site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अहिलेकै दरमा कोरोना सङ्क्रमित थपिए अस्पतालहरू धान्न सक्दैनन् !
Sarbottam CementSarbottam Cement

काठमाडौँ । वैशाखयता कोभिड–१९ बाट जटिल खालका सङ्क्रमितको संख्या बढिरहेको छ । कोभिडको उपचार भइरहेका अस्पतालहरूमा आईसीयू र भेन्टिलेटर बेड भरिँदै गएका छन् । यही दरमा सङ्क्रमितको संख्या बढ्दै गए अस्पतालहरूमा अहिले भएका आईसीयू र भेन्टिलेटरको संख्याले धान्न नसक्ने देखिएको छ । 

११ दिनमा १५७ जटिल खालका सङ्क्रमित, ७८ जनाको मृत्यु
चैत पहिलो साता डेढ सयको हाराहारीमा रहेको कोभिड–१९ सङ्क्रमितको संख्या चैत तेस्रो सातासम्म ३ सय भन्दा उकालो लागेको थिएन । तर चैत ३० गते ५५९ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या लगातार उकालो लागिरहेको छ । 

वैशाखका ११ दिनमा मात्रै १३ हजार २२० जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । शनिबारसम्मको तथ्यांकअनुसार मुलुकभर सक्रिय सङ्क्रमितको संख्या १६ हजार ८२८ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जसमा प्रदेश १ मा ८३४ जना, २ मा ११२४ जना, वाग्मतीमा सबैभन्दा धेरै ८ हजार २७२ जना गण्डकीमा १ हजार २५ जना, लुम्बिनीमा ४ हजार ५९७ जना, कर्णालीमा ४५२ जना  र सुदूरपश्चिम प्रदेशमा  ८०६ जना रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चैत महिनाभर ९७ जना आईसीयूमा राख्नुपर्ने सङ्क्रमित थपिएका थिए । वैशाख १ देखि ११ गतेसम्म मात्रै ११६ जना आईसीयू भर्ना गर्नुपर्ने सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । योसँगै नेपालमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितमध्ये आईसीयूमा राख्नुपर्ने बिरामीको संख्या २१३ पुगेको छ । यीमध्ये प्रदेश १ मा १४ ओटा, २ मा ७ ओटा, वाग्मतीमा ८३ ओटा, गण्डकीमा ५, लुम्बीनीमा ७४ ओटा, कर्णलीमा १६ ओटा सुदूरपश्चिममा १४ ओटा आईसीयू बेड कोभिड १९ का सङ्क्रमितले भरिएका छन् । 

अहिले प्रदेश १, २ र कर्णलीबाहेक सबै प्रदेश अस्पतालहरूमा भेन्टिलेटरमा भर्ना हुने सङ्क्रमितको संख्या बढेको छ । मुलुकभर कोभिड–१९ को उपचारका लागि सरकारले छुट्याएका अस्पतालहरूमा अहिले ६९ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । जसमा वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४९ जना, गण्डकीमा १ जना लुम्बिनीमा १६ जना कर्णालीमा र सुदूरपश्चिम प्रदेशमा ३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । 

Global Ime bank

त्यस्तै चैत अन्तिमसम्म नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ५८ रहेकोमा वैशाख ११ गते यो संख्या बढेर ३१३६ पुगेको छ । अर्थात् वैशाखका ११ दिनमा मात्रै ७८ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै भेन्टिलेटरमा राख्नुपर्ने सङ्क्रमितको संख्या पनि उच्च हुँदै गएको मन्त्रालयको तथ्यांक छ ।
 
आईसीयू र भेन्टिलेटरको अवस्था
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिले कोभिडको उपचारका लागि छुट्याइएका अस्पतालहरूमा ११८५ ओटा आईसीयू बेड छन् । जसमध्ये प्रदेश १ मा ११०, २ मा ४८, वाग्मती प्रदेशमा ५५६, गण्डकीमा २४३, लुम्बिनीमा १५२, कर्णालीमा ३९, सुदूरपश्चिममा ३७ ओटा आईसीयू बेड छन् । 

