बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग प्रतिभावान सन्तानका टुहुरी आमाहरू डा. पुण्यसागर मरहट्टा
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank

केहीअघि  एउटा नेपालकाे एउटा सञ्चार माध्यममा अस्पतालको प्रतीक्षा कक्षमा अनुहार अर्कोतिर फर्काएर बसेकी एकजना आमाको तस्बिर देखेँ । तस्बिर खिच्नेले अनुमति लिएर खिच्यो, खिचेन ? ती आमाको मन उद्विग्न भएको बुझ्यो, बुझेन ?  आमाको फोटोको व्यापार गर्ने पत्रिकाले अब सबै समाप्त भइसकेपछि एकबाजी गएर क्षेमकुशल सोध्यो, सोधेन ? यी प्रश्नले मलाई कुटुकुटु खाइरहेका छन् र यो लेख लेख्न चिमोटिरहेका छन् ।

यो त्यही फोटो हो, त्यही खबर हो र त्यस्तै हल्ला हो जसले मलाई आजभन्दा करिब ३५ वर्षअघि फर्कायो । कुरो ३५ वर्षअघिकै हो । अहिलेजस्तो सूचना र संचारको विकास भएको थिएन । सायद, त्यसैले हल्ला बढी बिक्थ्यो त्यतिखेर । हल्ला खरमा सल्केको आगो झैँ सल्किन्थ्यो । नाै वा दस कक्षामा पढ्थेँ म त्यसबखत । तिनताका मसँग अति धेरै प्रश्न साेधिन्थे - स्कुल बसमा, क्लासमा, टोलमा हरेक पाइलामा । मलाई चिन्ने सबैले सोध्ने प्रश्न भने एउटै थियो - तिम्रो मामालाई त मार््यो रे नि? लास बेपत्ता पार््याे रे नि त ?  प्रश्नले कति लखेट्थे भने किशोरवयको मेरो मनमा हरेक यी प्रश्नकर्ताको अघि उभिएर मेरो सान्मामाले आफ्नो स्वभावजन्य आँखा तरिदिए पनि हुन्थ्योजस्तो लाग्थ्यो । 

सानोमामाको नाम उल्लेख नगरीकनै म यो लेख तुर्छु तर  मलाई चिन्ने र मलाई उनको भान्जा भन्ने चिन्नेले करिब सवा ६ फुटे काबिल फुटबल खेलाडी र नेपाली फुटबल टिमको ११ वर्ष निरन्तर कप्तान, उम्दा पुलिस अफिसर र नेपाल सरकारले 'राष्ट्रिय प्रतिभा' भनि कदर गरेको त्रिपुरेश्वरे रैथाने उनलाई कसरी बिर्से होलान् र ?  ती आमाको फोटो देख्दा मैले तिनै मामाकी आमा, मेरी हजुरआमा र टोलेकी ‘सुब्बिनी बज्यै’लाई सम्झेँ । मारिएको भनेको आफ्नो कान्छो छोरोको स्वर सुन्न 'आमा' कोपुण्डोलको हाम्रो घरमा आउनुहुन्थ्यो । किनभने त्यतिखेरसम्म हाम्रो मामाघरमा टेलिफोनको सुविधा थिएन । शनिबार दिउसो ११ बजेतिर मामाको फोन आउँथ्यो बेलायतबाट, पाँचसात मिनेट कुरो हुन्थ्यो, बस् । आमाले सोधेको सम्झिन्छु  - तिमी मेरै छोरा हौ त ?  तिमीलाई त मारे भन्छन् नि त ?'  उताबाट के जवाफ आउंथ्यो कुन्नि आमाको अनुहार धपक्क बल्थ्यो र लाग्थ्यो आज आमा मीठो निन्द्रा निदाउनु हुनेछ ।

Agani Group

किशोरावस्थामा मैले सुनेको हल्ला पनि हुन त त्यही थियो - कुनै अधिराजकुमारले भूपतीन्द्र मल्लको सालिक बेच्नका लागि उखालेर लैजान चाहन्थ्यो । जिम्मेवार प्रहरी अधिकृत भएका कारण हाम्रा मामाले त्यसो गर्न रोके । बरु आफ्नो प्राण आहुति दिए । कथा त्यसरी त रोमाञ्चक सुनिन्थ्यो, सुनिन्छ तर त्यो निराधार थियो । हाम्रा मामा जिउँदै थिए । मारिएका थिएनन् । भक्तपुरबाट एकाएक इन्टरपोलको तालिमका लागि बेलायत पुगेका थिए । सालिक उखाल्ने किस्सा सही थियो वा गलत हामी परिवारजनलाई थाहा थिएन । भएन सायद माइजुलाईसमेत ।  प्रत्येक टेलिफोन संवादपछिको क्षणिक सन्तुष्टिपछि आमाको द्विविधाको पुनरावृत्ति त भैहाल्थ्यो । भन्नुहुन्थ्यो - खै? होला त नि, स्वर त उही हो, अनुहार देख्न पाइएको होइन । र, हरेकपल्ट उहाँको अजंगको आत्मविश्वास प्रकट हुन्थ्यो । चिराग घोटेपछि निस्किने हामीले पढेका कमिककाे जिन झैँ र बोल्थ्यो आमाको मुखको बाटो - त्यो बलियो छ, गोली हानेका भए त के बाँचोस् ? झुन्ड्याएका भए त छिनाउँछ र आउँछ घ्यु हालेर मुछेर मासको दाल र भात खान उसैको काँसको थालमा । आमाहरूको त्यस्तो अदम्य विश्वास हुने रहेछ। ती 'तस्बिरकी आमा'लाई पनि त्यस्तै भएको हुनुपर्छ।

करिब ३० वर्षअघि सन् १९९२ को सेप्टेम्बरको अन्त्य र अक्टुबरको सुरुका दिनको कुरो हो । म आर्किटेक्चर विषयमा स्नातक अध्ययन गर्न भर्खर टुक्रिएको सोभियत संघको युक्रेनको ल्वोव सहर पुगेको थिएँ। त्यसबखत पनि एउटा खबर खरमा आगो सल्किए सरी सल्किएको थियो । त्यहाँ भएका, त्यहाँ रहेका सबै नेपाली विद्यार्थी 'रे' भनेर सुनाउँथे। उनीहरूलाई त्यस हल्लामा एक राष्ट्रिय प्रतिभा गुमेको सतही चिन्ता थियो, मलाई मेरो मामा । सूचना संचारको अवस्था त्यतिखेर उसै पनि कमसल थियो, पूर्वसोभियत गणराज्यहरूमा त अचम्मकाे अस्तव्यस्तता थियो। इमेल, इन्टरनेटजस्ता तात्कालिक पराभौतिक आविष्कारका कल्पना त मैले भैरव अर्यालका निबन्धमा मात्र पढेको थिएँ । युक्रेन पुगेको एक महिना नपुग्दै त्यो खबर यति कर्णकटु र मुटु काट्ने थियो कि त्यसको बयान शब्दमा गर्न असम्भव छ। निश्चय नै अरूका लागि एक प्रख्यात व्यक्ति, केहीका लागि ‘रोल मोडेल’, हाम्रा लागि त पारिवारिक खम्बा । त्यही खम्बा ढल्यो भनेको भन्यै छन् , आफुले देख्न पाउनु छैन, सुन्न अप्रियमात्र परेको छ। करिब एक महिनाको अथक प्रयत्न र भाषा जान्ने सिनियरहरुसँग गरिएको अनुनय विनयपछि ल्वोव सहरको केन्द्रीय टेलिफोन कार्यालयबाट कोपुण्डोल फोन गरियो । मैले सोध्नुअघि नै मेरी आमाले भनेको सम्झिन्छु - हो, बाबु ! सान्मामा गयो । त्यसपछि आमाको वक फुटेन, म फोनबाटै मेरी आमाको आँसु छाम्न सक्थे ।  बुवाले सुनाउनुभयो त्रिपुरेश्वर आमाले भनेका शब्द । आमाले भन्नुभयो रे - ज्वाईं सा'ब, हजुर र सुरेन्द्र ( उहाँको छोरी पट्टिको जेठो नाति) एकबाजी त्यो जहाज खसेको ठाउँमा गएर हेर्दिबक्स्योस् न, त्यति सजिलै मर्दैन सानोबाबु, त्यतै रुखको हाँगातिर अड्किरहेको छ कि ? म बूढी भएँ, त्यो अक्करसम्म पुग्न सक्दिन, नत्र म हजुरलाई कष्ट दिन्नथेँ । त्यसपछि मेरा बुवाको पनि वक बस्यो। त्यसको केही क्षणपछि टेलिफोनको। फोटोकी ती आमालाई पनि त्यसभन्दा बेसी केही भएन कि ?

sarbottam cement

कहिलेकाहीँ त लाग्छ किन यति बिघ्न जफति कसरी हुन्छन् आमाहरू ? कि अधिकांश मजस्ता पुरुषले सोच्नेजस्तो स्वाँग पारेकामात्र हुन्  ? र फेरि सम्हालिन मन लाग्छ र सोच्छु - होइन, यो स्वाँग होइन । किनभने साता, महिना, साल बित्दै बित्दै गएपछि आमा रहुन्जेल आमासँग, जीवनसङ्गिनी रहुन्जेल उनीसँग र नजिकका नातेदारसँग मात्र बाँकी रहन्छन् समाजले चिनेका प्रतिभावान उनीहरू ! हल्लाखोरहरूले सजिलै बिर्सिन्छन् किनभने उनीहरूलाई अर्को चर्को हल्लाले गाँजिसकेको हुन्छ ।

कोपुण्डोलमा हामी हुर्किंदै गर्दा हामीलाई अत्यन्तै माया गर्ने एकजना कार्की थरका दाजु थिए । ‘टुर गाइड’को काम गर्थे। एक दुई वर्ष ती दाजु र उनका भाइहरुसँग मिलेर फागु मनाएको, दसैँमा उनीहरुको छतमा बसेर चंगा उडाएको चर्को याद आउँछ। बिहे गर्ने उमेरका थिए - शंकरदेव क्याम्पसअघि साझा यातायातको नीलो बस मुनि मोटरसाइकलसमेत किचिएर घिसारिएर मरे ०४७- ०४८ सालतिर । कार्की काका त जसोतसो समालिनुभयो धेरै समय लगाएर । काकीको त्यसपछि यस्तो नुर गिर्‍यो कि ती दाजु छँदा घरिको काकीको रूप अहिलेसम्म देख्न पाइएन । हामी जस्ता टोले साथीभाइलाई त बेलाबेलामा सम्झिदिए पुग्यो । जन्म दिने आमालाई भने जीवनभरको रिक्तता ! कति दिक्क लाग्दो हो ? कति झिझ्याट लाग्दो हो ?

अलिअघि एक क्यानेडियन आमाको कथा सुनेको थिएँ । अहिले महाव्याधिको चपेटामा परेका यहाँका ८० काटेका, लामाे समय स्याहार केन्द्रमा बस्ने तिनी आमा प्रतिनिधि पात्र हुन् ।  उनैको कथा सुन्ने मौका मिल्यो। द्रवीभूत भएँ। उनी भन्दै थिइन् - एक्ली भएँ म, थुनुवामा छु । बाहिर निस्किन दिँदैनन्।  त्यसैले यो भित्ता र त्यहाँ भएका फोटाहरुसँग कुरा गर्छु। स्याहार त गर्छन् तर उनीहरू नै व्यथित छन् , आत्तिएका छन्, डराएका छन् ।  मैले जीवनमा झन्डै ५० बर्ष नर्सिङ सेवामा बिताएँ । म पर्खालको यता र उता दुवैको हतासा अनुभव गर्न सक्छु । सतासी वर्षकी भएँ भन्दै थिइन् ती आमा । सँगै यो पनि भनिन् - 'आ, केलाई चाहियो मलाई भ्याक्सिन ? गत अप्रिलमा मेरी बहिनीको पनाति जन्मियो । विज्ञानले उसको लागि भ्याक्सिन भनाइदेओस् बरु !' रेडियोकर्मीले सोधिन् - आमा, तपाईंका आफ्ना चाहिँ छैनन् ?  आमाले सगर्व भनिन् - अहँ, छैनन्। म कोरिया युद्धमा देशले गुमाएको एक सैनिककी आमा हुँ । लाग्यो, भन्दै थिइन् - ऊ थियो, जीवनमा रौनक थियो, ऊ गयो, जिन्दगी रौरव भयो ।  एउटा सन्नाटा भयो र बुढीआमा आफैँ सम्हालिएर भनिन् - सुर्ता नलेऊ नानी ! म प्रतिभावान सन्तान मरेकी एक टुहुरी आमा हुँ । रेडियो सुन्दै गाडी हाँकेर भागदौडको जिन्दगी नापिरहेको मैले आँसु थाम्न सकिन। लाग्यो, कति बहादुर हुन्छन् आमाहरू?  कसरी खप्न सक्छन् वदना यिनले ?

मैले यहाँ टिपेका कथा हाम्रा साझा जीवनका सहज कथा हुन्। यी नटिपे, नखिपे, नलेखे हामी बाँचिरहेको समयलाई अन्याय हुन्छ र हामीसँगै बाँचीरहेका टुहुरी आमाहरुलाई पनि ! हामीले हिजो सूचना संचारको विकास नहुँदा  एक कान दुई कान मैदान गर्दै अनर्गल हल्ला गरेर आमाहरूलाई घोचिरह्यौँ । अचेल त घोच्ने उपकरण छ्याप्छ्याप्ती छन् बजारैभर । क्यामरा छन्, घोचाजस्ता माइक छन्, तिनै तेर्स्यायो । उमेरले नेटो काट्दै गरेकी आमा आफ्ना सन्तानको मायाका कारण अस्पतालको प्रतीक्षा कक्षमा निराहार बसेकी छिन्। उनैको फोटो खिच्यो, बजारमा विक्रीको वस्तु बनायो । उनैको जिउँदो छोरोलाइ मर्नुअघिनै सामाजिक संजालमा मारिदियो र मखलेल सुत्यो । भोलिपल्ट बिहान उठ्यो, उनको छोरो त ज्युँदै रहेछन् भन्ने पत्ता लगाएर हत्तनपत्त तर सुटुक्क आफ्नो ‘स्टेटस’ मेटायो । न कुनै क्षोभ, न कुनै ग्लानि, न त कुनै सार्वजनिक क्षमायाचना । कता जाँदैछ विश्व समाज ?
नजिकबाट भोगेको हुनाले यो पनि लेख्नै पर्छ अन्यथा अधुरो हुन्छ। जतिसुकै ठूलो मान्छे भए पनि राष्ट्रले झन्डा ओढाएर, बिगुल फुकेर अन्तिम बिदाइ गरे पनि आजन्म त्यो प्रतिभाको, त्यो उचाइ र गरिमाको स्मृतिमा हर रात छोरो आउँछ कि भनी बाटो हेर्ने र कहाँ होला भनी गमिने तिनै आमा हुँदिरहिछन् । मेरा खसम आउनेछन्, छोराछोरीलाइ नाना र पापा ल्याइदिनेछन् भन्ने अर्धांगिनी हुँदी रहिछन् ।  मेरा बाबा ' सुपरहिरो' हो भन्ने छोराछोरी हुँदा रहेछन् । परिवारका नजिकका आफन्तलाई एक खालको रिक्तताबाहेक अरूलाई दुइदिनको रामछायाँ, हदै भए बर्सेनि एक स्मृति सभा, मंच, भाषण, खादा, माला, अबीर, धुप र माला लगाएको एउटा फोटो !

ती गएकाहरू बारे गर्न के सकिन्छ भन्ने मलाई पनि थाहा छैन । किनभने तिनका नामका प्रतिष्ठान अन्ततोगत्वा नितान्त पारिवारिक चासो बन्दा रहेछन् । तिनका नामका स्मृति ग्रन्थ पुस्तकालयमा थन्किँदा रहेछन् र तिनका सालिक बर्सेनि पुछपाछसमेत परिवारले नै गरिदिनु पर्दोरहेछ । अलि अस्ति कतै पढ्दै थिएँ - ‘गुडबाई बाबा, आई विल मिस यु’ भनिन् रे तेह्र वर्षे छोरीले । मैले भेट्ने मौका पाए भन्ने थिएँ - नानु, तिम्रो बाबा बाँचुन्जेल हाम्रो हुनुभो, अब सधैँ तिम्रो, तिम्री  मामुको  र तिम्री हजुरआमाको मात्र हुनुहुने भो। अलिअलि ठुलोबाबा र दादा, ठुलोमामुको पनि।

पारिवारिक, सामाजिक अनुभवका आधारमा लेख्दैछु-  अहिले ‘आरआईपी’  र समवेदनाका लामा गथासा लेख्ने समाजलाई भोलिपल्टदेखि महाप्रस्थानमा निस्केको आत्मा  सम्झिने फुर्सद हुनेछैन। फुर्सद त तिनै प्रतिभावान सन्तान मरेकी टुहुरी आमालाई हुनेछ । मलाई र म बाँचेको समाजलाई तिनै टुहुरी आमालाई क्षेमकुशल सोध्ने फुर्सदसम्म भइदिए लाख !


 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्