site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फोन फोबिया
Sarbottam CementSarbottam Cement

परशु प्रधान


फोन आयो । फेरि फोन आयो । त्यो फोन आउँछ भन्ने मलाई थाहा थियो । घडी हेरेँ, ठ्याक्क १०ः३० भएको छ । फोन उठाउना साथ उताबाट मसिनो स्वर आयो, “कृपया रङ नम्बर भनेर फोन नराखी दिनुहोला । म लता बोल्दै छु । तपाईंको स्नेहको लता । तपाईंको प्रेमको पात । तपाईंको पूजारिनी–भिखारिनी ।”

यो सधैँको स्वर हो । त्यही युवती हो । मैले ‘तपाईं कहाँ फोन गर्दै हुनुहुन्छ, रङ नम्बर’ भनेर ढ्याङ्राङ कडा स्वरमा फोन राख्ने चाहेँ । तर, किन–किन सकिनँ । हुनसक्छ, यही मेरो कमजोरी हो । यो युवा नारी स्वर एकनास आइरह्यो, “म तपाईंको प्रेममा पागल भएँ । मेरो बिन्ती छ, रिसाएर फोन नराखी दिनुहोला । अस्ति क्याम्पस जाँदै थिएँ, तपाईंलाई बाटोमा देखेँ । साइकल रोकेर कुरा गरौँजस्तो लाग्यो । तर, किन–किन सकिनँ । त्यही रात यही समय तपाईंलाई फोन गरेकी थिएँ । रिसाएर तपाईंले ड्याङ्राङ फोन राखिदिनुभयो ।”
“म फोन राखिदिन्छु,” मैले रिसाउन चाहेँ ।
“मसँग नरिसाइ दिनोस्, बिन्ती छ मेरो राजा ! म तपाईंको पाउमा पर्छु । खुट्टा ढोग्छु । तपाईंले रिसाएर फोन राखिदिनुहुँदा मेरो छातीमा बज्र परेजस्तो हुन्छ । भुइँचालो आएजस्तो गरेर म रन्थनिन्छु । मलाई यसरी नसताउनोस् । यसरी ज्यूँदै नमारी दिनोस्...।”

Prabhu Bank
Agni Group
NIC Asia

एउटा लामो फिरादपत्रजस्तो त्यो स्वर आइनै रह्यो । यसरी त्यो फोनको स्वरले मलाई पछ्याएको एक वर्षभन्दा बढी हुन लाग्यो ।

जब त्यो स्वर आउँछ, म अनायास टाढा कतै आफ्नो घर पुग्छु । ती नांगा डाँडाहरूमा पुग्छु । ती निरीह आँखाहरूमा पुग्छु । त्यहाँ न फोन, न यी स्वरहरू छन् । यी आवाजहीन आवाजहरू मभित्र आउँछन् । सोह्र वर्ष टेक्न लागेको मेरो छोरो सुदीप अनुरोध गरिरहेछ, ‘‘मलाई एसएलसी पास गर्नासाथ त्यहाँ बोलाउनुहोला बुवा ! म तपाईंसँग सहरमा बसेर पढ्छु । म आई.एस.सी. पढ्छु, बायो लिएर । अनि, बंगलादेशमा गएर डाक्टरी पढ्छु ।’’

Global Ime bank

मलाई लाग्छ, त्यो युवतीको फोनको जवाफ मेरो जेठो छोराले दिनुपर्ने हो । तर, त्यहाँ फोन छैन । न सहर छ । न गल्ली छ । मेरो छोराको रोल म कसरी गरूँ यस सहरमा ? म यहाँबाट भाग्न सक्तिनँ ।
“मलाई निद्रा आइरहेछ, मलाई सुत्न दिनोस्...।,” म गम्भीर भएर अनुनय गर्छु । 
“कृपया फोनको लाइन नकाट्नु होला । म रातभरि फोन गरेर तपाईंलाई डिस्टर्ब गर्छु । कस्तो ढुंगाजस्तो मान्छे । दुई–चार मिठा शब्दहरू बोल्न पनि तपाईंलाई आउन्न । एक–एक वर्षसम्म माया नपलाउने त्यो कस्तो मुटु हो । म माटाको हो कि मासुको । म के गरूँ ? तपाईंलाई निद्रा आइरहेछ । मबाट निद्रा भागिरहेछ ।”

