site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कुरूप चरित्र राम्रा चलचित्रका उत्कृष्ट कथा 
Sarbottam CementSarbottam Cement

चलचित्रका लागि संघर्षप्रधान कथा चाहिन्छ । संघर्ष पीडित र पीडकबीच हुन्छ । पीडक सधैँ कुरूप चरित्रका हुन्छन् । जसले कुरूप चरित्रहरुलाई आफ्नो कथा बनाउँछन्, उनीहरुका चलचित्र नै अब्बल हुन्छन् । भलै, नेपालमा कुरूप चरित्रलाई कथा बनाउन मेकरहरु डराइरहेका छन् । त्यसैले नेपाली चलचित्र अपेक्षित राम्रा बन्न नसकेको निर्देशक मनोज पण्डित बताउँछन् । आदर्शका पछाडि नेपाली मेकरहरु लागिरहेका कारण नेपाली चलचित्रमा समाजका कुरूप चरित्रहरु नआएको उनको धारणा छ । कुरूप चरित्र चित्रण गरिएका चलचित्रहरु सफल रहेको बताउने निर्देशक पण्डितको विचार :

० ० ०

नेपाली चलचित्रको सबैभन्दा ठूलो समस्या आदर्श हो । समाजलाई आदर्श बनाउने पक्षमा हामी जुट्यौँ । आदर्श भनेको जैविक अस्तित्त्व होइन । अस्तित्त्वको आधारभूत तत्त्व स्वार्थ हो । स्वार्थहरु सही र गलत हुँदैनन् । स्वार्थले मान्छेको निजत्त्वलाई ठूलो स्थान दिन्छ । मान्छेमा निजत्त्व समय, परिस्थिति, उसको जन्म र गौरवजस्ता पक्षहरुले निर्धारण गर्छ । यसको अर्थ निजत्त्वहरु फरक–फरक हुन्छन् । र, यसलाई प्रतिनिधित्त्व गर्ने स्वार्थहरु फरक–फरक हुन्छन् । यही कारण संसारमा स्वार्थहरुबीच टकराव हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चेतनाको आधारभूत तत्त्व संघर्ष हो । संघर्षबाटै मानव सभ्यताको विकास भएको हो । संघर्ष गर्ने र गराउने पक्षबीच टकराव हुन्छ । अस्तित्त्वले बहुआयमिकतालाई स्थान दिन्छ । संघर्षका लागि सधैँ कारक तत्त्व चाहिन्छ । संघर्षका लागि उत्प्रेरणा दिने तत्त्व  चाहिन्छ । उत्प्रेरणा दिने तत्त्व सधैँ समस्या सिर्जना गर्ने पक्ष हो । र, यो समस्या हो ।

समस्या यथार्थ हो । हरेक समाज र व्यक्तिमा समस्या हुन्छ । समस्यालाई सामना गरेर अगाडि बढ्नुपर्छ भन्ने स्वीकार गर्नु भनेको त्यसविरुद्ध संघर्ष गर्दै अगाडि बढ्नु हो । समस्या सिर्जना गर्ने पक्ष चलचित्रको कथा निर्माण गर्दा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हाम्रो चिन्तन समस्या सिर्जना गर्ने पक्षसँग भाग्ने छ । त्यसलाई स्वीकार गर्न छोडेर त्यसबाट भागिरहेका छौँ । समस्या सिर्जना गर्ने पक्ष सबैभन्दा महत्त्वपूर्ण हो भन्ने हामीले बुझ्न सकेका छैनौँ । यो चेतनाको विकास हामीमा भएको छैन । यदि, यो चेतनाको विकास भइदिएको भए हामी अहिले जुन समस्या भोगिरहेका छौँ, त्यसको समस्या समाधान भइसकेको छ । समस्या समाधानको शृंखलाबाट अर्कोपेरिफेरिमा पुगिसक्थ्यौँ । तर, आज हामीसँग जे समस्या छन् त्यसलाई नबुझी कथाहरु निर्माणमा नेपाली चलचित्रहरु चुकिरहेका छन् ।

Global Ime bank

यही अध्ययनबाट मैले संसारका राम्रा चलचित्र कसरी बनिरहेका छन् भन्ने जानकारी पाएँ । सबैलाई बनाउन मन लाग्ने राम्रो चलचित्रका आधारभूत तत्त्व के हो, चलचित्र राम्रो बनाउन कुन–कुन पक्ष चाहिन्छ भनेर खोज्दा केन्द्रमा रहेको पक्ष रहेछ, कुरूपता अथवा समस्या वा समस्या सिर्जना गर्ने पक्ष । समाजलाई समस्यामा राखिरहने, जकेडिरहने पक्ष, जुन समाजको अँध्यारो पक्ष हो । हाम्रो चेतना, सामाजिक, आर्थिक तथा राजनीतिक प्रणाली, सामाजिक मूल्य–मान्यताको ‘डार्कसाइड’ चलचित्रको राम्रो कथा हो ।

राम्रो चलचित्रले समाज कुरूप हुन्छ भन्छ । राम्रो चलचित्रका आधारभूत तत्त्व कुरुप चरित्र, कुरूप मानव सोच र कुरूप व्यवहार हो । जसबाट मानव भाग्न चाहन्छ । जोबाट मुक्ति मिल्दा मानव समाजमा खुसी मिल्छ भन्ने अवधारणा छ । यही पक्षलाई विश्वका राम्रा चलचित्रले आफ्नो मूलकथा बनाएका छन् । राम्रो चलचित्रले यसलाई सधैँ विशेष स्थान दिएर आफ्नो घर निर्माण गरेको हुन्छ । 

हाम्रो जीवन सधैँ समस्यासँग लडिरहेको छ । भलै, यसको कारकतत्त्व हामी नै हौँ । मेरो वरिपरि रहेको समस्यासँग म लडिरहेको छु अथवा मैले उक्त समस्या खडा गरिरहेको छु ।अथवा उक्त समस्या इतिहासले, राजनीतिले, व्यवस्था वा प्रणालीले अथवा अर्थ व्यवस्थाले गरिरहेको छ । यी सबै मानवले नै सिर्जना गरेका समस्या हुन् । मानवका कुरूप चरित्रले उत्पन्न गराएका यी विषयमा हरेक दिन मानिस लडिरहेको छ । यदि, कोही संघर्ष गर्दैन भने ऊ क्रियाविहीन हुन्छ । त्यसैले यो सम्भव छैन । मानिस क्रियाशील हुन पनि कुरूपताहरुसँग लडिरहेको हुन्छ । यही पक्ष नै चलचित्रमा समावेश गर्न सक्नुपर्छ । यी पात्रहरुलाई चलचित्रमा क्रियाशील बनाउनुपर्छ । समाजमा समस्या सिर्जना गर्ने पक्ष भनेको अर्को पक्षका लागि त्यो कुरूप नै हो । यो चलचित्रमा क्रियाशील हुनै पर्छ । अन्यथा चलचित्र राम्रो बन्दैन । दर्शकले अपनत्त्व गर्दैन । 

यसलाई हाम्रा चलचित्रले समावेश गर्न नसक्नुको कारण दर्शन नै हो । हामी बिनादर्शन हिँडिरहेका छौं । बुद्ध धर्मको भित्री तहमा पुग्ने हो भने मानिसकोसबैभन्दा ठूलो शत्रु नै उसको चिन्तन हो भनेको छ । यसको अर्थ आफ्नो शत्रु आफैँ हो । यो दर्शनलाई मान्ने सर्जक नेपालमा हुन्थ्यो भने ऊभित्रको क्रुरता नै आफैँभित्र खोज्नेथियो । पात्रभित्र नै एन्टागोनिजम अथवा कुरूपता खोज्थ्यो । आफैँभित्र गज्जबका कथाहरु भेटिन्थे । हाम्रा चलचित्र कुनै दर्शन र अध्ययनबाट प्रभावित नभएका कारण अलपत्रको अवस्थामा छन् ।

साउथका चलचित्रमा एन्टागोनिजमलाई सशक्त हिसाबले उठान गरेकै कारण मन पराइएका हुन् । नायक पनि चलचित्रमा एन्टागोनिजमकै एक पक्ष भएर आएका हुन्छन् । रावणलाई देवता मान्नेहरुले विपक्षीबाट समाजलाई जोगाउने संघर्ष पनि देखिन्छ । समाज कुन दर्शनबाट प्रेरित छ, त्यसले चलचित्रलाई राम्रो बनाउँछन् । दर्शन, ज्ञान र चेतनामा नेपाली समाज पछि परेकाले चलचित्रमा पनि पछि रहेको छ । 

अनुराग कश्यपको ‘ग्याङ्स अफ वासेपुर’को उदाहरण लिए पुग्छ । यसमा हरेक पात्रहरु कुरूप छन् । कुरूप पात्रहरुमध्येका कम कुरूप पात्रमा मान्छेको संवेदना रहन्छ । मानिस आफ्नो अस्तित्त्व रक्षाका लागि लड्छ । कुनै ठाउँमा आइपुगेपछि जसले समाजमा अस्तित्त्व स्थापित गर्न सक्छ, उसैले जित्छ भन्ने कुरूपताको कथा बडो राम्रोसँग प्रस्तुत गरेका छन् । त्यसैले उनका पछिल्ला चलचित्रहरुको विशेष चर्चा हुने गरेका छन् । भारतमा उनका चलचित्रले विशेष स्थान ओगटेका छन् ।

‘दंगल’ अर्को उदाहरण हो । आफ्नो अहम्का लागि जुन धारणामा बुवा बस्छ, छोरीहरुका लागि ऊ कुरूप पात्र हो । भलै, उसले पछि कसरी बुझाउँछ, त्यो फरक पाटो हो । आफ्नो स्वार्थका लागि कति कुरूप बनेर लाग्छ । अमिर खानका चलचित्र यही कारण राम्रा भइहरेका छन् ।

त्यसैले कस्तो समस्याको जग बनाइरहनुभएको छ । र, त्यो समस्यालाई प्रतिनिधित्त्व गर्ने चारित्रिक आयाम कति फराकिलो छ, चरित्रहरु मानवीय जीवनसँग कति नजिक छन्, समाजको यर्थाथमा ती पात्रहरु कहाँ अटाउँछन्, यसको आधारमा चलचित्रको जग बस्छ । यो जग जति बलियो हुन्छ, त्यति नै बलियो चलचित्र बन्छ ।

‘लुट’ नेपाली चलचित्रको इतिहासमा किन माइलस्टोन चलचित्र बन्यो भने त्यहाँका हरेक पात्रहरुले एकार्काको जीवनमा ठूलो प्रभाव पारिहेको छ । देखिँदा राम्रा लागे पनि त्यहाँ हरेक पात्र कुरूप छन् । ती पात्रहरुको कुरूप चरित्रले एकार्काको जीवनमा कति प्रभाव पारिरहेको छ, त्यसमा देखिन्छ । पीडित र पीडक एउटै पात्र छ । कथाको सुन्दरता त्यतिबेला देखिन्छ, जतिबेला पीडक नै पीडित हुन्छ । पीडित र पीडक दुवै रहे पनि अन्तिममा सौगात मल्लको पात्र पीडकको रुपमा बलियो बनेर आउँछ । यही कुरा ‘लुट–२’ मा स्थापित गराउन सकिएन । कुरूप पात्र जति कुरूप हुनुपर्ने हो, त्यति नै हुन नसक्दा पहिलोजस्तो दोस्रोमा हुन नसक्दा चलचित्र नै कमजोर बन्यो । 

धेरैले चर्चा नगरेको अर्को चलचित्र हो, ‘चपली हाइट’ । यो चलचित्र राम्रो हुनुको कारण कुरूप चरित्रहरुको प्रयोग नै हो । नेपाली चलचित्र उद्योगमा कुनै चलचित्र इन्ट्रेस्टिङ आइडिया बोकेको थियो भने त्यो चलचित्र हो, चपली हाइट। महिला–पुरुषको सम्बन्धमा यति कुरूपता विरलै पाइन्छ । यस्ता कुरूप पात्रहरु समाजमा विरलै हुन्छन् । त्यसैले यो चलचित्र मन पराइयो ।

मान्छेले सधैँ मेरो जीवनमा समस्या नआइदियोस् भन्ने चाहन्छ । चलचित्रले मान्छेको जीवनमा जस्तोसुकै समस्या आउनसक्छ र आउँछ भन्ने नै देखाउने हो । मेरो जीवनमा जुन समस्या नआओस् भनेर मान्छेले सोचिरहेको हुन्छ, चलचित्रमा त्यही कुरा आएपछि उसले त्यसलाई नियालेर हेर्छ । किनभने,ऊ त्यही समस्याबाट मुक्ति खोजिरहेको हुन्छ । छ । जुन कुरा उसले चलचित्रको पर्दामा देखिरहेको हुन्छ । आफूजस्तै पात्र चलचित्रको पर्दामा कुरूप चरित्रसँग संघर्ष गरिरहेको देखेपछि दर्शकले यो त मेरो चाहना हो भन्ने सोच्छ । र, त्यो चलचित्रलाई मन पराउँछ । 

चलचित्रलाई मन पराउने अथवा स्वीकार्ने आधार नै जुन समस्या नआओस् भन्ने छ, त्यही समस्याको विक्रित रूपमा आउनु हो । 

अधिकांश प्रेमकहानी मनपर्नुको कारण जिन्दगीमा अधिकांश व्यक्तिको कोही न कोहीसँग प्रेम हुन्छ । व्यक्ति आफ्नो प्रोमिकासँग छुट्टिनु नपरोस् भन्ने चाहन्छ । नछुट्टियोस् भन्ने उसको चाहना छ । तर, कथाको मुख्य पात्र अरु पात्रहरुका कारण छुट्टिनुपर्ने परिस्थितिमा पुगेको छ भने त्यहाँ दर्शकले अपनत्त्व गर्छ । त्यसैले लभस्टोरीमा ट्रयाजिटी भन्ने तत्त्व आवश्यक परेको हो । यदि, चरित्रमा कुरूपता नहुने हो भने जस्तोसुकै सिनेमा खिचे पनि, जतिसुकै राम्रा हिरो–हिरोइन राखे पनि त्यो चलचित्र मन पराइँदैन । 

अहिले नेपाली चलचित्र समस्याग्रस्त ठाउँमा छ भनेर हामी भनिरहेका छौँ । यदि, अहिलेको यो समस्याबाट बाहिर आउने हो भने यसका लागि एउटै मूलमन्त्र छ, समस्या । हामीले अब समस्यालाई बुझेर त्यसको बहुआयामिक पक्षलाई समेट्नुपर्छ । समस्यालाई सतही रूपमा हेर्ने हाम्रो समस्या छ । समस्याको गहिराइमा पुगेर प्रस्तुत गर्न सक्यौँ भने नेपाली चलचित्र पनि राम्रो बन्छ ।

समस्याको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षलाई अध्ययन गरेर कथा लेख्नुपर्छ । यसका लागि मान्छेभित्रका कुरूप पनहरुलाई उजागर गर्नुपर्छ । मान्छेभित्रको कुरूपतालाई देखाउन डराउनु हुँदैन । हामी नेपाली फिल्ममेकर मान्छेभित्रको कुरूपता लेख्न डराउँछौँ । यो डराउनुको कारण हिनताबोध हो । मान्छे यो हदसम्म गिर्न सक्दैन भनेर फिल्ममेकरले आफैँ रोकिरहेको छ । मान्छेको चरित्र जस्तोसुकै पनि हुनसक्छ भन्ने यथार्थलाई स्वीकार गर्ने हो भने नेपाली चलचित्र उद्योगले अनपेक्षित राम्रा चरित्र पाउँछ । साँच्चै राम्रा पात्रहरु समेट्ने हो भने त्यसले चलचित्रलाई धेरै माथि पुर्‍याउँछ । र, नेपाली चलचित्रको ठूलो समस्या समाधान हुन्छ । 

(निर्देशक मनोज पण्डितसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC