काठमाडौं । नेपाली चलचित्र उद्योगमा किन अपेक्षित राम्रा चलचित्र बनिरहेका छैनन् ? जवाफ एउटै आउनुपर्ने हो । तर, यो प्रश्नको जवाफ व्यक्तिअनुसार फरक–फरक आउँछ ।
कसैले निर्देशकको कमजोरी देखाउँछन् भने केहीले कलाकारको कमजोरी औँल्याउँछन् । केहीले कमजोर कलाकारका कारण राम्रा चलचित्र नबनिरहेको जिकिर गर्दा केहीले क्षमतावान् निर्देशकको अभावमा अपेक्षित चलचित्र निर्माण हुन नसकेको टिप्पणी गर्छन् ।
निर्देशक तथा समीक्षक मनोज पण्डित निर्देशक, कलाकार, निर्माता र सिनेमेटोग्राफरबीच ठूलो दूरी (ग्याप) रहेको बताउँछन् । कलाकारले निर्देशकलाई नसुन्ने समस्या रहेको निर्देशक पण्डितको भनाइ छ । आफूहरु चलचित्रको एउटा सानो अंश मात्रै हो भन्ने चेतना कलाकारमा हुनुपर्ने बताउँदै उनी भन्छन्, “कलाकारको उपस्थिति नै चलचित्र हो भन्ने बुझाइ हाम्रा कलाकारमा छ । नाटकमा हो । तर, चलचित्रमा होइन भन्ने तथ्य बुझ्नु आवश्यक छ ।” कथा, पटकथा, प्रस्तुति, ब्याकग्राउन्ड स्कोर, प्लट, सिन, सम्पादन, कलर आदिको समग्र प्याकेज चलचित्र हो भन्ने सैद्धान्तिक ‘ग्याप’ रहको उनको बुझाइ छ ।
सिनेमेटोग्राफरले निर्देशकको भावना, मनोविज्ञान बुझेर उसले गरेको परिकल्पनालाई क्यामेरामा कैद गर्नुपर्ने तर यसमै दूरी रहेको पण्डित बताउँछन् । कलाकार र निर्देशकबीच पनि यही नै समस्या रहेको भन्दै उनी भन्छन्, “निर्देशकले चलचित्रलाई सधैँ सिर्जनाको रूपमा रहने तर निर्माताले नाफाको बिजनेस सम्झिदिनाले यसमा सधैँ द्वन्द्व रहेको छ । यो खाडल नपुरिएसम्म राम्रो चलचित्र बन्दैन ।” यद्यपि, निर्देशक व्यवसायिक र क्षमतावान् हुनुपर्नेमा उनको जोड छ ।
कलाकारलाई मात्रै सम्पूर्ण दोष थुपारेर डिरेक्टर उम्किन नहुने निर्देशक विनोद पौडेलको तर्क छ । कारण, निर्देशकले जे गराउँछ, त्यही नै कलाकारले गर्ने हो भन्ने उनको तर्क छ । “एक्सन कट गराउँदा निर्देशक ठिक छ भनेर दंग पर्ने अनि, पछि कलाकारले गर्दा चलचित्र राम्रो भएन भन्दै हिँड्न उसलाई अधिकार हुँदैन । किनभने, निर्देशक चलचित्रको कन्ट्रोल गर्ने क्याप्टेन हो ।”
निर्देशक आफ्नो काममा स्पष्ट र क्षमतावान् भए चलचित्र राम्रो हुने उनको जिकिर छ । “एक्टर/एक्ट्रेसबाट कति र कस्तो काम लिने त्यो निर्देशकको क्षमतामा निर्भर हुन्छ,” हरेक कलाकार राम्रो हुने भन्दै निर्देशक पौडेल भन्छन्, “चलचित्रमा कलाकार लिने तर उसले काम गरेन भनेर कुनै निर्देशकले भन्छ भने त्यो मूर्ख निर्देशक हो । कलाकार छनोटमा मैले गल्ती गरेँ भनेर स्वीकार गर्नुपर्छ ।”
‘एक्टर आर नट ब्याड अलवेज डिरेक्टर आर ब्याड’ भन्ने भनाइ उद्धृत गर्दै विनोद चलचित्र निर्देशकको हातमा हुने बुझ्नुपर्नेमा जोड दिन्छन् । नेपाली चलचित्र उद्योगका अधिकांश निर्देशकसँग ‘सट ब्रेक डाउन’ नहुने गरेको उनी बताउँछन् । “यो सट यसरी लिँदै छु, यसको समयावधि यति हुनेछ, यो कारण यो सट लिँदै छु, यो क्यारेक्टरको ब्लकिङ यसरी गर्दै छु । यो ब्लकिङ गर्नुको अर्थ यो हो भन्ने क्लियर पिक्चर निर्देशकसँग हुँदैन,” निर्देशक पौडेल भन्छन्, “यसको क्लियर पिक्चर लिएर निर्देशक सेटमा पुगेपछि क्यामेरामेनले सिचुएसन सोध्छ । निर्देशकले सिचुएसन भन्दिएपछि क्यामेरामेनले आफूलाई कसरी सहज हुन्छ, त्यहीअनुसार क्यामेरा राख्छ, एंगलिङ गर्छ, उसलाई जे सजिलो र राम्रो लाग्छ, त्यही गर्छ ।” यसले निर्देशकको परिकल्पना र मनोविज्ञानभन्दा पनि छायांकारको परिकल्पना चलचित्रमा देखिन्छ । योजना भएको निर्देशकको अभाव नेपालमा रहेको र उसले आफ्नो परिकल्पना प्रस्तुत गर्न नसक्दा कलाकार, प्राविधिक र निर्देशकहरुबीच ठूलो दूरी रहेको पौडल बताउँछन् ।
