




काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा आज पनि वायु प्रदूषणको अवस्था स्थिर रहेको छ । विगत केही दिन यताजस्तै आज पनि वायु प्रदूषण यथावत रहेको मौसमविद् बरुण पौडेल बताउँछन् ।
काठमाडौंमा आज विहानको भिजिविलिटी दुई हजार मिटर छ । दिउसो तीन हजारसम्म पुगे पनि वायु प्रदूषण भने नहट्ने उनको भनाइ छ ।
“काठमाडौं, पोखरा, धरान तथा देशभरका ठूला सहर र उपत्यकामा वायु प्रदूणषण छ,” मौसमविद् पौडेल भन्छन्, “यो अझै केही दिन रहन्छ । ठूलो पानी नपर्दासम्म र ठूलो हावाहुरी नचलेसम्म वायु प्रदूषण हट्दैन ।”
तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागमा केही हल्का वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना छैन । पानी परेर देशका विभिन्न ठाउँमा लागेको डडेलो ननिभेसम्म वायु प्रदूषण रहिरहने छ । काठमाडौंका केही स्थानमा आज छिटपुट वर्षाको सम्भावना छ ।

तापक्रम बढ्दै जाँदा पानी पर्ने सम्भावना पनि उच्च हुँदै जाने पौडेलको भनाइ छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि यो मौसमी प्रणाली स्ट्रङ नभएसम्म ठूलो वर्षा हुँदैन ।
लामो समयदेखि पानी नपर्दा वायु प्रदूषण बढ्दै गएको छ । हावामा धुलो तथा धुँवाको मात्रा बढेर एअर क्वालिटी इन्डेक्स (एक्यूआई) बढेर ३०० भन्दा पनि माथि पुग्ने गरेको छ । यो इन्डेक्स स्वास्थ्यका लागि खराव अवस्था हो । काठमाडौं विश्वकै प्रदूषित सहरमा पहिलो स्थानमा पर्दै आएको छ ।





