बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नियात्रा युवतीको ओठमा लाली चढेजस्तो 
Godraj nepal
Godraj nepal
बाह्रखरी - शनिबार, चैत २१, २०७७
Laxmi Bank
Laxmi Bank

डा. नवराज रानाभाट


पूर्वाञ्चलमा यो मेरो पहिलो बसाइ थियो । एमबीबीएस पास गरेर एमडी पढ्ने सिलसिलामा काठमाडौंबाट विराटनगर आइपुगेको एउटा युवा चिकित्सक– बस ! यही नै थियो मेरो चिनारी, यहाँ । रेजिडेन्ट डाक्टर भइसकेपछि अस्पतालको अनुशासन, आफ्नो चिकित्सकीय जिम्मेवारी र विद्यार्थी जीवनका बीचमा सन्तुलन मिलाउँदै नियमित रूपमा कार्यसम्पादन गर्नुपर्ने प्रक्रियालाई हृदयंगम गर्दै अघि बढ्दो थियो, दिनचर्या ।

कोरोनाकालको विषम परिस्थितिमा पनि अनवरत् सेवा दिन पाउँदा मेरो मनमा यस क्षेत्रप्रति विशेष लगाव हुनु स्वाभाविक नै थियो । यसले निरन्तर मेरो कर्मप्रति मलाई डोहोर्याइरहेको थियो ।

Rohto Landing

Agani Group

जेठको उखरमाउलो गर्मीको एउटा दिन । कुनै एक बिरामीको अल्ट्रासाउन्ड गरिदिने क्रममा उहाँसँग सानो संवाद भएको थियो । “१० घण्टा लगाएर ताप्लेजुङबाट विराटनगर आएको डाक्टर साब्, राम्रोसँग हेर्दिनुस् है, मलाई ।”

उहाँसँग सामान्य कुराकानी गर्दागर्दै अल्ट्रासाउन्ड सक्याइसकेको थिएँ । अनि, जाने क्रममा उहाँले फेरि भन्नुभयो, “फुङ्लिङमा हो मेरो घर । डाक्टर साब्, मिल्यो भने आउनुहोला ताप्लेजुङ ।”

sarbottam cement

०००

केही दिनअघि छेउमै रहेको थोत्रो फिलिप्स रेडियोले समाचार ओकल्दै थियो । दिनहुँ ‘नाटकै त हो, नौटंकी नै त हो’ भन्ने आशयका समाचार सुनाउने थोत्रो फिलिप्सले यस बेला ताप्लेजुङको समाचार सुनाउँदै थियो ।

समाचारमा ‘डढेलोका कारण ताप्लेजुङ/पाथीभरा वरपरको ठूलो क्षेत्रफलमा रहेको जंगल नष्ट भएको’ पढिँदै थियो ।

समाचार सुन्नासाथ मेरो स्मृतिमा नौ महिनापहिले ताप्लेजुङबाट १० घण्टा लगाएर जँचाउन आएका ती बिरामी दाइ आए ! उनको सम्झना भयो मलाई । न त कुनै साइनो न त कुनै लेनदेन नै । न त कुनै सम्झनैपर्ने बाध्यता न त कुनै बिर्सनै नसक्ने विवशता । केही यादहरू यस्तै हुँदा रहेछन्, मानसपटलमा डेरा जमाएर बसिरहने ।

रेडियोबाट सम्प्रेषित त्यो समाचार, ती बिरामीसँग भएको संवाद र ताप्लेजुङ जिल्लाको नेपालको नक्सामा रहेको विशेष अवस्थितिका कारण यो जिल्लाको भ्रमण गर्ने मेरो रहर ‘नेप्से परिसूचकांक’ बढेसरी ह्वात्तै बढेर गएको थियो ! अनि, मेरो रहरलाई मूर्तरूप दिनका लागि मेरा अगाडि खडा थियो, बिहीबार परेको शिवरात्रिको छुट्टी । अर्थात् शुक्रबार बिदा लिए बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन भ्रमण गर्न मिल्ने अवस्था ।

तसर्थ, बुधबार नाइट ड्युटी गरेर बिहीबार शिवरात्रिको दिन बिहानै म विराटनगरबाट ताप्लेजुङतर्फ लागेँ । यात्राकै क्रममा चिनिएका दमकका एकजना साथीसँग मिलेर म क्रमशः विर्तामोड, चारआली, इलाम हुँदै आफ्नो गन्तव्यतर्फ हान्निँदै थिएँ ।

भर्खर–भर्खर सुरु भएको तराईको गर्मी बिर्साउँदै पहाडी चिसो हावाको झोक्काले जब मेरो गालामा स्पर्श गर्याे, त्यसैबखत इलामको डाँडाभरि पर–परसम्म देखिएका हरिया चियाबगानसँग मेरो नेत्रले साक्षात्कार गर्यो । त्यति नै बेला मेरो स्मृतिपटमा अघिल्लो वर्ष विराटनगरको एउटा स्कुलमा नानी–बाबुहरूले गाएको ‘जता हेरे पनि हजुर पूर्वै रमाइलो...’ बोलको गीत ताजा भएर आयो ।

राँकेभन्दा केही वर खाना खानको लागि एक छिन विश्राम लिएपछि फेरि हामी उस्तै मनोरम दृश्यहरूलाई पछ्याउँदै नागबेली बाटोको छेउछाउ रहेका सुन्दर पहाडहरू हेर्दै फिदिमबजार पुग्यौँ । पहाडको फेदीमा रहेको फिदिमबजार त्यस क्षेत्रको ठूलो व्यापारिक केन्द्र थियो । त्यस भेगका बासिन्दाहरूका लागि फिदिमबजार आफैँमा एउटा सपनाको राजधानी थियो ।

फिदिमबजार कटेर हामी जोरपोखरी, गणेशचोक, काबेली पुल हुँदै ताप्लेजुङको फुङ्लिङ बजार पुग्यौँ । पुग्दा झमक्क साँझ परिसकेको थियो । यात्राका क्रममा ड्राइभर दाइ र एकजना त्यहीँका स्थानीय यात्रुसँग हाम्रो छोटो भलाकुसारी भयो । उनीहरू त्यस क्षेत्रमा विप्लव माओवादीहरूको बाहुल्यता रहेको बताउँदै थिए । अनि, विप्लवले शान्तिको बाटो रोजेकोमा सन्तोष व्यक्त गरिरहेका थिए ।

फुङ्लिङ बजारमा पुगेर ओर्लिँदा बेलुकीको आठ बजिसकेको थियो । त्यस दिनको हाम्रो यात्राले फुङ्लिङमै विश्राम लियो ।

मेरा दुईजना साथीहरू एक हप्ता अगाडि नै आफ्नो कामको सिलसिलामा फुङ्लिङ बजारमा थिए । उनीहरूसँगको भेटपछि हाम्रो यात्राले थप जीवन्तता प्राप्त ग¥यो ।

भोलिपल्ट दिउँसो हामी ताप्लेजुङबजार घुमीवरी बेलुकी माता पाथीभराको दर्शनका निमित्त अगाडि बढ्यौँ । ताप्लेजुङबजारबाट सुकेटार एयरपोर्ट, देउराली, भालुगौँडे हुँदै काफ्लेपाटी (सानो फेदी)सम्मको यात्रा गाडीबाट गरेपछि सानो फेदीबाट हामी पैदल उकालो लाग्यौँ । दूरीका हिसाबले तीन किलोमिटर मात्रै भए पनि उकालो निकै ठाडो थियो । झन् त्यसमाथि पहाडमा हिँड्ने हाम्रो अनुभवको कमीले गर्दा हिँड्दा–हिँड्दै लखतरान पर्थ्यौँ । तसर्थ, छिनछिनमा विश्राम गर्दै पैदलयात्रालाई अगाडि बढाउनुको विकल्प थिएन ।

ताप्लेजुङबजारबाट ग्लोबल बैंकका केही कर्मचारी सहयात्रीका रूपमा माता पाथीभरासम्मको यात्रामा जोडिएपछि हाम्रो यात्रा झन्–झन् रमाइलो, सहज र मनोरञ्जक बन्दै गयो । विपुल क्षेत्रीका केही सुमधुर गीत सुन्दै, एकार्कालाई हाँैस्याउँदै हामी उकालो उक्लिँदै गयौँ ।

अन्ततः हामी ठूलो फेदी पुग्यौँ । त्यस रात हामीले ठूलो फेदीस्थित एउटा होटेलमा बास बस्ने प्रबन्ध मिलायौँ । यसरी त्यस दिनको यात्रा यही बिसौनीमा टुंगियो ।

भोलिपल्ट बिहान सबेरै पाथीभरा माताको दर्शनका लागि हाम्रो यात्रालाई निरन्तरता दियौँ । हाम्रो यात्रा अगाडि बढ्यो । बिहान ३ बजेको चकमन्न अँध्यारोदेखि नै माथि चढ्ने दर्शनार्थीहरूको बाक्लो चहल–पहल देखिन्थ्यो । हुन पनि किन नहोस्, माता पाथीभराको चरण स्पर्श गर्नाले आँटेका सम्पूर्ण कुराहरू परिपूर्ति हुने जनविश्वास यस क्षेत्रमा अघिदेखि नै रहिआएको छ ।

मेरो हकमा भने म जसका लागि ‘मन्नत’ माग्न माता पाथीभराको शरणमा पुगेको थिएँ, मेरो अनन्य मित्रकी बहिनी, ऊ कुनै बिरानो मुलुकको अस्पतालमा ब्रेन ट्युमरको अपरेसनको पर्खाइमा थिइन् । त्यसबाहेक पनि केही साथीहरू जसको १–२ दिनमा ‘युएसएमएलई’को म्याचिङको नतिजा आउँदै थियो, उनीहरूको सफलताको कामना गर्दै पाथीभरा माताकोमा फूल चढाइदिनु थियो मैले । यात्रा गर्नु ठिकअगाडि विराटनगरमा साथीको हजुरआमा (मेरै पनि हजुरआमा) अस्वस्थ हुनुभएको खबर पाएको थिएँ । उहाँको सुस्वास्थ्यको पनि कामना गर्नुपर्ने थियो । यसरी व्यक्तिगत रूपमा आफ्नो र आफन्तका लागि माग्नुपर्ने धेरै कुराहरू थिए ।

शैलका काप–कापबीच रहेको ठाडो, साँघुरो र कच्ची बाटोले यात्रालाई कठिन बनाएको त थियो नै त्यसमाथि झन् यस्तो बाटोमा हाम्रो कम अनुभव र अघिल्लो दिनको झरीपछि हिमश्वेत बनेको मार्गले यात्रालाई थप चुनौतीपूर्ण बनाइदिएको थियो । तमाम चुनौतीलाई छिचोलेर भए पनि माथि पुगिसकेपछि त्यहाँबाट देखिएको रमणीय दृश्यले हाम्रो सम्पूर्ण थकान भुलाइदिइसकेको थियो ।

अनि, पाथीभरा माताको दर्शन गर्दै–गर्दा सम्पूर्ण मन्नतहरू माग्नुभन्दा अगाडि हिँड्नका लागि दुई सबल खुट्टा र प्रकृतिको दिव्य सौन्दर्यको अवलोकनका लागि दुई आँखा दिएकोमा भगवान्प्रति थप नतमस्तक भएँ !

उषाका रक्तिम आभाहरूले कञ्चनजंगा हिमशृंखलालाई स्पर्श गर्दा सोह्रवर्षे युवतीको ओठमा लाली चढेकोजस्तो भान हुन्थ्यो । यस्तो अद्भूत दिव्य दृश्य आफ्नो क्यामेरामा कैद गर्दै हामी केही बेर त्यहाँ बसेर तल फर्किन थाल्यौँ । तल फर्कँदै गर्दा हिमश्वेतमार्गको छेउछाउमा फुल्दै गरेका लालीगुराँस र नवपल्लवहरू हेर्दा यस्तो लाग्दथ्यो, मानौँ प्रकृति आफंँमा सिँगारिँदै थिई, आफ्नो प्रेमी ऋतुराज वसन्तको आगमनमा पुलकित हुँदै !

म भने तन (शरीर) विराटनगर फर्कने बेलासम्म पनि ताप्लेजुङमा छुटेको मनलाई पुनः विराटनगर नै फर्काउने असफल प्रयासमा उद्यत थिएँ ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २१, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्