


1617362916.jpg)


नेपित । म्यानमारकी नेतृ आङ सान सुकीविरुद्ध यहाँको सेनाले औपनिवेशिककालको औपचारिक गोप्य कानुन उल्लंघन गरेको आरोप लगाएको छ ।
यसलाई सुकीविरुद्ध लगाइएको अहिलेसम्मकै गम्भीर आरोप बताइएको छ । यो आरोप पुष्टि भएमा उनलाई १४ वर्षसम्म जेल सजाय हुन सक्ने उनका वकिललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पहिले लगाइएको आरोपका सम्बन्धमा भिडियोमार्फत अदालतमा उपस्थित गराइएको भोलिपल्ट सुकीमाथि नयाँ आरोप लगाइएको हो । उनलाई गत फेब्रुअरीमा सेनाले पक्राउ गरेको थियो ।
सुकीसहित अपदस्थ गरिएका अन्य तीन मन्त्रीहरुमाथि समेत यो आरोप लगाइएको बताइएको छ । उनीहरुमाथि एक साताअघि नै यो आरोप लगाइएको भए पनि दुई दिनअघि मात्र आफूलाई जानकारी दिइएको सुकीका प्रमुख अधिवक्ता खिन माउङ जले बताए ।

७५ वर्षीया नेतृ सुकीविरुद्ध यसअघि ६ लाख अमेरिकी डलर नगद र ११ केजी सुन घुस लिएको भन्दै सेनाले भ्रष्टाचारको आरोप लगाएको थियो । उनीमाथि प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लंघन गरेको र अवैधानिक तबरले वाकीटकी राखेको आरोपसमेत लगाइएको छ ।





