काठमाडौं । सरकारले नियमित अभियानअन्तर्गतको भिटामिन ‘ए’ कार्यक्रम आउँदो वैशाख ६ र ७ गते सञ्चालन गर्ने भएको छ ।
कार्यक्रमअन्तर्गत ५९ महिनसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गरिनेछ ।
कार्यक्रम सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सम्बन्धित सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै एक घण्टामा १० जना बालबालिका मात्रै उपस्थित हुने गरी व्यवस्था मिलाउन मन्त्रालयले सम्बन्धित प्रदेश कार्यालयहरुलाई भनेको छ ।
भिटामिन ‘ए’ खुवाउने स्थानमा सभडभाड नगर्न, अनिवार्य मास्क लगाउन, हात धुने व्यवस्था गर्न तथा स्यानिटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।