“किन–किन म निदाउन सक्तिनँ । सारा कुराहरू बिर्सेर मन हलुंगो पार्न खोज्छु । तर, गहु्रुँगो भइरहन्छ । त्यो गहु्रँगो पार्ने तपाईंको छाया हो, जसले मलाई मोहनी लगाइदियो । तपाईंलाई नपाए तपाईंको नाममा मरिदिन्छु । यौटा अन्तिम चिठी लेखेर म सदा–सदाका निमित्त बिदा भइदिन्छु ।”

“तपाईंले फोन राख्न लाग्नुभयो ! किरकिर आवाज आइरहेछ । ए सुन्नोस्, म भोलि तपाईंको अफिसमा भेट्न आउँछु । भन्नोस्, मलाई भेट दिनुहुन्छ कि हुन्न ? कि मलाई देख्नासाथ भाग्नुहुन्छ ? भन्नोस् । भोलि म ठ्याक्कै ११ बजे आउँछु है...।” त्यो स्वर ननस्टप एकनास आइरह्यो । कहीँकतै टेप गरेर बोलेजस्तो । कहीँकतै फुलिस्टप छैन ।

“ल...ल...भोलि आउनू...,” म झन्झट पन्छाउन खोज्छु । कत्ति सुनिरहूँ यो झर्को लाग्दो फोन । कस्ती फतौरी आइमाई हो यो, अर्काको लोग्नेसँग फोनमा यत्ति लामो कुरा गर्न सक्ने !

“म भोलि त्यहीँ आउँछु...।” उसले फोन राखी । म आश्वस्त भएँ । पहिले छुट्ट्याउन चाहेँ, यो दिन हो कि रात । मैले निश्चय गरेँ, यो रात हो । अहिले ११ बजेको छ । पूरा आधि घण्टा नकचरीले फोन गरी । अनि, फेरि निश्चय गरेँ, यो कुनै खास सपना होइन । यो खासै विपना हो । यो फोन गर्ने केटीको नाम पनि विपना हो । अनि, विपनाले मलाई फसाउन खोजेकी हो । त्यो कहिले विपना हुन्छे, कहिले सपना अनि कहिले लता ।

म भने अब निदाउन सकिनँ । जिन्दगीको पूरा चित्र भित्तामा कोरियो । बाल्यकालका केही प्रसंगहरू आए । ठूला–बडाको सिको गरेर जिन्दावाद र मुर्दावाद भन्दै झन्डा बोकेर दौडेको सम्झनाहरू अलिकति ताजा भए । कहिले पानीहरूमा दौडेको, कहिले रङमा डुबेको कुराहरूले मन त्यसै अमिलो भयो । अनि, जागिरको पछि दौडेको क्रम पनि आयो । कहिले मिलटरीको सेकेन्ड लेफ्टिनेन्ट हुने सपना, कहिले पुलिसको इन्सपेक्टर । जहाँ–तहाँका ढोकाहरू आफ्ना लागि बन्द भए । आफ्ना पार्टीका नेतासँगको न चिनजान न बलियो नाता–गोता । सबैले उपेक्षा गरी छाडेको यो जागिर खाँदा पनि खान सकिने स्थिति रहेन । कहीँ हाकिमहरूले खेदेका छन्, कहीँ सँगैका साथीहरूले छेकेका छन् । कति कठिन लाग्छ बाँच्नु ! फेरि, अर्थ बे–अर्थका फोनहरूले पनि दिमागको भित्रसम्म हल्लाउँछ । यी कत्ति फोन गर्छन् र मलाई बोर गर्छन् । मानौँ, फोनमा नै जन्मेका हुन् वा यी कहिले सपना हुन्छन्, कहिले विपना । कहिले लहरा हुन्छन् भने कहिले पात । तिनलाई थाहा छ, म तिनको जिन्दगीको साथी हुन किमार्थ सक्तिनँ । खोलाले छाडिदिएको बगरजस्तो छु, पानीको लहर कहिल्यै पनि नपुग्ने अथवा डाँडामाथिको फूलको बोट छु, वसन्तमा पनि फुल्न भुलिदिने ।

कत्ति एकाकी लाग्छ, यो जागिरे जीवन । सारा नांगा पहाड–पहाडमा दौड । निमुखा जनतालाई विकासको भाषण देऊ । आफैँलाई थाहा छ, यो खोक्रो नारा मात्र हो, यसमा कुनै सार छैन । तर पनि जागिरेको काम भन्ने भ्रम पाल्यो । अनि, कहिले तराईका बालुवाहरूमा दौड । बालुवाबाट तेल निकाल्ने जुक्तिहरू निकाल । गर्मी र पसिनासँग कुस्ती खेल । हिन्दी, मैथिली वा थारु भाषामा कनिकुथी विकास र निर्माणका सपनाहरू बाँड । कहिलेकाहीँ आफैँभित्र विद्रोह गर, कसलाई चाहिएको छ यो राष्ट्र, यो देश, मेची–कालीको टुक्रा ? अन्यथा, जो कोही लुट्न मात्र तयार छ । कोही केही कुराको जिम्मेवार छैन । ती धेरैमध्ये म पनि एक हूँ । विकास थापा पनि एक हूँ ।

घरबाट श्रीमती ल्याएर बसूँ, कसले हेर्ने घर ? कसले पढाउने र स्याहार–सुसार गर्ने स–साना केटाकेटीहरूलाई ? अझ कत्ति लामा वर्षहरू बाँच्नु छ । अनि, एकाकी बसूँ, यी फोनहरूले तर्साउँछन् । कत्ति कमजोर लाग्छ आफूलाई, जाबो फोनहरूसँग तर्सने, फोन फोबिया भएजस्तो ।

अनायास बिहान हुन्छ । यौटा नियमित बिहान र त्यसरी नै सुरु हुन्छ नियमित जागिरे जिन्दगी । टेबल र कुर्सीहरूको जिन्दगी । पिउन, पाले र हाकिमहरूको जिन्दगी ।

रात परेपछि फेरि त्यही फोनको डर । फोनलाई छुटाएर राखुँ भने घरबाट श्रीमतीको फोन आउन सक्छ । अथवा केन्द्रबाट नै कुनै जरुरी मेसेज आउन सक्छ । ठिकमा राखुँ, माया गर्छु भन्नेहरूको डर लाग्छ । यो कस्तो संकष्ट हो ? मुक्ति छजस्तो लाग्दैन, यस संकष्टको । कुरा गर्दा–गर्दै लाग्छ, आफू कुनै पुलमुनिबाट अब खस्न लागेको छु । समयको भेलले लगेर कहीँ टाढा कतै जंगलमा लगेर फ्याँँक्न लागेको छ । खालि पलायनको कुरा । खालि भाग्ने कुरा । कार्यालयमा पनि दिनभर निरर्थक मान्छेहरूको भिडसँग भाग्नुपर्ने हुन्छ । कत्ति भागुँ म, कहाँ कहाँसम्म । आवाज मात्रै सुन्छु । ती भ्रष्टाचारको विरुद्धमा छन् । महँगीका विरुद्धमा छन् । फोहरी राजनीतिको विरुद्धमा छन् । ती रङहरूसँग छन् । झन्डाहरू छन्, तिनका अघि र पछि । मेरा अघि–पछि कतैतिर केही छैनन् । खालि यो कार्यालय, यो एकान्त र शून्यपन ।

त्यही शून्यपनलाई बिथोल्न कहिलेकाहीँ रङ कल आउँछ । रङ कलको जवाफमा रङ कुराहरू गरिदिन्छु, ‘म यहाँको पिउन बोलेको । नाम भन्नुभएको ? नाम कृष्ण हो । ...अँ हो, हाकिमको नाम पनि कृष्ण । असिस्टेन्टको नाम पनि कृष्ण । अनि, यो अफिस नै कृष्णहरूको ।’ यौटा लामो र उत्साहपूर्ण हाँसोपछि फोन स्वतः समाप्त हुन्छ ।

कहिलेकाहीँ कहाँ पर्यो यो ? भन्दा, ‘कानमा’ जवाफ दिनुको रमाइलो पनि छ । अनि, कसको कानभन्दा ‘तपाईंले मन पराएको मान्छेको’ भन्नुको मज्जा पनि छ । अनि, त्यही रमाइलो र मज्जासँग पूरै जिन्दगी बिताउने कुराले भने त्यसै भारी हुन्छ । त्यो गहु्रँगोपन र भारीलाई सगरमाथा आरोहणमा हिउँको आँधीबेहरीसँग तुलना गर्न मन लाग्छ । सफलताको त्यो आखिरी क्षणमा कसरी सारा सपनाहरूमा पहिरोे जान्छ, अनि भत्केको मन लिएर चुपचाप ओरालो लाग्नु ! ठिक त्यही स्थिति हो, लताको पनि, सपनाको पनि र अरू कसैको पनि ।

फोनको मधुरो स्वरलहरीले तानेर मलाई ३० वर्ष अगाडि पुर्याउँछ । अनि, त्यहाँको प्रेम–प्रसंगले, ताजा कुराकानीले एकैचोटि ५० वर्षमा लगेर फ्याँकिदिन्छ । म समयको चक्रमा नराम्ररी पछारिन्छु । त्यहाँबाट उठ्न सक्तिनँ । अनि, एक्कासि म वर्तमानमा आएर उभिन्छु । त्यो वर्तमानमा श्रीमती छे, तीन–तीनजना छोरा–छोरी छन् । अझ वृद्धावस्थाका माता–पिता छन् । आँखामा तिनका अनुहारहरूले एकैपटक आएर सोध्छन्, यो उमेरमा कहाँबाट आए यी स्वरहरू ? यी अर्थपूर्ण आवाजहरू । तपाईंलाई अलिकती लाज छैन ? के घृणाको कुनै अंश छैन ?

ती सबको कुनै जवाफ मसित छैन । म शिथिल हुन्छु । थुप्रै लामखुट्टेहरुले टोकेको अनुभूति हुन्छ । आफैँसित क्षोभ र घृणा उब्जन्छ । खोज्न मन लाग्छ, आफ्नो नयाँ र सफा आकाश । तर, त्यो आकाश कहीँ छैन । त्यो क्षितिज यहाँ कहीँकतै छैन । जहाँतहाँ शून्य र अन्धकार छ । त्यो अन्धकारभित्र आजको रात पनि सशंकित छु, त्रसित छु ।

दिउँसो सपना आइन्, राम्रै भयो । त्यो कस्ती छे, देखेको पनि छैन । त्यसको अनुहारमा कस्तो रङ छ, थाहा छैन । आइन् र राम्रो गरी । लाग्छ, त्यो फोनकी परी हो । फोनमा नै आउँछे र फोनमा नै जान्छे । कति रमाइलो लाग्छ, भ्रमहरूमा बाँच्नु । सपनाहरूको रंगीन आकाशमा चंगाजस्तो उड्नु ।

दश बज्यो । फेरि फोनको घण्टी बज्यो । मलाई थाहा छ, यो सपनाको फोन हो । त्यो फोन आउँछ...आइरहन्छ । म उठाउँछु, नबोली राखिदिन्छु । फेरि, उताबाट रिङ आउँछ । घण्टी बजिरहन्छ । म उठाउँछु । रङ नम्बर भनिदिन्छु, राखिदिन्छु । फोन गर्ने मान्छे थाक्तैन । फेरि, फोन आउँछ । फेरि उठाउँछु, रङ नम्बर भनेर राखिदिन्छु ।

मलाई टेलिफोन सेट जंगलको बाघजस्तो लाग्छ । मानौँ, त्यसले मलाई खान तयार छ । फोनको प्रत्येक घण्टी मलाई आफ्नै मृत्युको घण्टी बजिरहेजस्तो लाग्छ । धेरै बेर म उठाउँछु, राख्छु । उठाउँछु, राख्छु । तर, फोन आउन छाड्दैन । त्यो बाघले मलाई नखाई छाड्दैन । मेरा अगाडि थुप्रै समयहरू आउँछन् । यो वर्तमान आउँछ । अनि, अनिश्चित भविष्य आउँछ । मलाई अव्यक्त डर लाग्छ । त्यस डरलाई हटाउन चाहन्छु । फोन भने आउँछ, एकनास आइरहन्छ ।

फेरि, फोन उठाउँछु । मैले राख्न नपाउँदै उताबाट आवाज आउँछ, “तपार्इं किन फोन काट्नुहुन्छ डैडी ! म सुदीप बोलेको काठमाडौंबाट ।” फेरि, त्यो आवाज आउँछ, “मम्मी सिकिस्त हुनुहुन्छ... तपार्इं तुरुन्त आउनोस्... तुरुन्तै आउनोस्, म काठमाडौंबाट बोल्दै छु ।”

विचरा ! सुदीप मजस्तै आत्तिएको छ, डराएको छ ।

(वरिष्ठ कथाकार परशु प्रधानको कथासंग्रह ‘उत्तराद्र्ध’का सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC