विश्वै सबैभन्दा ठूलो लोकतन्त्र भएकोमा गर्व गर्ने भारतको राजनीति भने केही वर्ष यता धर्मकेन्द्री हुँदैगएको छ । भनिन्छ, भारतीय राजनीतिमा धर्मलाई तरकारीमा नुन हालेसरी प्रयोग गरिन्छ । तर, सबै धर्म संविधानतः समान भए पनि व्यावहारिक स्तरमा सरकारी पदाधिकारीबाटै समान र ’सम्मानजनक दृष्टिकोण’ राखिएकोे देखिँदैन । विडम्बना, धार्मिक कट्टरता देखाउनेहरूलाई जनताले अनुमोदन गरिरहेका छन् ।
भारतको पश्चिम बंगालमा यही २७ मार्चबाट राज्य विधान सभाको निर्वाचनका लागि मतदान हुँदै छ । त्यसको चुनावी प्रचारप्रसार पनि भइरहेको छ । यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा मुख्यमन्त्री ममता बनर्जीले नेतृत्व गरेको तृणमूल कांग्रेस र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीबीच हुने देखिन्छ । बंगालमा ३० प्रतिशत मतदाता मुस्लिम छन् भने ७० प्रतिशत गैरमुस्लिम मतदातामा मूलतः हिन्दू छन् ।
भारतीय जनता पार्टीले आफ्नो हिंदुत्वको राजनीतिलाई निरन्तरता दिँदै ७० प्रतिशत हिन्दू मतदातालाई आकर्षित गरेर चुनाव जित्ने रणनीति बनाएको छ। यही रणनीतिअनुसार भाजपाले विकासभन्दा पनि ‘जय श्रीराम’को नारा मुख्य प्रचारको आधार बनाएको छ । रामायणलगायतका पुराणमा ‘मर्यादा पुरूषत्तोम’का रूपमा वर्णित पात्र रामप्रति धेरै हिन्दुमा आस्था रहेको मानिन्छ ।
यही कारणले भारतीय जनता पार्टीले रामलाई आफ्नो राजनीतिको ‘ब्रांड’ बनाएको हुनुपर्छ । रामको राज्यमा सबै जनता सुखी भएको वर्णन रामायणलगायत पुराणहरूमा छ । त्यसैलाई सम्झाउँदै भाजपाले भारतमा ‘राम राज्य’ ल्याउन चाहेको हो भन्ने आधार भने देखिँदैन । बरु, भाजपाको रणनीति त दक्षिणपंथी राजनीतिक प्रभाव विस्तारमा केन्द्रित छ ।
भाजपाले रामको नाममा चुनाव लड्न थालेपछि तृणमूल कांग्रेसले पनि दुर्गालाई चुनाव प्रचारमा जोडेको छ । तृणमूल कांग्रेसकी नेत्री ममता बनर्जी राजनीतिकरूपमा धर्मनिरपेक्ष भए पनि जातले हिन्दू ब्राह्मण परिवारकी हुन् । उनी महिला पनि भएकाले र बंगालमा देवी दुर्गाको विशेष पूजा गरिने भएकाले दुर्गाको नाममा चुनाव प्रचार गर्न खोजेको हुनुपर्छ ।
भाजपा र तृणमूलका नेताहरूबीच अहिले ‘राम र दुर्गा’लाई चुनावी स्वार्थमा प्रयोग गरिएको भन्दै आरोप प्रत्यारोप सुरु भएको छ । चुनावमा धार्मिक पात्रहरूको एकलौटी प्रयोग गर्दै आएका भाजपाका नेताहरू दुर्गाका नाममा चुनाव प्रचार हुन थालेपछि भने अलि अप्ठेरोमा परेका छन् । पश्चिम बंगालमा दुर्गा पूजा विशेष चाडको रुपमा मनाइन्छ । रामलाई छाडेर दुर्गालाई अपनाउन नसक्ने तर बंगालमा रामभन्दा दुर्गा लोकप्रिय रहेको देखेपछि भाजपालाई कठिन भएको हो ।
पश्चिम बंगालको चुनावमा भाजपाका नेताहरूले दुर्गाभन्दा राम शक्तिशाली हुन् भन्ने र तृणमूल कांग्रेसका नेताहरू दुर्गा रामभन्दा शक्तिशाली हुन् भन्दै चुनावी बहस गर्न थालेका छन् । सम्भवतः भाजपाका कार्यकर्ताले प्रधानमन्त्री मोदीलाई रामको अवतार र तृणमूलवालाले मुख्यमन्त्री बनर्जीलाई दुर्गा ठानेका छन् ।
पश्चिम बंगाल मा १९७७ देखि २०११ सम्म कम्युनिस्ट पार्टीको शासन थियो । लामो कम्युनिस्ट शासनका कारण कुनै जमानामा भारतको उन्नत र औद्योगिक प्रान्त मानिने बंगालमा अहिले अपेक्षाकृत पछाडि परेको छ । कम्युनिस्ट कार्यकर्ताको पुँजीवाद विरोधी मानसिकताले औद्योेगीकरण हुन रोकेको थियो । अझै पनि पश्चिमबंगालमा कलकारखाना स्थापित हुनसकेका छैनन् ।
परन्तु, चुनावको विषय भने विकास बन्न सकेन । चुनाव त अहिले राम र दुर्गामा को शक्तिशाली भन्नेमा केन्द्रित हुन पुग्यो । केही दशक यता भारतमा हुने लोकसभा, विधानसभा वा स्थानीय चुनाव सबै धार्मिक विवादमा लडिएको देखिन्छ ।
संविधानले भारतलाई धर्मनिरपेक्ष राष्ट्र भनेको छ । तर भारतका धेरैजसो राजनीतिक पार्टीहरुले धर्मनिरपेक्षताको अवधारणाको दुरूपयोग गरेका हुन्छन् । ‘भोट बैंक’को राजनीतिका लागि समाजलाई धर्मका नाममा विभाजित गरिरहेका देखिन्छन् । भारतको संविधानको धारा १२३ मा भने जाति, धर्म, र भाषाको आधारमा मत माग्नु भ्रष्ट आचरण हो भनिएको छ ।
नेपालमा अझै यस्तो धर्मको आडमा गरिने विकृत राजनीति फस्टाउन सकेको छैन । सायद, नेपालमा भारतमा भन्दा बढी राजनीतिक चेतना छ । केही वर्ष पहिलेसम्म नेपाल हिन्दू राष्ट्र थियो तर धार्मिक आधारमा ध्रुवीकरण भएको थिएन । नेपाल अहिले धर्मनिरपेक्ष राष्ट्र बनेको छ । त्यसपछि यहाँका परम्परागत धर्म मान्नेको संख्या घट्न र इसाई धर्मावलम्बीको जनसंख्या बढ्न थालेकोमा चिन्ता प्रकट गरिएको छ । धर्मपरिवर्तनका लागि लोभलालच दिइने र त्यसमा पश्चिमी इसाई मुलुकहरूले लगानी गरेको सन्देहले बहुसंख्यक हिन्दुहरू बढी झस्किएका छन् । यस्तै स्थिति रहिरहने हो भने नेपालको राजनीति पनि धार्मिक कट्टरताको बाटामा उन्मुख हुनसक्छ ।
यसैले कुनै पक्षले पनि नेपाली समाजलाई धार्मिक आधारमा विभाजन गरेर राजनीतिक लाभ लिने दुष्प्रयास नगरून् !