site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अर्थतन्त्रलाई कोरोनाबाट जोगाउन इच्छाशक्ति जरुरी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

निजी क्षेत्रको धरोहरका रुपमा रहेको नेपाल चेम्बर अफ कमर्स अहिले सरकारका लागि विश्वासिलो साझेदार तथा नेपाली जनताका लागि उन्नत भविष्यको सारथीका रुपमा पहिचान बनाएको सुनाउन पाउँदा हामीलाई गर्व महशुस हुन्छ । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान मूलतः नेपाल चेम्बर र चेम्बरजस्तै संस्थाहरूसँगको सहकार्यबिना पूरा हुन सक्दैन । त्यसैले आजको दिनमा निजी क्षेत्र र सरकारबीच कुनै सीमारेखा कोरिरहनु आवश्यक छैन भन्ने हाम्रो बुझाइ हो ।
 
मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा छैन । कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेता पनि अर्थतन्त्रको गति र दिशाअझै अन्योलग्रस्त छ । पर्यटन लगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद् छैन । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद् छैन भन्ने देखिन्छ । यतिमात्र हैन, हाम्रै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार आर्थिक वृद्धि करिब २ प्रतिशतले ऋणात्मक भएको देखाएको छ । ३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैंमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभाव भन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ ।
 
विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहत सम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति बेहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिँड्न सकेको छैन । यसैले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष आग्रह गर्न चाहन्छु कि कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रुपमा नेपालको नाउँ सारा विश्वले चिन्न सक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार छौं । सरकारले ठूलो लगानी गर्नु भन्दा पनि केही नीतिगत सहजीकरणमार्फत यसो गर्न सक्छ भन्ने हाम्रो विश्वास छ ।
नेपाल चेम्बर अफ कमर्सले स्थापनाकालदेखि नै सरकारसँग सहकार्य गर्दै आइरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने नै छ । हाम्रा सल्लाह र सुझावहरू सरकारका ऐन, कानुन, नीति तथा कार्यक्रममा केही न केही समेटिएको अवस्था छ । सरकार र निजी क्षेत्र एकले अर्कालाई निषेध गरेर अगाडि बढ्न सक्दैनन् । हामीबीच सहकार्यको विकल्प छैन । सरकार कहिले काहिँ गलत बाटोमा हिँड्न खोजेमा सच्याउने दायित्व आम नागरिकको जस्तै निजी क्षेत्रको पनि हो । हामीले खासगरी आर्थिक विषयवस्तुसँग सम्बन्धित नीति नियम तर्जुमाका सन्दर्भमा विगतमा सरकारको आलोचना पनि गरेका छौं र सडकमै ओर्लिएको अवस्था पनि छ । तर पछिल्लो समय निजी क्षेत्र र सरकारबीच सम्बन्ध सुमधुर छ । निजी क्षेत्र र ट्रेड यूनियनबीच पनि विश्वासको वातावरण बनेको अवस्था छ । तातेको बेला फलामलाई आफूले चाहेको आकारमा बदल्न सकिए जस्तै अहिले सरकार, निजी क्षेत्र र श्रमिकबीच विश्वासको वातावरण बनेकाले आर्थिक सुधारलाई नयाँ उचाईमा पु¥याउने उचित अवसर छ । यसका लागि अग्रसरता लिन म प्रधानमन्त्रीज्यू समक्ष विनम्रता पूर्वक आग्रह गर्दछु । मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीज्यूको दृढ इच्छाशक्ति कार्यान्वयनमा अब ढिलो गर्नु हुँदैन भन्ने म आग्रह गर्न चाहन्छु ।
 
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षका हैसियतले यो मेरो अन्तिम मन्तव्य पनि हो । निजी क्षेत्रको जेठो संस्थाको नेतृत्वमा लामो समयसम्म रहँदा चेम्बरलाई जुन उचाईमा पु¥याउन सकेँ, मुलुकको शासकीय स्वरुप र शासन प्रणालीअनुसार चेम्बरलाई पनि अघि बढाउन सफल भएँ । सबैको साथ र सहयोगकै कारण नेपाल चेम्बर आज नीति निर्माणदेखि व्यवसायीका समस्यामा सहजीकरण, प्रवद्र्धन तथा भोलिको सुनौलो भविष्यका किरण देखाउने सारथि बनेको छ । व्यवसायीको प्रतिनिधिमूलक संस्था भए पनि चेम्बर नेपाली समाजलाई संकटमा पर्दा मल्हमपट्टी लगाउने सामाजिक संस्था पनि हो ।
 
(चेम्बरको ७०औं वार्षिकोत्सवमा राजेशकाजी श्रेष्ठले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC