बाह्रखरी
भर्खरै
sticky  ncell
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
क्लासिक निबन्ध  हृदयको एउटा तार फेरि चुँडियो 
बाह्रखरी - शनिबार, चैत २८, २०७७
Laxmi Bank
Laxmi Bank

राममणि रिसाल


म चिनाऊँ, मन भएको तर धन नभएको निर्धन मान्छे । यस्तैको संसारमा बिचल्ली धेरै हुन्छ । ‘प्राध्यापन’को पेसाले उठाएको एक प्रकारको सन्यासी–संस्कार । भोलिका अन्तिम दिनहरूले कता ढाल्लान् र कहाँ पुर्याउलान्, त्यो त अहिले केही भन्नै सकिन्न । जेनतेन ‘लाई–खाई’ बसेको छु, सस्तोमा बाँच्छु । यस्तालाई पनि किन बारबार मुटु चुँडाली रूवाउँछ, काल कराल । म करुणाको शरणमा पर्छु । म दाबी नै गर्छु– यस क्षणतक मेरो आत्मा स्वच्छ र मन शुद्ध छ । यो कुरो म आफ्ना दुवै हात उचाली आकाशमाथि उठाएर भन्नसक्छु । तैपनि, किन यो नानाभाँती जोर जुलुम ! यस बेला गुज्ज्रिँदो स्थिति र असहाय नेपालीका लागि यो कम उल्लेख्य कुरो ठान्न हुँदैन– भन्छु ।

यो छ साँचो, सन्तानले उडाएको मेरो सातो । वास्तवमा छोराछोरीहरूका निधनको दुःखद पृष्ठभूमिमा मेरा निबन्धहरू जन्मिएका हुन् । त्यसैले, ‘त्रासदी’मा मेरा हस्ताक्षर अधिक हुन गए र म बढी आत्मपरक वा स्वकेन्द्रित भएँ । एकप्रकार यो श्रद्धा–स्नेहको तर्पण, बाबुका रूपमा सकल परिवारका प्रतिनिधिमूलक तथा सामूहिक आँसुको । आधा वर्ष बित्यो, भर्खरै छोडी जाने छोरी ‘ममता’का कठोर मृत्युको । त्यही स्मृत–विस्मृत कथाको पुनरावृत्ति र संपुटिक पाठ पनि हो यो । हामी कुनै कसैका सन्तान छौँ, बाबु–आमा र परिवारमा कोही हुन्छौँ वा पर्छौँ भने यो व्यथा र कथा पनि अरुचिकर होओइन– भन्छु । मानिस मर्दै नमरेको घर–आँगन कहीँ होला ? ‘मृत्यु’ यो ढिलो–चाँडो जन्मिनुको पछाडि जोडिएकै अनिवार्य तथ्य–तन्तु रहेको छ ।

Rohto Landing

Agani Group

‘स्मृति’ भाँचू भन्छु, उति थपिन्छ । पहिरो कति रसाइरहन्छ । छोडी जानेकै मायाले नरोऊँ भन्दाभन्दै पनि तप ! तप ! आँसु झरिरहन्छ । मनको मैनबत्ती पग्लिरहन्छ र निचोरिइरहन्छ । भर्खरै धोएको पटुकी जति निचोर्यो उति पानी बरर्र खसाली रुन्छ, यस्तै । आज एकाबिहान हाम्रो यहीँ घरको उही छोडी जाने छोरीको लगाएको कोठाको झ्याल हावाले आफैँ खुल्यो । यत्तिकैमा सम्झनाको भेल असार पस्यो र त्यसै उर्लियो । मनलाई आगो र पानी एकैचोटि लाग्यो । ती पुराना दिन आए, उसका साथीहरू यही अगाडि हाम्रै घरको बाटो ‘पाटन संयुक्त क्याम्पस’ गइरहन्थे–आइरहन्थे । सँगै पहिले पढ्थे र अगि बढ्थे । तर, पछि ऊ भने जान सकिनँ । त्यसपछि आफ्नै मुटुको मुख र झ्याल थुनी भित्र–भित्रै गहिरो निःश्वास छोडी घरीघरी ओच्छानमा वर्की–फर्की गरिरहन्थी । कहिले यता कहिले उता । डबडबाएका उसका ठूला–ठूला आफ्ना आँखा थिचीकिची–मिचिकन उम्ली आएको एक भल आँसु सकभर आँखैमा सुकाउँथी, देखाउन्नथी । यो अन्यत्री कोही होइन, साहसी छोरी ममता थिई । वेदनाको तरवारले शरीर छिया–छिया पारिदिँदा उसको न चिरेको, न पोलेको र नदुख्ने भन्ने कतै ठाउँ नै थिएन, भएन । अतिसंयमी र आत्मबोधी छोरीमा ‘रोए पनि बौलाए पनि आफ्नो रोग कहीँ भाग्दैन’ भन्ने गहिरो ज्ञान थियो । त्यसैले, दीनता र हीनता देखाउन वा अरूमा त्यो दुःख सार्न कहिल्यै चाहिनँ । ऊ आफ्नी आमा (घरमा बोलाउने नाम ‘दिदी’)लाई कहिलेकाहीँ सम्झाउँदै भन्थी रे ! दिदी ! “आखिरी कोही रहँदैन, कोही कसैको शून्यता भर्न र विकल्प बन्न सक्तैन ।” यस्तै यस्तै ।

यस जीवन र मरणको कटु–सत्यमाथि छोरीको विश्वास र दृढता सन्निकट अन्त्यसँगै झन्–झन् बढिरहेको थियो । उल्टो आमा रुन्थी ऊ फुलाउँदथी । कुनै बेला डाक्टरले ‘इन्जेक्सन्’ लाउन हात माग्दा किंचित् उपेक्षा र व्यंग्यका साथ फ्याँकेको हो कि जस्तो कता–कता हामीलाई त्यसको झल्को भने आउँदथ्यो । केटाकेटीको आठ वर्षको उमेर रोग सँगसँगै २९ वर्षको वयस्क उमेरको बन्यो । त्यो यहाँ मात्र सीमित भएन, देश–विदेश (भारतको सुदूरदक्षिण ‘भेलोर’को अस्पताल तक) रोग लिई घुम्यो र युवा हुँदै उठ्यो । यो उपचार, रोग र उमेरको त्रिवेणी–मार । अध्ययन स्नातक तहसम्मको नियमित विद्यार्थीका रूपमा पूरा गरी त्यसको परीक्षा दिने कामसमेत रोएकै मन र अशक्त उमेरमा नै सकिएको थियो । एक समर्थ योद्धा तर रोगद्वारा भने पराजिता । कसरी त्यति राम्रो माथिल्लो नम्बर पाउँदथी उसले, त्रि.वि.को वार्षिक परीक्षामा समेत ? म (प्राध्यापक) सहसा विश्वास गर्दैनथेँ । तर, ‘लब्धांकपत्र’ देखेपछि भने म शिर झुकाउँदथेँ । ठूलो पढ्ने मन अकालैमा कालकवलित भई वाग्मतीको पुसको चिसो पानीमा भिजेर खरानी हुनपुग्यो । दुःख अधिक यसैमा मलाई हुन्छ । मन बनाउनेमाथि नै मेरो अमन हुन्छ । हाम्रा चाउरी परेका बूढा उमेरहरू बाँकी राखी उत्साही युवा र बालक उमेर नै किन भाँच्छ ? त्यस कालले । यहाँ न्याय हुँदैन र मिल्दैन । कालको गणित ठिक छैन कि ?

sarbottam cement

उसले उपनिषद्, गीता, पुराण, विचार–विज्ञान आदि धेरै पुस्तक र पत्रपत्रिकाहरू पढिसकेकी थिई । के पो पढिनँ र ? भन्दा हुन्छ । झन्डै एक सयभन्दा ठूला पुस्तकहरू (पाठ्यपुस्तकहरूसमेत), दुईधोक्रा लेख–रचना, यात्रा–दैनिकी–टिपोट, चार ‘अलबम्’ (पुराना–नयाँ फोटोहरूले भारी), ३०/४० जोर नयाँ (एक–दुईपटक मात्र उत्सवका दिन लगाएका) लुगा–कपडा (जसलाई घरैका दिदी–बहिनी र भाउज्यूहरूले अनि बाहिरकाले गरी लगाए), सञ्चित रहेछन् । उसको कोठा अझै राम्ररी सफा गर्न सकिएको छैन । यसरी तीनतले घरमा ५ फुटे त्यस ज्यानको पीडाभित्र र बाहिर टम्म छ । ऊ नै यता, ऊ नै उता, जतातता ।

आफ्नो मध्यमवर्गीय जीवन–श्रमजीवी । धेरै संघर्ष र दैन्यमा पालिएर बढेको थियो । आफूले परीक्षाको फारम भर्न नसकी ऋण काट्नुपर्ने गरी छात्रजीवन गुजारेको । यसले सुखका मखमली क्षण र रंगीन दिनहरूमा ढलिमली गर्ने समय कहिले पाएन । त्यो ‘धनुष्टंकारी–संस्कार’ मसँग छैन । भो कमी यो । चाकडी र चिप्लो घसी नक्कली कुरो गर्न पनि पटक्कै जानिएन । ज्यादै खरो र एक शिक्षकका झैँ स्पष्ट । सायद, आफ्नो स्तुति–भजन÷हात जोडाइ मात्रै सधैँ देखे पाएका भगवान्लाई पनि ममाथि दया जागेन । अब केही ‘स्टक्’ मेरो बाँकी छ भने यी अनुभूति र ‘स्मृतिका आँसु’हरू छन्, त्यत्ति !

जीवनमा उमेर फाटे पनि अतीतका फाँटहरूमा घुम्ने र ‘स्मृति’भित्रका ‘स्मृतिहरूमा रम्ने मनचाहिँ प्रकृतिले दिइरहेको छ । मनको उमेर पनि अब अधिक हुँदै आयो । भनिसकेका कुराको अभिलेख मनले राख्न नसक्दा बारम्बार उही कुराको पुनरावृत्ति हुन जाँदोरहेछ । वियोग–व्यथा, करुणा र सन्तापका बेलाको साधारण संलापहरू पनि ‘आलाप–विलाप र प्रलाप’ बन्न पुग्दा रहेछन् । यसमा सिलसिलाचाहिँ खोजिन कि भन्छु । तैपनि, यहाँ पाठकबाट मेरो चुक कसरी लुक्न सक्ला र ? स्व.बी.पी.ले भर्खरै प्रकाशित ‘हिमाल’ (पाक्षिक)को आफ्नो ‘डायरी’को नियमित स्तम्भमा लेखेका छन्, “आफ्नो शक्ति कम प्रयोग गरेर टिकिरहने एउटा रणनीति वा आफ्नो गति घटाएर ज्युँदै राख्ने एउटा उपायका रूपमा,” प्रकृतिले मान्छेलाई मद्दत गर्दोरहेछ । र, नै अहिले जाने मान्छेका बारेमा, पछि जाने हामीहरूले अझै हामीपछि जानेलाई भनी एउटा लगत–रेकर्ड तयार पारिदिँदा रहेछौँ । यो त्यही अभिलेख हो ।

हिजोको अतीत आज ‘स्मृति’–अभिलेख र भोलिका इतिहासको राम्रो सक्कली अभिलेख । आग्रहको बन्दीमात्र हुँदा केही पनि हुँदैन । सत्य र स्पष्टताको मर्म खुल्दैन । आफूले जानेको र भोगेको आफ्नाको कथा र व्यथा अरूले हाल्न र भोग्न सक्तैन पनि । तसर्थ, रोदन, चित्कार र लामो पीडाका रूपमा पनि हामी नै पंक्तिबद्ध रूपमा उपस्थित छौँ र सदा भिजेका परेलीमा यताउता सपनी झैँ सम्झिन्छौँ, सम्झिरहन्छौँ । यो अवाञ्छित विषय लाग्ला तर वस्तुता । नियमित आकस्मिकता ।

त, दिन र महिनाहरू खुरूखुरू बिते, धमाधम बित्दै छन् । जति बिर्सूँ भन्छु, उति फर्की–फर्की छोरी मनमा सार्छु, भित्र लुकाउँछु र लेख्न लकपकाउँछु । फेरि नसकी मुख फोर्छु र अक्षर गुहार्छु । मलाई थाहा छ, पाठक सबैको यसमा समान अनुभूति र रुचि हुँदैन । तर पनि लाचार यस्तै दुर्दशाका सास फेर्छु म । यस्तो मान्छेको मन त बरू नभएकै जाती । अन्त्य समयतिर समय–समयमा आशा जागे । तर, फेरि केही दिनमा ती पनि भागे । धेरैपटक यस्तो भो, भइरह्यो । त्यसले पूर्णविरामको मिति मात्र पर सर्यो भन्दा हुन्छ । त्यस्तो थोरै खुसी किन उदायो ? फेरि, अस्तायो । केही दिनपछि शिरानीमा बादल लाग्यो । यसरी मन तल–माथि, माथि–तल परिरह्यो । कसरी खेलायो नियतिले । रोगका डिग्रीहरू कहिले सुखान्तमा उठे र कहिले दुःखान्तमा झरे । यस्तै अल्पविराम र अद्र्धविरामको दौडधुप चल्यो । ‘प्राप्ति’ स्वयं खराब थिएन, हाम्रो प्रार्थनाको फल थियो । छोरी जन्मिँदा (अरूलाई कस्तो लाग्छ कुन्नि !) हाम्रो रोम–रोम अंग–अंग पुलकित थिए । जताततै खुसी बगेर छताछुल्ल थियो । यो हाम्रो साझा ममताको फूल, मनको सुगन्ध वासन्ती । पछिसम्म पनि हाम्रो ‘अजातशत्रु’ नै भएरै रह्यो र बग्यो । केही सीप लागेन नि !

हुन त, रोग नै खराब रे ! कहिले पो रोग असल हुन्छ र ? यो प्रवेश गर्नु नै विपद् ! विशेषगरी आफ्नै मुलुकको उपचार विनानिदान र उडन्ते हुनेले बाँच्न पाउनु नै कसरी ? यहाँको बचाइ त भाग्य ! यसरी मुटु र मस्तिष्कजस्ता ठूला इन्जिन बिग्रिए/बिगारे र भत्किए/भत्काए । छोरीको यो लाचारी अवस्था र छोराको विनानिदान निधन । दुवैलाई भष्म पार्यौँ, खोलाले बगाए । तिनैले हामीलाई जीवनभर डुबाए । जे नहुनु भैगो । यो बिराम बाबु–आमाको रूपबाट कतै हाम्रो छ । अब गीतकार राममान ‘तृषित’को गीति–शब्दमा विश्वास गर्दै बिदा हुन्छु—
“एक रातको लम्बाइ न हो,
एक दिनको चौडाइ न हो,
साँच्चै, भनूँ भने यो जिन्दगी
‘मिलन र बिदाइ’ न हो ।”

(‘म एक : म अनेक’बाट ।)

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २८, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्