काठमाडौं । सेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको साताको अन्तिम कारोबार दिन बजार परिसूचक नेप्से सामान्य वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से २.७४ अंकले वृद्धि हुँदा २६७४.३६ अंकमा बन्द भएको छ ।
गएको मंगलबार ३६७४.४७ अंकको ऐतिहासिक विन्दुमा पुगेको नेप्सेमा बुधबार सामान्य करेक्सन भएको थियो । आज नेप्सेमा सामन्य वृद्धि हुँदा उक्त रेकर्ड तोडेर नयाँ उचाइ कायम गर्न ०.११ अंकले मात्रै तल रह्यो । बुधबार करिब ३ अंकले घटेको नेप्से आज सातको अन्तिम करोबार दिन करिब ३ अंकले नै बढेको हो ।
चैत मसान्त नजिकिएको अवस्थामा लगानीकर्ता ‘वेट एन्ड सी’को अवस्थामा देखिएका छन् । जसले गर्दा बजार परिसूचकका साथै कारोबार रकममा खासै उतार–चढाव देखिएन ।
मंगलबार सवा सात अर्बको कारोबार भएको बजारमा आज साढे ६ अर्बको कारोबार भएको छ । आज नेप्सेमा ६ अर्ब ५५ करोड ६६ लाख १७ हजारको कारोबार हुँदा १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भयो ।
आज बजारमा उपसूचकहरु भने मिश्रित देखिएका छन् । बिमा र बैंकिङ क्षेत्रको उपसूचक हरियो हुँदा हाइड्रोपावर, उत्पादन, लगानी, निर्जीवन बिमाको उपसूचक भने रातो भएका छन् । वित्त कम्पनी उपसूचक सर्वाधिक ३.१८ प्रतिशत, लघुवित्त उपसूचक २.०९ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.१ प्रतिशतले बढेको छ ।
यता, अन्य उपसूचक सबैभन्दा धेरै १.०७ प्रतिशतले ओरालो लाग्दा हाइड्रोपावर उपसूचक ०.८८ प्रतिशत र व्यापार उपसूचक ०.८१ प्रतिशतले घटेको छ ।
कारोबार रकममा अपर तामाकोसीले लिड गरेको छ । कम्पनीको ३५ करोड ९३ लाख ९० हजारको कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २४ करोड ६२ लाख ८७ हजार र नेपाल बैंकको २४ करोड १ लाख ६४ हजारको कारोबार भएको छ ।
बिहीबार एनआईसी एशिया लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, रिलायन्स फाइनान्स र ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिभर्सल पावर र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य भने ४ प्रतिशतमाथिले घटेको छ ।
आज कारोबार आएकामध्ये ९७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७२ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर भए ।