निर्देशक विशाल भण्डारी चलचित्रमा हरेक पक्षको बराबर कमजोरी रहेको बताउँछन् । निर्देशक, कलाकार तथा प्राविधिक मात्रै नभएर सबै उत्तिकै जवाफदेही रहेको उनको भनाइ छ । “कोही एक व्यक्ति मात्रै होइन, हाम्रो चलचित्र उद्योगकै समस्या के हो भने हामी मिहिनेतमा विश्वास गर्दैनौँ । हामीमा दुःख गरेर भए पनि सिक्नुपर्छ भन्ने चाहना छैन,” निर्देशक भण्डारी भन्छन्, “र, अर्को महत्त्वपूर्ण पक्ष, जो जान्दछ र क्षमतावान् छ ऊ काम गर्दैन, गाली गरेर मात्रै बस्छ ।”
जाने–बुझेका व्यक्तिले रिस्क लिएर काम नगर्ने तर नजानेका व्यक्तिले काम गर्दा राम्रा चलचित्र बन्न नसकेको र यसमा एकले अर्कोलाई आरोप लगाएर आफू पानीमाथिको ओभानो बन्न खोजिरहेको उनी बताउँछन् । नजानेको मेकरले रिस्क लिएर चलचित्र बनाउँदा बिग्रिरहेको भण्डारीको ठहर छ ।
कलाकारमा पनि ठूलो समस्या रहेको उनको जिरह छ । ब्रेक नपाउन्जेल मेकरका पछाडि दौडिने तर काम पाइसकेपछि मिहिनेत नै नगर्ने समस्या रहेको उनी बताउँछन् । “ब्रेक नपाउन्जेल राम्रो काम गर्छु भन्ने जुुनून् हुने तर, काम पाउन थालेपछि एकै प्रकारको काम गर्ने । नयाँ कुरा दिन नखोज्ने हाम्रोमा ठूलो समस्या छ,” निर्देशक भण्डारी भन्छन्, “हरेक चलचित्रमा दर्शकलाई फरक टेस्ट दिनुपर्छ भन्ने उद्देश्य नै नराख्ने चलन । एउटा, दुईटा चलचित्रबाटै स्टारडम चल्यो भन्ने सोचाइले सबै कुरा बिगारिरहेको छ । यसले समग्र नेपाली चलचित्रको आउटपुट नै नराम्रो आइरहेको छ ।”
आफूसँग भएको सिप र ज्ञान फेसबुकमा लाद्नुको साटो चलचित्र बनाएर थिएटरसम्म पुर्याउन सके ठूलो परिवर्तन नेपाली चलचित्र क्षेत्रमा देखिने उनको दाबी छ । “हाम्रा जान्ने–बुझ्ने मेकरहरु ओस्कार अवार्डको नोमिनेसन हेर्ने र विश्व चलचित्रको इतिहास हेरेर फेसबुकमा पढाएर बस्छन्,” उनी भन्छन्, “उनीहरुले यो चलचित्र उद्योगलाई कसरी अगाडि बढाउने भनेर गम्भीरतापूर्वक लिएर कस्तो चलचित्र बनाउने, दर्शकले कस्तो चलचित्र खोज्छन्, विषयवस्तु र प्रस्तुतिकरण कस्तो हुनुपर्छ भनेर काम गरिदिए नेपाली चलचित्रको स्तरमा धेरै सुधार आउँछ ।”
पुरानो पुस्ताका कलाकारमा चलचित्र भनेको निर्देशकको हो र म उसले भनेअनुसार चल्नुपर्छ, बिग्रियो भने उसकै थाप्लोमा जाने हो भन्ने सोचले काम गरिरहेको तर नयाँ पुस्ताले अनावश्यक रुपमा जान्ने भएर निर्देशकलाई नै सिकाउने गरेको आफूले अनुभूत गरेको उनी बताउँछन् ।
“पुराना कलाकारमा मैले चासो राख्यो भने निर्देशकले आफूअनुसार काम गर्न सक्दैन कि भन्ने संकोच छ । नयाँ पुस्तामा म नै सबथोक भनेर थप राम्रो गर्ने नाममा सेटमा अनावश्यक डाइलग बोल्दिने, निर्देशकले भनेको नमान्ने समस्या छ,” उनी भन्छन्, “कतिपय अवस्थामा आवश्यकताभन्दा धेरै निर्देशकलाई विश्वास गर्दा र कति ठाउँमा निर्देशकभन्दा कलाकार जान्ने भएर सिकाउन थाल्दा पनि धेरै काम बिग्रिएको छ ।”