site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
देवतन्त्र 
Sarbottam CementSarbottam Cement

उमेश रेग्मी


सत्ता लोभले अशान्त बनेको स्वर्गमा चुनाव मात्रै एउटा दीर्घकालीन समाधान हो भन्ने ठहर भइसकेको थियो । त्यही बेलादेखि देवताहरू आन्दोलन त्यागेर आ–आफ्नो पार्टीको चुनावी रणनीतितिर केन्द्रित थिए । धरतीमा हुने चुनावहरूबाट अनुभव बटुलीसकेका देवताहरू आफ्नो विजयको लागि राम्रा–राम्रा नाराहरू लिएर चुनावी युद्धमा आउने जमर्को गर्दै थिए । चुनावमा हुन सक्ने भाँडभैलोलाई नकार्न सकिँदैन थियो । तसर्थ, सबैको मिलोमतोमा चुनावी पर्यवेक्षकहरूलाई बोलाइएको थियो । यी पर्यवेक्षयकहरू प्रायः सबै धरतीलोकबाट चुनिएका थिए ।

धरतीमा प्रजालाई न्याय दिन शासक वर्गबाट प्रजातन्त्रको स्थापना र त्यसको अभ्यास भएसरह स्वर्गमा पनि देवताहरूको हकहित जगेर्ना गर्न सुरु हुन लागेको ‘देवतन्त्र’ अनि त्यसको आवश्यक कार्यान्वयनका लागि ब्रह्माण्डको सबै लोकबाट शुभकामना सन्देश आइरहेका थिए । स्वर्गमा देवतन्त्रको स्थापना भएको र त्यसबाट हुने परिवर्तनको अनुभव समेट्न पाताललोकबाट असुरहरू र धरतीलोकबाट सर्वसाधारण जनता स्वर्गलोक पुगिसकेका थिए । आसन्न चुनाव ऐतिहासिक हुने कुरामा दुई मत थिएन, कसैको पनि ।

Prabhu Bank
Agni Group
NIC Asia

पाताललोकका असुरहरूबीच पनि प्रजातन्त्र र देवतन्त्रको असर परिरहेको देखिन्थ्यो । उनीहरू असुरतन्त्रको योजना बनाइरहेका थिए ।

धरतीलोकको पाशुपत क्षेत्र नगरीबाट गएका चुनावी पर्यवेक्षकरूमध्ये नै एक व्यक्ति चुनाव आयुक्त भएका थिए । निष्पक्ष चुनाव गराउनुपर्ने दायित्व बोकेका यी मनुष्यले देवताहरूलाई आफ्नो पार्टी र पार्टीको चुनाव चिह्न एक हप्ताभित्र दर्ता गराइसक्नुपर्ने प्रावधान राखेका थिए । त्यसपश्चात चुनावी गतिविधिले तीव्र रूप लिन सुरु भएको थियो ।

Global Ime bank

उता, अहिलेसम्मका देवराज इन्द्र सत्ता गुम्न सक्ने आशंकामा छटपटाउन लागेका थिए । देवताहरू फुटेर अलग–अलग पार्टीतिर लाग्दा उनको आफ्नै पार्टीको शक्ति कमजोर बनेको थियो । उनलाई बहुमत लेराएर आफ्नो कुर्सी जोगाउन निकै धौ–धौ पर्ने देखिन्थ्यो । सत्ता जोगाउन इन्द्र कुनै पनि कदम उठाउन तयार भएको कुरा सर्वत्र व्याप्त भइसकेको थियो । त्यसैले होला, चुनावको निर्णय हुनुअघिको आन्दोलनलाई नेतृत्व दिएका कुबेर अलि चनाखो रूपमा इन्द्रको गतिविधि नियालीरहेका थिए ।

आफ्नो अपार धन, कामदेवको सौन्दर्य अनि वासना शक्तिले अप्सराहरूलाई आफ्नो पार्टीमा पार्न सफल कुबेर इन्द्रको छटपटीमा अति प्रशन्न देखिन्थे । स्वर्गको कुर्सी आफ्नो झैँ लाग्न थालिसकेको थियो, कुबेरलाई । उनी अक्सर चुनावी नतिजा फेरबदल गर्न र आवश्यक परे चुनावी बुथ कब्जा गर्न असुरहरूलाई जिम्मा दिनुपर्ने राय व्यक्त गर्थे, चुनावी बैठकमा आफ्ना सहपाठीहरूसँग । यसका लागि लाग्ने खर्चको उनलाई कुनै पर्बाह थिएन ।

