site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली चलचित्र चलाउन पनि हिन्दी सिनेमाकै भर
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतमा पुनः कोरोना संक्रमण बढेसँगै हल रिलिजका लागि डेट लिइसकेका चलचित्र ‘चेहरे’, ‘बन्टी और बब्ली’, ‘सूर्यवंशी’लगायत चलचित्र पछि हट्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली चलचित्र उद्योगमा देखिएको छ । भारतीय ठूला ब्यानरका चलचित्र प्रदर्शन हुन नसकेपछि नेपाली चलचित्रले पनि रिलिज डेट पछि धकेलेका छन् ।

लकडाउनपछि सिनेमा हल खुले पनि भारतीय ठूलो ब्यानरका चलचित्र प्रदर्शन नहुँदा नेपाली चलचित्र पनि रिलिज भएका छैनन् । भारतीय चलचित्र रिलिज भएपछि आफ्नो चलचित्र रिलिज गर्ने तयारीमा नेपाली निर्माताहरु थिए ।

हिन्दी चलचित्र नेपालमा पनि रिलिज भएपछि हलमा दर्शक आउँछन्/आउँदैनन्, हेरेर मात्रै आफ्नो चलचित्र रिलिज गर्ने कि नगर्ने भन्नेमा नेपाली निर्माता थिए । तर, कोरोनाको दोस्रो लहरका कारण भारतमै चलचित्र प्रदर्शन हुन नसकेपछि नेपालको चलचित्र बजार पनि अन्योलमा परेको छ ।

Agni Group

नयाँ वर्षको छेको पारेर रिलिज डेट लिएका नेपाली चलचित्र पछि हटिसकेका छन् । सानो ब्यानरकै भए पनि आउन लागेका केही चलचित्र रिलिज डेट पछि सार्ने तयारीमा पुगेको चलचित्र वितरक गोपालकाजी कायस्थ बताउँछन् । मिनिमम् ग्यारेन्टी (एमजी) नगरेसम्म निर्माताहरु चलचित्र रिलिज गर्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

हिन्दी चलचित्र रिलिज पछि मात्रै नेपाली चलचित्र प्रदर्शन  
“भारतबाट ठूलो ब्यानरका चलचित्र आएपछि उक्त चलचित्र हेर्न दर्शक हलसम्म जान्छन् कि जाँदैनन्, हेरेर मात्रै निमार्ताहरु आफ्नो चलचित्र रिलिज गर्ने तयारीमा थिए,” वितरक गोपालकाजी भन्छन्, “अहिले फिल्म रिलिज गर्दा दर्शक हलमा जान्छन् कि जाँदैनन् भन्ने निश्चित छैन । त्यसैले दर्शकको मनोविज्ञान बुझेर मात्रै निर्माताहरु अगाडि बढ्ने योजनामा छन् । हतार गरेर लगानीमा जोखिम मोल्ने पक्षमा कोही छैन ।”

Global Ime bank

केही विदेशी चलचित्र आएपछि नेपालमा त्यसले माहोल बनाउने र नेपाली चलचित्र रिलिज हुन सुरु हुन्छ भन्ने अपेक्षा चलचित्र विकास बोर्डको पनि थियो । “भारतमा पनि सिनेमा हल रिलिजको माहोल बन्दै थियो । तर, कोरोनाले त्यो माहोल भत्काइदियो । केही विदेशी चलचित्र आएपछि नेपाली दर्शक चलचित्र हेर्न गएपछि नेपाली निर्माताहरुमा पनि आत्मबल बढ्छ र लिलिज हुन्छ भन्ने थियो,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, “विदेशी चलचित्रले माहोल बनाउँदै आत्मविश्वास पनि बढाउँछ । त्यसमा पनि बोर्डले दिने ५/७ लाख रुपैयाँ राहतले अवस्था सहज हुँदै जान्छ भन्ने थियो ।”

चलचित्र विकास बोर्ड निर्माताहरुलाई फोर्स गर्ने अवस्था नरहेको बताउँछ । भारतलगायत विश्वभर नै कतै पनि चलचित्र रिलिज नभएको अवस्थामा मेकरहरुलाई जबर्जस्ती चलचित्र रिलिज गर भन्न नसकिने उनले बताए । बोर्डले प्रदर्शन तथा प्रचारका लागि ५/७ लाख रुपैयाँ मात्रै दिन सक्ने र त्यसकै भरमा निर्माताले जोखिम नमोल्ने उनको भनाइ छ ।

पछिल्लो अवस्थाले चलचित्र क्षेत्रलाई झनै राहत प्याकेज आवश्यक देखिएको भन्दै बोर्डले सञ्चार मन्त्रालयमा लिखित पत्राचार गरिसकेको छ । अर्थ मन्त्रालयमा पनि सहयोगका लागि प्रस्ताव गरेको अध्यक्ष दाहाल बताउँछन् ।

“बोर्डले मन्त्रालयसँग विशेष राहत प्याकेज मागेको छ । त्यो पनि आयो र बोर्डमा रहेको राहत प्याकेज गरेर निर्माण, वितरण र प्रदर्शनमा केही सहयोग गरेको अवस्थामा मनोबल बढ्छ भन्ने सोच थियो,” अध्यक्ष दाहाल भन्छन्, “चलचित्र अब चलाइहाल्ने अवस्था रहेन । स्वास्थ्य मन्त्रालयले सभा, गोष्ठी तथा भिडभाड नगर्नू भनेको अवस्था छ । हल फुल अकुपेन्सीमा चलाउन दिनुपर्यो भन्ने पहलमा थिएँ । तर, अवस्था अन्योलपूर्ण भइदियो ।”

कम्तीमा २० वटा चलचित्र प्रदर्शन हुने वातावरण बनाऔँ, सकिन्छ भने निर्माणमा जाने चलचित्रलाई राहत दिऔँ भन्ने माग गरे पनि बोर्डले सिलिङ तोकेको छैन । बोर्डले पब्लिसिटी र प्रदर्शनमा सहयोग गर्ने यसअघि नै निर्णय गरिसकेको कार्यक्रम हो ।

“पब्लिसिटी, इन्कोडिङमा मात्रै पनि सहयोग गर्दा राम्रै्र चलचित्रको खर्च ८÷९ लाख रुपैयाँ पर्न आउँछ । धेरै सो चल्ने छक्कापञ्जाजस्तो चलचित्रको खर्च २० लाखजति आउँछ,” अध्यक्ष दाहाल भन्छन्, “सामान्य चल्दै नचल्ने चलचित्रको पनि ४ लाखजति हिसाब आउँछ ।”

हिन्दी चलचित्रले जाम खोलिदिने अपेक्षा 
नेपाली चलचित्र उद्योगलाई विद्यमान अन्योलबाट बाहिर निकाल्न हिन्दी चलचित्रलाई ‘नायक’को रुपमा खोजी भइरहेको निर्देशक प्रदीप भट्टराई बताउँछन् । तर, त्यस्तो ‘नायक’ नेपाली चलचित्र उद्योगले अहिलेसम्म भेट्टाउन नसकेको उनको भनाइ छ । कसले सुरुमा चलचित्र प्रदर्शन गर्छ र अहिलेको अन्योल अन्त्य हुन्छ भनेर निर्माताहरू कुरेर बसेको उनको भनाइ छ ।

“हाम्रा चलचित्रमा जसरी अन्तिममा बलिष्ठ नायक आउँछ र उसले अफ्ठ्यारोमा परेकी नायिका तथा समाजलाई बचाउँछ । अहिले नेपाली चलचित्रको अवस्था ठिक त्यस्तै छ,” उनी भन्छन्, “कोही ठूलो नायक आओस् र हाम्रो सिनेमा उद्योगलाई बचाइदेओस् भनेर पर्खिरहेको अवस्था छ । अहिले नेपाली नायकले पनि काम गरेन । हलिउड र बलिउडको नायकले आएर चलचित्र बचाइदेओस् भन्ने हाम्रो अपेक्षा छ ।”

अहिलेको अवस्था ब्रेक गर्न हलिउड र बलिउडको ठूलो चलचित्रको अपेक्षा नेपाली निर्माता तथा बोर्डले गरिरहेको छ ।

बोर्डको आम्दानीको स्रोत हिन्दी चलचित्र
चलचित्र विकास बोर्ड नै आर्थिक संकटको अवस्थामा आउन लागेको अध्यक्ष दाहाल बताउँछन् । अहिले विभिन्न कोषमा रहेको पैसाबाट बोर्डको प्रशासनिक खर्च चलिरहेको बताउँदै अध्यक्ष दाहाल भन्छन्, “आउँदो आर्थिक वर्षमा सरकारले बोर्डलाई बजेट नछुट्टयाए प्रशासनिक खर्च पनि धान्न नसकिने अवस्था छ ।”

बोर्डको आम्दानीको मुख्य स्रोत विदेशी भाषाका चलचित्रबाट उठाएको ट्याक्सबाट आउने रकम हो । एक वर्षभन्दा लामो समयबाट हिन्दी तथा हलिउडका चलचित्र प्रदर्शन नहुँदा बोर्डको आम्दानीको स्रोत ठप्प छ ।

“यो असारबाट बोर्ड सञ्चालन हुने अवस्था नै छैन । यो कुरा मैले मन्त्रालयमा सचिवसँग राखिसकेको छु । यस विषयमा उहाँहरुले पनि छलफल गरिरहनुभएको छ,” उनी भन्छन्, “विगत १४ महिनाबाट बोर्डको आम्दानी शून्य छ । अहिले हामीले जति पनि राहात दियौँ र दिने भनेका छौँ, त्यो बोर्डको आन्तरिक स्रोतबाटै दिएका हौँ ।” आर्थिक अभावका कारण बोर्ड नयाँ कार्यक्रम घोषणा गर्न सक्ने अवस्था छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC