


मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष आयोजन गर्दै आएको ‘महामूर्ख सम्मेलन’को परिकल्पनासँग सबैभन्दा पहिले जोडिन्छ, यो संस्था ‘मिनाप’ र होली पर्व । ‘मिनाप’ले थालेको यो सम्मेलन होलीकै दिन किन गर्न थालियो होला भन्ने प्रश्न पनि उठ्छ नै । यो कार्यक्रम अरू दिन पनि गर्न सकिन्थ्यो होला, तर तराईमा होलीको विशेष महत्त्व हुने भएकोले नै यसलाई होलीको अवसरमा होलीको अघिल्लो दिन आयोजना गर्न थालिएको हो ।
मिथिला नाट्य कला परिषद् (मिनाप) वि.सं. २०३६ सालमा स्थापना भएको नाट्य संस्था हो । भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि स्थापना गरिएको यो संस्थाले ४० वर्ष नाघिसकेको छ । यति लामो समयदेखि मिनापले कला, साहित्य र नाट्य क्षेत्रमा काम गर्दै आएको छ । र, निरन्तर क्रियाशील पनि छ । यो हाम्रा लागि गौरवको कुरा हो ।
नाट्य क्षेत्रमा ‘मिनाप’को चर्चा गरिरहनु पर्दैन । मिनाप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म परिचित छ । अधिकांशलाई थाहा छ, मिनापका बारेमा । यथार्थमा मिनापलाई सबैले सम्मान गर्दै आउनुभएको छ । राम्रो दृष्टिले हेर्नुभएको छ ।
होली पर्वको बारेमा त बताइरहनु नपर्ला । राक्षस कुलका हिरण्यकशिपुले आफ्नो छोरा प्रह्लाद भगवान् विष्णुको अनन्य भक्त भएकोले उनलाई मार्न बहिनी होलिकाको जिम्मा लगाएका थिए । राक्षस कुलमा भगवान्को भक्त रहन सक्दैन भनेरै आफ्नो छोरालाई मार्ने अनेक प्रयत्न गरेका थिए, हिरण्यकशिपुले ।
विभिन्न प्रयास विफल भएपछि नै हो, होलिकाले आफ्नो काखमा प्रह्लादलाई राखेर अग्निमा प्रवेश गरेको । तर, आगोबाट नडढ्ने वरदान पाएकी होलिका नै अग्निमा डढेर खरानी भइन् । भक्त प्रह्लाद जीवित रहे । यसरी होलिका दहनपछि नै त्यसको खुसीयालीमा होली खेल्ने प्रचलन सुरु भयो । यो मिथकीय मान्यता, धार्मिक मान्यता बारे सबैलाई थाहा नै छ ।

रङहरूको पर्व होलीलाई जीवनसँग जोड्दा त्यहाँ विभिन्न रङहरूको समिश्रण पाउँदछौँ । यी रङहरू जीवनको प्रतीक पनि हो । र, जीवनका यिनै विभिन्न रङहरूमा हामी रमाइरहेका हुन्छौैँ ।
पूरा साल हामीले रिस, राग, द्वेष खेपिरहेका हुन्छाैँ । संसारमा अनेक प्रवृत्ति छ । त्यो मानिसले भोग्नु परिरहेको हुन्छ । कहिले सुख, कहिले दुःख । मानिसको जीवनचक्र यसरी नै चलायमान भइरहेको हुन्छ । तथापि, होलीको यो एक दिन आफूमा रहेका यी सारा राग, द्वेष बिर्सेर हामी मिल्ने प्रयास गछौँ । मिल्छौँ पनि ।
यही मिलापको सन्देश, एकताको सन्देश दिने हेतु मिनापले होलीको अवसरमा महामूर्ख सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । यहाँ मूर्ख वा महामूर्ख भन्नुको अर्थ मूर्ख नै होइन । अपितु, कुनै पनि क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई चयन गरेर महामूर्खको उपाधि दिनु भनेको जीवनलाई अब फेरि ‘शून्य’बाट सुरु गरौँ भन्ने सन्देश दिन खोज्नु हो ।
जीवनमा हामी दिनानुदिन अगाडि बढिरहेका हुन्छौँ । यसरी अगाडि बढिरहँदा हामीमा सूक्ष्म रूपमा अहंकार पनि बढ्दै गइरहेको हुन्छ । जुन अहंकार कतिपयले व्यक्त नै गरेर देखाउँछन् भने कतिलाई थाहा भइरहेको हुँदैन । तर, उसमा थोरै भए पनि अहंकार रहेको नै हुन्छ । यो हरेक मानिसमा हुन्छ ।
हाम्रो आग्रह के हो भने होलीको दिनमा जीवनलाई शून्यबाट फेरि सुरु गरौँ । ‘मूर्ख’ भनेको ‘शून्य’मा रहनु हो । एक दिन हामीले सबै विद्वतालाई, सबै अहंकारलाई, सबै राग र द्वेषलाई अथवा जीवनका जति पनि नकारात्मक कुराहरू छन्, त्यसलाई विसर्जित गरेर ‘शून्य’मा पुगौँ र त्यहीँबाट जीवन फेरि सुरु गरौँ भन्ने हो । किनभने, ‘शून्य’ भनेको समाधिको रूप हो । यस अवस्थितिमा पुगेर होलीकै दिनबाट फेरि आफ्नो जीवनलाई सुरु गरौँ भन्ने सन्देश हो, यसको ।
त्यसपछि वर्षभरि आफ्नो जीवनलाई अगाडि बढाऊँ । सबैसँग हाँसी–खुसी रहूँ । सबैसँग अंगालो मारेर अगाडि बढौँ । र, अर्को वर्षको होलीमा फेरि हामी शून्यको स्वरूपमा फर्किऊँ र जीवनलाई चलायमान बनाऊँ । यसरी जीवन मैत्रीपूर्ण रूपमा अगाडि बढ्दै जान्छ ।
यसरी हामीलाई यो पर्वले सह–अस्तित्वलाई स्वीकार गर्दै अगाडि बढ्न सघाउँछ । सह–अस्तित्व त मानिसमा हुनुपर्ने महत्वपूर्ण गुण हो । मानिसले एकार्कालाई स्वीकार गर्दै अगाडि बढ्नुपर्छ भन्ने कुरा सह–अस्तित्वले नै सिकाउँछ ।
मानिसमा कटुता नहोस् र जीवनका सबै रङहरूलाई समेट्दै हामी अगाडि बढौँ । सबै जात, सबै धर्म, सबै समूह र वर्गलाई एकसमान दृष्टिले हेरौँ । त्यसका लागि हामीले एक दिन ‘शून्य’मा आउनु आवश्यक हुन्छ भन्ने सोचका साथ यो महामूर्ख सम्मेलन परम्पराको थालनी हामीले गरेका हौँ ।
यसका लागि साहित्यिक क्षेत्रका उत्कृष्ट व्यक्तित्व हुनुहोस् वा संस्कृति, कला, राजनीति, समाजसेवालगायत, यसरी आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्तित्वको चयन गरेर हामीले महामूर्ख सम्मेलनमा महामूर्ख, पटमूर्खलगायत उपाधि अर्पण गर्दै आएका हौँ ।
वास्तवमा यो कसैलाई होच्याउने वा कसैलाई मूर्ख बनाउने अथवा कसैको मानमर्दन गर्न आयोजना गरिएको होइन । यसको पछाडिको उद्देश्य हो, उत्कृष्टताका लागि सम्मान । यसको अन्तर्य यही हो ।
तराईतिरको होली आफंँमा विशिष्ट किसिमको होली हुन्छ । तराईको गाउँ–घरतिर नगर, डिहबार वा ठकुरबारी वा महाविर, मन्दिरजस्ता कुटीहरू हुन्छन् । होलीको दिन त्यही कुटी वा मन्दिरबाट होली सुरु हुन्छ । र, गाउँका विभिन्न घरअघिल्तिर बनेको दलानमा पुगेर होरी गाउँदै होली खेलिन्छ ।
‘दलान’ समाचार सम्प्रेषण र भेटघाटको थलो हो । दलानमै बसेर खेतीपातीका कुरा हुन्छन् । त्यसको समाधान पनि त्यहीँबाट निकालिन्छन् । त्यहाँ ज्ञान बाँड्ने काम पनि हुन्छ । यसरी दलानको विशष महत्व रहँदै आएको छ । अनि, होली खेल्नेहरू त्यही दलानमा गएर होली खेल्छन्, डम्फा बजाएर ।
डम्फा बजाउँदै, गीत गाउँदै, नाच्दै, गएको समूहलाई दलानमा स्वागत गर्दै विभिन्न किसिमका पान–सुपारी, मसला आदि खान दिइन्छ । गाउँका परिवारजनले घरमा जे उपलब्ध हुन्छ, त्यो खुवाउँदै होली खेल्न आउनेलाई सम्मान गर्ने प्रचलन छ ।
होलीमा डम्फा वादनको पनि महत्त्व छ । त्यसैले पनि मिनापले जनकपुरमा अन्तगिरि परिक्रमाको अघिल्लो दिन अथवा होलीको एक दिनअगाडि डम्फा प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । डम्फा प्रचलनलाई निरन्तरता दिनका लागि पनि यो प्रतियोगिताको थालनी गरिएको हो ।
होलीको अघिल्लो दिन मिनापद्वारा आयोजना गरिने महामूर्ख सम्मेलनमा विभिन्न कवि, साहित्यकारहरूलाई आमन्त्रण गरिन्छ । त्यहाँ तिनका कवितालगायत रचनावाचन सुनिन्छ ।
त्यसबाहेक विभिन्न व्यक्तित्वलाई विभिन्न उपाधि प्रदान गरिन्छ । जस्तो, कसैलाई महामूर्ख, कसैलाई पटमूर्ख, कसैलाई मुसरीलाल, कसैलाई खेसारीलाल, कसैलाई वंश कुरहारी, कसैलाई तरघुसका आदि । यस्ता लोकोक्तिमा भिजेका शब्दहरूलाई स्थापित गर्दै विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई यस किसिमको उपाधि दिइन्छ ।
वास्तवमा हरेक क्षेत्रमा केही न केही गरिरहने व्यक्तिहरू छन् । तिनलाई हँस्यौलीका साथ सम्मानित गर्ने परम्पराको थालनी गर्दै महामूर्ख सम्मेलनको आयोजना गर्ने परिकल्पना मिनापबाट भएको हो, २५ वर्ष पहिले । र, यसले यो वर्ष रजत वर्ष मनाएको छ । महामूर्ख सम्मेलनको २५ वर्ष आफैँमा उपलब्धिपूर्ण हो भन्ने मलाई लाग्दछ ।
रजत वर्षको यस सम्मेलनमा हामीले नेपालकै प्रसिद्ध हास्यकलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामूर्ख उपाधि समर्पण गर्यौँ । उहाँहरूले पनि स्वीकार गर्दै ग्रहण गरिदिनुभयो । हामीलाई कृतार्थ गरिदिनुभयो, उहाँहरूले ।
हाम्रो पुनीत उद्देश्य भएकोले नै होला, महामूर्ख सम्मेलनलाई सबैले सहजरूपमा लिँदै आउनुभएको छ । कसैले पनि यसतर्फ नकारात्मक धारणा राख्नुभएको छैन । प्रारम्भमा हामीले कार्यक्रममा उपस्थित व्यक्तिहरूमध्येबाटै आफ्नो क्षेत्रमा ख्याति कमाएका एकजना व्यक्तित्वलाई महामूर्खको घोषणा गर्दै आएका थियौँ । तर, पछि मिनापको कार्यसमितिले यस विषयमा निर्णय लिँदै उपाधि पाउनुहुने व्यक्तिबाट स्वीकृति लिन थाल्यो । आजसम्म हामीले ज–जसलाई चयन गर्यौँ, उहाँहरुले स्वीकार पनि गर्नुभयो ।
अब त यो उपाधि यसपालि मैले पाए हुन्थ्यो भन्ने आकांक्षा पनि कतिपयले राख्दै आउनुभएको छ । उपाधिका लागि सबैजसो व्यक्ति उत्सुक नै रहनुभएको मैले पाएको छु । अर्थात्, यसको गरिमा चुलिँदै गएको छ ।
मिनापले उपाधि प्रदान गर्दा सम्मानपत्र, दोसल्ला र डम्फा पनि प्रदान गर्दै आएको छ । डम्फा होलीको प्रतीक पनि हो । त्यसका अतिरिक्त अनेक तरकारीहरूको माला लगाइदिने परम्परा पनि हामीले बसालेका छौँ । भन्टा, प्याज, आलु, मुला, भिन्डी, खुर्सानी, कागती, खमरुवा (तरुल)लगायत सब्जीहरूको मालाका साथमा एउटा विशेष प्रकारको टोपी पनि लगाइन्छ । त्यो टोपी फर्सीको बनाइन्छ । यसका अतिरिक्त मिथिला पेन्टिङ पनि प्रदान गरिन्छ ।
हामी एक ढिक्का भएर बसेका आम जनताबीच विगतका वर्षहरूमा अलिकति सद्भाव बिग्रिएको महसुस भएको हो, हामीलाई । हिमाल, पहाड र तराई सबैतिर हामी नेपालीहरू नै बसोबास गरिरहेका छौँ । तर पनि राजनीतिक परिदृश्यले तराईमा पहाडी मूलका समुदायले आफूलाई असुरक्षित मान्ने, पहाडमा मधेसी मूलको समुदायले आफूलाई असुरक्षित मान्ने अवस्था देखियो । यो राजनीतिक परिवर्तनका कारण नै भएको हो ।
हाम्रो भनाइ के हो भने हामी सबै नेपाली हौँ । राष्ट्रिय एकताको मूल सन्देश हाम्रो तर्फबाट जानुपर्छ भन्ने धारणा हाम्रो हो । हाम्रोजस्तो संस्थाले, हामीजस्ता सामाजिक क्षेत्रमा काम गर्ने कलाकारहरूले जुनसुकै कार्यक्रम गर्दा पनि देशभरि नै एकताको सन्देश जाओस् भन्ने हो । हामीले भेदभावरहित सन्देश दिने कार्यक्रम गर्नुपर्छ । यही नै हाम्रो मान्यता हो । यही नै हो, सह–अस्तित्व र हामीले दिने एकताको सन्देश । बितेको २५ वर्षदेखि हामीले एकताको सन्देश दिँदै आएका छौँ ।
२५ वर्ष आफैँमा लामो समय हो । यो २५ वर्षले देखाएको छ, यो कार्यक्रम मिनापको उपलब्धिमूलक कार्यक्रम हो भन्ने । हामीले साहित्य, कला, संस्कृति, समाजसेवा, राजनीतिका व्यक्तित्वलाई सम्मानित गर्दै आफ्नो तर्फबाट राष्ट्रिय एकताका लागि काम गर्दै आएका छाैँ। र, हामी खुसी पनि छौँ ।
(मिनापका पूर्वअध्यक्ष सुनील मिश्रसँग गरिएको कुराकानीमा आधारित ।)





