बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना संक्रमितलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै ‘हाम्रो टिम नेपाल’ ‘देशलाई अप्ठ्यारो पर्दा अघि नआए कहिले आउने ?’
KNP nepal
KNP nepal
वर्षा महर्जन
बाह्रखरी - वर्षा महर्जन बुधबार, वैशाख २२, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । “हेलो, हजुर अहिले हामी भक्तपुर अस्पतालमा अक्सिजन अभाव भएर २३ वटा सिलिन्डर दिएर फर्किँदै छौँ,” मंगलबार दिउँसो १ः५० बजे फोन गर्दा विमल पन्त भन्दै थिए ।

हाम्रो टिम नेपालका अध्यक्ष पन्तसहित टिमका सदस्य अहिले यस कार्यमा खटिएका छन् । कतिखेर कुन अस्पताल वा व्यक्तिबाट फोन आउँछ भनेर उनीहरु कुरेर बस्छन् । फोन आउनासाथ संक्रमितको ज्यान बचाउन अक्सिजनको सिलिन्डर बोकेर दौडिहाल्छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाइरहेको घटना सार्वजनिक भइरहेको छ । यस्तो जटिल स्थितिमा हाम्रो टिमले तीन दिनयता निःशुल्क अक्सिजन वितरण गरिरहेको छ ।

Duber nepal

Agani Group

अस्पताल र व्यक्तिगत गरी उनीहरुले सात ठाउँमा अक्सिजन पुर्‍याइसकेका छन् । “हामीले सबैभन्दा धेरै भक्तपुर अस्पतालमा उपलब्ध गराइरहेका छौँ । यसका साथै अस्पतालमा सिट छैन भनेर घर फर्काइएका कोरोना संक्रमितलाई घर–घरमै पनि अक्सिजन उपलब्ध गराइरहेका छौँ,” अध्यक्ष पन्तले भने ।

अशक्त, असहाय र विपन्न वर्गका कोरोना संक्रमितले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने उनीहरु चाहन्छन् । अस्पतालमा अक्सिजन उपलब्ध गराउने समयमा नै उनीहरुले प्रस्टसँग यो कुरा उल्लेख गरेर अक्सिजन दिने गर्छन् ।  

तर, योबीचमा माग यति धेरै बढेको छ कि उनीहरुलाई सिलिन्डर अभाव हुन थालेको छ । “मुख्य कुरा अहिले हामीलाई सिलिन्डर अभावले गर्दा काम गर्न निकै अप्ठ्यारो भइरहेको छ,” उनी भन्छन्, “मान्छेको त्यो पीडादायी फोनहरु लगातार आइरहेका छन् । यस्तोमा कसलाई दिने, कहाँ दिने भइरहेको छ । त्यसैले कृपया कसैको घरमा, फ्याक्ट्रीमा वा कतै अक्सिजन सिलिन्डर छ भने हामीलाई उपलब्ध गराइदिनुहुन म आग्रह गर्छु । यो दुःखको समयमा हामीलाई यति सहयोग गरिदिनुहोस्, पछि सिलिन्डर फिर्ता गरिदिने छौँ ।”

आफूहरुले सकेसम्म सहयोग गर्ने उनले बताए । “राज्यले आफ्नो व्यवस्था आफैँ गर्नू भनेपछि हाम्रो टिमसँग नागरिकको भरोसा छ,” उनी उत्साहजनक सुनिए, “अक्सिजनको अभावले कुनै पनि नेपालीको ज्यान नजाओस् भन्ने हाम्रो कामना र उद्देश्य हो ।”

संक्रमितलाई निःशुल्क प्रदान गरे पनि यो समूहले अक्सिजन किनेरै ल्याइरहेको छ । अहिले उनीहरुसँग ३० वटा सिलिन्डर छन् र तीमध्ये प्रत्येक सिलिन्डरको डिपोजिट १८ हजार पर्छ । त्यो १८ हजारमा सुरुमा ल्याउँदा सिलिन्डर भरिएको पाइन्छ । तर, त्यसपछिको प्रत्येकपटक अक्सिजन भर्दा ६०० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

उनीहरुले दैनिक २५ सम्म अक्सिजन आपूर्ति गरिरहेका छन् । मंगलबार माग संख्या बढेर ३० नाघेको पन्त बताउँछन् ।

योबाहेक हाम्रो टिम नेपालले ज्याला, मजदुरी गर्ने वर्गलाई दैनिक खाना पनि खुवाइरहेको छ । सडकका अलपत्र र मनोरोगीलाई खाना खुवाइरहेको यस समूहले कोरोना महामारीका कारण निषेधाज्ञा भएदेखि विपन्नलाई पनि खाना दिन थालेको हो । गत वर्ष लकडाउनमा पनि हाम्रो टिमले आर्थिक अवस्था कमजोर भएकालाई खाना उपलब्ध गराएको थियो ।

अध्यक्ष पन्तले ०७२ सालको भूकम्पको समयमा एक्लैले सुरु गरेको समाज सेवाको यो काममा अहिले हजारभन्दा बढी सदस्यहरु आबद्ध छन् । “हामीलाई बेलायतमा हुनुभएका इशा र सुनीता गुरुङ दिदी–बहिनीहरुले आर्थिक सहयोग जुटाइदिइराख्नुभएको छ । यसबाहेक हाम्रा सदस्यहरुबाट उठाउने न्यूनतम सदस्य शुल्क नै हाम्रो आयस्रोत हो,” पन्तले बताए ।

विपद्मा सहयोग गर्ने मात्रै नभई यो समूहले आत्मनिर्भरका कार्यक्रमहरु पनि ल्याइरहेको छ । हालै अभिनेता पल शाहले हाम्रो टिमसँग सहकार्य गरेका छन् । पलसँगको सहकार्यबारे पन्त भन्छन्, “हो, उहाँसँग फोनमा कुरा भएको हो । यो अप्ठ्यारोमा कोभिडका बिरामीलाई बचाउन हामी जोसँग सहकार्य गर्न पनि तयार छौँ ।”

महामारीको समयमा हाम्रो टिम नेपालका सदस्य ‘रेड जोन’मै पुगिरहेका छन् । यस्तो अवस्थामा डर लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन्, “डरभन्दा पनि समाज अनि नागरिकका लागि केही गरौँ भन्ने उद्देश्यले उत्पत्ति भएको समूह हो । डर त लाग्छ । तर पनि कोरोना संक्रमित हाम्रा दाजु–भाइ, दिदी–बहिनीहरुको माया धेरै लाग्छ ।”

उनी अगाडि थप्छन्, “घरमा आमा–बुवाले बाहिर नजा भन्नुहुन्छ । तर, यो बेला नागरिकलाई, देशलाई अप्ठ्यारो पर्दा अघि आएनौँ भने अरु बेला कहिले आउने त ?,” उनी प्रतिप्रश्न गर्छन्, “आखिरमा एक दिन मर्नु नै पर्छ, समाज सेवा गरेर किन नमर्ने ?”

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २२, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्