site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बीपी र भारतका तीन प्रदेश

यसपटक भारतका दुई प्रदेशका राजधानीहरू घुम्ने अवसर मिल्यो । बिहारको पटना र पश्चिम बंगालको  कोलकाता । प्रसंग बीपीले नेपाली कांग्रेस स्थापना र आधुनिक नेपालको प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमि तयार गर्न उपयोग गरिएका मध्ये त्यहाँ स्थित ऐतिहासिक ठाउँको लेखाजोखा संग्रह गर्नु थियो । दिक्कलाग्दो नेपाली राजनीतिभन्दा यसपटक यही विषय लेखाइको रोजाइमा पर्यो । 

बीपी संग्रहालय, सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेलको फोन आयो – पर्सीपल्ट यहाँबाट पटना र कोलकाताका लागि प्रस्थान गर्ने । दिउँसो बाटोमा हिँड्दै गर्दा मोबाइल फोन सम्पर्कको एकैछिन द्विविधामा परे पनि भ्रमण उद्देश्यले उत्साहित गर्यो ।

यही चैत २ गते बिहान हामी दुई सिमरा विमानस्थलमा ओल्र्याैँ र रक्सौल हँुदै बसको यात्राबाट साँझ पटना पुगियो ।

Prabhu Bank
Agni Group
NIC Asia

देशको आन्तरिक राजनीतिको बोझिलो दिक्दारीबाट  छिमेकी देशको दुई राज्यको एक साता लामो घुमाइमा फरक हलुंगो अनुभूतिको हुने नै भयो । यी सात दिनमा देशको राजनीतिले केही आशालाग्दो कोल्टो फेर्छ कि भन्ने झिनो आशा फर्किएर यहाँ आइपुग्दा झन् गन्जागोल र अनिश्चित एवं थप भयग्रस्त भएको रहेछ । कम्युनिस्ट दल र सरकारले बिथोलेकोे राजनीतिको संकट देश, जनता र संवैधानिक लोकतन्त्रमाथि तरबार बनाएर झुन्ड्याइएको निरन्तरता अरु कठोर भएछ । निकासको कुनै लक्षण देखिएको छैन । 

भ्रमण उद्देश्यको केही अंश भए पनि प्राप्त गर्ने बोझ त थियो नै । भोलिपल्टैदेखि बीपी र नेपाली कांग्रेस सम्बद्ध त्यहाँका ठाउँमा पुग्न थालियो, स्थानीय नेताह।ूसँग भेटघाट पनि । पहिलो रोजाइ बीपीको सालिक रहेको पटनाको गोलघर पार्क थियो । अध्यक्ष पोखरेलका यहाँका साथी प्रा. डा. नवलकिशोर चौधरी र राजेशकुमार दासको साथ सहयोग प्राप्त भयो । 

Global Ime bank

गोलघर पार्कको उत्तरपश्चिम कुनामा स्थापित पूर्ण कदको बीपीको सालिक उनकी धर्मपत्नी सुशीला कोइरालाको प्रमुख आतिथ्यमा बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले अनावरण गरेका रहेछन् । स्तम्भमा लेखिएको छ । यसअघि संग्रहालयको टोली त्यहाँ पुगेर गरेको प्रयत्नले केही सफाइ भएको रहेछ । अझै पनि फोहर र यो क्षेत्रको दुरवस्था नै देखियो । 
पहिलो प्रयत्न सालिक क्षेत्रको संरक्षण, सफाइ र सुरक्षाको विषयमा केन्द्रित गरियो । यहाँका सबै भेटघाट र कुराकानी यही विषयबाट सुरु गरिन्थ्यो । परिणाम, हाम्रो आग्रहप्रति भेटिएका नेता संवेदनशील भएको अनुभूति भयो । नेपाली टोलीको आग्रह जायज छ र त्यो पूरा गरिने भन्ने विश्वास हामीलाई दिइयो । 

प्रा. डा. चौधरी ‘बीपी कोइराला सेन्टर फर नेपाल स्टडिज सेन्टर’ (बीपी कोइराला नेपाल अध्ययन केन्द्र ) स्थापना गर्ने अध्यक्षसमेत रहेछन् । उनको दुखेसो केन्द्रलाई आवश्यक गति दिन नसकेकोमा रहेछ । उनकै सहयोगमा बिहारका शिक्षामन्त्री विजयकुमार चौधरीसँग भेटवार्ता भयो । हाम्रो भनाइलाई मन्त्री चौधरीले अत्यन्त गम्भीरता साथ सुने र आश्वासन दिए ¬– बीपीको सम्मानमा बिहार सरकारका सम्बन्धित निकायले ध्यान दिनेछन्, मेरो प्रयत्न रहनेछ । 

कुराकानीमा महात्मा गान्धीको नेतृत्वमा भएको भारतीय स्वतन्त्रता संग्राममा बीपी र नेपालको नेताहरुको ऐतिहासिक  सहभागिता, सहयोग, जनस्तरमा रहेको दुई देशबीचको सम्बन्ध हाल स्खलित हुँदै गएको र बीपी भारतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसाद लगायतसँग स्वतन्त्रता संग्राममा जेल बसेका प्रसंगहरू जोडिएका हुन्थे । 

बीपीलाई अत्यन्त आदर गर्ने प्रा. डा. चौधरीले भने – नेपाल भारत सम्बन्ध संस्कृति, प्रकृति र सहज आवाजाहीमा मात्रै सीमित छैन, राजनीति, स्वतन्त्रता र प्रजातन्त्रसँग पनि जोडिएको छ । त्यही दिन त्यहाँका मुख्यमन्त्री नितिश कुमारको सचिवालयमा पनि हाम्रो उद्देश्य लिखित लामो अनुरोध पत्र दर्ता गराएका हौँ । विधानसभा बैठक चलिरहेकाले यहाँका मन्त्री, सांसद् अत्यन्त व्यस्त पाइए । थाहा पनि भयो यिनीहरू विधानसभा बैठकलाई अत्यन्त महत्त्व दिँदा रहेछन् र बैठकमा ठीक समयमा पुग्दा रहेछन् । 

हामीले भेटेको दुई घन्टापछि नै शिक्षामन्त्री चौधरीको तर्फबाट फोन आयो पटना नगर निगमका प्रधान सचिव आनन्द किशोरलाई भेट्ने । मन्त्रीले उनलाई सबै बताएका रहेछन् र केही समयको प्रतीक्षापछि निगमको कार्यकक्षमा उनीसँग हाम्रो भेटवार्ता भयो । उत्तिखेरै संस्कृति सचिव दीपकलाई जो गोलघरको व्यवस्थापनसँग पनि सम्बन्धित रहेछन् उनले त्यहीँ बोलाए । कोरोना प्रतिरोधको लागि बनाइएको सिसाको सुरक्षा कवच (कोठा)मा माइकको सहाराले पौने घण्टा लामो छलफलमा धेरै कुरा भए । उनले विश्वास दिए – तपाईँहरुको जायज चासो पूरा गरिनेछ । 

यही क्रमको अर्को दिन बिहान हामी एमएलसी( मेम्बर अफ लेजिस्लेटिभ काउन्सिल) का सदस्य प्रा. डा. वीरेन्द्रनारायण यादवको सरकारी निवासमा पुग्यौँ । यहाँलगायत पुगेका अन्य सबै ठाउँमा पाएको सद्भाव, स्नेह र सम्मान स्मरणीय रह्यो । एमएलसी केन्द्रको राज्यसभा जस्तै वा प्रदेशको उपल्लो सदन मानिने रहेछ । काउन्सिल सदस्य प्रा. डा. यादव यहाँको जनता दल युनाइटेड (जेडीयु)बाट मनोनीत प्रतिनिधि रहेछन् र उनी बीपीको बारेमा केही जानकार पनि । 

विधान सभामा रहेका प्रतिनिधि सांसद्को संख्याअनुसार एमएलसी मनोनित गर्ने व्यवस्थाअनुरूप यसै दिन सत्ता साझेदार भारतीय जनता पार्टी (बीजेपी) र जेडीयुबाट बाह्र जना एमएलसी मनोनित भएको खबर भोलिपल्ट पटना संस्करणको हिन्दुस्तान पत्रिकामा पढ्यौँ । यो पत्रिकाले अघिल्लो दिन हाम्रो भ्रमण उद्देश्यसहितको समाचार पनि छापेको थियो । 

प्राध्यापक वा प्रोफेसर भन्नेबित्तिकै यहाँको समाजले गर्ने सम्मान हामीले नजिकैबाट अनुभव गर्यौँ । प्राध्यापकको उच्चारण सुन्नासाथ केही हच्किएको, दबिएको लवजमा बोल्ने । प्राध्यापक भन्न गौरव गर्ने नवलकिशोर चौधरीले मन्त्रीदेखि सञ्चार गृहमा र अन्यत्र पाएको सम्मानको ठाउँले नै हामीले बुझ्यौँ । एमएलसी यादव पनि प्रा. भन्न, भनाइन रुचाउने रहेछन् ।

एमएलसी प्रा. डा. वीरेन्द्रनारायण यादवले भने – आज बैठकमा यो विषय राख्नेछु । अहिले बैठकमा जान हतार छ । साँझ आउनु होला । साँझ उनले बीपी र सालिकको विषयसँगै नेपाल –भारत सम्बन्धको  सूचना, जानकारी एमएलसी बैठक समक्ष आफूले प्रस्ताव गरेको बताए । त्यसबेला सो बैठकमा उपस्थित उपमुख्यमन्त्रीसमेत सदस्य सबैले उनको सूचना, जानकारीलाई प्रशंसा र समर्थन गरेकोबाट उनी पुलकित सुनिन्थे । 

दिउँसो बिहटा विमानस्थल पुग्यौँ । साथमा प्रा. डा. चौधरी र राजेश । यो विमानस्थल नेपालको प्रजातान्त्रिक आन्दोलनको लागि बर्माबाट हतियार ल्याएर ओरालिएको ऐतिहासिक प्रसंगसँग जोडिएको छ । त्यसबेला सानो र अव्यवस्थित विमानस्थलका केही सुरक्षा गार्डलाई मासु खान खसी किन्न पठाएर बीपीले हतियार ओराल्ने र नेपाल भित्र्याउने चाँजोपाजो मिलाउनु भएको रहेछ । त्यसताका यहाँका मुख्यमन्त्री श्रीकृष्ण सिन्हा रहेछन् । 

पटना सहरबाट झण्डै २५ किलोमिटरको दूरीमा रहेको बिहटाको यो विमानस्थल अहिले भारतीय वायु सेना स्थल, बिहारमा रुपान्तरित रहेछ । अनि त त्यहाँ सुरक्षा व्यवस्था कडा हुने नै भयो । यहाँ पनि हाम्रो ध्येयको लिखित पत्र दर्ता गरायौँ तर निकै आग्रहपछि यो काम सम्भव भयो । दिउँसोको खाना हिरो साइकलको पटना कारखानाको सौजन्यमा उसैको क्यान्टिनमा भयो । प्रा. डा. चौधरीका प्रियपात्र कारखानका प्रमुख प्रशासक रहेछन् । संग्रहालयको टोली भएकाले यहाँको पटना संग्रहालयको भ्रमण पनि गर्यौँ र गान्धी संग्रहालयमा पनि पुग्यौँ । भाडामा लिएको मोटरको कारण घुमाइ सहजै थियो । 

चार दिनपछि कोलकताका लागि रेलबाट प्रस्थान गरियो । बाह्र घन्टाको यात्रापछि साँझ जसेर रोड, सतगाची स्थित होटलमा बस्यौँ । यहाँको समाजवादी संगठनका अध्यक्षले एकदिनका लागि साथ दिन फुर्सद निकाले । भोलिपल्ट उनीसँगै भवानीपुरको खालसा स्कूल पुग्यौँ जहाँ बीपी कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभएको थियो । स्कूलका प्रमुख प्रशासक श्रीमती रायसँग भेटवार्ता भयो । उनले त स्कूल स्थापनादेखिका निर्णय पुस्तिका खोज्न लगाएर टेवलमा राखेकी रहिछन् । सन् ०४७ मा भारतीय स्वतन्त्रता आन्दोलनका कारण एक वर्ष विद्यालय पूरै बन्द भएको रहेछ । 

ती रजिस्टर ‘पुस्तिका’मा नेपाली कांग्रेस स्थापनाको निर्णय लेखिन त सम्भव थिएन । यो स्कूलको निर्णय थिएन । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाका लागि ठाउँ, कोठा उपलब्धमात्र गराइएको अनुमान सहजै हुने नै भयो । नेपालसँग आफ्नो स्कूलको पनि इतिहास जोडिएका थाहा पाएर प्रमुख राय अत्यन्त खुशी भइन् । उनी मनिषा कोइराला (अभिनेत्री) को नाउँ लिँदै थिइन् । दिउँसोको खाना आफँैले व्यवस्था गर्ने निम्ता गरिन् र आफ्नै गाडीमा होटलसम्म पुर्याउन लगाइन् । 

यहाँबाट पार्क स्ट्रिटमा रहेको नेपाली कांग्रेसका नेता सुवर्ण शम्शेरको भव्य कनक भवनमा पुग्यौँ । भवनको भव्यता अहिले पनि ताजै रहेछ । भवन क्रेताले कनक ट्रस्ट बनाएर यसको सञ्चालन गरिरहेका रहेछन् । बीपी र सुवर्ण शम्शेरको ऐतिहासिक सम्बन्ध सबैको जानकारीमै छ । त्यहाँका पब्लिक सम्पर्क अधिकृतको भनाइमा कनक भवन सम्पदा (हेरिटेज) कै हैसियतमा संरक्षित छ र गरिनेछ ।

पछि पहिलेको टाइगर सिनेमा हलमा पुगियो । जहाँ बीपीले स्थापना गरेको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शम्शेरले बनाउनु भएको नेपाल प्रजातन्त्र कांग्रेसको एकता (२००६ सालमा) घोषणा भएको थियो । महावीर शम्शेरको यो सिनेमा हल बिक्रीपछि अहिले सिटी मार्केट बनाइएको रहेछ । ऐतिहासिक निसानी चाहिँ यहाँ केही थिएन, कनक भवनको जस्तो । यहाँको भारतीय संग्रहालयमा पनि पुगियो । सतीको दायाँ पाउको औंला पतन भएको मानिने कोलकाताको प्रसिद्ध कालीका मन्दिरमा भने त्यहाँका पण्डाको व्यवहारले कालीको दर्शनलाई नै ुहलुवामा बालुवाु जस्तै बनायो । 

उत्तर प्रदेशको बनारस जाने अवसर जुरेन । भारतमा दोस्रो चरणको कोभिड फैलावटले स्थिति असहज हुने अनुमान भयो । नेपालको प्रजातान्त्रिक आन्दोलन र बीपीको राजनीतिक यात्रासँग बनारस, पटना र कोलकाता जोडिएका प्रमुख नगर हुन् । यी नगर तीन प्रदेशमा पर्छन् । उत्तरप्रदेश, बिहार र पश्चिम बंगाल यी तीनै प्रदेशको सीमाना नेपालसँग जोडिएको छ । 

बीपी संग्रहालय, सुन्दरीजलको बीपी सम्बन्धी वृत्तचित्र (डकुमेन्ट्री) निर्माण गर्ने उद्देश्यमा जुटेको छ । भ्रमण यही कारण भएको थियो । भेटघाटको सबै ठाउँको सम्बन्धित निकाय प्रमुखहरुसँग डकुमेन्ट्री टोली नेपालबाट आउँदा सहयोग प्राप्त होस् भन्ने रह्यो र सबैको जवाफ सकारात्मक । अनिर्णित चाहिँ विहटा वायु सेना स्थलको रह्यो । ती ठाउँको अवस्थिति र सम्बन्ध सूत्र संग्रह गरियो । फर्किएर आउँदा सोचेभन्दा धेरै उपलब्धि भएको लागिरहेको छ, पर्याप्त नभए पनि ।      
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC