बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चलचित्रमा विदेशी लगानी भित्र्याउने वातावरण बनाइदिन निर्माताहरुको आग्रह
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाली चलचित्रका निर्माताहरुले विदेशी लगानी भित्र्याउने वातावरण सहज बताउनुपर्ने बताएका छन् । नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणका लागि पनि विदेशी लगानी भित्र्याउने सहज वातावरण बनाउनुपर्नेमा उनीहरुको जोड छ । 

राज्यको सहयोगबिना नेपाली सिनेमाको विकास नहुने निष्कर्षमा आफूहरु पुगेको भन्दै निर्माताहरुले आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रममा चलचित्र क्षेत्रलाई समेट्न आग्रह गरेका छन् । उनीहरुले आज चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल समक्ष सुझावसहतिका मागसमेत बुझाएका छन् । 

“काम गरेर देखाएका र गर्न खोज्ने चलचित्रकर्मीहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । नीतिगत अप्ठ्यारोलाई फुकाइदिनु पर्छ भन्ने हाम्रो माग हो,” निर्माता अविरल थापाले भने, “अबको चलचित्र निर्माण भनेको विश्व बजारमा जाने गरिनै निर्माण हुन पर्छ ।”

Rohto Landing

Agani Group

पुराना सोच र राजनीतिमा नै अल्झेर बसेका चलचित्रकर्मिहरुबाट विश्व बजारमा पुग्न सम्भव नरहेको भन्दै उनले यका लागि सरकारले नीतिगत रुपमै सम्बोधन गरेर सहज बनाइदिनुपर्नेमा उनको जोड छ । “यसका लागि चलचित्र विकास बोर्डले नेतृत्व लिनु पर्छ,” उनले भने, “बोर्ड अध्यक्षले यसमा सकारात्मक छु भन्नुभएको छ । उहाँले यसका लागि आवश्यक पहल सम्बन्धित ठाउँमा गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”

१० बुँदे मागपत्रसहित ३४ जना निर्माताले बोर्डसमक्ष लिखित रुपमा आफ्ना माग प्रस्तुत गरेका छन् ।  

sarbottam cement

मागपत्रको पूर्णपाठ

नेपाली सिनेमाको विकासमा अहोरात्र लागीरहेका हामी केहि दर्जन सिनेमा–निर्माताहरू देश–विदेशका विभिन्न मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै सिनेमा निर्माणको काम गरिरहेका छौँ । पछिल्लो चरणमा सिनेमाको अध्ययन नै गरेर यस क्षेत्रमा काम गरीरहेका अधिकांश हामीहरू राज्यको सहयोगबिना कुनै पनि हालतमा नेपाली सिनेमाको विकास हुँदैन भन्ने कुरामा विश्वस्त छौँ । त्यसकारण, नेपाल सरकारले निटक भविष्यमा प्रस्तुत गर्ने नयाँ आर्थिक वर्ष २०७७– ७८का नीति तथा कार्यक्रमहरूको निम्ति हाम्रा देहाय बमोजिमका मागहरू रहेका छन् :

१.    नेपाल सरकारले यथाशीघ्र विभिन्न देशहरूसँग सिनेमा सह–निर्माणका सन्धिहरू गर्नुपर्ने
दुई देशबिच सिनेमा निर्माणको काम सहज होस्, लगानीको आदान–प्रदान होस्, प्रतिभा तथा स्रोतहरूको साटासाट होस् तथा समग्रमा दुबै देशका सिनेमा उद्योगहरू विकसित होउन् भन्ने उद्देश्यले संसारभरि सह–निर्माण सन्धि गर्ने गरिन्छ । हामीले तत्काल भारत, चीन, दक्षिण कोरिया लगायतका केहि एसियाली राष्ट्रहरू त्यसैगरी फ्रान्स, जर्मनी लगायतका सम्पूर्ण युरोपेली देशहरू, त्यसैगरी उत्तर अमेरिकी महादेशका अमेरिका र क्यानडासँग साथै मध्यपूर्वका साउदी अरबिया, कतार र संयुक्त अरब एमिरेट्स तथा बाँकी विश्वका अष्ट्रेलिया लगायतका देशहरूसँग सन्धि गरेर कामको थालनी गर्नुपर्ने हुन्छ । यसका लागि तत्कालै एसिया महादेशका चलचित्रहरूको सहनिर्माण सन्धिसँग सम्बन्धित आधिकारिक निकाय ब्ँऋल्भतसँग प्रस्ताव राख्न सकिनेछ । यस खालको सन्धिले चलचित्रको बीमा गर्ने, सिनेमाकर्मीहरूलाई करछुटको व्यवस्था गर्ने विदेशी लगानी नेपाल भित्र्याउने जस्ता मिहिन कुराहरूमा आधार तयार गरी सुदूर भविष्यमा जीवन्त सिनेमा उद्योग निर्माणमा टेवा पुर्याउने छ ।

२.    नेपाली सिनेमा निर्माणलाई एकद्वार प्रणालीमा लानुपर्ने 
नेपाली सिनेमा निर्माण गर्दा सरकारका विभिन्न मन्त्रालाय, विभाग, संघ–संस्थाहरू दर्ता तथा अनुमतिको लागि छुट्टाछुट्टै जानुपर्ने बाध्यता छ । यो सबैको अन्त्य गरी सबै कुराको अनुमति ‘चलचित्र विकास बोर्ड’ जस्तो एउटा कुनै संस्थाबाट गरिनुपर्छ । यसले स्वदेशी सिनेमाकर्मीहरूलाई झन्झटमुक्त बनाउनुका साथै विदेशी सनेमाकर्मीहरूलाई समेत व्यापक रूपमा आकर्षित गर्दछ ।

३.    मौजुदा चलचित्र विकास बोर्डभित्र ‘अनुसन्धान तथा विकास’ विभाग खोलिनुपर्ने
कुनै पनि क्षेत्रको विकासको लागि त्यस क्षेत्रमा कति अनुसन्धानहरू भए भन्ने कुराले अर्थ राख्छ । हामीसँग नेपाली सिनेमा क्षेत्र सम्बन्धी वैज्ञानिक तथ्यहरूको अभाव रहीआएको छ । सोको परिपूर्तिका निम्ति ‘अनुसन्धान तथा विकास’ विभाग खोलिनै पर्छ जसको काम सिनेमा सम्बन्धी सम्पूर्ण वैज्ञानिक तथ्यहरूको सुव्यवस्थित संकलन गर्ने तथा सरकारलाई सुझाव दिने हुन्छ । यस्ता विभागबाट भएका अनुसन्धान तथा शोधपत्र एवम् कार्यपत्रहरूले नेपाली सिनेमालाई सही अर्थमा दिशा–निर्देश गर्नेछ ।

४.    लागु भएको बक्सअफिस प्रणालीलाई ‘रियल टाइम’को बनाइनुपर्ने
काठमाडौँ उपत्यका सहित देशभर लागु भएको वा हुने प्रक्रियामा रहेको बक्स अफिस प्रणाली अन्तर्राष्ट्रिय मूल्य–मान्यताहरूमा आधारित ‘रियल टाइम’को बनाइनुपर्नेछ । सिनेमाघरमा कुनै दर्शकले टिकट काट्ने बित्तिकैको जानकारी बक्सअफिस प्रणालीमा थाहा हुनुपर्दछ । मौजुदा प्रणाली अनुसार निर्माताहरूले कम्तिमा २४ घण्टा कुर्नु परेको अवस्था छ । ‘रियल टाइम’ बक्सअफिस हुने बित्तिकै बिचको अवधिमा हुने ठगी तथा करछली कटाउन सकिन्छ ।

५.    सरकारले आफ्नो स्वामित्वमा अन्तर्राष्ट्रिय स्तरको सिनेमा महोत्सव सञ्चालन गर्नुपर्ने
नेपालमा अन्तर्राष्ट्रिय स्तरको सिनेमा महोत्सव गरिनाले सिनेमा साक्षरतामा टेवा पुग्नुका साथै विभिन्न देशबाट आउनुहुने पाहुनाबाट नेपाली सिनेमाकर्मीले सम्भावित सहकार्यको बाटो तय गर्न सक्छन् । एसियाकै पहिलो महोत्सव भनिने भारतको गोवा सिनेमा महोत्सव वा दक्षिण कोरियाको बुसान महोत्सव जस्तै तहको अन्तर्राष्ट्रय महोत्सवले सिनेमा गतिविधिको दृष्टिमा नेपाललाई अन्तर्राष्ट्रिय रूपमै अगाडि ल्याइदिन्छ । महोत्सवभित्र हुने कार्यशाला, छलफल, तालिम, बजार आदिले नेपाली सिनेमाकर्मीहरूलाई फाइदा पुर्याउने छ ।
 
६.    सुरु भएको सिनेमा कोषको विस्तार
नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न नसकेसम्म सिनेमा क्षेत्र फस्टाउन सक्दैन । त्यसैगरी स्वतन्त्र सिनेमाकर्मीबिना कुनै पनि देशको सिनेमाले गुणात्मक छलाङ मार्न सक्दैन । त्यसको लागि राज्यले सिनेमा कोषको जुन सुरुवात गरेको छ त्यो प्रशंसायोग्य छ । त्यस कोषले हाल सिनेमाको विकास र निर्माणमा सहयोग गरे पनि उत्तर निर्माण, बजारीकरण तथा वितरणमा पनि दायरा बढाउनुपर्ने हुन्छ । सिनेमाका अन्तर्राष्ट्रिय कार्यशाला, सनेमा–बजार तथा महोत्सवहरूमा जाने सिनेमाकर्मीहरूलाई यात्रा तथा भ्रमणको लागि समेत उक्त कोषलाई विस्तारित गरिनुपर्छ ।

७.    सिनेमा साक्षरतामा स्थानीय तहसँगको सहकार्य
सिनेमा साक्षरतामा स्थानीय तहसँगको सहकार्यको निम्ति विकास बोर्डले सबै स्थानीय निकायहरूसँग समन्वय गरी घुम्ती सिनेमा महोत्सव गर्नु अपरिहार्य छ । घुम्ती सिनेमा महोत्सवमा ‘विशेष सिनेमा’, ‘स्टोरी ब्याङ्क’ जस्ता कार्यक्रमहरूबाट पुरस्कृत सिनेमाहरू, नेपालको अस्कर कमिटीको अन्तिम मनोनयनमा परेका सिनेमाहरू, त्यसैगरी विकास बोर्डले बनाएको संसारका प्रभावशाली महोत्सवहरूको सूचीमा भएका सिनेमा महोत्सवहरूमा छानिएका वा पुरस्कृत सिनेमाहरू वा त्यस किसिमबाट छानिएका सिनेमाहरू प्रदर्शन गरियोस् । त्यसैगरी वृत्ति विकासको लागि विविध खाले कार्यशाला, तालिम आदि पनि गराउन सकिने ।

८.    चलचित्र दर्ता हुँदा कुनै पनि प्रकारका संघ वा संगठनका सिफारिश पत्रहरूको अनिवार्यता बन्द गरिनुपर्ने
नेपालमा सिनेमाका विविध पेशागत संघ संगठनहरू छन् । उनीहरूलाई निरंकुश ढङ्गले अधिकार सम्पन्न गरिएको छ । त्यो हटाइनुपर्छ । जस्तो चलचित्र विकास बोर्डमा कुनै पनि सिनेमा दर्ता गर्दा नेपालमा भएका कुनै पनि पेशागत संघ संगठनको सिफारिश लिनुपर्ने व्यवस्थाको तुरुन्त अन्त्य गरिनुपर्छ ।

९.    सिनेमाको वितरण तथा प्रदर्शनीमा विश्वव्यापी मान्यता लागु हुनुपर्ने
विश्वव्यापी रूपमा कुनै पनि सिनेमा वितरण गर्दा उक्त सिनेमाको बजेटको कम्तिमा १० प्रतिशत न्यूनतम ग्यारेन्टी निर्माताहरूलाई दिएर वितरण गर्ने प्रणाली हुन्छ । त्यसैगरी, सिनेमा प्रदर्शन गर्दा चलचित्र घरहरूले सिनेमाको प्रचारमा निःशुल्क सहयोग गरिरहेका हुन्छन् । आम्दानी बाँडफाँडको प्रचलन पनि प्रदर्शनीको पहिलो हप्ता ५०–५० प्रतिशत चलचित्र घर र निर्माता–वितरकबिच बाँढिने र दोश्रो र त्यसपछि हप्तामा निर्माता–वितरकको प्रतिशत सङ्ख्या बढ्दै जाने व्यवस्था हुनेगर्छ । नेपालमा यो विश्वव्यापी व्यवस्था नभएका कारण निर्माताहरू सबैभन्दा बढी मारमा पर्ने गरेका छन् । त्यसकारण, नेपालको वर्तमान सिनेमा वितरण र प्रदर्शनीको प्रचलनमा विश्वव्यापी मान्यता लागु गरिनुपर्छ ।

१०.    सिनेमाको जाँचपास चलचित्र विकास बोर्डमा ल्याई ग्रेडिङ प्रणालीको पूर्ण परिपालना
सञ्चार मन्त्रालयमा रहेको जाँचपास समितिलाई यथाशीघ्र चलचित्र विकास बोर्डमा ल्याइनुपर्छ जुन बुँदा नम्बर २मा उठाईए झैँ एकद्वार प्रणालीको कुरा हो । नेपालमा प्रदर्शनको लागि तयार भएका सिनेमाहरूको जाँचपास गर्दा ग्रेडिङ प्रणाली जुन गरिन्छ त्यसको वैज्ञानिक परिपालना हुनुपर्छ । कुनै निश्चि ग्रेड पाइसकेका सिनेमाहरूलाई अनावश्यक रूपमा दृष्य काट्ने, हटाउन लगाउने वा ब्लर गराउने तथा विभिन्न खालका संसोधन वा परिवर्तन गर्ने काम बन्द गरिनुपर्छ । यसरी कुनै एउटा निश्चित ग्रेड पाइसकेका सिनेमाहरू उनीहरूले पाएको ग्रेडका आधारमा सिनेमाघर र निर्माण पक्षहरूले त्यो ग्रेडिङलाई परिपालन गरे नगरेको नियमन गरिनुपर्छ ।

समर्थक तथा हस्ताक्षरकर्ता निर्माताहरूः

१.    छिरिङरितार शेर्पा 
२.    दीपक रौनियार
३.    रामकृष्ण पोखरेल
४.    मिनबहादुर भाम
५.    प्रज्जवलशमशेर जबरा
६.    सुवर्ण थापा
७.    रबिन्द्रसिंह बानिया
८.    अविरल थापा
९.    शुसन प्रजापति 
१०.    प्रविणटक्की कार्की
११.    निशा श्रेष्ठ
१२.    सरोज  शर्मा सापकोटा
१३.    सम्पदा मल्ल
१४.    प्रविण स्याङ्बो
१५.    अनुप पौडेल
१६.    सुशान्त श्रेष्ठ
१७.    आकाश पौडेल
१८.    प्रविणकुमार रावत
१९.    नवनिधि दाहाल
२०.    प्रेमप्रसाद अधिकारी
२१.    जीतेन्द्र खतिवडा
२२.    नवविजयप्रकाश श्रेष्ठ
२३.    गोविन्द पराजुली
२४.    निगम भण्डारी
२५.    सागर गहतराज
२६.    अभिमन्यु दीक्षित
२७.    विभु पौडेल
२८.    रोशन तन्डुकार
२९.    शान्ता नेपाली
३०.    शृजना ताबेबुङ
३१.    रक्षा थापा
३२.    देवकी बिस्ट
३३.    आश्मा पोखरेल
३४.     राजन कठेत
 

 

 

 

 

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्