कुबेरले आफ्नो सम्पत्तिको भरपुर प्रयोग गरेर स्वर्गको कुर्सी हत्याउने प्रयास गरिरहेको कुरा महर्षि नारदले सुइँको पाएर विष्णुलाइ सुनाए । त्यसपश्चात विष्णुले धनधान्यकी देवी आफ्नी अर्धांगिनी लक्ष्मीलाई भनेका थिए, “हे प्रिये, कुबेरबाट चुनावी आचारसंहिताको पालना नहोलाजस्तो बुझिन्छ । त्यसैले तिमीले उसलाई धन दिन बन्द गरिदिनू । जसले गर्दा उसको सम्पत्ति क्षीण बन्दै जान्छ र उसको गलत नियत पूर्ण हुन पाउँदैन ।”

त्यसैबखत उनले नारदलाइ पनि भनेका थिए, “नारद, तिमीले सबैतिरको चुनावी माहोल बुझेर आऊ । हामीले त्यहीअनुरूप चुनावी रणनीति तयार गर्नुपर्छ ।” आज्ञा शिरोपर गर्दै नारद पुगेका थिए, ब्रह्मलोक सबैभन्दा पहिले ।
ब्रह्मलोक सुुनसान थियो । वृद्ध भइसकेका ब्रह्मालाई सहयोग गर्न कोही आएका थिएनन् । उनी एक्लै आफ्नै तालमा बड्बडाइरहेका थिए, “मैले यत्रो संसार सृष्टि गरेँ । तर, आज मलाई मेरो चुनावी यात्रामा सहयोग गर्ने कोही छैनन् ! आफूले बनाएको संसार आफूले नै नष्ट गरिदिऊँजस्तो लागिसक्यो ।”

नारदले ब्रह्माको अवस्था देखेर सोचे, ‘वृद्ध भइसकेका यिनले कसरी स्वर्गको कुसी सम्हाल्न सक्छन् र ? केही गरी जितिहाले भने पनि कुर्सीमा बसेको भोलिपल्टदेखि नै अविश्वासको प्रस्ताव दर्ता गर्न दबाब हुन्छ, सबैलाई । बरु, पार्टी राजनीति त्यागेर सन्न्यासी भई सरस्वतीको वीणामा भुल्दा नै बेस होला बूढालाई !’ यस्तै सोच्दा सोच्दै उनी हिमालयतिर पुगी सकेछन् ।

हिमालयको अवस्था मनोरञ्जनात्मक थियो । पार्टी नेता को बन्ने हानथाप चलिरहेको रहेछ । गणेश र कुमारको झगडाले अशान्त बनिसकेको रहेछ, कैलाश । नन्दी–भृंगीहरूको ठूलो जमात भएको कैलाशमा भोलेबाबा पनि मूकदर्शक भएर बसिरहेको थिए । नयाँ पुस्तालाई शासन भार दिँदा व्यवस्था सुुदृढ हुन्छ भन्ने महादेवको विश्वास त्यतिखेर एउटा प्रश्न बनेर खडा भइरहेको थियो । उनी स्वयं चुनावमा आउन सक्थे । तर, उनले गणेश वा कुमारको रूपमा नयाँ पुस्ता देखे ।

तथापि, सोच्दै नसोचेको कुरा भइरहेको थियो । नयाँ सोच लिएर आउनुपर्ने नयाँ पुस्ताले पुरानै कुराको अनुशरण गरिरहेको थियो, आफू–आफूमा झगडा गरेर । यस्तो लाग्थ्यो, कैलाशबाट अब दुइटा पार्टी बन्नेछ । एउटा गणेशको नेतृत्वमा अनि अर्को कुमारको नेतृत्वमा । एउटै पार्टीभित्र नेतृत्व वर्गको आपसी असमझदारीले गर्दा वा भनौँ, कुर्सी लोभले गर्दा ठूलो हुन सक्ने पार्टी अनि लामो समय सत्तामा रहन सक्ने पार्टी त्यतिखेर ‘फुट’को नजिक पुगेको भान भयो, नारदलाई । दिक्क मान्दै उनी अन्तर्ध्यान भए, त्यहाँबाट ।

हेर्दा–हेर्दै पार्टी र पार्टीको चुनाव चिह्न दर्ता गर्ने दिन आयो । पाशुपत क्षेत्र नगरीबाट चुनाव गराउन स्वर्ग पुगेका चुनाव आयुक्त त्यो बेला आफूलाई निकै शक्तिशाली अनुभव गर्दै थिए । उनका वरिपरि विभिन्न नाराबाजीसहित थुप्रै देवता अनि उनका देवगणहरू उपस्थित थिए । त्यहाँ भइरहेको जथाभावी नाराबाजी अनि छरपष्टिएको भिडलाई व्यवस्थित गर्न अप्सराहरू प्रयोग भएका थिए ।

केही समयपछि भिडको सन्तुलन कायम भएको देखेर आयुक्त आफ्नो आशनबाट उठे र सम्बोधन गर्न लागे, “हे देवता ! स्वर्गको गरिमालाई महत्त्व दिँदै केही बेर शान्त भइदिनुहोला । चुनावका लागि तपाईंहरूले विधिवत् पार्टी दर्ता गर्नुपर्ने हुन्छ । अन्य पार्टीको आपत्ति नभएको खण्डमा पार्टी अनि त्यसको चुनाव चिह्नलाई मान्यता दिइनेछ । एक पार्टीमा एक नेता रहने प्रावधान छ । तपाईंहरूले पार्टी नेतालाई सभापति भन्नुस् वा अध्यक्ष भन्नुस्, त्यो नितान्त तपाईंको पार्टीको विधानभित्रको कुरा हो । निर्वाचन आयुक्तको हिसाबले मेरो कर्तव्य निष्पक्ष चुनाव गराउनु हो । त्यसका लागि यहाँ सबै लोकबाट चुनाव पर्यवेक्षकहरूको भेला भइसकेको छ । चुनावका लागि आवश्यक नियम पालना गर्नु तपाईंहरू सबैको दायित्व हो । चुनाव सफल होस् । यही मेरो शुभकामना । अब पालैपालो आफ्नो पार्टीको नाम अनि चुनाव चिह्न लिएर पार्टी नेता अगाडि आउनुहोस् । म दर्ता कार्य आरम्भ गर्छु ।”

सर्वप्रथम ब्रह्मा आए । ब्रह्मलोकबाट ‘ब्रम्हा’ पार्टी र चुनाव चिह्न कमलको फूल दर्ता गर्न प्रस्ताव भयो । तर, त्यहाँ विष्णुले आपत्ति जनाए । चुनाव चिह्न कमल राख्न नपाइने उनको अडान थियो । एउटा सामान्य चुनाव चिह्नको लागि झगडा गर्न नहुने आयुक्तको आग्रहलाई मानेनन्, विष्णुले । विवश बूढा ब्रम्ह्माले कमल त्यागेर आफ्नो चुनाव चिह्न वीणालाई रोजे ।

विष्णुले आफ्नो पार्टीको नाम ‘नारायण’ राखे र पार्टी चिह्न शेषनाग रोजे । विनागतिरोध उनको पार्टी र चिह्न दुवै दर्ता भयो ।

अब पालो थियो, हिमालयबाट आएको कुमार समूहको । उनीहरूको पार्टीको नाम ‘क हिमालय’ थियो भने चुनाव चिह्न मयूर भयो । त्यसपछि ‘ग हिमालय’ पार्टी लिएर गणेश आइपुगे, चुनाव चिह्न मुसा रोज्दै ।

इन्द्रले आफ्नो पार्टीको नाम ‘अमरावती’ राख्ने घोषणा गरे । उनको चुनाव चिह्न बज्र बन्यो ।

उता, आन्दोलनकारीको श्रेय पाएको कुबेरको गुटले आफ्नो पार्टीको नाम ‘नयाँ स्वर्ग’ राख्यो र सुनको सिक्कालाई चुनाव चिह्न बनायो ।

अरू सबैले एकपछि अर्को गर्दै आ–आफ्नो पार्टी दर्ता गराए । स्वर्गमा देवताहरूको ‘देवतन्त्र’ले पहिलो खुड्किलो चढ्यो । सबै खुसी देखिन्थे । आयुक्त सँगसँगै सबैले जोडदार नारा लगाए, ‘देवतन्त्र जिन्दाबाद’ ।

चुनावको मिति तय भयो । सबै पार्टीहरू चुनाव–प्रचारमा लाग्न थाले । पर्यवेक्षकमाझ एउटै कुरा सुनियो, ‘कसैको पनि बहुमत नआउने भयो ।’

अन्ततः चुनावको दिन पनि आयो ।

पर्यवेक्षकहरूको रोहबरमा चुनाव सम्पन्न भयो । सबै देवताहरूले ‘देवतन्त्र’को अभ्यास शुभारम्भ गरे । शान्त वातावरणमा चुनाव सकिएसँगै मतगणना सुरु भयो ।

पार्टीहरू र पर्यवेक्षकहरूको अनुमानभन्दा निकै फरक नतिजा सार्वजनिक भयो । ‘अमरावती’ पार्टीलाई विजेता घोषित गरियो । इन्द्र पुनः कुर्सीमा पुगे ।

अन्तर्घात भयो भन्ने क्रोध देखियो कतै । कतै सत्ताको शक्तिमा चुनावमा धाँधली गरेर जितेको आवाज चर्किन थाल्यो । पदलोलुपताले आफ्नो गरिमा गुमाएको भन्न थाले, इन्द्रलाई । सँगै कतिले उनलाई भ्रष्टाचारीको संज्ञा पनि दिए ।

जे होस्, ‘देवतन्त्र’को प्रतिफल सबैले स्वीकार्नै पथ्र्यो । त्यसैले इन्द्रको पुनर्बहालीमा भित्र–भित्रै रुष्ट भए पनि उनलाई स्वर्गको कुर्सीमा फेरि बस्न कसैले रोक्न सकेन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC