोको खाजामा बासी भात नै हुन्थ्यो । त्यसमा नुन, तेल हालेर प्याज टोक्दै खाइन्थ्यो । (अचेल बासी भातको कुरा गरे आँखा ठूला पार्छन्, केटाकेटी) कहिले चिउरा÷मुरही साँधेर खाइन्थ्यो । कहिलेकाहीँ मात्रै घ्यू, चिउरा, चिनी, र दही चिउराको खाजा जुथ्र्यो । यो नै हाम्रा लागि स्तरीय खाजा हुन्थ्यो ।

कहिलेकाहीँ खाजाको जोहो गर्दागर्दै अन्धडको संकेत देखिनासाथ बोरा र छिटी खोज्नतिर लाग्थ्यौँ हामी । 

०००

आज समय नै बेग्लै छ । परिवेश बेग्लै छ । आश्चर्य लाग्छ, हुरी (अन्धड) बतास, बिजुलीसँग डराउनुपर्ने दिन आइसकेको देख्दा ! घण्टौँ अन्धड–पानीसँग खेल्ने हामी गड्याङगुडुङसँगै कोठा छिर्छाैँ ! र, उमाल्न थाल्छौँ चाउचाउ ।
 

  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC