site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अड्डामा अड्किएको फाइल 
Sarbottam CementSarbottam Cement

पी. आर. आकाश


“सर, एक हप्तादेखि मेरो फाइल अड्किएर बसेको छ । के–के प्रक्रिया पुगेको रहेनछ, हेरिदिनुस् न ।” 

“त्यही त, तपाईंको फाइल अफिसमा अड्किने । अफिसका कर्मचारी घर गएका उतै अड्किने, कस्तो अचम्मको संयोग हगि !” हाकिमले ठट्टा गर्दैै भने ।

Prabhu Bank
Agni Group
NIC Asia

अनि थपे, “खासमा तपाईंको काम हुन नपाएको कर्मचारी नभएरै हो के...! भनेपछि तपाईं एक हप्तादेखि यतै हुनुन्छ । हाम्रो स्टाफजस्तै हुनुभएछ ! मैले पनि यी स्टाफहरूको दर्शन पाउने भनेको मुस्किलले महिनामा एक हप्ता न हो । अब तपाईं पनि एक महिनाको तलब...!” उनको अनुहारमा कुटिल हाँसो फैलियो ।

हाकिम मेरो कुरामा गम्भीर नभएको देख्दा मलाई औधी रिस उठ्यो । तर, पनि म केही बोलिनँ । चुपचाप बसिरहेँ । आफूलाई काम तुर्याउनु थियो । एक छिनको मौनता चिर्दै अलि गम्भीर भावमा उनले भने, “के गर्ने, बिदाका लागि अनेक बहाना बनाएर आउँछन् । नदिँदा छुच्चो भइने । दिनैप¥यो । दिँदा यी अफिसको हालत यस्तो ! देख्नुभयो क्यार ! ए साँच्ची, मेरो त खाजा खाने समय भएछ । हिँड्नुस् चिया खान । अनि। आएर हेरौँला फाइल ।”

Global Ime bank

मेरो नजर हाकिमको आडैमा टाँसिएको कागजमाथिको अक्षरमा पर्यो । त्यहाँ लेखिएको थियो, ‘खाजा खाने समय दिउसो १ः०० बजेदेखि २ः०० बजेसम्म’ । घडी हेरेँ । एक बज्न अझै १५ मिनेट बाँकी नै रहेछ ! मैले केही प्रतिक्रिया दिइनँ । बस्, हाकिमको पछि–पछि लागेँ ।

हाकिमसँगै म पनि क्यान्टिनमा छिरेँ । क्यान्टिनका साहुजी पैसा गन्नमै व्यस्त थिए । मैले उनलाई अफिसका फाँटहरूमा ओहोर–दोहोर गरेको धेरैपटक देखेको थिएँ । क्यान्टिनका ती साहुजीले मलाई एकटकले हेरिरहे ! 
“सर चिया ?” 
“अँ दुई कप ल्याऊ ।” त्यसै बेला हाकिमले देब्रे आँखा झिम्काएको मैले नोटिस गरेँ । लगत्तै साहुजीको नजर मतिर सोझियो । उनी मुसुक्क हाँसे !

हाकिमले फटाफट् चिया सके । त्यति बेलासम्म मैले दुई सुर्की पनि लगाएको थिइनँ । 
“मलाई हतार भो ! सेवाग्राही आए होलान् ? तपाईं विस्तारै आउनुहोला । साहुजी पैसा कति भो ?” 
“हैन सर, म तिर्छु ।” मैले हाकिमलाई रोक्न खोजेँ । तर, उनले पर्सबाट पैसा निकालेर दिए । र, बाहिरिए ।

हाकिम त्यहाँबाट हिँडिसकेपछि उनी बसेकै कुर्सीमा साहुजी विराजित भए । उप्रान्त, मेरो नालीबेली र तीनपुस्ते उठाए, उनले । कुरा गर्दै जाँदा उनीसँग म यतिसम्म खुलेछु कि आन्द्राभुँडी बाहिरै निस्किसक्दा पनि मैले भेउ पाउन सकिनँ ! त्योचाहिँ उनको खुबी पनि हुनसक्छ ।

उनले अगाडि थपे, “अहिले अफिसमा स्टाफहरूको कमी छ । त्यही भएर सेवाग्राहीको काम समयमा हुन सकिरहेको छैन । टुंग्याउनुपर्ने फाइलहरू त कति छन् कति ? तपाईंको फाइलको पालो आउन त अझै एक महिनाभन्दा बढी कुर्नुपर्छ होला ।”

मलाई चिट्चिट् पसिना आउन थाल्यो । मैले सिलिङमा झुन्डिएको पंखातिर हेरेँ । पंखा पनि अफिसजस्तै चिर निन्द्रामा थियो । के गरौँ र कसो गरौँ भो मलाई । उनले मलाई असहज महसुस भएको देखेर मौका छोपिहाले र भने, “हजुरलाई चाहिए चाडैँ नै होला ! चिन्ता नलिनुस् । म सहयोग गर्छु ।”
मैले लामो सास फेरेँ । शरीर हल्का भएजस्तो भयो ।

उनी काउन्टरमा गए । केही लेखिएको चिट मेरो हातमा थमाए । “के हो यो ?,” मैले उनलाई सोधेँ । 
“काम छिटो हुने ‘सटकट् फर्मुला’ ।” 
“मैले बुझिनँ, स्पष्ट भन्नुस् न ! के हो यो ?” 
“कस्तो बुद्धू तपाईं ? त्यहि भएर त सानो कामका लागि पनि यतिका दिनसम्म अफिसको चक्कर लाउँदै हुनुहुन्छ !” उनी रन्किए ।

त्यस लिस्टमा बैंकको नाम, शाखा, एकाउन्ट होल्डरको नाम र एकाउन्ट नम्बर लेखिएको थियो । म एक छिन लिस्टमा घोरिएँ । उनले सोधे, “अब त बुझ्नु’भो होला नि ! त्यहाँ एक चिज छुटेको छ । त्यो हो रकम ! त्योचाहिँ भरे...। त्यसका लागि तपाईंको सम्पर्क नम्बर छोडेर जानुस् ।”

उनको कुराले म झसंग भएँ । जमिन भासिएजस्तो अनुभूत भयो । मेरा आँखामा अफिसको मूलगेटबाट छिरिसकेपछि ठूलो अक्षरमा स्पष्ट देखिने गरी राखिएको कार्यालयको बडापत्रमा भएका अक्षरहरू घुम्न थाल्यो । त्यहाँ ‘यति समयभित्र यो सेवा निःशुल्क’ भनेर पनि लेखिएको थियो ।

मैले काँपेको स्वरलाई नियन्त्रण गर्दै केही चर्को स्वरमै उनीसँग कुरा गर्ने साहस बटुल्न थालेँ । “के तपाईंले मसँग घुस माग्नुभा’को ?” 
“किन च्याँठिनु’भा तपाईं । विस्तारै बोल्नुस् न ! यो तपाईंको घर त होइन नि । अरूलाई डिस्टर्ब होला भन्ने कुराको पनि ख्याल राख्नुस् ।” उनी आफूले अघि टेबुलमा राखेको लिस्टमाथि झम्टिए र गोजीमा हुले ।

“तपाईंले मलाई सोझो देखेर हेप्ने ? अख्तियारलाई बोलाऊँ ?” 
“केही फरक पर्दैन हजुर अख्तियारलाई बोलाएर । तपाईंजस्तै एकजना बुद्धि भ्रष्ट भा’का सेवाग्राही आएका थिए । सुरुमा यस्तै धम्की दिए । अख्तियारलाई पनि बोलाए । तर पनि तिनले केही लछारपाटो लाउन सकेनन् । बरु, उल्टै ‘आइन्दा हामीलाई यसरी दुःख दिनुभयो भने कारबाहीमा पर्नुहुन्छ नि !’ भन्ने अख्तियारकै चेतावनी खाएर गए । हाम्रा हाकिम सा’प यस्ता कुरामा माहिर छन् । कसैले भेट्न सक्दैन उनलाई । वास्तविक घटनालाई घुमाइफिराइ उल्टो बनाइदिन्छन् ! तपाईं पनि त्यही फन्दामा पर्न चाहनुहुन्छ कि मेरो आइडियालाई ‘फलो’ गर्नुहुन्छ ? बाँकी तपाईंको मर्जी ।”

उनको कुराले मलाई केही सोच्न बाध्य बनायो । म केही बोलिनँ । जुरुक्क उठेँ र त्यहाँबाट हिँड्न लागेँ । त्यही बेला उनले मलाई भने, “सर, यो लिस्ट लैजानुस् । काम आउन सक्छ ।”

हातमा गुजमुज्याएर राखिएको कागजको पोको फुकाएर उनले टेबलमा राखिदिए । “अनि, तपाईंको सम्पर्क नम्बर पनि छोडेर जानुस् न !” 
मैले लिस्टमा सम्पर्क नम्बर लेखी दिएँ र टेबुलमै छाडेर हिँडे । 
“सर, यो कागज लैजानुस् न !” उनी भन्दै थिए । म पछाडि नफर्की सरासर अघि बढेँ ।

“काम बन्यो त आज ?” ढोका खोलेर भित्र पस्न नभ्याउँदै बूढीले सोधी । मैले ‘अहँ’ को भावमा मुन्टो हल्लाएँ । 
“एक हप्ता भइसक्यो । एउटा काम पनि पूरा गर्न नसक्ने । के हो तिम्रो पारा । हे भगवान !” अब यहाँ पनि सुरु भयो कचकच...! जसको अन्त्यको ठेगान छैन ।
    
बेलुका खाना खान मन लागेन । बूढीको मन राख्नै भए पनि भाग बसिदिएँ । मनमा एकोहोरो कुरा खेल्न थाल्यो । लामो प्रक्रिया लाग्ने काम पनि त हैन यो । गरिदिएको भए पन्ध्र मिनेटमा सकिने थियो । एक हप्तासम्म चक्कर लाउँदा’नि आखिरीमा हात लाग्यो शून्य !

ओछ्यानमा पल्टिएँ । के को निन्द्रा लाग्नु ! त्यसै बेला फोन आयो । फोन रिसिभ गरेँ । आवाज सुनियो, “सर, के विचार गर्नुभयो त ?” 

“को बोल्नु’भा, मैले त चिनिनँ नि !” मैले सोधेँ ।     

“उही के, क्यान्टिनको साहुजी । हाकिम सा’पले त पचास हजारभन्दा कम हुँदैन भन्नुभाथ्यो । मैले बल्ल–बल्ल घटाएर तीसमा झारेको छु । के छ यसमा हजुरको विचार ?” मैले केही नबोली फोन राखिदिएँ ।

अर्को दिन पनि त्यही समयमा फोन आयो । मैले फोन रिसिभ गरेँ । “...सर, बीससम्म भए पनि...।” यसपटक पनि मैले कुनै प्रतिक्रिया नदिई फोन काटिदिएँ । दोस्रोपटक फोन आएपछि अर्को तीन दिनसम्म उनले मलाई सम्पर्क गरेनन् ।

चौथो दिन बिहानै फोन आयो । “सर, दससम्ममा हो भने आउनुस् है !” मैले कुनै प्रतिक्रिया दिइनँ ।

यही कारणले होला, उनले फोन नगरेको आज ठ्याक्कै एक हप्ता भयो । मेरो फाइल त्यो अफिसमा थन्किएको पनि लगभग बीस दिन हुन लाग्यो । हुन त उनले कर्मचारी अभावको कारणले फाइलको काम बढ्न एक महिना लाग्छ भनेका थिएँ । अब दश दिन हेरौँ न !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC