काठमाडौं । विश्वव्यापी भोकमरी सूचकांक (जीएचआई)मा नेपाल ७३औँ स्थानमा परेको छ । बुधबार सार्वजनिक गरिएको विश्व्यापी भोकमरी सूचकांक प्रतिवेदन २०२० मा १०७ देशमध्ये नेपाल ७३औँ स्थानमा परेको हो ।
सन् २०२० मा जीएचआई १९.५ छ । सन् २००० मा नेपालको जीएचआई सूचाकांक ३७.४ थियो । सन् २००० मा भोकमरी सूचाकांकमा नेपाल जोखिमपूर्ण अवस्थामा थियो । सन् २००६ मा ३१, सन् २०१२ मा २२.८ थियो ।
सन् २०२० मा भोकमरीको अवस्थामा मध्यम अवस्थामा आए पनि सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्ति हुन गाह्रो प्रतिवेदनमा औँल्याइएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०१५ मा नेपालसहित अन्य सदस्य राष्ट्रद्वारा दिगो विकासका लक्ष्यहरु अवलम्बन गर्ने घोषणा गरेको थियो । यी लक्ष्यहरुमध्ये सन् २०३० सम्म भोकमरी शून्यमा झार्नु पनि एक हो ।
तर, विश्वव्यापी कोरोनाभाइरस महामारी र अन्य चुुनौतीका कारण यो लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको प्रतिवेदनमा भनिएको छ । “यो वर्षको प्रतिवेदन हेर्दा हामी भोकमरी शून्यमा झार्ने लक्ष्यबाट झन् धेरै टाढिएका छौँ,” प्रतिवेदनमा भनिएको छ ।
दीर्घकालीन भोकमारीको समस्याले संसारभरका ६९ करोड मानिस प्रभावित भइरहेका छन् भने १३ करोड ५० लाख मानिसले अहिले पनि उपयुक्त पोषण नपाएको पनि प्रतिवेदनमा भनिएको छ । अहिले विश्वव्यापी भोकमरी सूचकांक १८.२ छ । सन् २००० को तुलनामा यसमा सुधार भए पनि अझै धेरै सुधार हुन आवश्यक रहेको औँल्याइएको छ ।
जीएचआईले भोकमरी र कुपोषणको मापन चार सूचकांकको प्रयोग गरेको हुन्छ । मानिसहरुमा कुपोषणको प्रतिशत, आफ्नो उमेर र शारीरिक बनावटका तुलनामा कम तौल भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशत, आफ्नो उमेरका तुलनामा कम उचाइ भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशत र शिशु मृत्युदरलाई आधार मान्ने गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सन् २०३० भित्र भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिका लागि काम भइरहेको बताए ।
एनजीओ महासंघका अध्यक्ष जीतराम लामाले भोकमरी शून्यमा झार्ने लक्ष्य धेरै टाढा रहे पनि असम्भव भने नरहेको बताए । यो प्रतिवेदन १३२ देशका तथ्यांकको आधारमा तयार गरिएको हो ।
सन् २००० मा मानिसमा कुपोषणको प्रतिशत करिब २४ प्रतिशत थियो भने सन् २०२० मा ७ प्रतिशत हाराहारीमा छ । आफ्नो उमेरको तुलनामा कम उचाइ भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा पछिल्ला २० वर्षमा नेपालले राम्रो सुधार गरेको जनाइएको छ । सन् २००० मा यस्ता बालबालिकाको संख्या ५८ प्रतिशत रहेकोमा सन् २०२० मा आइपुग्दा ३७ प्रतिशतमा झरेको जनाइएको छ ।
आफ्नो उमेर र शारीरिक बनावटको तुलनामा कम तौल भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशत भने यो २० वर्षको अवधिमा खासै सुधार नभएको जनाइएको छ । द्वन्द्व, गरिबी, असमानता र तीव्र गतिमा भइरहेको जलवायु परिवर्तका कारण भोकमरी बढिरहेको औँल्याइएको छ ।