site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेताको असफलताको दोष प्रणालीलाई ? 

भन्ने गरिएको ‘दलहरुको असफलता’ खासमा नेताहरुको विफलता न हो । विभिन्न आस्था र आदर्शमा आबद्ध मानिसको सामूहिक संगठन नै राजनीतिक दल हुन् । आदर्शको भिन्नताले दलहरुको दृष्टि, उद्देश्य, साधन र साध्यको चयनमा समेत फरक पर्न जान्छ र पनि निष्कर्षमा सबैले दाबा गर्ने जनहित र देशभक्ति नै हो । यद्यपि, लोकतान्त्रिक दाबा गर्ने नेताहरुको असफलतालाई लोकतन्त्रकै असफलता भन्न रुचाउने अराजकहरुलाई मौका, मसला बन्ने रहेछ ।  

बहुदलीय व्यवस्थामा दलहरुसँग आआफ्ना कार्यकर्ता हुन्छन् र यिनैमध्ये विभिन्न तहका नेता भनिन्छन् । मियोको रुपमा केन्द्रीय नेतृत्वले भूमिका निर्वाह गर्ने परम्परा बसेको छ । भनिन्छ, सामूहिक भावलाई केन्द्रीय नेतृत्वले समेट्न सक्ने क्षमता देखाउनुपर्छ । 
केन्द्रीय नेतृत्वलाई सही दिशा निर्देश र सहयोग गर्न दलहरुमा विभिन्न संरचना र पदीय जिम्मेवारी बाँडफाँट गरिएको देखिन्छ । निर्वाचन र मनोनयबाट पदीय दायित्व निर्धारण गरिन्छ । प्रतिस्पर्धी प्रजातान्त्रिक प्रणालीमा बहुमत र अल्पमतको अस्तित्वलाई यथोचित कायम गर्दै दलीय प्रणाली गतिशील हुने ठानिन्छ । आन्तरिक प्रजातान्त्रिक अभ्यास फराकिलो हुने पनि यसरी नै हो ।  

नेता, कार्यकर्तामा मात्रै दलहरु सीमित रहँदैनन् । तिनको शक्ति हजारौँ आस्थावान् शुभेच्छुकहरुमा समेत आश्रित रहन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जनमतलाई गहिरो गरी छुन दलका शुभेच्छुकहरु प्रभावकारी हुने देखिएको छ । त्यतिमात्रै होइन, कुनै पनि दलको आदर्श अर्थात् राजनीतिक दर्शन, चरित्र र योजना सँगसँगै जोडिएको हुन्छ । जब यी शृंखला कमजोर पर्छन् राजनीति विकृत हुन जान्छ ।  अहिले यस्तै भएको हो नेपालको ‘कथित’ राजनीति । 

आदर्श निःसृत सिद्धान्त मन पराएर आबद्ध हुनेहरुको समूह नै अन्ततः संगठन बन्न जान्छ र दलहरु पनि यसरी नै संगठित हुन्छन् । यसपछि विधि, विधान र निर्वाचन आयोगको प्रक्रिया र मान्यताले दलहरुको वैधानिक आधिकारिता स्थापित हुने हो । 

Global Ime bank

नेपालका दलहरुको संरचना पनि नेता, कार्यकर्ता, शुभेच्छुक, सिद्धान्त र वैधानिक प्रक्रियाको सम्मिलनबाट बनेको छ । तर, यो त इतिहासको कुरा भइसक्यो । अहिले चाहिँ दलीय संरचनाका यस्ता आवश्यक तत्त्व लथालिङ्ग वा अलगथलग अवस्थातिर गएको देखिँदैछ । दलका कार्यकर्ताको भावना उपेक्षित छ । 

यस्तै शुभेच्छुकहरुको शुभेच्छा त झन् अरण्यरोदन बन्न पुगेको छ । अपरिहार्य र स्पष्ट रहनुपर्ने सिद्धान्त कुहिराको काग झैँ हराउँदै गएको छ । प्रजातान्त्रिक चरित्र र नैतिकता शून्य प्रायः पारिँदै छ । यस्तो कमजोरी वा विशृंखल स्थिति समुच्चमा दलका कारण भनिए पनि खासमा दोषी त नेताहरु नै हुन् । अर्थात्, खासमा मूल नै धमिलिएको छ ।  

यसरी संचरना संयन्त्रहरु शिथिल भएका दलहरुबाट जनभावना बुझ्ने र सम्बोधन गर्ने दायित्व पूरा हुन सहज र सम्भव हुँदैन । दल र नेता नीति तथा भावनाहरुको पुञ्ज हुनुपर्ने तर त्यस्तो त छैन । छन् त नेतामात्र, नेताहरुमात्र । यस अवस्थामा दलहरुको दीर्घजीवन यथावत् सुरक्षित रहँदैन वा पुनर्गठन आवश्यक पर्छ । यतिबेला नेपालका ठूला भनिने दलहरु यही सङ्घारमा छन् । 

दशकौंदेखि नेपाली राजनीतिलाई गाँजेका नेताहरु केही मात्र केही वर्षको अन्तरालमा जाँदैछन् । असफलताले पनि जाँदैछन् र उमेरले पनि उनीहरु बिदा हुन वाध्य छन् । यसपछि आउने नेताहरुले अहिले वाक्क, दिक्क बनाएका नेताहरुको अनुसरण नगरुन् भन्ने नागरिक अपेक्षाको उपेक्षा हुनेछैन भन्ने आशा लिनुपर्छ । 

अहिलेका कथित शीर्ष नेताहरुको आत्मकेन्द्रित हठी शैली, नैतिक र चारित्रिक पतन, सिद्धान्तहीन तर सरकारी सत्ता र स्रोत दोहनको लालसा, प्रजातान्त्रिक मूल्य मान्यताप्रति निर्लज्ज प्रहार गर्ने प्रवृत्तिले नागरिक समाजमा संवैधानिक प्रक्रिया र प्रणालीप्रति नै वितृष्णा उत्पन्न गरेको छ । 

परन्तु, सबैलाई एउटै डालामा राख्दा अन्याय हुन्छ । केही नेता राम्रा गुणका पनि छन् तर ती नगण्य वा प्रभावहीन बनाइएका छन् । ठूला दलको पदीय राजनीतिमा प्रभावशाली नेता भनें प्रायः दुष्प्रवृत्तिका वाहक भएका छन् । यससँगै, नेता र हालको कम्युनिस्ट सरकारको असफलताको दोष संसदीय लोकतान्त्रिक प्रणालीमाथि थोपर्न सबै कोटीमा अधिनायकवादीहरु एक भएर जुरमुराएको देखिँदैछ । 

यही कारण अँध्यारो कुनाबाट संसदीय प्रणाली असफल भन्ने नारा उराल्न खोजिँदैछ । अधिकार सम्पन्न (निरंकुश) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गुनगुनाउन खोजिएको छ । नेपालको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अन्ततः तानाशाही र अधिनायकवादी शासन सत्ताको यात्रा हुने निश्चित छ । यतिमात्रै होइन, प्रत्यक्ष निर्वाचितको वकालत गर्नु जान अन्जानमा बाह्य स्वार्थ र चाहनाको पक्षपोषण पनि हो । 

प्रत्यक्ष निर्वाचित कतिसम्म निरंकुश र तानाशाह हुनसक्छ भन्ने प्रवृत्तिजन्य संस्कार हालका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले देखाई दिएका छन् । यद्यपि, कम्युनिस्ट ओली संसदीय प्रणालीअन्तर्गत निर्वाचित प्रधानमन्त्री हुन् । संसद्मार्फत जनताप्रति उत्तरदायी हुनुपर्ने प्रधानमन्त्री ओलीले संघीय, लोकतान्त्रिक गणतन्त्र सम्बोधित संविधानलाई पनि निर्लज्ज कुल्चेको सबैले बुझ्नुपर्ने राजनीतिक सन्दर्भ जिउँदै छ त । 

कम्युनिस्ट प्रधानमन्त्री ओलीले प्रणालीमाथि नै गरेको निर्लज्ज प्रहारजन्य कलुषको दोष लोकतन्त्रात्मक संसदीय प्रणालीमा थोपर्नु जनता फसाउने अर्को कुटिल चाल हो । जनता जब फस्छन् र त्यसमा जकडिन्छन् तब ल्याइने एकात्मक प्रणालीको पञ्जाबाट जनता उम्कनै नसक्ने गरी थला परेको उदाहरण अहिले पनि विभिन्न देश छन् । माकुरे जालमा फसेको पुतलीजस्तै हुन्छन् जनता त्यतिबेला ।

संसदीय प्रणाली समावेशी पनि छ र बहुल संस्कृति सहभागी हुने प्रणाली पनि यहीमात्रै हो । सबैको वैचारिक, भौतिक र लैंगिक सम्मान वा अस्तित्वको रक्षा गर्ने संसदीय प्रजातान्त्रिक प्रणाली समाजवादी पनि हुन्छ र स्वतन्त्रताको प्रत्याभूति पनि यसैबाट हुन्छ । यति फराकिलो राजनीतिक पद्धति अर्को छैन । यसमा कमजोरी भए तिनको सुधार गर्ने हैसियतसमेत यही प्रणालीमा छ भन्ने पुष्टि छोटै समयमा हाम्रै देशले पनि अभ्यास गरेर देखाएको छ ।  

संसदीय प्रजातान्त्रिक प्रणालीभन्दा उदार, जनमुखी र सर्वमान्य प्रणाली दुनियाँमा अर्को कुन छ ? नेपालको अस्तित्व रक्षाको लागि समेत संसदीय व्यवस्था नै उपाय हो । कुनै पनि अधिनायकवादी वा तानाशाही प्रणालीले नेपालको हित रक्षा गर्न सक्तैन ।

कारण, हाम्रै भूराजनीतिक अवस्थिति हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाँदा मुलुक बाह्य खेलको खुला मैदान बन्ने निश्चित छ । बाह्य ‘लबी’को उम्मेदवार जित्ने जिताउने खेल यहाँ प्रत्यक्ष हुनेछ । त्यसबेला बाह्य शक्तिको टकराब थेगिनसक्नु हुने नै छ । 

संसदीय निर्वाचनमा प्रत्येक सांसदलाई प्रत्यक्षको जस्तो सूत्र लागू हुन सम्भव रहेनछ । सम्भावनालाई केलाउँदा प्रत्यक्ष निर्वाचित अधिकार सम्पन्न कार्यकारी प्रमुख अन्ततः राष्ट्र घातक परिणतिको कारक र माध्यम बन्नसक्ने जोखिम नै बढी देखिन्छ । सरकार वा दलहरु सिर्जित गलत परिणामले संसदीय प्रणाली असफल देख्नेहरुले सोचून् । ती साँच्चै देशभक्त हुन् भने संसदीय राजनीतिमा देखिने कमजोरी सुधार गर्ने दृष्टि बनाउन् र यो प्रणालीलाई फोहर पार्नेहरुलाई फाल्ने प्रयत्न गरुन् । दल र नेताको असफलताको बोझ लोकतान्त्रिक पद्धतिलाई नदिऊन् । किनभने, नेपालको सन्दर्भमा संसदीय  प्रणालीमात्रै सही राजनीतिक बाटो हो । दल वा नेताको दोष प्रणालीलाई दिँदा प्रणाली र देशप्रति अन्याय हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC