site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतमा कोरोना बढेसँगै नेपालमा जोखिम ! सीमा नाकामा छैन कडाइ
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई महिनायता घट्दै गएको कोभिड–१९ संक्रमणको दर पछिल्लोसाता बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । 

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सभा, सम्मेलन नगर्न अनुरोध गरेको छ । कोरोनाको जोखिम बढेको भन्दै सरकारले यस्तो अनुरोध गरेको हो ।

काठमाडौं उपत्यकासँगै विभिन्न नाका हुँदै भारतबाट नेपाल आएकाहरुमा संक्रमण बढी देखिएको छ ।  भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर भारतसँगको सीमा नाकामा हेल्थ डेस्क तथा क्वारेन्टिन सक्रिय गर्ने सन्दर्भमा भने कुनै काम भएको छैन ।

फागुनको पहिलो सातादेखि नेपालमा कोभिड–१९ संक्रमितको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।

Global Ime bank

फागुन पहिलो साता ७ गते २ हजार ९३१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसयता लगातार कोभिड–१९ संक्रमितको संख्या ओरालो लागेको देखिन्छ । फागुन मध्यदेखि अन्तिमसम्म ३ हजारको हाराहारीमा पीसीआर परीक्षण गर्दा १ सयभन्दा कम संख्यामा संक्रमण पुष्टि भएको पाइएको मन्त्रालयको तथ्यांक छ । 

फागुनको अन्तिम साता संक्रमितको संख्या दैनिक ४७ सम्म रहेको देखिन्छ । तर चैतयता यो संख्या बढेर एकैदिन ११४ सम्म पुग्यो । चैत ६ गते ३ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको थियो । 

चैत ८ गतेसम्मको तथ्यांक हेर्दा नेपालमा कोभिड–१९ संक्रमितको कूल संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ, जसमध्ये हाल ९९८ जना आइसोलेसनमा छन् भने ४७ जनालाई संस्थागत क्वारेन्टिनमा राखिएको छ ।

भारतमा संक्रमण बढेसँगै नेपालमा पनि जोखिम 

भारतमा कोभिड–१९ को संक्रमण १० महिनायताकै सबैभन्दा बढी फैलिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो तथ्यांकअनुसार भारत महाराष्ट्रको पुणे, मुम्बई, नागपुर, नासिक, पञ्जाव, दिल्ली, छत्तीसगढ, गुजरातलगायतका विभिन्न सहरमा संक्रमितको दर बढ्दो छ । 

शनिबारसम्म भारतमा संक्रमितको संख्या एक करोड १५ लाख १३ हजार ९४५ पुगेको छ । नेपालसँग सीमा जोडिएका भारतीय प्रदेशमा पनि संक्रमण बढिरहेको छ । रोजगारीका क्रममा नेपालीहरु बसोबास गर्दै आएको भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कोरोनाको दोस्रो लहर चल्न थालेसँगै नेपालमा पनि संक्रमण बढ्न थालेको छ ।

केन्द्र भन्छ– नाकामा कडाइ गर्नू 

पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या काठमाडौं उपत्यकामा बढी छ । योसँगैे प्रदेश १, २ र लुम्बिनीमा पनि संक्रमितको संख्या धेरै देखिएको छ । 

खासगरी भारतसँग नाका जोडिएका जिल्लाहरुमा संक्रमण फैलिएको छ । प्रदेश १ का भारतसँग नाका जोडिएका जिल्लाहरुमा भारतबाट आएकाहरु संक्रमित हुन थालेका छन् ।

शनिबार मोरङको कोसी अस्पताल विराटनगरमा परीक्षण गरिएका चारजनामा संक्रमण पुष्टि भएको थियो ।  भारतमा रोजगारीका क्रममा रहेका उनीहरु केही दिनअघि फर्किएको अस्पतालले जनाएको छ । 

खुला सीमानाका भएका जिल्लाहरुमा संक्रमण फैलिन थालेपछि सबै नाकामा हेल्थ डेस्कलाई सक्रिय गराउन तथा क्वारेन्टिन र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । 

भारतसँग सीमा जोडिएका स्थानहरुमा आवश्यक परेमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनसमेत सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । 

उनका अनुसार प्रदेश १, २ र सुदूरपश्चिमका नाकामा विशेष ध्यान दिन प्रदेश सरकारलाई सूचना पठाइसकिएको छ । 

भारतसँग सीमा जोडिएका सबै नाकामा होल्डिङ र क्वारेन्टिन सेन्टर निस्क्रिय 

कोभिड–१९ को महामारीका समयमा सञ्चालन गरिएका अधिकांश क्वारेन्टिन सेन्टर अहिले निस्क्रिय छन् ।

सार्वजनिक स्थान, विद्यालय, तथा सरकारी भवनमा स्थापना गरिएका क्वारेन्टिन सेन्टर बन्द गरिएका छन् भने होल्डिङ सेन्टर पनि हटाइसकिएको छ । 

८ वटा जिल्लाबाट भारतसँग नाका जोडिएको प्रदेश २ मा अहिले भारतबाट आउने–जाने कसैलाई पनि कडाइ नगरिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशहवाका अनुसार शरीरको तापक्रम परीक्षण गरेर आवत जावत गर्न दिने गरिएको छ । 

तत्काल नाकामा कडाइ गर्ने तथा क्वारेन्टिन सेन्टरलाई सक्रिय गर्ने विषयमा मन्त्रालयमा कुनै छलफल भएको छैन । त्यस्तै भारतसँग मुख्य नाका जोडिएको प्रदेश १ मा पनि होल्डिङ र क्वारेन्टिन सेन्टर  विगत् २ महिनादेखि निस्क्रिय छन् । 

संक्रमितको संख्या कम हुँदै गएपछि क्वारेन्टिन र होल्डिङ सेन्टरमा खटाइएका जनशक्ति फिर्ता बोलाइएको थियो । भारतमा संक्रमण बढ्दै गएपछि झापाको भद्रपुर र काकड्भिट्टा, इलामको पशुपतिनगर, मोरङको जोगमुनीलगायतका नाकामा कडाई गर्ने तयारी गरिएको छ । 

तर यसबारे सामाजिक विकास मन्त्रालयको समन्वय समेत आवश्यक हुने भएकाले अहिले कुनै निर्णय नगरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमल बहादुर थापाले बताए । 

भारतसँग खुला नाका जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि क्वारेन्टिन र होल्डिङ सेन्टरलाई सक्रिय गराउन हालसम्म कुनै प्रक्रिया अगाडि नबढेको प्रदेश कानुन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका कानुन अधिकृत मोहनराज जोशीका अनुसार पछिल्लो समय संक्रमण संख्या नदेखिएपछि कोभिड महामारीका समयमा सञ्चालन गरिएका क्वारेन्टिन तथा होल्डिङ सेन्टरलाई निस्क्रिय गरिएको थियो ।

हवाइ माध्यमबाट आउनेलाई यस्तो छ व्यवस्था 

हवाई माध्यमबाट नेपाल भित्रिन हाल सबै मुलुकलाई खुला गरिएको छ । 

तर नयाँ भेरियन्ट देखिएका ब्राजिल, फ्रान्स, बेलायतलगायतका मुलुकबाट आएका नागरिकले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ । 

त्यसका लागि सरकार आफैंले होटलको व्यवस्था गरिरहेको छ । यसबाहेक अन्य मुलुकबाट आएका नागरिकलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने गरिएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले सामान्य स्वास्थ्य परीक्षणपछि ‘ट्राभल हिस्ट्री’ हेरेर संस्थागत वा होम क्वारेन्टिनमा बस्ने भन्ने निर्णय गर्छ ।

सरकारले विगतबाट पाठ सिक्नु, नागरिक सजग हुनु

कोभिड–१९ को विभिन्न प्रजाती देखिएसँगै नेपालमा पनि जोखिम बढेको विज्ञहरुले बताउँदै आएका छन् । 

नेपालमा पछिल्लो समय बढेको संक्रमण दरले फेरी पहिलेकै अवस्था नआउला भन्न नसकिने एवं यसमा सरकार र नागरिक दुवै सचेत हुनु जरुरी रहेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 

पहिले भएका आइसोलेसन र क्वारेन्टिन सेन्टरलाई ब्याकअपको रुपमा प्रयोग गर्नुपर्छ । संक्रमण फैलिन हवाई माध्यमभन्दा भारतसँगको खुला सीमा बढी जोखिमपूर्ण भएकाले सरकारले त्यसतर्फ ध्यान दिने समय आइसकेको छ । 

पहिले साना–साना असावधानीले निम्त्याएको ठूलो क्षतिबाट सरकारले अब भने सिक्नुपर्ने देखिन्छ । 

कोभिड–१९ को संक्रमण कम हुँदैजाँदा जनस्तरमा देखिएको स्वास्थ्यप्रतिको लापरवाही संक्रमण फैलिने अर्को जोखिम हो । 

सभा, जुलुसका नाममा हुने भेला र चार्डपर्वका बेला हुने जमघटले जोखिमलाई अझै बढाएको छ । 

एक वर्षको अवधिमा नेपाल र नेपालीले भोगेको सास्ती बुझेर जनस्तरबाट पनि त्यत्तिकै सजग हुनु जरुरी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC