बीबीसी । न्युजिल्यान्डले वित्तीय क्षेत्रलाई जलवायु परिवर्तनको प्रभाव मूल्यांकन गर्न बाध्य गराउने कानुन ल्याउने भएको छ । सन् २०५०सम्ममा कार्बन उत्सर्जन शून्य बनाउन विश्वमै पहिलोपटक न्युजिल्यान्डले यस्तो कानुन ल्याउन लागेको हो ।
कार्बन न्युट्रल हुन बैंक, इन्स्योरेन्स र फन्ड म्यानेजरले पनि आफ्नो लगानीले पार्न सक्ने वातावरणीय प्रभाव मूल्यांकन गर्न आवश्यक रहेको यहाँको जलवायु परिवर्तनमन्त्री जेम्स सले बताए । “यो कानुनले वित्तीय र व्यापारिक निर्णय गर्नेहरुको मनमा जलवायु परवर्तनको जोखिमलाई पनि स्थान दिलाउनेछ,” उनले भने ।
यो कानुनले न्युजिल्यान्डका करिब २०० र अन्य धेरै विदेशी कम्पनीहरुलाई समेट्ने जनाइएको छ । कानुन पास भएपछि सन् २०२३ देखि सबै वित्तीय कम्पनीहरुले लगानीका कारण भएको जलवायु परिवर्तनको मूल्यांकन गर्नुपर्नेछ ।
“यस्तो कानुन बनाउने विश्वमै पहिलो देश बन्नुको अर्थ हामीसँग वास्तविक नेतृत्व र अन्य देशका लागि जलवायुसम्बन्धी तथ्य अनिवार्य खुलासा गर्ने मार्ग प्रसस्त गर्ने अवसर दिएको छ,” न्युजिल्यान्डका वाणिज्य तथा उपभोक्ता मामलामन्त्री डेभिड क्लार्कले भने ।
यो कानुनले वित्तीय संस्थालाई आफ्नो लगानीको आँकलन गर्न मात्र नभई ऋण दिने कम्पनीको वातावरणीय प्रभावका आधारमा मूल्यांकन गर्न पनि बाध्य पार्नेछ ।