बेइजिङ । उत्तरी चीनका सरकारी अधिकारीहरुले ऊँटलाई बाटो काट्नका लागि भनेर विश्वकै पहिलो ट्राफिक सिग्नल निर्माण गरेका छन् ।
यो सिग्नल आइतबारदेखि दुनहुआङको चर्चित पर्यटकीय क्षेत्रमा सञ्चालनमा आइसकेको चिनियाँ राष्ट्रिय संचारले सोमबार जानकारी दिएको हो । त्यो ठाउँ ऊँट सवारीका लागि ठूलो आकर्षण मानिन्छ । तर अब मिंसा पहाड र क्रिसेन्ट ताल भ्रमण गर्न जाने आगन्तुकहरु ऊँटसँगको ठक्करबाट सुरक्षित हुनेछन् ।
अब त्यहाँ राखिएका नयाँ ट्राफिक लाइटले ऊँटलाई बाटो काट्न दिन हरियो बत्ती बाल्नेछ र तिनीहरुलाई रोक्न रातो बत्ती बालेर सिग्नल दिनेछ ।
मिंसा पहाडलाई ‘गीत गाउने बालुवाको पहाड’ का नामले पनि चिनिने गरिन्छ किनकी त्यहाँ बालुवामा हिँड्दा अनौठो आवाज सुनिन्छ । दुनहुआङ शहर गान्सु–जिनजिआङ मरुभुमी क्षेत्रमा पर्दछ । पछिल्ला केही वर्ष सो क्षेत्रमा पर्यटन गतिविधि अचानक वृद्धि भएको छ ।