site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सैनिक प्रबुद्धता

प्राज्ञिक वृत्तमा झैँ सेनाभित्र पनि चिन्तन मनन गर्दै राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा बारे बहस, विश्लेषण र विचार विमर्श गर्ने परम्परा हुन्छ । यस्ता विद्वत्ता सैनिकका अध्ययन लेखन, छलफल तथा सोचमा देखिन्छ भने कतिपय अवस्थामा व्यवहारमा झल्किने हुन्छ । केही सैनिक अधिकारीहरु गैरसैनिक विषयमा पनि अध्ययन, मनन र चिन्तन गर्ने भएकाले सैनिकबाहेक ती विषयमा पनि उनीहरुको विद्वत्ता वा विशेषज्ञता हुनसक्छ । तर, यस आलेखमा चर्चा गर्न लागिएको प्रसङ्ग चाहिँ सैनिक प्रबुद्धताको पाटोमात्र हो ।

सेनाको मुख्य भूमिका युद्ध गर्ने भएकाले लडाइँलाई हेर्ने दृष्टिकोणबाटै सैनिक प्रबुद्धतालाई छुट्ट्याउन सकिन्छ । युद्ध भन्नेबित्तिकै सामान्यतया दुई देशबीच हुने परम्परागत युद्ध भन्ने बुझाइ छ । परन्तु, दोस्रो विश्वयुद्धपश्चात् र विशेषगरी शीतयुद्धको अन्तसँगै पराम्परागत युद्ध घट्दै गएको तथा देशभित्रै विभिन्न समूहबीच हुने सशस्त्र द्वन्द्व बढ्दै गएको देखिन्छ । तसर्थ, सैनिक प्रबुद्धतालाई पनि समग्र सैनिक ‘अपरेसन’हरुको सेरोफेरोमा हेर्नुपर्ने हुन्छ । 

सैनिक अधिकारीहरुमा हुने प्रवृत्तिका आधारमा सैनिक प्रबुद्धतालाई सामान्यतः तीन भागमा विभाजन गर्न सकिन्छ । प्रसिद्ध समाजशास्त्री मोरिस ज्यानोविजले आफ्नो पुस्तक ‘दी प्रोफेसनल सोल्जर’मा युद्धप्रतिको सोचका आधारमा सैनिक अधिकारीहरुलाई सैनिक प्रविधिविद् (मिलिटरी टेक्नोलोजिस्ट), नायक नेता (हिरोइक लिडर्स) र सैनिक प्रबन्धक (मिलिटरी म्यानेजर) गरी तीन भागमा विभाजन गरेका छन् । पछि अर्का लेखक ब्रायन म्याकएलिस्टर लीनले आफ्नो पुस्तक ‘द इको अफ ब्याटल’ मा अमेरिकी सेनामा विकसित भएका तीन बौद्धिक परम्परा संरक्षक (गार्जियन), नायक (हिरो) र प्रबन्धक (म्यानेजर) भनी सैनिक अधिकारीहरुलाई वर्गीकरण गरेको पाइन्छ । 

Agni Group

लेखक लीनका अनुसार सेनाले विकास गरेको तीन फरक बौद्धिक परम्परा (संरक्षक, नायक र प्रबन्धक) को संयोजनले ‘सेनाको युद्ध लड्ने तरिका’ निश्चित गर्छ । उनका अनुसार ‘संरक्षक’ सोच हुनेहरूले युद्धलाई इन्जिनियरिङ्ग परियोजनाको रूपमा लिन्छन् र प्रमाणित वैज्ञानिक सिद्धान्तहरूको सही प्रयोगबाट युद्धको नतिजा निर्धारण हुन्छ भन्ने मान्यता राख्छन् । त्यस्तै, ‘नायक’ सोच हुनेहरू युद्धलाई सामान्य लडाइँका रूपमा लिन्छन् भने ‘प्रबन्धक’ सोच हुनेहरूले संगठनात्मक समस्याको रूपमा हेर्ने गर्छन् । यी तीनै प्रकारका विचारहरु (स्कूल अफ थट) को समग्रताले सैन्य दर्शन र युद्ध संचालनको तरिका देखाउँछ । 

लीन भन्छन् ‘संरक्षक’ फौजी दर्शन नै उन्नाइसौं शताब्दीको प्रमुख सैन्य प्रतिमान (प्याराडाइम) को रूपमा रह्यो । ‘संरक्षकहरू’ युद्धलाई विज्ञानको अभ्यासको रूपमा हेर्दै वैज्ञानिक सिद्धान्तहरूको सही प्रयोगबाट युद्धको यथार्थ गतिविधि तथा नतिजा यकिन गर्न सकिन्छ भन्ने धारणा राख्छन् । त्यसैले, उचित सैनिक साधन तथा मत (डक्ट्रिन)को प्रयोग गरी युद्धमा विजय हासिल गरिन्छ भन्ने ‘संरक्षक’हरुको मान्यता छ । लडाइँमा कुनै त्रुटि देखिन्छ भने डक्ट्रिन र सैनिक साधनहरुका कारण भएको हुन्छ जसमा सुधार गरिनुपर्छ भन्ने उनीहरुको ठम्याइ हुन्छ । संरक्षकहरूको बुझाइमा कुनै पनि फौजको उद्देश्य लड्नेभन्दा पनि युद्ध रोक्ने हो ।

Global Ime bank

वर्गीकरण गरिएको दोस्रो फौजी दर्शन ‘नायक’ हो । ‘संरक्षक’ भन्दा फरक यस बौद्धिक परम्पराले मानवीय तत्त्वलाई जोड दिँदै साहस, अनुभव, मनोबल र अनुशासन जस्ता व्यक्तिगत तथा मनोगत विशेषताका आधारमा युद्धलाई नियाल्छ । ‘नायक’ सोच हुनेहरु युद्ध ‘सैनिकद्वारा लडिन्छ न कि हतियारबाट’ भन्नेमा विश्वास गर्छन् । उनीहरू लडाइँ नजिती राजनीतिक समाधान प्राप्त गर्न सकिँदैन भन्नेमा पनि दृढ विश्वासी रहन्छन् । यस बौद्धिक परम्पराको महत्त्वपूर्ण विशेषता नै युद्ध जित्न भौतिक साधनभन्दा मनोबल र अन्य मानवीय पक्षलाई बढी महत्त्व दिनु हो । 

तेस्रो फौजी दर्शनमा ‘प्रबन्धक’ पर्छन् । प्रबन्धकहरु प्रायः ‘संरक्षक’ र ‘नायक’को भन्दा विपरीत सोच राख्छन् । यस वर्गमा पर्ने सैन्य बुद्धिजीवीहरू युद्ध आर्थिक र राजनीतिक प्रतिद्वन्द्विताको उपज हो भन्नेमा दृढ देखिन्छन् । लडाइँको परिस्थितिमा सम्पूर्ण राष्ट्रलाई परिचालन गर्नुपर्छ भन्ने विश्वास उनीहरुमा हुन्छ । यस्ता वृहत् परिचालनका लागि विशाल जनसेना, उन्नत हतियारसहित सुसज्जित सेना र यथार्थपरक तालिमको आवश्यकता हुन्छ भन्ने मान्यता प्रबन्धकहरुको रहन्छ । ठूला सैन्यशक्ति व्यवस्थापन गर्ने एकमात्र तरिका पूर्वनिर्धारित सैन्य ड्रिल, प्रक्रिया र उपकरणको प्रयोग हो भन्ने उनीहरुको सोच देखिन्छ । यो कोटीका विचारकहरू युद्धमा मानवीय पक्षको महत्वलाई त्यति धेरै ध्यान दिँदैनन् ।
    
यी तीन चिन्तनमध्ये कुन चाहिँ सर्वोत्तम हो त भन्ने प्रश्न उब्जन सक्छ । झट्ट हेर्दा कुनै एक प्रवृत्ति ठीकजस्तो पनि लाग्ला तर यी तीनैका आआफ्ना महत्त्व र विशेषता छन् । वास्तवमा, सेनाको विकासको स्तर, मुलुकले सामना गर्नुपर्ने सैन्य खतराको प्रकृति, भूराजनीति, सैनिक परम्परा आदि कारणले कस्तो प्रकारको सैनिक सोच उजागर र उपयुक्त हुन्छ भन्ने इङ्गित गर्छ । त्यस्तै, समय र परिस्थितिले पनि कुन प्रकृतिको सोच बढी उपयोगी हुन्छ भन्ने जनाउँछ । हुनत, सेनामा यी तीनै चिन्तन जरुरी हुन्छन् तर कुन समय कुन चिन्तन बढी र कुन घटी आवश्यक हुन्छ भन्ने चाहिँ सेनालाई प्राप्त हुने स्रोतसाधन र निर्वाह गर्नुपर्ने भूमिकामा समेत भरपर्ने देखिन्छ ।

ज्यानोविज भन्छन् ¬– यी तीनमा सही सन्तुलन कायम गर्ने कुरामा सेनाको प्रभावकारिता निर्भर हुन्छ । किन्तु, आधुनिक फौजमा उचित सन्तुलन कायम राख्न सैनिक प्रबन्धकमा बढी भरोसा गर्नुुपर्ने हुन्छ । सैनिक प्रबन्धकहरु नै आजको विश्वमा देखापर्ने सुरक्षा चुनौतीहरुलाई व्यवस्थापन गर्न ज्ञान र सीपले बढी सुसज्जित हुन्छन् । यो क्षमता उनीहरुमा भएको ज्ञानको कारणले मात्र होइन दिनहुँ आइपर्ने विविध प्रकृतिका काममा संलग्न हुनुपर्ने बाध्यताले पनि उनीहरुलाई वर्तमानका चुनौतीहरु सामना गर्न सक्षम बनाउँछ ।

कतिपयमा ‘उम्लँदो’ रगतका कारण तरुणहरुमा ‘नायक’ प्रवृत्ति हुन्छ भन्ने ठानिन सक्छ । तर, ‘नायक’ प्रवृत्ति तल्ला तथा मध्यम दर्जाका अधिकृतहरुमा मात्र हुन्छ भन्ने सोच मनासिब होइन । निकै वरिष्ठ अधिकारीहरुमा पनि यो प्रवृत्ति देखिन्छ । अनि, यस्तो सोच सैनिक काबाहीका दौरानमात्र नभई अन्य अवस्था जस्तै कुनै प्रशासकीय निर्णय गर्दा अथवा कुनै बहसमा सहभागी हुँदा पनि झल्किन सक्छ । ‘नायक’ हरेक काममा आफू अग्रसर हुने र निर्णय गर्दा बढी जोखिम उठाउने गर्छन् । ‘प्रबन्धक’ प्रवृत्तिका अधिकृतहरुले जोखिम उठाउँदैनन् भन्न खोजिएको होइन तर उनीहरु जोखिमको लेखाजोखा गरेरमात्र निर्णय गर्छन् । यस्तो निर्णय गर्दा क्षणिक जित हासिल गर्नेभन्दा पनि समग्र लक्ष्य कसरी प्राप्त गर्ने भन्ने ध्यान उनीहरुको रहन्छ । 

अब के नेपाली सेनामा पनि यी तीनै सैनिक चिन्तन छन् त भन्ने प्रश्न उठ्न सक्छ । एकीकरण अभियान सकिएपछि नेपाली सेना युद्धको तयारी गर्नेभन्दा पनि लामो समयसम्म ‘सेरेमोनियल आर्मी’ को रुपमा रहेकाले सेनामा यस्तो चिन्तन प्रखररुपमा भएको पाइँदैन । तथापि, पछिल्लो समय माओवादी सशस्त्र द्वन्द्वमा अपरम्परागत नै भए पनि लडाइँ लडेकाले केही अधिकृतहरुमा छिटफुट यस्तो चिन्तन भेटिन्छ । खासमा, नेपाली सेनामा पनि यी तीनै सोचको आवश्यकता छ । माओवादी “जनयुद्ध“मा वीरतापूर्वक लडेका सैनिकहरुको उचित मूल्याङ्कन हुन नसक्दा सेनालाई प्रशस्त योगदान दिने उत्साह र क्षमता हुँदाहुँदै पनि ती सेनाबाट निवृत्त भए । त्यस्तै, संयुक्त राष्ट्रसंघीय मिसनहरुमा लामो समयदेखि सहभागी हुनाले नेपाली सेनामा केही ‘प्रबन्धक’ चरित्र पनि पाइन्छन् । तर, मिसनमा रहँदा प्रबन्धकका रुपमा कार्यकुशलता देखाए पनि नेपाली सेनाभित्र प्रबन्धक प्रवृत्ति खासै मौलाउन पाएको छैन । त्यस्तै, नेपाली सेनामा डक्ट्रिन र ‘मिलिटरी हार्डवेयर’को राम्रो व्यवस्था भइनसकेकाले तिनमा भरोसा गर्ने ‘संरक्षक’ प्रवृत्ति पनि विकास हुनसकेको देखिँदैन ।

आजभोलि विभिन्न च्यानल तथा अनलाइन टीभीहरुमा माओवादी द्वन्द्वकालीन सैनिक अपरेसनका बारेमा अवकाशप्राप्त सैनिक अधिकारीहरुबाट आफ्ना अनुभव तथा आफूले गरेका कामका बारेमा अनेकौं वर्णन गरिएको पाइन्छ । ती वर्णनहरु विश्लेषणात्मक भन्दा पनि भोगाइ तथा व्यक्तिगत धारणालाई अभिलेखिकीरण र ध्यानाकर्षण गर्ने हिसाबले भएको देखिन्छ । यस्ता वर्णनहरुमा नायक (हिरो) सैनिक सोचको प्राधान्य रहने गरेको छ । व्यवस्थापकीय तथा प्रौद्योगिक सोचबाट ती घटनाको विश्लेषण भएको खासै पाइँदैन । यस्ता घटनामा सरकार वा सेनाको कुनै नीति, रणनीति, हतियार प्रणाली, अपरेसन योजना, डक्ट्रिन आदिको केकस्तो प्रभाव पर्यो वा परेन भनी विस्तृत अध्ययन भएको देखिँदैन । हुन त सैनिक जर्नलहरुमा प्रकाशित केही लेखहरुमा व्यवस्थापकीय तथा प्रौद्योगिक सोचका छनक पनि देखिन्छ तर नेपालमा गुणस्तरीय जर्नल प्रकाशन गर्ने र त्यसको अध्ययन गर्ने प्रचलन खासै नभएको र विभिन्न सामाजिक सञ्जालले सहजै जनमानसको ध्यानाकर्षण गर्ने भएकाले सेनाको ‘नायक’ प्रवृत्तिमात्रै प्रचारमा आएको देखिन्छ । अर्कोतर्फ, नेपाली सेना सैन्य प्रविधि र युद्ध व्यवस्थापनको हिसाबले समेत पछाडि रहेकाले नायक प्रवृत्ति बाहेकका अन्य प्रवृत्तिहरु राम्ररी प्रस्फुटन हुनसकेका छैनन् ।

हामीले के बिर्सनु हुँदैन भने यहां उल्लेख गरिएको सैनिक वैचारिक परम्परालाई कतिपय अवस्थामा स्पष्टरुपमा तीन वर्गमा विभाजन गर्न सकिँदैन । वास्तविक जीवनमा ती पृथक नरही अन्तरसम्बन्धित वा कुनै परिस्थितिमा एकआपसमा खप्टिएका पनि हुन सक्छन् । विभिन्न स्थितिमा एकै व्यक्तिमा पनि यी सोचहरुको मिश्रण पाइन्छ भने एउटै सैनिकले पनि विभिन्न समय र परिस्थितिमा आफ्नो सोचमा परिवर्तन ल्याउँदै अर्को सोच अवलम्बन गर्ने सम्भावना रहन्छ । त्यसैले यी फरक वैचारिक चिन्तनहरु आपसमा जेलिएका हुनसक्छन् । कहिलेकाहीँ, यस्ता विद्वत्ताहरुबीच सीमा कोरेर छुट्याउने प्रयास गर्दा सैनिक विचारलाई सामान्यीकरण गरिने डर पनि त्यत्तिकै हुन्छ । 

अर्कोतर्फ, युद्धसम्बद्ध सैनिक विद्वत्ताको कुरा गर्दा थप तत्त्वहरुको पनि विश्लेषण गर्न आवश्यक हुन्छ । नेतृत्व, सैन्य योजना र परिचालन एवम् संचालन पनि युद्धका विभिन्न पक्ष हुन् । त्यतिमात्र होइन सेनाको युद्ध लड्ने तरिका बुझ्न यी सबै तत्त्वका अतिरिक्त विहङ्गम दृष्टि हुनु पनि जरुरी हुन्छ । सैनिक युद्ध अवधारणा भनेको विगतको तथ्य, वर्तमानको वास्तविकता र भविष्यको परिकल्पनाको संयुक्त परिणाम हो । युद्धका बारेमा चर्चा गर्दा नागरिक सैनिक सम्बन्धलाई पनि छुटाउन मिल्दैन । खासमा, नागरिक सैनिक सम्बन्धले युद्धको परिणाममा व्यापक प्रभाव पार्छ । यो सम्बन्ध अपरम्परागत वा चौथो पुस्ताको युद्धमा पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने विगतमा नेपालको माओवादी सशस्त्र द्वन्द्वले पनि प्रमाणित गरेको छ ।    

वितेका लडाइँका भावनात्मक वर्णनहरुबाट नभई सैन्य विज्ञान तथा कलाका दृष्टिकोणबाट गरिएका अनुभव र तिनका व्याख्याबाट युद्धमा के भयो भनी सत्यतथ्य पत्ता लगाउन र त्यसबाट सिकेका पाठहरुलाई आगामी सैनिक कार्वाहीमा कसरी उपयोग गर्न सकिन्छ भन्ने चिन्तन गर्न सहायक हुन्छ । तर, के भुल्नु हुँदैन भने शान्तिको समयका सैनिकहरू पछिल्लो युद्ध पुनः लड्न तयारी गरिरहेका हुन्छन् किन्तु पछि हुने युद्ध वा सैनिक कार्बाही चाहिँ सधैँ फरक हुन्छ । सैनिक इतिहास लेखनको तौरतरिकाले पनि युद्धको समझलाई प्रभावित गर्छ । प्रायशः सैनिक इतिहास लेख्दा समग्रतामा विश्लेषण नगरी चुनिएका घटनाहरुको एकपक्षीय वर्णन र विश्लेषण (चेरी पिकिङ) गरेको पाइन्छ जुन अवास्तविकमात्र हुँदैन त्यसले यथार्थको उपेक्षा पनि गर्छ । यथार्थ विश्लेषणमा आफ्ना सबल र दुर्बल दुवै पक्षको लेखाजोखा गरिएको हुन्छ । सेनाले विगतका लडाइँको प्रभावकारी विश्लेषण गर्न नसक्नुको एउटा प्रमुख कारण यो पनि हो । यस्ता छिटपुट र टिपटाप गरी गरिएको विश्लेषणले सेनालाई अर्को युद्धका लागि तयार गर्न सघाउ पुर्याउँदैन बरु आत्मरति मात्र प्रदान गर्छ । खासमा, सैनिक नेतृत्वमा हुनेहरुलाई संगठनात्मक गतिविधिको निष्पक्ष विश्लेषणप्रति वितृष्णा हुनु तर ‘आत्मपूजन’ प्रवृत्तिलाई सहानुभूति र सम्मान गर्न रहर जाग्नु सेना सबलीकरणमा बाधक पक्ष हुन् ।

तसर्थ, सही परम्पराको थालनीको लागिमात्र नभई राष्ट्रिय सुरक्षा एवम् हितको प्रभावकारी संवर्धन र प्रवर्धन गन पनि गहन, तथ्यपरक र पूर्वाग्रहरहित सैनिक बौद्धिकता तथा प्रबुद्धताको विकासमा जोड दिन जरुरी देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC