





मुम्बई । यसवर्ष बलिउडमा ठूला बजेटका चलचित्रहरू रिलिज हुने तयारीमा थिए । जसमा अभिनेता सलमान खानको ‘राधेः योर मोस्ट वान्टेड भाइ’ पनि अपेक्षित चलचित्र थियो ।
बहुप्रतिक्षित चलचित्र राधे यही वर्षको इद (आगामी मे १३) मा रिलिज गर्ने तय थियो । तर भारत कोरोनाको दोस्रो लहरको चपेटामा परेपछि राधेको रिलिज मिति सर्ने देखिएको छ ।
महाराष्ट्र सरकारले अप्रिल ३० सम्म लकडाउनको घोषणा गरेको छ । यदि अप्रिल अन्तिमसम्म पनि संक्रमितको संख्यामा कमी नआए लकडाउनको समयावधि बढ्ने निश्चित छ । जसको प्रत्यक्ष असर चलचित्र ‘राधे’ र यसका दर्शकलाई पर्ने देखिन्छ ।
हालै अभिनेता सलमान खानले चलचित्र राधे यो वर्षको इदमा नभई अर्को वर्ष (२०२२) को इदमा आउनसक्ने प्रबल सम्भावना रहेको बताएका छन् । “हामी अझैपनि ‘राधेः योर मोस्ट वान्टेड भाइ’ यही वर्षको इदमा रिलिज गर्ने प्रयास गरिरहेका छौं । तर यदि हालको लकडाउनको समयावधि बढ्दै गयो भने हामीले यसलाई अर्को वर्षको इदमा ल्यानुपर्ने हुन्छ,” उनले मिडियासँगको कुराकानीमा भनेका छन् ।

तर यदि संक्रमणको संख्या घट्यो भने चलचित्र तोकिएकै मिति अर्थात आगामी मे १३ मा रिलिज हुने सलमानले बताएका छन् ।
प्रभु देवाको निर्देशनमा बनेको यस चलचित्रमा सलमानका साथै अभिनेत्री दिशा पटानी, अभिनेता रणदीप हुड्डा र जैकी श्राफको पनि अभिनय रहेको छ । बलिउड हंगामा





