बदलिँदो परिस्थितिमा जनचाहना, माग र आवश्यकतामा पनि ठूलो परिवर्तन आइसकेको छ । ढुङ्गे युगबाट थालिएकाे सभ्यताको विकास प्रविधिकाे युगसम्म पुगेकाे छ । तानाशाही , निरंकुश वा वंशवादमा आधारित शासन विश्वव्यापीरूपमै मासिँदै गएर लोकतान्त्रिक शासन पद्धतिको जागरण पैदा भएको छ। हाम्रो देशको सन्दर्भमा पनि राणाहरूको जहानियाँ हुकुमी शासन अन्त्य गर्न विद्यार्थी आन्दोलन भएको थियाे भने पञ्चायती शाही निरंकुशताका विरूद्धमा त निर्णायक आन्दोलन नै विद्यार्थी संघ, संगठनहरूले गरे । त्यसको नेतृत्व सदैव नेपाल विद्यार्थी संघले गरेकाे थियाे ।
विसं २०२७ सालमा स्थापना भएदेखि नै लोकतान्त्रिक आन्दोलन, शैक्षिक ,सामाजिक र सांस्कृतिक आन्दोलनहरूमा नेपाल विद्यार्थी संघ अग्र पंक्तिमा रहेकाे छ । यसका सदस्यहरू पचासाैँ जना सहिद भए । धैरैले जेल यातना र दमन भाेगे । धेरै ठूलो बलीदानबाट नेविसंघकाे इतिहास गौरवमय भएकाे छ, समुन्नत र स्मरणीय छ । तर, अब ऐतिहासिक गौरव गाथाले मात्र पुग्दैन । वर्तमानको बदलिँदो अवस्थासँगै आएका चुनौतीलाई कुशलतापूर्वक सामना गर्दै भविष्य स्वर्णीम र सुगम बनाउने दायित्व पनि हाम्रै हाे ।
नेविसंघ स्थापनाकालको निरङ्कुश राजनीतिक पद्धति हटाएर लोकतान्त्रिक व्यवस्था स्थापना गर्न हामी सफल भयौँ । तर, लाेकतन्त्रलाई संस्थागत र सुदृढ गर्दै अगाडि बढाउने सन्दर्भमा हामी कहिलेकाहीँ चुकेका छाैँ । यद्यपि, जनताका लोकतान्त्रिक हक,अधिकारका पक्षमा हामीले सदैव संघर्ष गरेका हाैँ ।
विद्यार्थीहरू विभिन्न पार्टीका भ्रातृ संगठनहरूमा आबद्ध रहँदारहँदै पनि आफ्नो समुदायगत हक, हित र अधिकारका लागि पार्टीकाे स्वार्गभन्दा माथि उठेर आन्दोलित भएको र उपलब्धि हासिल गरेको इतिहास छ । अध्ययन, उमेर र सौर्यलगायका विशेषताले भरिपूर्ण हुने हुदाँ विद्यार्थीहरू नाफाघाटाको हिसाब धेरै गर्दैनन् । न्याय र जनअधिकारका लागि जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न पनि पछाडि पर्दैनन् ।
पछिल्लो राजनीतिक उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई संविधान सभाबाट संविधान जारी भएर लागू भइसक्दा पनि जनता र खासगरी विद्यार्थी समुदायले तात्त्विक परिवर्तनको महसुस गर्न नपाउनु विडम्बनापूर्ण छ । यसैले समयको माग र गतिअनुसार शैक्षिक क्षेत्रमा व्याप्प्त अनियमितता, विकृति र विसङ्गतिविरुद्ध कडा संघर्षमा उत्रन अब ढिलाउनु हुँदैन। विद्यार्थी संघ, संगठनहरू सधैँ मातृ पार्टीका पिछलग्गु हुन् र तिनीहरूको निर्देशन वा इसारामा मात्रै परिचालित हुन्छन् भन्ने भ्रम समाजमा व्याप्त छ । यसलाई व्यवहारबाट चिर्दै अहिलेको समयको माग र चाहनाअनुसार अगाडि बढ्नु पर्छ।
विद्यार्थीहरू सचेत नागरिक हुन् । उनीहरू निःस्वार्थ र स्वाभिमानी हुन्छन्, विवेक बन्धक राख्दैनन् भन्ने मान्यतालाई पुनर्जीवित गर्नुपर्ने भएको छ । धेरै राजनीतिक, शैक्षिक र सामाजिक विषयहरूमा विद्यार्थी समुदायको आफ्नै धारणा, विश्वास र बुझाइ हुन्छन् तिनको पनि सहीरूपबाट चल्न दिनुपर्छ ।
विद्यालय वा क्याम्पसमा औपचारिक गतिविधि गरेर जीवनको अमूल्य समय, सीप र ऊर्जा बिताउनु र विद्यार्थी तथा समाजलाई पनि भ्रमित पार्नु उचित होइन । विद्यार्थीका पीर, मर्का र पीडामा साथ, सहयोग र समर्थन गर्नु अनि शैक्षिक क्षेत्रलाई युगसापेक्ष बनाउँदै लैजानु पर्छ । विश्व बजारमा प्रतिस्पर्धी मानव स्राेत उत्पादन गर्न दबाब दिनेदेखि वातावरण निर्माण गर्ने काम पनि विद्यार्थी संगठनहरूकै हो ।
विभिन्न तहका सरकारहरू गठन भएसँगै शैक्षिक अधिकार र जिम्मेवारीमा पनि फेरबदल भएको छ । त्यसअनुसारका संरचना बनाउने र गतिविधि गर्ने, गराउनेतर्फ पनि संगठनहरूको पर्याप्त ध्यान पुग्नसकेको छैन । संविधानले मौलिक अधिकारमा शिक्षा र स्वास्थ्यलाई राखे पनि तदनुसार नीति नियम निर्माण गर्ने र सेवा, सुविधा एवं सहुलियत प्रदान गर्नेतर्फ अग्रसर हुन बाँकी छ ।
चिकित्सा शिक्षाकाे सुधार डा. गोविन्द केसीको मात्र सरोकारको विषय हुने, शिक्षामा भइरहेको व्यापारीकरण र लुटका विषयमा मौन रहिरहने हो भने विद्यार्थी र अभिवावकको पीडा कस्ले सुन्ने या बुझ्ने ? कोभिड - १९ काे महामारीमा समेत अनियमितता र विद्यार्थी , अभिभावकलाई शोषण गर्नेहरूविरूद्ध पनि हामी नबोले कस्ले बोल्छ ?
समय वेगवान् छ । जनचाहना पनि बदलिँदै गएका छन् । तर, हाम्रो कार्य शैली पुरानै छ । यसबाट बाहिर ननिस्केसम्म शैक्षिक क्षेत्रमा सुधारका किरण देखा पर्न कठिनै छ ।
विद्यार्थी सघ संगठन स्कुल या कलेजमा पस्दा पढाइ बिग्रिन्छ भन्ने अवस्थालाई बदलेर जहाँ विद्यार्थी संगठन पुग्छन् वा छन् त्यहाँ पढाइ राम्रो हुन्छ, नियमित हुन्छ, शैक्षिक सुधारका कार्यक्रम आउँछन् भन्ने स्थितिमा नपुग्दासम्म विद्यार्थी, सरोकारवाला अभिभावक र अन्य सबै पक्षबीच संघ, संगठन प्रतिको दृष्टिकोणमा परिवर्तन आउने छैन ।
शिक्षा क्षेत्रमा आमूल सुधार हाम्रो उद्देश्य हो र त्यसको प्राप्तिका लागि विद्यार्थीमाझ जाने, विद्यार्थीकै सराेकारका विषयमा केन्द्रित भएर शैक्षिक आन्दोलन गर्ने र विद्यार्थीहरूको साथ एव समर्थन लिएर आन्दोलित हुने अनि उपलब्धि हासिल गर्ने दिशामा अगाडि बढ्नु पर्छ । शैक्षिक स्थलहरू राजनीतिक वादविवाद, द्वन्द्व ,झगडा वा खिचातानीको केन्द्रका रूपमा रहुन्जेल परिवर्तन पनि कागजमै सीमित हुनपुग्छ ।
शिक्षामा बढ्दो विभेद न्यून गर्दै लाने, प्राविधिक र अन्य महँगा पढाइमा धनीगरिब सबैका छोराछोरीले गुणस्तरीय शिक्षाको अवसर पाउने अवस्थाका लागि विद्यार्थी संघसंगठनको ध्यान जान जरुरी छ । शिक्षामा सबैको पहुँच अनि सबैलाई समान अवसरका लागि हाम्रो सङ्घर्ष लक्षित हुनुपर्छ ।
शिक्षा राज्यको जिम्मेवारीमा हुनु पर्दछ। त्यसका लागि कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी शिक्षामा हुनुपर्छ । प्रविधि मैत्री शिक्षा आजको आवश्यकता हाे तर हाम्राे देशकाे धेरै ठाउँमा शैक्षिक सत्रको अन्त्यसम्म पाठ्य पुस्तकसमेत पुग्दैन । यस्तो विडम्बनाबाट मुक्त गर्दै शैक्षिक सवालमा केन्द्रित भएर माग राख्ने र आन्दोलित हुनुपर्छ ।
हामीले समयको माग, विद्यार्थीको भावना र चाहनालाई सम्बोधन गर्न सकेमात्र सान्दर्भिक भइरहन्छौँ । नत्रभने हाम्राे अस्तित्व धरापमा पर्नेछ । हामी आफू बदलिएर समाज र शैक्षिक क्षेत्रलाई पनि साथै बदल्नु छ । यससँगै आन्दोलनका स्वरूप र प्रक्रियामा पनि परिमार्जन एवं नवीनता आवश्यक छ । हामी कति पार्टीमुखी र कति विद्यार्थीमुखी हुने निर्क्योल गर्नुपर्ने समय भएको छ । पार्टीले कुन हदसम्म निर्देशित र लगाम लगाउने हो त्यसमा पनि गम्भीर समीक्षा आवश्यक छ ।
बहस अब केका लागि विद्यार्थी संगठन भन्ने नै हो । अहिले विद्यार्थीहरू धेरै हदसम्म आफैँ फारम भर्छन्, आफ्नो भर्ना आफैँ गर्छन, याेग्यताका आधारमा नाम निस्किएर भर्ना प्रक्रियामा सामेल हुन्छन् । पढाइ ,परीक्षा र नतिजा शैक्षिक तालिकाबमोजिम हुँदै जान थालेको छ भने यिनै कामका लागि संगठनहरू किन चाहियो भन्ने प्रश्न टड्कारो रुपमा उठ्ने गरेको छ ।
भौतिक पूर्वाधार र अन्य विकास पनि शिक्षालयहरूमा भइरहेकै छ । स्ववियु निर्वाचनका लागि विद्यार्थी समुदायमा चासो नदेखिए झैँ विद्यार्थी संघ, संगठनप्रतिको धारणा पनि त्यति सकारात्मक छैन । अब हामीले के कसरी सांगठनिक गतिविधि गर्ने, पठनपाठन अवरुद्ध नगरीकन कसरी संगठन गर्न सकिन्छ र विद्यार्थीहरूको आशा, भरोसा र विश्वासको केन्द्र नेपाल विद्यार्थी संघलाई बनाउन सकिन्छ ? स्थापनाको ५२ औं वर्ष प्रवेशको सुखद दिनमा नवीनता र नवप्रवर्तनको खोजीसँगै सागठनिक उपस्थितिको औचित्य तथा सान्दर्भिकतालाई जीवन्त राख्न सत्प्रयास गरौँ । सबैमा हार्दिक शुभकामना !
(महामन्त्री, नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति)