बाह्रखरी
भर्खरै
sticky  ncell
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नियात्रा अन्कन्टारमा जिन्दगी छ झन् कहालिँदो !   
बाह्रखरी - शनिबार, चैत २८, २०७७
Laxmi Bank
Laxmi Bank

युवराज नयाँघरे


भालेको डाकैमा छोडियो तिप्ल्याङ ।

राति सल्लाह सुनिएथ्यो, ‘मास्तिर गर्मी लागिसक्यो । भएका बाक्ला लुगा थान्कोमान्को लगाऔँ !’

Rohto Landing

Agani Group

तर, जति–जति बिहान हुँदै गयो, उति–उति कामछुट्न थाल्यो । अनि, मैले बेस्करी खापेँ लुगा । राति झोलामा कोचेका लुगा बिहानीपख लाएको देख्नेहरु हाँसे निकै खित्काएर ।

हाँस्नेहरुलाई भनेँ, ‘अरुका कुरा खान्नँ म !’

sarbottam cement

अहिले तिप्ल्याङ छोडेको बीस पाइला नहुँदै भारी भयो जिउलाई । पछाडि बोकेको झोला त छ झन् घच्चीको । 

यसो पूर्व हिँडिनसक्तै कालीगण्डकीको गर्जन चर्को भएर आयो झन्–झन् । अँध्यारै छ । बथान छ तिर्थालुको । हुलको माझैमा छु म । हल्ला र चप्पल बजेको स्वर मिसमासिएर नयाँ अनुभूति छड्किँदैछ मनमा । 

दुई पहाडको चेप छ डरलाग्दो । 

काठको फड्के तरेपछि दक्षिणी भिर बाटोमा उक्ल्यौँ हामी । चिप्ला ढुंगा र साँघुरो बाटोको असजिलो जति छ, बढ्ता छ अत्याउने कालीगण्डकीको भिर । छाँगाछुर भिर र उर्लेको कालीको गडगडाहटले छाती ढुकढक्याउँछ बेस्सरी । अन्धकारमा काली उर्लेको सुनिन्छ, काँ देख्नु ? 

अँध्यारो भगाउँदै हिँडिरहेका छौँ । रिमरिम उज्यालो ओर्लेको छ । 

तेर्छियो स्वाँस्वाँ उकाली । चढ्दै थियौँ उकालो, एक्कासि हल्लाखल्ला मच्चियो ।

‘मार्‍यो, मार्‍यो !’ 

‘लौ, खस्यो !’ 

हल्लीखल्ली मच्चियो बेपत्तासँग । 

अलिक पछि थिएँ म त । होहल्लाले सातै लियो । खुट्टा कामे अचाक्ली । ठाउँ छोड्ला–छोड्ला जस्तो भयो मुटुले । एक खालको रनभुल्ल भयो । भयो के, कसैलाई थाहा थिएन ! 

सुइँय सिटी बजे । 

हामी सबै–सबै आत्तियौँ । 

छिनभरमै मास्तिरबाट गुडुडु आए खच्चडका बथान । रित्ता टिनका भारी कसेका, बोर लादिएका र टन्न स्याउ बोकाइएका खच्चडका लर्कन ओर्लिरहेका भेटिए । तिनलाई खोलातिर पारी भित्तातिर हामी बस्नुपर्ने रै’छ । पत्तो पाउने जोगिए, नजान्नेहरु थिचिए, लडे । भोक र बोझको किचाघानमा परेका खच्चडका पेलाइमा पिसिए, हामीमध्येकै कति तीर्थालुहरु ।

जहाजमा जोमसोम जाने अनि मुक्तिनाथ पैदलै उक्लिने सपना त्यतिखेर तुहियो, जब पानी परेको परेकै भयो पोखरामा । लगेको पैसा अनि अन्नपात पोखरामै रित्तिने भएपछि चोलेन्द्र र मन्जु अधिकारी, नयाँघरे र सुनिता सुवेदीले कठोर निर्णय ग¥यौँ, ‘पैदलै उक्लिने अब मुक्तिनाथ !’ 

चार–पाँच गाडी साटफेर गर्दै हामी झमक्क साँझमा पुगेथ्यौँ तिप्ल्याङ । 

‘बाबु तीर्थ गर्दा चोखो ओच्छ्यान, चोखो मन र चोखो भान्छा गर्नुपर्छ !’ मन्जु भाउजूको इच्छा सुनिन्थ्यो पटक–पटक ।  

त्यसकै जोहो गर्न लाग्यौँ चोलेन्द्र दाइ र म । 

बल्ल–तल्ल पाएको होटेलकी साहुनीलाई सोध्यौँ, ‘के थरी तपाईं ?’  

‘हामी त भण्डारी !’ 

उनको उत्तरले रमायौँ हामी । 

तर, साँझ डुल्न गएका बखत होटेल्नीको छोराले भेद खोल्यो, ‘हामी त घर्ती !’

अब यतिखेर झोलाझ्याम्टा सार्ने कालबेला थिएन । तैँ चुप, मै चुप भयौँ । भाउजूलाई यो कुराको कुनै सुइँको दिइएन । हो, त्यहीँ भेटघाट भएथ्यो पूर्व विराटनगरको यो ठूलो तीर्थे डप्फासँग ।

हामी चारलाई यी चालीसजना बूढाबूढी र त्यसमा पनि कट्टर वैष्णवीहरुको साथले ठूलै भरथेग हुने भान भयो । 

घाम झल्मलाएपछि थाहा भयो, खच्चडको पेलपालमा परिछन् एउटी वृद्घा । उनी खुट्टो खोच्याउँदै हिँड्दै छिन् । जानेको ‘बोली’ दिएँ, ओखती दिने औकात थिएन । बेला–बेला बोलेर आँट दिएँ, साथ दिएँ । 

देब्रेपट्टिको खोला कलकलाइरहेथ्यो मच्चीमच्ची । गहिरिएको कालीका लहर उत्ताउला थिए, आवाजजस्तै चर्को । अक्करे भिर र काला पहाडहरु आँखालाई म्वाइँ खाएर परिरहेथे पछाडि । दिन छ चिसो–चिसो । धरधरी रोएको लागिरहेछ रुख–पात । अचम्मका डाँडामास्तिर कुइरोले घेरेको र खोलाले परीपरीका आवाज निकालेको सुन्छु ।

तेर्छो र उकालोमा ओइरो थियो फर्किरहेका मान्छेको । खुट्टा सुन्नाएर, रोगाएर अनि खुइ्यय–खुइ्यय गर्दै ती झरिरहेका थिए । मर्लान्त देखिन्थे ती । अधमरो ज्यानमा बोलीसम्म फुटेको देखिँदैन्थ्यो तिनको । मन मेरो बाउँडियो तिनको हालत देखेर ।    

‘कति दिन भो जोमसोमबाट हिँडेको ?’ 

‘चार दिन भो बाबु !’ 

‘हामीलाई कति लाग्ला पुग्न ?’       

‘एक हप्ता लाग्ला कि !’ 

तल झरिरहेकाहरुको बोली सुनिन्थ्यो । भरंग हुन्थ्यो मन । सातो जान्थ्यो । ढक्क फुल्थ्यो मुटु । खुट्टा गलेर आउँथे । रगत जम्ला–जम्लाजस्तो हुन्थ्यो । 
       
म त टक्क अडिएर भन्थेँ, ‘धोखेबाज जहाज !’ 
      
खुब आउँथे खच्चडका बथान । तिनलाई देखेपछि बिहानैको आतंकले चिथोरिएको मन फेरि बल्किन्थ्यो बेस्सरी । अनि त म हत्त न पत्त बाटो छोडिदिन्थेँ । टाङटाङटुङटुङ घन्टी बजाउँदै बड्किहाल्थे ती । अनि, हलुकिन्थ्यो मन । 
       
रातभरिको शीतले सारा जंगल देखिन्थे लछप्रै भिजेको । चुच्चा ढुंगा झन् चिल्ला र तिखा देखिन्थे । अड्बेखड्बे बाटो त झन् निर्दयी भएर तेर्सिन्थ्यो हाम्रा सामु ।

तेर्छो बाटो निकै हिँडेपछि पुल तरियो धार खोलाको । लगत्तै कृष्ण गण्डकीको झोलुंगे पुलमा उभिएर मैले भनेँ, ‘म्याग्दी जिल्लाको एक छेउ कटियो होला, मुस्ताङ त कैले कैले !’

गलेर निलो–कालो अनुहार बनाइरहेकी सुनितामा मेरो प्रश्नको उत्तरभन्दा घरमा छोडी आएका साना नानीहरुको ख्याल आएको देखिरहेथेँ म ।  
       
थोरै उत्तर लागेपछि बस्ती भेटियो झुरुप्प र गुजुमुजे । 
       
घर र पसलको उपस्थितिमा यहाँ जीवनको थोरै गति थियो, प्रगति थियो र संगति थियो ।
       
खोलाको तीरैमा तातोपानीको कुण्ड रै’छ । सबै त्यतै लर्किए । लहसिएँ मै नि ।
       
पाँच–पाँच रुपियाँको टिकट काटी कुण्डमा पसेँ झ्वाम्म । 
      
चर्मरोगले विरुप भएका र हाडनसाका रोगले कुँजिएका बूढाबूढीहरु नाम मात्रका लुगा लगाइ कुँडुलिएका थिए कुण्डभरिभरि । मुन्टो मात्र देखाएर जिउ सबै पानीमै डुबाएर बसेकाहरुको बगाल देखिए । 
       
‘आहालमा बस्ने मान्छेहरु !’ 
       
चोलेन्द्रका जोडी हाँसे । 
       
रातभरिको अनिँदोलाई स्नानले केही सजिलो पार्‍यो । पारि देखिएका राता डाँडा र पर देखिएका सेता हिमालको आइजाई मिलिरहेका छन् बिछट्टै । 
       
‘रातभरि भारी त छाँटेकै हुँ मैले तैपनि गर्‍हुँगो छ !’     
       
‘अनि, छाँटेका लुगा चैँ आफैँले लगाएपछि मिल्यो कसरी ?’ 
       
कुरा हुन्छन् हामी जोईपोइका । 
       
खाना खाइयो तातोपानीमा । म्हेन्दु सांगेको होटेलमा मोटा चामलको भात लडाइयो मज्जाले । भाउजूले आफैँले माझेको भाँडोमा भात छड्काउनुभो । अनि, दाल उमाल्नुभो । उहाँको थेगै थियो, ‘बाबु, साग परक्क पाउन पाए !’  
       
हो नि, त्यो परक्क काँ पाउँनु यो अन्कन्टारमा । 
       
एकोहोरो तेर्छो भेटियो । फेरि, उकालोमा मरीतरी पाइला राख्यो हाम्रो हुलले । सानो बस्ती भेटियो । घोडा, खच्चड र भरियाको बिसौनी रै’छ यो ठाउँ । 
       
चोलेन्द्र दाइ अघिदेखि बेपत्तिनु भा’थ्यो, निकैपछि दुई मनुवा फकाइ–फुलाइ लिएर आइरहेको देखेँ । 
       
एक तरुण विद्यार्थी, अर्को कपाल फुलेका अधबैँसे । तिनलाई गतिलै खर्चबर्च दिएर बोकाइयो हाम्रो भारी । अब फुक्काफाल भो ज्यान । धेरैका अनुहार हाँसे । खुट्टा लम्के, गालामा लाली चढ्यो मुस्ताङे । 
       
गुठे पुगेपछि अधबैँसे भरिया दलेले भने, ‘तेल कम भो !’ 
       
छाप्रे भट्टीसामु बटुका रित्याउँदै थिए तिनी । गुनासो गरे दलेले, ‘तीनजनाको भारी मै एउटालाई खापिदिएपछि तेल पनि त दिनुप¥यो नि !’ 
       
‘लौ त लौ !’
       
मैले दश रुपियाँको एक बटुको जाँड किनिदिएँ । 
       
‘अब तपाईंलाई नि बोक्न सक्छु !’ 
       
दलबहादुरको फुर्ती व्यक्तियो बोलीमा । 
       
निकै रमाइलो बस्ती लाग्यो गुठे । फापर फुलेका गरा नाँघ्दै लम्किरह्यौँ हामी । खुट्टाले भर पाउँथे, आँखाले देखेका दृश्यबाट । ज्यानले आड पाउँथे, कानले सुनेका बोलीबाट । शरीरले जोस पाउँथ्यो, मनले पढेका अनुभूतिबाट । 
        
खच्चडको बथान देख्यो कि तीनकोस परैबाट अडिन्थेँ म । अनि, अरुलाई सतक्र्याएर भन्थेँ, ‘खच्चड महाराजको सवारी भो है !’ 
        
घाम चर्केर जाडो भागे पनि न्यानो थिएन मनमा । ज्यान कक्रिएको थियो बाटो सम्झेर । आँखामा उज्यालो ओर्लिन मानिरहेको छैन । खुलेको छैन आङ । 
        
जहाजको यात्रा गर्न आएकी पत्नीको मुखमुद्रा छ असाध्यै मधुरो । घुँडा दुखाएर हिँडिरहेकी मन्जु भाउजूको हालत छ झन् हरिबिजोगको । मन अँध्यारिए पनि लम्किरहेछु म लमक–लमक ।
        
दाना पुग्दा घाम निकै तल झ¥यो । 
        
टार, बस्ती र खेतको सुन्दरताले रमाइलो लाग्यो दाना । मगर बस्ती रै’छ यो ठाउँ । जताततै छहरै छहरा । टाङटाङटुङटुङ गरिरहेका खच्चडको बथान खेत, टार र बाटोका दुवै किनारमा थिए । रसिलो थियो वातावरण ।  
        
लिदी सोहोरिरहेका झङ्क मगरले भने, ‘मेरो लिदी खच्चड निकाल्छन्, खच्चडको लिदी म निकाल्छु !’ 
        
सोहोरेको मल पानीमा घोल्दै बारीमा छर्किँदै थिए उनी । 
        
खोला तरेपछि जिउ छाडेर थकाइ मारियो । बादल कुदेको अकाशमा आफ्नो मनको रङ मैले खोजेँ खुबै ।
         
बिहानैदेखि बिछोडिएका गोविन्द पोखरेल भेटिए । उनले प्रतिज्ञा गरेका रहेछन्, ‘एक टिन घिउ र एक लाख बत्ती आफैँले बोकेर मुक्तिनाथ पु¥याइ आरती गर्ने !’ 
        
हामीभन्दा अघि–अघि हिँड्थे उनी जतिखेरै । जस्तै उकालीमा नि पोखरेल नरोकिई लुइँलुइँ लम्किन्थे । उनको लम्काइ देख्ता जाग्थ्यो दया । उनको हबिगत देख्ता करुणा जाग्थ्यो । उनको अड्डी देख्ता हाँसो उठ्थ्यो ।  
        
धर्म, अधर्म र धर्मभीरु यो के हाल थियो ? मैले बुझ्न सकिनँ । 
        
१० असोज २०६३, आजको मुकाम भो दाना बजारमा । 
        
हिमाललाई प्रणाम ! 
        
बिहान मुखसम्म धोएर बाटो तताई हालियो दानाबाट । 
        
तेर्पे बाटोमा बस्ती भेटियो बाक्लो र रमाइलो । राति हामीबाट छुट्टिएको वैष्णव टोली बाटैमा भेटियो । हिजो घिउको टिनमाथि बत्तीको भारी थियो, आज मुनि परेछ बत्ती । तर, अगाडि लम्कने गोविन्दको गतिमा क्यै फरक थिएन । रत्ति नि कम थिएन । 
        
पहाडको अनौठो गन्ध आउँछ नाकमा । बिहानैको वन । चराहरुको कल्लोल र घामले पुछिरहेको छ पहाडको सुन्दरता । रुख–पातमा जीवनको सगबगाइ छ क्रमशः । भेटिन्छ बनेलु फूलैफूलको संसार । लहरा र झाडीको सिंगारपटार छ । कहिल्यै नदेखेका वनस्पति देखिरहेछु बेस्सरी । 
        
लम्कदै छु पश्चिम उत्तर । 
        
आँखा चुम्ने पहाड छन् । खुट्टा गल्ने चेप छन् । ज्यान थङ्थिल्याउने गोरेटा छन् । जीवनलाई पाइला–पाइलामा परीक्षा लिने खोँच छन् ।  
        
आकाश हेर्दै सुनिताका आँखा बोल्छन्, ‘ढटुवारे, जहाज !’ 
        
थुप्रै दिनदेखि निसोधार झरी परेको आकाश अहिले खुलेको छ । घमाइलो छ दिन । तातो र न्यानो दिनसँग बातचित गर्न चुक्ने मैले ?  
        
आकाशमा चालचुल छैन जहाजको । 
        
घनघोर जंगल फाँडेर कोदो र तरकारी रोपेको देखेपछि लाग्यो, नजिकिँदै छ बस्ती । अजंगका पहिरा र पहाडका तरेली कति हो कति ! खोँच र छाँगाछुर भिर आँखाले हेरिनभ्याइँदा । मनले गुनिनभ्याइँदा । छातीको धड्कनले दगुरिनभ्याइँदा । 
        
आपट्टे पहाडका चेप भएर गएको सानो गोरेटो नाप्दै छौँ । हिँडिरहेका कोही, उभिइरहेका कोही, थकाइरहेका कोही । कम्मरमा हात राखी सुस्ताइरहेका कोही, कन्पारामा हात राखी खुइ्यय गरिरहेका कोही । 
        
रूप, अवस्था र स्थिति पर्गेल्छु म । यी सबै–सबै धार्मिक मनले गए पनि शरीरले देखिन्छन् दुःखी–दुःखी । हो, धार्मिक मनले नगए पनि सुखी छु म ।
        
आवाजमाथि आवाज छ वनमा । चरा चिर्बिराएको, छहरा सुसाएको, खोला गर्जेको, हावा चलेको, कीरा किरकिराएको अनि पात खसेको । हरेक आवाजको जोडजाडले मेरो तरंगलाई घोर शीतलता दिन्छ, रगतलाई थपथपाउँछ, आँखालाई फकाउँछ । 
        
दिन उकालिएको बेला हामी पुग्यौँ रुप्से छहरा । 
        
बाफरे ! कति मोहक छहरा । अद्भूत छहरा । अहो, स्वर्गीय धर्ती । पोसिएको वन थियो त्यहाँ । छहराले धोइएका पहाड थिए । छहराले पुछिएका पहरा आए ।
        
धेरै पर रहेको छहराको धेरै वरसम्म बाच्छिटा आयो, चिसो स्पर्श आयो अनि मायालु छुवाइ आयो । निकैबेर यो अनमोल परिवेशमा ज्यान छोडेर बसेँ म । आनन्दको उपल्लो भान भयो मलाई । 
        
‘नेचुरल एसी !’ 
        
चोलेन्द्र दाइको बोली सुनियो । 
        
अनि झसंग झस्किएर लागेँ हुलसँगै ।  
        
आँखै तिर्मिराउने घाम छ । पहाडका टुप्पामा उक्लिरहेका भेडीगोठाला खुब देखिरहेछु यतातिर । ढुंगेनी खोपिल्टामा उम्रेका रुख–बिरुवा हेरी–हेरी शीतल पार्छु मन । 
        
पश्चिमको चेप सकेर उत्तर लाग्दा देख्यौँ, गजबको थलथले हिमाल ! कस्तो अद्भूत र विचित्रको थियो दृश्य । हिमालका टाउकामा सेतो सिन्दुर ! 
       
अनौठो तरंगले गुम्सिएको छ छाती । लाट्टिएको छ बोली । उकुस–मुकुसमा छन् आँखा । शरीर मात्तिएको छ त्यसै–त्यसै गर्माएर । 
       
सब थोक बेग्लै, हरेक थोक भिन्नै र जम्मै थोक अर्कै । सबै नौलो भएरै यो जीवन सिद्घिन्छ कि क्या हो ? बेछाँटको कुरो आउँछ घरी–घरी । 
       
काभ्रे दाना पुगिएछ । 
       
अल्मलिने देखियो बाटो । 
       
खच्चडको खुट्टामा नाल ठोकिरहेका एकजना जब्बर बूढालाई मैले भनेँ, ‘जोमसोम जाने बाटो कता प¥यो ?’ 
      
‘बिजुलीको पोल हेर्दैहेर्दै जानुस् !’ 
      
हामीतिर हेर्दै नहेरी बोले जब्बरे बूढा । 
      
दुई पाइला हिँडेपछि मैले आफैँ भनेँ, ‘र, खच्चडको लिदी सुँघ्दै–सुँघ्दै पनि जानुस् !’ 
      
कुराले हँसायो सबैलाई । हो नि, बाटोभरि खच्चडको लिदी त कति हो कति ! वास्तवमा नसोधेकै भए पनि हुन्थ्यो, बूढालाई । लिदीले डो¥याएर हाम्लाई पु¥याउँथ्यो नै । तैपनि बाटो झुक्किएला कि भनी डराए हाम्रा गिदी ! 
      
एकोहोरो उत्तर लम्केपछि उही कालीको छङछङ गुन्जियो कानमा । कालीमा बसेका गजधुम्म चट्टानलाई पानीका फिँजले धक्का दिन्थे र लुरुक्क तताउँथे आफ्नै बाटो । जीवन, गति र समयका माखेसाङ्ला बन्थे अनि फेरि चुँडिन्थे । भुँवरी परेका रह त कति–कति ! म हेर्दै लम्किरहेथेँ, म अडिँदै हेर्थेँ, म निहाल्दै अर्थ्याउँथेँ । 
      
आँखाले नभ्याउने चरन देखिन्थे, फाँट देखिन्थे ।  
      
च्यांग्राका बथान त कति–कति ! लगत्तै आइरहेको दसैँका खजाना थिए ती । लाम्पुच्छ्रे भेडा र चिल्ला खसी फाटफुट मिसिएका थिए च्यांग्राका बथानमा ।
      
‘किन त ती चैँ थोरै ?’    
      
‘बाट–बाटाका पुलिसलाई कोसेली !’ 
      
भेद खोले च्यांग्रा धपाउनेले । 
      
पुल तरेपछि एकोहोरो तेर्छो भएर उत्तर लाग्यौँ । बूढाबूढीको लर्कोसँग भेटिने र छुट्टिने क्रम थियो यथावत् । 
      
कोप्चेपानीमा चियापानी गरियो । भरियालाई पसल पछाडि लगेर फेरि थपिदिएँ, ज्वलनशील तेल । 
      
एउटी त्रिपुण्डक लगाएकी रुपसीले मलाई चनाको सातु दिँदै भनिन्, ‘यसले उकाली छिचोल्न सघाउँछ !’ 
      
पत्नीसामु अर्की रुपसीले खुसुक्क सातु दिँदा डर–डर लाग्यो मलाई त । तर, तीर्थालुसँग हिँडेको हुँदा यो सबै ‘माताको ममता’ भन्ठानेँ मैले । 
      
दम्साइलो उकालो निकै छिचोलियो । सुस्ताउँदै, हिँड्दै उक्लेपछि भिरैको बजारमा मज्जाले ज्यान बिसाएँ । पहाडै पहाडको चेप भएर ठडिएको यो उकाली लर्तरोको थिएन, चानचुने थिएन र ख्याल ख्यालको थिएन । पारिको भिर हेरेर थाहा भयो, हामी उक्लिरहेको उकालो रै’छ आपट्टे, महाआपट्टे । 
      
वरपर खुबै देखापरिरहेथे चौँरीखर्क, भेडीखर्क । डरलाग्दा भिरमुनि गोठालाहरु जिम्मु टिपिरहेका देखिन्थे । बाबै, अन्कन्टारमा जिन्दगी छ झन् कहालिँदो !
      
पहिरोमा पाइला ! 
      
पूर्वतिर तेर्छिएको भिर नाँघ्दै उकालिइरहेँ म । टुप्पामा फेरि स्वागत ग¥यो कीराको र्याइँर्याइँले । मनै उदास, आँखै अत्यास र ज्यानै नीरस पार्ने अवस्था छ यति बेला । भित्ताका हरिया लेउ हेर्छु, झ्याउ हेर्छु र काई उम्रेका छाँगाछुर हेर्छु । परपर देखिएका राता थुम्का हेर्छु । प्रकृतिको विरूपता र कुरूपताको होडबाजीले ठुङ मार्छन् आँखामा । पर पुगेको मन हम्मे–हम्मे पर्छ फर्किन ।   
      
‘आजदेखि दिन खुल्यो । जहाज उड्लान् त अब ?’ 
      
सुनितालाई भनेँ । 
      
‘हतारिएर हिँड्नाले पाउनु सास्ती पाइयो !’ 
      
दुःखी उत्तर सुनेँ । 
      
तर, खुसी थिएँ म त । चारचौरास हिँड्न पाइएको थियो, दर्गदिशा हेर्न पाइएको थियो । र, हिमालपारिको जिल्लालाई नजिकैबाट छुन पाइएको थियो । हो, खुसी मैले धीत मारेर भन्ने अवस्था थिएन । सबैको दुःखमा सन्तप्त भएर हिँडिरहेथेँ अभिनयसाथ, नाटकसाथ ।
      
‘अब सुरु भयो मुस्ताङ जिल्ला !’ 
      
देउराली पुगेपछि कसैले भन्यो । 
      
पैराले सबै खाइसकेछ यो गौँडोलाई । यसलाई ‘पैरा थाप्ला’ पनि भन्दा रहेछन् मुस्ताङेहरु । खच्चडका बथान उभिने जत्तिको बचेको ठाउँमा त हामी पो ठडियौँ । हामी पनि खच्चडभन्दा कम्तीका कहाँ र ? सबैका डँडाल्ना, काँध र थाप्लामा क्यै न क्यै छ भारीतारी ।
       
बाटो गयो चेपैचेप उत्तरतिर । त्यसैमा हामी मिसियौँ । तेर्पे उकालोमा कडा घामले दर्पराएर पोल्दैछ । र, पसिनाको थोपा काखीमा आइरहेको थाहा हुँदै छ मज्जैले । 
       
कति ठाउँमा काली गण्डकीको गर्जन र कीराको किरकिरको होडबाजी सुन्दा लाग्छ, भइरहेछ सवाल–जवाफ । सेपिला खोँचमा पानी उम्रेको देख्छु । निकै–निकै माथि छौँ हामी । शरीरमा अलिक भिन्न अवस्था दगुरिरहेको लाग्दै छ । 
       
खुट्टो खोच्याउने बूढीलाई बोक्नै पर्ने खण्ड परेछ । यसरी नि धर्म गर्नु ! 
       
दुई दिनअघिदेखि घिउको टिन बोकिरहेका गोविन्दले आफ्नो चर्तिकलामा ल्याएका छैनन् कुनै कमी । हो, गति चै कम भइरहेको छ । पहिलाका उनी अघि अब धेरै पछि–पछि हुन्थे ।
       
घाँसा पुल तरियो । बाफरे कस्तो मनै सिरिंग्याउने पुल । छाती बल्किन्छ भनेर झोलुंगे पुलमा घाँस र सुकुल हालेर रिंगटा लाग्नबाट बचाइएको रे !    
       
‘अर्को पालि आउँदा मोटर बाटो चलिसक्छ, नारान !’ 
       
एउटी बूढी डोर्याइरहेको किशोरसँग भन्दै थिइन् । 
       
मलाई लाग्यो, ‘जैविक विविधता, प्राकृतिक सुन्दरता र हिमाली वैभवताका दिन घट्ने भए अब !’ 
       
हुन पनि विकासले निम्त्याउँछ विनाश । यी अद्भूत र दिव्य धर्तीका थुप्रै रहस्यपूर्ण निधि सखाप हुनेछन्, नष्ट हुनेछन् र ध्वस्त हुनेछन् । हामी पैसामा सबथोक बेच्नेछौँ, पैसामा सबथोक गुमाउनेछौँ अनि पैसामा सबथोक साट्नेछौँ । हाम्रो पुरानो सभ्यता र संस्कृति, परम्परा र पहिचान, गौरव र गाथामा विकासका सुकिला पञ्जाले नंग्रा गाड्नेछ ग्वाम्म ग्वाम्म । अनि, नंग्राले निकालेको रगतमा आउँदो पुस्ताले कति भेट्लान् हाम्रो गर्विलो गन्ध ?   
       
मूल बाटो छोडेर हामी पुग्यौँ घाँसा बजार ।
       
यहाँका घर अलिक अग्ला, अलिक सुकिला र अलिक आधुनिक ठानेँ मैले । वरपरका थाप्लामा कुइराको चर्तिकला चर्कै थियो मुटुमा भुँवरी पार्ने । सेतो बादलको लुकामारी थियो उल्काकै । भर्खर भाँचेका मकैका गन्धले बस्तीमा मटक मारेको लाग्थ्यो । फूल खेलेका फापरबारीले अँगालेको थियो घाँसालाई । लम्सालको चुल्होमा पलेँटी मारेर भुँडी उकासियो मज्जैले । 
       
भातले लघारेपछि निस्केको फुर्तीलाई साथी बनाएर हामी पुग्यौँ कैकु । 
       
बाटोका दायाँ–बाँया मकै, फापरको चमक । लहलह बाली देख्ता मन भरिन्थ्यो टम्म । आँखामा आनन्दी मुस्काउँथ्यो मज्जैले । 
       
उत्तर पसारिएको लेते खोलाको पुल तरेपछि भेटियो ठाडै उकालो । उकालीमा जम्काभेट भो खच्चडको ताँतीसित । आपत्मा, महाआपत् ।  
       
अहा, सुन्दर लेते ! 
       
वरिपरिका थुम्कामा हिउँका रास । सेता हिउँचुली देखिन्थ्यो कालो बादलमा हप्की–दप्की साथ । हलुका पानी प¥यो । हिउँ हेर्दै त मन भएथ्यो पानी–पानी । अब त झन् पानी नै बिर्बिरायो । मन त फुरुंगै ! वरिपरिबाट घेरेर आएको अँध्यारोले घनघोर बादल, हावा र पानीको कोसेली देलादेला ग¥यो । तर, छिट्याएर थन्कियो आफैँ । मच्चियो मच्चियो अनि थच्चियो हिमाली हुन्डरी । 
       
सारा हिमाल देखिन थाले दक्षिणतिर । धीमा हुँदै गयो हाम्रो लम्काइ । रामारुमी साँझमा पुगियो कालोपानी ।  
       
‘आजको रात यीँ बसूम् है !’ 
       
गोविन्दले उर्दी कसे । 
       
अनुहारमा ठूलो कोठी भएकी तुलाचननीको होटेलमा पस्यौँ हामी । बासको जोहो गर्न ।
       
‘हल्ला नगर्नुहोला, कुइरे बिच्केलान् !’ 
       
‘तपाईंहरु त सय वर्षमा एक ताल आउने, उनीहरु त एक वर्षमा सयौँचोटि आउँछन् !’ 
       
यी दुवै कुरा थिए तुलाचन मैयाँका । 
       
स्वाभिमानलाई घुटुघुटु थन्काएर कोठाभित्र छि¥यौँ । हामीलाई बास चाहिएको थियो । कुइरेको मान, हाम्रो अपमान ! 
       
ढोका लाएर साउती मा¥यौँ हामीले, ‘भोलि बिहान चारै बजे जोमसोमतिर पाइलो सारौँ है !’ 
       
रातभरि मन्जु भाउजूको ऐयाआत्थुले हाम्रा आँखामा आएको निन्द्रा पनि खोसेर लगे । बिचरा, चोलेन्द्र दाइ पत्नी सेवामा जाग्रामै बसे सिंगो रात । यत्तिको श्रीमती–स्याहार सुश्रुषा मबाट त होलाजस्तो लाग्दै लाग्दैन ! 
       
नभन्दै बिहान चारैबजे ट्याक्टर खडा भो हामी बसे होटेलका आँगनमा । कोचाकोच गर्दै खाँदियौँ ट्याक्टरको डिब्बामा । गुन्द्रुक, सिन्की एकै ठाउँ ।
       
उत्तरपट्टि देखिएको हिमाल हेर्दै मैले भनेँ, प्रणाम !
       
अरु सबैले एकसाथ प्रणाम भने ।
       
खोला सेतो थियो, हिमाल सेतो थियो, पहाडका थुम्का सबै सेतै टुप्लुकिन्थे । मुटु कमाउने जाडोलाई काखीमा थन्काउँदै जम्मा–जम्मी एकचालीसजना ट्याक्टरमा गुन्द्रुकियौँ हामी । चिसोले थरर्र कामे ओठ ।  
       
उत्तरका हिमाल पहेँला भइरहेथेँ । दक्षिणका हिमाल सेतै थिए । घाम नपुगिसकेकाले यस्तो भा’को कि ? अरु थुप्रै हो कि हो कि ? प्रश्नका गुल्टा थिए अनवरत । अब भिन्न भूमि देखिँदा छन् । गर्जना छैन कालीको । शक्ति छैन कालीको । 
       
एकोहोरो उत्तर लागेपछि टुप्लुकिए अनौठा र उराठ बगर मात्रै । चालकसँगै कुम जोरेर बसेको छु म । सुन्दै छु उसका फतफते कुरा ।       
       
‘छोरा मान्छेको मरन ठेगान हुँदैन, छोरी मान्छेको कर्म ठेगान हुँदैन !’ 
       
स्टेरिङसँगै बोली चलिरहेको सुन्छु ।      
       
‘टुरिस्ट चढाउन पाइन्न याँ !’      
       
‘किन नि ?’ 
       
अचम्म लागेपछि सोधेँ ।      
       
‘टुरिस्टले गाडी चढे, याँका मान्छेले के खाने नि ! त्यसैले कुइरेलाई हिँडाएको र डलर झारेको !’ 
       
कुरो खोल्छ चालक । 
       
एउटा चौरमा पुगेपछि सबै पसे जंगल । म थालेँ सेरोफेरो पढ्न । घामले सिंगारिएका हिमाल पूर्वदेखि पश्चिम गइरहेथे सुनौलिएर ।      
       
‘वैशाखतिर खुब मान्छे आउँछन् । चौँरीको खुन खान, यै मास्तिर !’      
       
‘किन नि ?’   
       
‘चरिरहेका चौरीको आलो खुन खाँदा मान्छेलाई तागत हुन्छ । जंगलमा ओखतीमुलो हुने घाँसपात खान्छ नि चौरीले । लेकका चौरी अनि पो बलिया भएका !’ 
       
कुरा सुन्छु फतफतेका । 
       
घुम्ती, मोड र बगर नाँघ्दै छौँ, नाप्दै छौँ घरी–घरी । हिमाल त गायब ! 
       
हिजो राति सुनिएथ्यो, ‘पानी खाएर सुते नि पैसा, खाना खाएर सुते नि पैसा !’ व्यापारका अनेक तरिका । ओच्छ्यानको मूल्य भने पनि भित्री मिलान भइहाल्दो रै’छ । जे होस्, ज्यानले तेर्छिने खाट पायो । सन्तोष छ यसमै । 
       
बोक्सी मिसियो काली खोलामा ।    
       
‘ठूला–ठूला देवी–देउता छन् याँ !’ 
       
सुन्दै छु कुरा । 
       
लार्जुङ पुगियो । 
       
उज्यालो भो दिन । घामले वरपरका पुछेर पहाडलाई चम्कायो, बगर खुलायो अनि बाटो देखायो । वरपरका राता थुम्कामा स–साना प्वाल देखापर्न थाले मज्जैले । परेली खुलिनसक्दै नानी दगुर्थे पहाडका तरेलीतिर । 
       
घरजस्ता, दरबारजस्ता, गुम्बाजस्ता र पाटीपौवाजस्ता आकारका प्वाल देखिन्थे—नांगे भिरमा ।      
       
‘के हुन् ती ?’       
       
‘ए, ती मान्छे गाड्ने ठाउँ ! यतातिरको पुरानो चलन ।’ 
       
चालकको बोली छ गतिमान । 
       
राता थुम्का, सेता हिमाल र हरिया पहाड । तीनखाले धर्तीको मिलाप देखिरहेछु । थकालीहरुको आफ्नो संसार छ यहाँ । आफ्नो सभ्यता र संस्कृतिले सुवासित छ यो भूमि ।
       
स्याउ, मकै र फापरका उब्जनी अब मज्जैले आँखासँग जोडिए । जीवन अलिक रसिलो, पोसिलो र कसिलो ठानेँ मैले । 
       
कोवाङ पुग्दा चर्केको घाम फेरि चिस्सियो । टोपी, गलबन्दी खोल्ने र गुथ्ने गर्छु म पटक–पटक । 
       
‘लेतेमा बढी पानी पर्छ । यताको पानी नि उडेर उतै पुग्छ । याँ त खाली हावा लाग्छ । बाह्रै काल, बाह्रै मास हावा !’ 
       
टुकुचे बगरमा कालो आकाश हेर्दा सुनेँ । 
       
राता पहाडका भिरमा झन् बढे स–साना प्वालै–प्वाल । 
       
थाक टुकुचेमा पुगेपछि भूपी शेरचनको नाउँमा खोलिएको पुस्तकालयमा एउटा किताब छोडेँ । 
       
चालकले भन्यो, ‘उहाँ मेरो बाजेको साथी !’
       
‘को भूपी ?’
       
‘अँ, कवि !’ 
       
पिँध पोलेर मर्नै आँटे म त । साटफेर गर्ने कुरो थिएन । विशिष्ट सिट थियो यो । सजिलो र अरु आरामदायी खोजे गुम्ने डर थियो त्यै नि । अनि पो जस्तै सकस पनि सहिरहेछु म । 
       
निकै फाँट छिचोलेपछि आयो, मार्फा ।  
       
बाफरे, स्याउघारी ! खेतभरि जताततै स्याउ लडेपडेका । डोका, डाला, नाङ्ला र थुन्सेभरि स्याउ नै स्याउ । साना बच्चाहरु लात्तले भकुन्डो खेल्दै थिए स्याउदाना । 
       
‘मार्फा त स्याउ, नास्पाती, ओखर र आरुका लागि प्रख्यात हो नि !’
       
प्यार–प्यार छ स्टेरिङवालाको । 
       
धेरै आनन्ददायी र सुन्दर लाग्यो मार्फा । साना र आँखा तान्ने घरहरु । सफा र कलात्मक जीवनशैली । परिश्रम र कठोरताबीच हुर्केको थियो मार्फाली संसार ।  
       
आँखानिर टुप्लकिए नांगा डाँडाहरु । 
       
छानाभरि दाउरा । फापरको लहलह । झ्याप्ले भोटे कुकुर । चौरी धपाइरहेका रातगाले तरुनीका खुब लस्कर थिए बाटाभरि । 
       
ट्याक्टरमा बोकिएको म हरेक कुरा विचारी–विचारी हेरिरहेथेँ । ढुंगाले घेरेका बारीमा मकैमुनि गजब देखिन्थ्यो फापर फुलेको । एक मिहिनेतमा दुई प्राप्ति ।     
       
‘ऊ नीलगिरि !’ 
       
पूर्वदक्षिणतिर देखाएर चुप भो चालक ।
       
अद्भूत नीलगिरि ! श्वेत थुम्का नीलगिरि !! हिउँराशि नीलगिरि !!! 
       
मैले हिमाललाई यति नजिकबाट हेरेकै थिइनँ । यति हार्दिकसँग हिउँचुलीलाई पढेकै थिइनँ । यति वरबाट हिमकला पर्गेलेकै थिइनँ । 
       
बाफ उडिरहेको हो कि ? कुइरो कुदिरहेको हो कि ? बादलको पातलो पछ्यौरी लहराइरहेको हो कि ? 
       
नीलगिरिको थुम्का वरिपरिको हावा, घाम र बादलको चर्तिकला देखिन्थ्यो अनेक–अनेक । दक्षिण, पश्चिम र उत्तरबाट हेर्न पाइरहेको थिएँ नीलगिरिलाई ।  
       
यति भव्य, यति लोभलाग्दो र यति दिव्य मेरा जीवनमा कुनै हिमालले यो उमेरसम्म छोएका थिएनन् । म हेरेको हेरेकै भएँ । आँखै तिर्मिराउने हिमालको उत्ताउलो बैँस । 
       
स्याङ पुगियो । 
       
छिद्र–छिद्र भएका राता पहाडको लर्कन छ यथावत । आँखालाई लमतन्न नीलगिरिबाट अन्त फर्काउँदा मन मान्ने होइन । मोड्छु बलैले । मनलाई बाँध्न सक्तिनँ म क्यै गरी । 
       
ढिस्का ढिस्की देखापर्न थाले अब त झन्झन् । 
       
वास्तवमा अचम्मलाग्दो छ यो मुस्ताङ जिल्ला । छक्क पर्दो छ यो हिमाल पारिको भूमि । जिब्रो टोकी–टोकी हरेक कुरालाई पढिरहेको छु म । 
       
बलौटे पहाड, चट्टाने पहाड, रुखा भिर र नांगा थुम्काको बारबेर । यहाँको सभ्यता अहोरात्र छ गतिशील । उराठ, भयानक हावा र अटुटको संघर्षपूर्ण जीवन पद्दतिले यहाँको हातमुख जोडिएको छ । 
       
तर, यी सबैभित्र छ, आदिम र चमत्कारपूर्ण सभ्यता । 
       
पोथ्रै–पोथ्रा छन् फाँटमा । पठार भूमिको फैलावट कति हो कति ! चारैतिर हिमालले घेरेको यो बगरजस्तो ठाउँ । अनौठो रगत कुद्छ शरीरभरि । 
       
नीलगिरिको बैँसलाई एक्लै तनतनी पिउन खोज्ने बादल घरी–घरी लघारिन्थ्यो हावाबाट । पटक–पटक टुप्लुकिने नीलगिरिको रुपलाई पिइरहेथेँ घटघटी । बेरोकटोक, निरन्तर, बेहिसाब । 
       
निकै बगर छिचोलेपछि उकालोले भन्यो, ‘अब जोमसोम टाढा छैन !’ 
       
हो, जोमसोमको भव्य दरबार हामीले देखिसकेका थियौँ अलिक परैबाट । राता घरहरुको लस्कर र फाँटिलो चौरमा छरिएका भवनहरुको उभ्याइले जोमसोमको तिख्खर सुन्दरता आइसकेको थियो मेरो आँखामा । 
       
झन् चाँडो पुग्न खोज्थ्यो मन । 
       
मध्य दिनमा पुगियो जोमसोम । 
       
सडकको किनारमा थन्कियो घ्यार–घ्यारे ट्याक्टर । 
       
एक झोला स्याउ किनेँ मैले । अनि, हामी जहाजको टिकट मिलाउन नेपाल वायुसेवा निगमको कार्यालयमा पस्यौँ । त्यसअघि अग्नि र गुणका टिकट काउन्टरमा पसिसकेथ्यौँ हामी । 
       
दसैँको तामझामले सबै टिकट बेचिएको सुनियो । निकै अनुरोध, बिन्ती र बिलौना गरेपछि हामीले टिकट पाएका थियौँ बल्ल–तल्ल । त्यसो त सुनिएको थियो पोखरामै, ‘कमिसन खाएर एनएका यात्रु अरु नै जहाजमा उडाउँछन् त्यसकै कर्मचारी । जहाज बरु रित्तै उडाउँछन् !’ 
       
तै हामीले टिकट पायौँ । 
       
टिकट पाएपछि एकसरो डुल्ने मन भो । स्याउका दाना क¥याप्प टोक्दै, खुसीले उत्ताउलिएका गोडालाई मनमाफिक छोडिदिँदै, आनन्दले बुर्कुसिएका आँखालाई ढुक्कले फुकाइदिँदै बरालिएँ म जोमसोम बजारमा । 
       
जानु त मुक्तिनाथ थियो । अझै पर, धेरै पर । कहाँ हो कहाँ पर । तर, यतिखेर जोमसोमको सुन्दरताले तानिइरहेको थिएँ म, जोमसोमको मुहुनीले लुटुपुटु भइरहेथेँ म, जोमसोमको सुमसुमाइमा अँगालिरहेको थिएँ म । 
       
म गतिलै केरकारमा परेँ नीलगिरिको । मुक्तिनाथ जानुअघि मेरो सारा परीक्षा ग¥यो नीलगिरिले । हिजोका हिँडाइ र भोलिका लम्काइमा केही खोट देखेर पो केलाइकुलाइमा परेको हुँ कि म ?  
       
दक्षिणपट्टि मुस्कुराइरहेको भव्य, दिव्य र बेजोडको नीलगिरि हिमाल चम्चमाइरहेथ्यो । रौँ ठाडा भइरहेथे मेरा, उसका छरिएका आभा हेर्दा । घामको किरणले उसलाई उज्यालो पारिरहेथ्यो झन्–झन् । हावाको सुइँसुइँ उसलाई संगीत सुनाइरहेथ्यो । बादलको चञ्चलतामा उत्ताउलिइरहेथ्यो नीलगिरि । 
        
त्यही सुन्दर नीलगिरिलाई आँखाले पिउँदै पर्सि फर्कने छु म । 
        
यो भव्य हिमालको एक दिव्यता छातीमा साँचेर जानेछु म । यो हिउँचुलीको एक मिठो मायामा डुबेर जानेछु म । यो हिमराशिको आभाले सिंगो चेतना धोइएर जानेछु म ।
        
मुक्तिनाथ हुइँकिदा जोमसोम ढाकिएथ्यो बादलले ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २८, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्