site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अग्नि परीक्षामा पत्रकार

मुलुक अस्थिर राजनीतितर्फ उन्मुख भएको, कोरोनाका कारण अर्थतन्त्र जोखिमपूर्ण बनेको र पत्रकारहरुको पेसा संकटमा परेको बेला नेपाल पत्रकार महासंघको महाधिवेशन हुँदैछ । नेपाली पत्रकारहरुको प्रतिनिधिमूलक संगठनको यस महाधिवेशनमा पहिलोपटक तलदेखि केन्द्रसम्मको नेतृत्व छान्न प्रत्येक सदस्यले प्रत्यक्ष मताधिकार प्रयोग गर्दैछन् । यसैले यो ऐतिहासिक महत्त्वको महाधिवेशन हो । नयाँ विधानको मर्म र भावना प्रतिष्ठान, जिल्ला हुँदै प्रदेश र केन्द्रीय तहसम्म वास्तविक पत्रकारको प्रतिनिधित्व हुन सकोस् र श्रमजीवीको हक हितमा समर्पित संस्था बनोस् भन्ने नै हो । 

प्रत्यक्ष प्रणालीमा किन जानु पर्‍यो भन्ने विषयमा चर्चा गराैँ । केही वर्ष यता पत्रकार महासंघको निर्वाचन र नेतृत्वसम्बन्धी हाम्रा अनुभव मीठा छैनन् । गैरपत्रकार सदस्यको प्रभुत्व हुनु, पत्रकारको आवरणमा सदस्यता लिएका दल समर्थकहरु नै नेतृत्व चयनका बेला निर्णायक बन्नु र व्यावसायिक पत्रकारलाई छानी छानी पाखा लगाउने प्रवृत्तिले संस्कारको रुप धारण गर्नु जस्ता कारणले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनु परेको हो । व्यावसायिक पत्रकारलाई छानी छानी हराएर छानिएका प्रतिनिधिहरु (पार्षदले) छानेको नेतृत्वले वास्तविक पत्रकारको प्रतिनिधित्व गर्न सक्दैन भन्ने बुझाइ पत्रकारहरूको थियो । 

वास्तविक पत्रकारले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्न नपाएका कारण महासंघमा विकृति बढ्दै गएको भनेर व्यापक आलोचना भएपछि मात्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने वातावरण बनेको हो । यसबाट संस्थामा आमूल परिवर्तन गरी अघि बढ्ने बाटो खुलेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गौरवशाली विगत

विसं २०१२ सालमा कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा गठित पत्रकार संघको उत्तराधिकारी संस्था नै अहिलेको नेपाल पत्रकार महासंघ हो । लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा यसले विगतमा खेलेको भूमिका गर्व गर्न लायक छ । त्यही कारणले नेपाली समाजले यसलाई नागरिक समाजको अग्रणी र विश्वसनीय संस्थाका रुपमा स्वीकार गरेको हो । 

Global Ime bank

तीस वर्षे पञ्चायती कालखण्डमा संविधानमै प्रकाशन पूर्व प्रतिबन्ध लगाउन सक्ने व्यवस्था थियो । समाचार र विचार प्रकाशन गरेबापत पत्रिकाको दर्ता खारेज गर्ने र प्रेसमा ताला लगाउन सक्ने कानुनी व्यवस्था थियो । त्यस्तो चुनौतीपूर्ण समयमा कति पत्रिकाको दर्ता खारेज गरियो । पत्रकारहरु जेल परे । तर, अग्रजहरुले संझौता गरेनन् । प्रेस स्वतन्त्रताको दियोलाई निभ्न दिएनन् । 

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४७ सालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गर्‍यो ।

त्यसपछिका दिन नेपाली प्रेसका लागि अनुकूल बने । तर, लगत्तै माओवादी हिंसा सुरु भयो । सरकार र माओवादी दुवैको बन्दुकको निसानामा पत्रकार परे । 

यस कालखण्डमा २०६१ साल माघ १९ मा राजाले मुलुकको कार्यकारी अधिकार हातमा लिएलगत्तै सञ्चार माध्यममा तत्कालीन शाही नेपाली सेना तैनाथ गरेर कडा बन्देज ( सेन्सरसिप) लागु गरियो । राजनीतिक दलका नेताहरु भूमिगत वा कैदमा रहेको त्यो चुनौतीपूर्ण अवस्थामा पत्रकार महासंघले प्रेस स्वतन्ता, मानव अधिकार र लोकतन्त्रको पक्षमा जनमत बनाउन खेलेको भूमिका इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । 

विसं २०६२/०६३ को जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गर्यो । संविधान सभाबाट बनेको सविधानले नागरिकलाई अधिकार सम्पन बनाएको छ । यस अवस्थामा महासंघको प्राथमिकता अधिकार प्राप्तिको संघर्ष नभई आफ्ना सदस्यको क्षमता अभिवृद्धि र सामाजिक सुरक्षा हुनुपर्छ । 

यी मूल विषयमा अहिले महासंघको नेतृत्व अलमलमा परेको देखिन्छ । 
 
वर्तमानका चुनौती 

कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा देखिएको मन्दीको कारण देखाएर कतिपय सञ्चार गृहले पत्रकारलाई जागिरबाट निकालेका छन् । तीमध्ये धेरै पत्रकारले काम गरेको अवधिको पारिश्रमिकसमेत पाउन सकेका छैनन् । कतिपय सञ्चार माध्यम बन्दै भइसके र कति हुने क्रममा छन् । श्रमजीवी पत्रकारले समयमै पारिश्रमिक पाउन सकेका छैनन् ।

पत्रकारहरुको सामाजिक सुरक्षा महासंघका लागि मुख्य चुनौतीका रुपमा रहेको छ । केही अपवादलाई छोड्ने हो भने यस्ता विषय सम्बोधन गर्न महासंघको नेतृत्व चुकेको छ । 

पत्रकारको दक्षता र समाचार कक्षको क्षमता अभिवृद्धि पनि महासंघको प्रमुख प्राथमिकता बन्नसकेको छैन । 

नयाँको भर

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएपछि आफू पार्षद चुनिन गैरपत्रकारलाई सदस्यका रूपमा महासंघमा हुल्ने प्रवृत्तिमा कमी आएको छ । त्यस्ता पत्रकारको सदस्यता नवीकरण रोकिएको छ र चुनावी अंकगणितका आधारमा लामो समयदेखि सदस्यता पाउनबाट वञ्चित धेरै व्यावसायिक पत्रकार सदस्यका रुपमा संगठनमा भित्रिएका छन् । झन्डै ३५ सय नयाँ सदस्य थपिएका छन् । यो समूहका सदस्यलाई राजनीतिमा उति चासो छैन जति उनीहरुको अग्रज पुस्तामा देखिन्छ । व्यावसायिक पत्रकारिताबाहेक अरू विषयमा मतलब नगर्नेे यो पुस्ता महासंघको छवि सुधार्न निर्णायक बन्न सक्छ । 

आफ्ना कुरा सुन्ने व्यावसायिक दक्षता भएका व्यक्तिहरु नेतृत्वमा पुग्नुपर्छ भन्ने सोच यस पुस्ताका पत्रकारमा देखिन्छ । 

आस्थाको मत

एउटा जीवन्त संस्थामा सुधार गर्ने विषय क्षणभरमा सम्भव हुँदैन । यो निरन्तर चल्ने प्रक्रिया हो । विधान जतिसुकै प्रगतिशील भए पनि सामान्य पत्रकारको सोच र मानसिकतामा परिवर्तन भएको छैन । विभिन्न पेसा र व्यवसायमा संलग्न पत्रकारहरुको संख्या अहिले पनि सबैभन्दा बढी छ । त्यसको कारण पनि छ । संचार संस्थामा मात्र काम गरेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने पत्रकारहरुको संख्या अत्यन्त न्यून छ । सञ्चार माध्यमले पत्रकारको भौतिक र सामाजिक सुरक्षाको प्रत्याभूति गरेका छैनन् ।

त्यसैले पनि अवसरको खोजीका लागि  दल र सत्तासँग नजिक रहनै पर्ने कतिपयको वाध्यता नै छ । दलमा नलागे कुनै अवसर पाइँदैन भन्ने मानसिकताले चुनावमा ठूलो काम गर्नेछ । 

त्यसमाथि अधिकांश सञ्चार संस्था नै राजनीतिक उद्देश्य पूर्तिका लागि दल र तिनका समर्थकको लगानीमा सञ्चालित छन् । त्यहाँ आस्थाका आधारमा जनशक्ति भर्ना गरिन्छ । त्यसको प्रत्यक्ष पनि प्रभाव चुनावमा पर्न सक्छ नै । 

दलीय प्रतिष्ठा

चुनाव पत्रकारको भए पनि प्रतिस्पर्धा दलहरुबीच हुँदैछ । महासंघमा आफू समर्थकलाई जिताउन राजनीतिक दल र तिनका नेताहरुको सक्रियता विगतमा झैँ पत्रकारभन्दा बढी देखिन थालिसकेको छ । महासंघको जितहारलाई दलहरुले प्रतिष्ठाको लडाइँका रुपमा हेर्ने पुरानै चलन हो । 

चुनावको मिति नजिकिँदै गर्दा दल समर्थक पत्रकारका संस्थाहरुबीच तालमेलका विषयमा दिनहुँ गृहकार्य जारी छ । उनीहरु भागबन्डामा पदको बाँडफाँट गरी चुनावी प्रतिस्पर्धामा जाने तहसम्म पुग्न सक्छन् । यी गतिविधि व्यावसायिक व्यक्तिलाई नेतृत्व पुग्न नदिने कारक हुन सक्छन् । 

विवेकको भर

यति हुँदाहुँदै पनि यसपटक व्यावसायिक पत्रकारको बहुमत महासंघको मतदाताका रुपमा छन् । उमेदवार चयन प्रक्रियामा दलहरु निर्णायक भए पनि अलोकप्रिय र गैरव्यावसायिक व्यक्तिलाई अघि नसार्न उनीहरुमा चर्को दबाब परिरहेको छ । अबको प्राथमिकता दलगत छनोटको नेतृत्व होइन । पत्रकारिताका विभिन्न विधाहरु जस्तो छापा, रेडियो, टेलिभिजन, अनलाइन विधाको समावेशी प्रतिनिधित्व हो भन्ने बुझाइ बन्दै गएको छ । उमेदवारी चयनमा यी विषय प्रमुखरुपमा उठिरहेका छन् । 

त्यसैगरी विगतमा जस्तो यस पटक सबै मतदाता एउटै थलामा जम्मा भएर मतदान गर्ने छैनन् । चैत्र २५ गते एकै दिन तल्लो तहदेखि केन्द्रसम्मको नेतृत्वका लागि मतदान हुने भएकाले चलखेलको सम्भावना कम हुन सक्छ । यस अर्थमा पत्रकारले विवेक प्रयोग गर्न सके गैरव्यावसायिकलाई पाखा लगाएर  कुशल नेतृत्वमा स्थापित गर्नसक्ने पर्याप्त आधार छन् । पत्रकारले विवेक प्रयोगमात्र गर्न सके भने व्यावसायिक  नेतृत्वमा स्थापित गर्न अब कुनै ताकतले रोक्न सक्नेछैन । सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गरी सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने पत्रकारहरुमा मतदानका बला आशा र त्रास वा अमुक समुहको प्रभाव पर्न गयो भने यस महाधिवेशनले महासंघलाई झन् गलत बाटोमा लैजाने निश्चित छ । त्यसपछिका दिनमा महासंघले वास्तविक श्रमजीवीको प्रतिनिधित्व गर्न नसक्ने दिन आउन सक्छ । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC