काठमाडौं । कप्तान रुविना क्षेत्रीको अर्धशतकको सहयोगमा प्रदेश–१ ले ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश–१ ले जित निकाल्यो ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनी प्रदेशले दिएको १०५ रनको लक्ष्य प्रदेश–१ ले १३ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । प्रदेश–१ को जितमा कप्तान रुबिना क्षेत्रीले ६८ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै काजल श्रेष्ठले अविजित रहँदै २५ रन बनाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १०४ रन बनाएको थियो । लुम्बिनीका लागि सरस्वती मगरले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् । नेरी थापाले अविजित २० रन जोडिन् ।
प्रदेश–१ की शवनम राईले एक विकेट लिइन् । जितसँगै प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ । यता, लुम्बिनीले अहिलेसम्म जित निकाल्न सकेको छैन ।