त्यस्तै कोभिड उपचारका लागि मुलुकभर ५१२ भेन्टिलेटर छुट्याइएको छ । जसमध्ये प्रदेश १ मा ४० ओटा २ मा २१ ओटा, वाग्मतीमा २२५ ओटा, गण्डकीमा ६७ ओटा, लुम्बिनीमा ९० ओटा, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २७ भेन्टिलेटर बेड छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोभिड अवधिको १ वर्षमा ४०० ओटा आईसीयू र भेन्टिलेटर संघ सरकारको तर्फबाट थप गरिएको छ । तर सबै सञ्चालनमा भने आइसकेका छैनन् । प्रदेश सरकार र स्थानीय तहहरूले आफ्नै लगानीमा थप गरेका पूर्वाधारको तथ्यांक मन्त्रालयसँग नभएको डा. गौतम बताउँछन् । 

काठमाडौँमा मात्रै ६८ प्रतिशत जटिल अवस्थाका सङ्क्रमित
मुलुकभर अहिले भेन्टिलेटरमा रहेका सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लाका मात्र ६८ प्रतिशत छन् । उपत्यकाका तीन जिल्लामा सरकारले कोभिड उपचारका लागि छुट्याएका १३ अस्पताल छन् । 

१३ ओटामा ४७१ जना सङ्क्रमितको उपचार भइरहँदा ६१ जना आईसीयू र ४७ जना भेन्टिलेटरमा छन् । जसमध्ये सशस्त्र प्रहरी बल अस्पतालमा १० जना आईसीयू तथा ८ जना भेन्टिलेटरमा छन् । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ४ जना अईसीयू, वीर अस्पतालमा ४ आईसीयू तथा ३ जना भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा २ जना आईसीयू तथा ५ जना भेन्टिलेटरमा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आईसीयू तथा १२ जना भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५ जना आईसीयू तथा ५ जना भेन्टिलेटरमा, पाटन अस्पतालमा ८ जना आईसीयू तथा १० जना भेन्टिलेटरमा, निजामती कर्मचारी अस्पतालमा १ जना आईसीयूमा, ग्रान्डी इन्टरनेसनल अस्पतालमा ९ जना आईसीयू तथा ३ जना भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा ९ जना भेन्टिलेटरमा उपचाररत छन् ।  

सङ्क्रमित थपिए थेग्न नसक्ने अवस्थामा अस्पताल 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले कोभिड सङ्क्रमितबाहेक अन्य बिरामीको उपचार भइरहेको छैन । अस्पतालमा भएका २० ओटा आईसीयू बेड बिहीबारसम्म सबै भरिएका थिए । अहिले भेन्टिलेटर र आईसीयूमा रहेकामध्ये ४० प्रतिशत जटिल खालका सङ्क्रमित रहेको अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप वास्तोला बताउँछन् ।

“आईसीयू बेड पनि भरिँदै छन् र जटिल खाले सङ्क्रमित पनि थपिँदै छन् । औषधिले काम गर्छ कि गर्दैन भन्ने अवस्था  छ, अरू बिरामी थपिए कहाँ राख्ने संकटमा छौँ,” डा. बास्तोलाले भने, “अब व्यक्ति आफ्नै स्तरबाट सुरक्षित रहेन भने अस्पतालले थेग्नसक्ने अवस्था छैन ।” 

यता त्रिवि शिक्षण अस्पतालमा कोभिड सङ्क्रमितका लागि छुट्याइएकामध्ये ८० प्रतिशत बेड भरिसकेका छन् । अस्पतालमा कोभिड उपचारका लागि छुट्याइएका ५० मध्ये ४० ओटा बेडमा सङ्क्रमित छन् भने ५ जना आईसीयूमा छन् । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेकाअनुसार श्वासप्रश्वासका गम्भीर अस्थाका बिरामीका लागि ३० ओटा आईसीयू बेड छुट्याइएकोमा कोभिड सङ्क्रमित दिनदिनै थपिरहेका छन् । 

“आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सङ्क्रमित थपिँदै गएपछि भारतबाट थप आईसीयू उपकरण मगाइएको छ । तर पछिल्लो समय भारतमा नै सङ्क्रमितको दर बढ्दै गएपछि मगाएका उपकरण आउन ढिलाइ भइरहेको छ,” डा. काफ्लेले भने, “आइसकेका उपकरण जडान गर्ने र थप गर्ने काम भइरहेको छ, कोभिड संक्रमणलाई नै लक्षित गरेर टिचिङमा अहिले आईसीयू सेवा विस्तार गर्दैछौँ । तर यही दरमा सङ्क्रमित बढ्दै गए अस्पतालमा छुट्याइएका बेडले धान्नसक्ने अवस्था रहँदैन । त्यसपछि अन्य रोगका बिरामीलाई व्यवस्थापन गर्न अस्पताललाई कठिन हुनेछ ।” 

सामान्यतया अक्सिजनको मात्रा ९२ प्रतिमिनेटभन्दा कम रहेका बिरामीलाई आईसीयू भर्ना गर्नुपर्ने हुन्छ । कोभिड संक्रमणले श्वासप्रश्वासमा अवरोध पुर्‍याउने हुँदा दीर्घकालीन रोग भएकाहरूलाई कोभिड संक्रमण देखिएमा आईसीयूमा राख्नुपर्ने सम्भावना बढी हुन्छ । “फोक्सोमा गम्भीर असर देखिएका बिरामीलाई आईसीयू र भेन्टिलेटरमा भर्ना गर्ने गरेका छौँ । तर आइसोलेसनमा आउने सङ्क्रमितको संख्या पनि उत्तिकै बढेको छ ।” डा. काफ्लेले भने । 

त्यस्तै वीर अस्पतालमा कोभिड सङ्क्रमितका लागि छुट्याइएका १० मध्ये ४ ओटा आईसीयू बेड भरिएका छन् भने ५ ओटा भेन्टिलेटर छुट्याइएकोमा ३ ओटामा कोभिड सङ्क्रमितको उपचार भइरहेको अस्पतालका कोभिड इन्चार्ज डा. अच्युत पन्तले बताए  । 

मुलुकका प्रमुख सरकारी अस्पतालहरूमा जटिल अवस्थाका सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ । त्यसैगरी जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र आफ्नो स्वास्थ्यप्रति आफैँ सतर्क रहन भनेर स्वास्थ्य मन्त्रालयले निरन्तर अनुरोध गर्दै आएको छ ।

निजी अस्पतालसँग कसरी समन्वय गर्दैछ सरकार ?
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा ५० प्रतिशत बेड कोभिड सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको थियो । सङ्क्रमितको उपचारका लागि १५ बेडसम्मका अस्पतालसँग स्थानीय तह, २०० बेडसम्मका अस्पतालसँग प्रदेश सरकार र सोभन्दा बढी बेड भएका अस्पतालहरूसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार सम्झौता गरेको मन्त्रालयका प्रवक्ता गौतमले बताउँछन् ।

“अहिलेलाई सबै मेडिकल कलेजसँग मन्त्रालयले सम्झौता गरेको छ । आवश्यक परेमा अन्य अस्पतालहरूलाई पनि प्रयोग गर्न सकिन्छ, मन्त्रालयले त्यसका लागि तयारी अवस्थामा छ,” डा. गौतमले भने । 

कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएका अस्पतालहरूमा हाई डिपेन्डेन्सी युनिट (एचडीयु)को स्तरोन्नति गर्न मन्त्रालयले केही दिनअघि सबै अस्पतालहरूलाई निर्देशन दिएको थियो । तर बढ्दो संक्रमण दरलाई हेर्दा स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाई हुने देखिएकाले जनस्तरबाटै स्वाथ्यका मापदण्ड अपनाउन तथा आफ्नो स्वास्थ्यप्रति आफैँ जिम्मेवार हुन मन्त्रालयले पटक पटक–अनुरोध गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC