site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘लकडाउन भए सडकमा बसेर माग्न बाध्य हुन्छौँ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमणको दर दिन–प्रतिदिन बढ्न थालेपछि छिमेकी मुलुक भारतको स्थिति भयावह बनिरहेको छ । त्यहाँ दिनहुँ लाखौँ कोरोना संक्रमित थपिरहेका छन् । भारतसँगको खुला सीमाका कारण नेपालमा पनि त्यसको प्रभाव देखिन थालिसकेको छ ।

सरकारले अति जोखिम क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ । फेरि, देश लकडाउनमा जान्छ कि भन्ने आशंका बढ्न थालेको छ । विगतको लकडाउन अनुभवले भन्छ– यदि, फेरि लकडाउन भयो भने त्यसको असर सबैभन्दा धेरै भुईँमान्छेले व्यहोर्नुपर्नेछ । अर्थात् दैनिक मजदुरी गरेर गुजारा काट्नेहरू नै नराम्ररी प्रभावित बन्नेछन् ।

लकडाउनको बारेमा श्रमिकहरू के भन्छन् ? उनीहरुको भोगाइ कस्तो छ ? हामीले खोतल्ने प्रयास गरेका छौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबहादुर थिङ । ३९ वर्ष । पेसाले रिक्साचालक । ०५८ सालदेखि उनी काठमाडौंस्थित वसन्तपुरमा रिक्सा चलाइरहेका छन् । वैशाखको पट्ट्यारलाग्दो घाममा थिङ रिक्सामा बसेर ग्राहक कुर्दै थिए । समय बिताउन उनी प्लास्टिकको हरियो त्यान्द्रोको गाँठो बनाउँदै थिए ।

१० सन्तानमा माइला छोरा थिङ बाल्यकालमा घरेलु हिंसाको सिकार भए । घरमा पैसा थिएन । बुुवाले आमालाई पिटिरहने । विद्यालय जाँदा लगाउने पोसाक थिएन । शुल्क तिर्न सक्दैनथे । साथीहरूले गिज्याउँथे । त्यसैले विद्यालय छोडे । पेटभरी खान पाउने र सम्पन्न बन्ने चाहनामा उनी १९ वर्षको उमेरमा सपनाको सहर काठमाडौं आए । रिक्सा चलाउन सिके । तर, खासै आम्दानी भएन । त्यसपछि मलेसिया लागे । पाँच वर्ष बसे । बिरामी परे । कम्पनी नै बन्द भयो ।

Global Ime bank

तीन वर्षयता उनी वसन्तपुरमा रिक्सा चलाइरहेका छन् । उनलाई लकडाउन होलाजस्तो त लाग्दैन । तर, भइहाल्यो भने पनि थिङजस्ता ज्यालादारी श्रमिकसँग विकल्प के नै छ र ? उनी भन्छन्, “बर्बाद नै हुन्छ । अलि–अलि मात्र चहल–पहल बढेको छ । अहिले कमाइ खाने बाटो मात्र भएको छ । एक रुपैयाँ पनि बचत छैन । लकडाउन भयो भने सडकमा बसेर माग्न बाध्य हुन्छौँ ।” उनलाई आफ्नै पेट पाल्न गाह्रो छ । घरमा पैसा पठाउन मन छ । तर, सकेका छैनन् ।

गत वर्ष लकडाउन हुँदा उनकी पत्नी दुई जिउकी थिइन् । सरकारबाट कुनै सहयोग पाएनन् । व्यक्ति र संस्थाबाट पाएको राहत सामग्रीले केही भरथेग गर्‍यो । थिङ पत्नीसहित खाना बाँडेको ठाउँमा गई खान्थे । काँडाघरीको कोठाभाडा तिर्न नसकेपछि दुई महिनाको आठ हजार रुपैयाँ बुझाएर उनले कहिले रिक्सामा त कहिले वसन्तपुरकै मन्दिरमा रात बिताए । पुसको ठन्डीमा गर्भवती पत्नीसँग मन्दिरमै रात बिताएको कहालीलाग्दा क्षण उनले अझै भुलेका छैनन् । पेट पाल्नकै लागि उनले उति बेला आफूसँग भएका अलि गतिला भाँडाकुँडा बेचेका थिए ।

अहिले लकडाउन खुले पनि कमाइ राम्रो नभएको उनी बताउँछन् । रिक्सा भाडामा लिएका हुन् । कमाइ नभए पनि दिनको १०० रुपैयाँ तिर्नैपर्छ । पाँच महिनादेखि उनी इटुम्बहालमा कोठा लिएर बसेका छन् । महिनाको २५ सय तिर्छन् । “पुुरानो घर छ, धराप छ । भूकम्प आउला भन्ने डर लागिरहन्छ । साढे तीन महिनाको बच्चा र आमालाई त्यहाँ छोडेर आउनुपर्दा मन त्यसै रुँदोरहेछ,” उनले भने ।
०००
दोलखाका २२ वर्षीय बब्लु सुवेदी खिचापोखरीमा इँटा तास्दै थिए । विगत तीन वर्षदेखि उनी घर भत्काउने, माटो गाडीमा ओसार्ने, इँटाहरू तास्ने काम गरिरहेका छन् । गत वर्ष लकडाउन हुँदा उनी डल्लुमा घर भत्काउँदै थिए । लकडाउनमा उनी साइटमै बसे । ठेकेदारले सहयोग गरे । योपटक लकडाउन भइहाल्यो भने के हुन्छ उनी भन्न सक्ने अवस्थामा छैनन् ।

उनी सामाजिक दूरी कायम गरेर काम गर्न पाउनुपर्ने बताउँछन् । “सुरक्षित भएर काम गर्छौँ । काम गरेनौँ भने त रोजीरोटी नै जान्छ । दिनभरि काम गर्ने हो, हाजिर लगाएर बेलुका खाने हो,” उनले भने ।

तीन वर्षदेखि उनी लेबरको काम गरिरहेका छन् । त्यसअघि, उनले दुबईमा तीन वर्ष काम गरे । कक्षा–८ सम्म पढेका सुवेदी वेटरको जागिरमा गए । तर, सरसफाइको काम गर्न बाध्य भए । त्यसमाथि न्यून पारिश्रमिकमा श्रम गर्नुपरेपछि नेपाल फर्के । यहाँ आएदेखि घर भत्काउने काम गरिरहेका छन् । अलि–अलि कमाएको पैसा सकिइसकेको छ ।

लेबरको काम सजिलो छैन । बिहान ७ बजेदेखि कहिले मध्यरातसम्म, कहिले दिन–रात खटिनुपर्छ । कामको टुंगो छैन । त्यसरी खटिँदा पनि उनी प्रतिदिन ९०० मात्र कमाउँछन् । सधैँ काम हुँदैन । अहिले उनी महिनामा करिब २७ हजार कमाउँछन् । सबै खर्च गर्दा करिब १३ हजारजति बच्छ ।
००० 
सुवेदीसँगै काम गरिरहेकी ३६ वर्षीय रमा अधिकारी लकडाउनमा लिएको ऋण तिर्न लेबर काम सुरु गरेको सुनाउँछिन् । पोहोरको लकडाउनले लेबर काम गर्न बाध्य पारेको उनले बताइन् । उनी भन्छिन्, “फेरि लकडाउन भयो भने हामी त भोक–भोकै माग्न बाध्य हुन्छौँ । छोरा–छोरीलाई के खुवाउने ?”

अधिकारी तीन वर्षअगाडि छोरा–छोरी पढाउन ओखलढुंगाबाट काठमाडौं आएकी हुन् । वसन्तपुरको शान्ति निकेतन माध्यमिक विद्यालयमा उनका बालबच्चा पढिरहेका छन् । तर, कोरोना संक्रमण पुनः बढेसँगै सरकारले भौतिक कक्षा सञ्चान नगर्न भनेपछि उनलाई आफ्ना छोरा–छोरीको पढाइको चिन्ता छ ।

“छोरा–छोरी घरमै छन् । स्कुल बन्द छ । स्कुलले केही भनेको छैन । गत वर्ष पनि पढाइ भएन । यसपालि पनि होलाजस्तो छैन,” उनले भनिन् । उनकी छोरी ५ कक्षा र छोरा कक्षा–२ मा पढिरहेका छन् ।
०००
सिन्धुलीका ४३ वर्षीय रामबहादुर लामिछानेको कमाइले पनि लय समाउन सकेको छैन । न्युरोडमा अरु श्रमिकझैँ उनी पनि भारी बोक्न ग्राहक कुर्दै थिए । हामी पुग्दा उनी साथीभाइसँग हातमा नाम्लो बोकी गफिदै थिए । उनी पनि लकडाउन नहोस् भन्ने पक्षमा छन् । “सबै खुला भए काम पाइन्थ्यो । धेर–थोर पैसा पाइन्थ्यो । गत वर्षको लकडाउनको असरले बजारमा अहिलेसम्म काम छैन,” उनी भन्छन् ।

उनले १६ वर्षको उमेरदेखि भारी बोक्ने काम गर्दै आएका छन् । सुरुमा भक्तपुरको इँटाभट्टामा काम गर्थे । तर, नागरिकता ल्याऊ भनेपछि उनले त्यो काम छोड्नुपर्‍यो । पछि न्युरोडमा भारी बोक्ने काम पाएपछि उनी यतै अलमलिए ।

उनी चार वर्षको हुँदा बुवा बिते, त्यसको एक वर्षपछि आमाले छोडेर गइन् । विगत सम्झिँदै उनी भन्छन्, “म अरूकै घरमा बसेँ । जे दिन्थे, त्यही खान्थेँ । मलाई जिन्दगीभर दुःख भयो ।” तर, काठमाडौं आएपछि पैसा कमाए । त्यो जमानामा तीन लाख खर्चेर बिहे गरे ।

गत वर्ष लकडाउन हुँदा उनी सिन्धुलीमा थिए । “लकडाउनमा सबै बन्द भएपछि एकजनाको भाडा तीन हजार तिरेर घर आएँ । बल्ल–बल्ल गाडी पाइयो । पछि फेरि लकडाउनकै बीच काम पाइएला कि भनेर ६/६ हजार तिरेर छोराहरू काठमाडौं आए,” उनी थप्छन्, “तर, कहाँ काम पाउनु, उल्टै भएको बचत पनि खर्च भयो ।”

भारी बोक्न उनी बिहान ५ बजेदेखि नै खटिन्थे । कुनै समय दिनको दुई हजार रुपैयाँभन्दा बढी कमाइ गर्थे । तर, अहिले त्यस्तो छैन । उमेर बढ्दै गएकाले उनी पहिलेजस्तो भारी बोक्न सक्दैनन् । पहिले ७० किलोको भारी बोकेर ठमठम हिँड्ने उनी अहिले ५० किलोको भारी पनि मुस्किलले बोक्न सक्छन् ।

“तर, म मिहेनत गर्छु । भारी बोकेर परिवारको पेट पाल्छुभन्दा पनि सरकार श्रमिकलाई सहज वातावरण दिन सक्दैन । गरिखानेका लागि साँच्चै नै सोचेझैँ सजिलो छैन,” उनले मलिन आवाजमा भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC