काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ५० प्रतिशत आईसीयू शय्या कोभिड–१९ संक्रमितले भरिएका छन् ।
अस्पतालका २३ मध्ये ११ शय्यामा कोरोनाका जटिल बिरामीहरु राखिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अुनप बास्तोलाले बताए ।
मंलबारसम्म अस्पतालमा २२ जना कोभिड–१९ संक्रमित भर्ना भएका छन् । भर्ना गर्नुपर्ने अवस्थाका संक्रमितको संख्या बढ्दै गएपछि मंलबारदेखि अस्पतालले कोभिड–१९ का बिरामी मात्रै भर्ना गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए । अस्पतालको ओपीडीमा अरु सरुवा रोग र खोप लगाउने बिरामीहरुको उपचार भए पनि भर्ना भने कोभिड संक्रमितलाई मात्रै लिइने डा. राजभण्डारीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार मुलुकभर अहिले तीन हजार ६०८ जना सक्रिय संक्रमितमध्ये ९७ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा रहेका छन् ।