मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो ६० दशकका फिल्महरू (रिल) लामो समयसम्म मुम्बईस्थित आफ्नो बंगलाको एउटा एयर कन्डिस्नर कोठामा सम्हालेर राखे ।
पाँच वर्षअघि मात्रै अभिनेता बच्चनले ती फिल्मका प्रिन्टहरु सम्हालेर राख्ने जिम्मा एउटा एनजीओलाई दिए । तर, उनीहरूले त्यसलाई अनियन्त्रित तापमानमा राखे ।
‘फिल्म हेरिटेज फाउण्डेसन’ नामक सो एनजीओले भारतीय फिल्महरूको (रिल) संरक्षण र जर्गेना गर्ने काम गर्दै आएको छ । यो गैरसरकारी संस्था अवार्ड विजेता चलचित्र निर्माता, संकलनकर्ता र संरक्षक शिवेन्द्र सिंह डूंगरपुरको नेतृत्वमा सुरु भएको हो ।
निर्देशक क्रिस्टोफर नोलनकाअनुसार, हाल यो संस्थाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परिचय बनाइसकेको छ । सोही संस्थाका ब्राण्ड एम्बेसडरमा अमिताभ बच्चन छन् ।
रिल संरक्षण गर्ने काम
भारतमा पुराना रिलहरू हराउँदै गइरहेका अवस्थामा अभिनेता बच्चन तिनीहरूको संरक्षणमा लागिपरेका थिए । सोही कामका लागि हालै ७८ वर्षीय बच्चनलाई ‘इन्टरनेशनल फेडरेसन अफ फिल्म अर्काइभ अवार्ड’ बाट सम्मान गरिएको छ ।
निर्देशक नोलन र उनका साथी निर्माता मार्टिन स्कोरसेसेले मिलेर बच्चनलाई अवार्डबाट सम्मान गरेका हुन् । यसअघि यो अवार्डबाट यी दुई चर्चित चलचित्र निर्माताहरूका साथै इन्गमार बर्गम्यान, एग्रेस वर्डा र जा लू गोडार्डलाई सम्मानित भइसकेका छन् ।
मिडियासँगको कुराकानीको क्रममा बच्चनले रिल सुरक्षित राख्न नसकेकै कारण दिग्गज अभिनेता दिलीप कुमारको केही चलचित्रहरू हेर्न नपाएको दुखेसो पोखेका थिए ।
ऐतिहासिक फिल्महरू
भारतमा बलिउडसहित १० ठूला उद्योगहरु छन् । यहाँ प्रत्येक वर्ष ३६ भाषाका दुई हजारभन्दा धेरै चलचित्रहरु निर्माण हुन्छन् । यद्यपि भारतमा फिल्म (रिल) को दुईवटा मात्रै अर्काइभ (अभिलेख) छन् ।
एउटा पूणेमा रहेको सरकारबाट सञ्चालित र अर्को डूंगरपुरले सञ्चालन गरिरहेका छ । भारतको चलचित्र इतिहासलाई हेर्दा यो अपूग भएको बच्चनको भनाई छ ।
भारतका धेरैजसो ऐतिहासिक चलचित्रहरूको उचित संरक्षण हुन नसक्दा हराइसकेका छन् । भारतको पहिलो ध्वनी चलचित्र ‘आलम आरा (१९३१)’ र भारतमै निर्मित पहिलो रंगीन चलचित्र ‘किसन कन्या (१९३७)’ को आजसम्म कुनै अत्तोपत्तो छैन । यद्यपि नयाँ चलचित्रहरूको अवस्था पनि खासै राम्रो छैन ।
श्याम बेनेगलको ‘भारत एक खोज (१९८८)’ र स्वतन्त्रता संग्राम सैनाली लक्ष्मी सहगलमाथि बनेको चलचित्रको मूल प्रतिलिपि आज अस्तित्वमा छैन ।
निर्देशक एसएस राजमौलीकाअनुसार उनको सन् २००९ मा आएको चलचित्र ‘मगधीरा’ को नेगेटिभ चलचित्र आएको ६ वर्षमै गायब भयो ।
सरकारी अभिलेख
डूंगरपुरकाअनुसार भारतमा बनेका ११२८ साइलेन्ट चलचित्रहरूमध्ये २९ वटा मात्रै सुरक्षित छन् । सन् १९३१ देखि १९५० को अवधिमा मुम्बईमा निर्माण भएका दुई हजार मध्ये ८० प्रतिशत चलचित्र अहिले हेर्न पाइँदैन ।
गत वर्ष डूंगरपुर र उनको टिमले मुम्बईको एउटा वेयरहायसमा सय भन्दा पनि बढी फिल्म बेवारिसे अवस्थामा भेटाए । डूंगरपुर भन्छन्, “कसैले त्यो प्रिन्ट र नेगेटिभ त्यसै फ्याकेका थिए ।”
सरकारी तथ्यांकअनुृसार भारतको फिल्म अर्काइभमा सूचीबद्ध ३१ हजार भन्दा बढी रिल र फिल्म नष्ट भैसकेका छन् ।
सन् २००३ मा सरकारी अभिलेखमा भएको आगोलागीमा ६ सय फिल्म नष्ट भए । जसमा सन् १९१३ मा बनेको क्लासिक फिल्म राजा हरिशचन्द्रको मूल कपिको केही रिल पनि थिए । यो भारतमा बनेको पहिलो मौन चलचित्र थियो ।
निर्देशक गौतम घोष भन्छन्, “हामीले आफ्नो इतिहासलाई सम्मान गर्नुपर्छ । इतिहासलाई सम्मान गर्न फिल्महरूको संरक्षण गर्न जरुरी छ ।”
चलचित्र निर्माणमा डिजिटल प्रविधिको आगमन हुनुअघि चलचित्रहरू मूलतः नेगेटिभ र तिनीहरूको डुप्लिकेट सुरक्षित गरिन्थ्यो । साथै पछि हेर्न जारी गरिएको प्रिन्ट पनि सम्हालेर राखिन्थ्यो । भारतमा अधिकांश निर्माताहरूले सन् २०१४ पछि फिल्म (रिल) मा छायांकन गर्न बन्द गरिदिए ।
स्वतन्त्रता आन्दोलनसँग जोडिएका वास्तविक फुटेज
कयौं फिल्म ल्याबले डिजिटल अर्काइभमा राखेसँगै पुराना नेगेटिभ फ्याकिदिने गरेका थिए । उनीहरूले अब नेगेटिभको प्रयोग हुन्न लागेर नै अर्काइभपछि फ्याक्ने गरेका थिए । उनीहरूलाई नेगेटिभको रिजोलुसन आज उपलब्ध डिजिटलकोभन्दा धेरै गुणा राम्रो थियो भन्ने ज्ञान नभएको डूंगरपुर बताउँछन् ।
पछिल्ला ६ महिनादेखि डूंगरपुर र अन्य फिल्म संरक्षण विशेषज्ञहरूले टोलीले भारतमा तीनसय भन्दा धेरै व्यक्तिहरूलाई फिल्म संरक्षणको प्रशिक्षण दिइसकेको छ ।
डूंगरपुरको संस्थाले हालसम्म भारतका शीर्ष चलचित्र निर्माताहरूका ५ सयभन्दा धेरै फिल्महरू संरक्षण गरिसकेको छ । उनको मुम्बईस्थित रहेको संस्थाको केन्द्रले भारतको स्वतन्त्रता आन्दोलनसँग सम्बन्धित वास्तविक फुटेज पनि संरक्षण गरेको छ ।
अभिनेता बच्चन पूराना चलचित्रलाई संरक्षणको पक्षमा वकालत गर्दै आएका छन । दुई वर्षअघि कोलकतामा भएको एउटा फिल्म फेस्टिबलमा बच्चनले भनेका थिए, “हाम्रो पुस्ता भारतीय सिनेमाका शिल्पकारहरूको योगदानलाई सम्मान गर्छ । तर, दुखको कुरा उनीहरूका धेरैजसो फिल्महरू या त जलाइएका छन् वा फोहोरको थुप्रोमा फ्ँयाकिदिएका छन् ।”
बलिउडको विरासत बचाइराख्न अहिलेदेखि नै पहल गर्नुपर्ने उनको जोड छ ।
(सैतिक बिस्वास÷बीबीसी हिन्दी)