बाह्रखरी
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सेयर बजार र घरजग्गा उत्पादनमूलक कि अनुत्पादक ?
रोविन पौडेल
बाह्रखरी - रोविन पौडेल बिहीबार, चैत ५, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । सेयर बजार र घरजग्गा उत्पादनमूलक (प्रोडक्डिभ) हुन् कि अनुत्पादक (अनप्रोडक्टिभ) भन्ने लामो समयदेखि बहसको विषय हो । अर्थमन्त्रीको ओहोदामा बसेका केही विद्वानले यी क्षेत्रलाई अनुत्पादकको संज्ञा दिँदा बेलाबेलामा अर्थतन्त्रका उल्लेखित दुई क्षेत्र निरुत्साहित हुँदै आएका छन् ।

राज्यले पनि बेलाबेला यी क्षेत्रलाई निरुत्साहन गर्ने नीति लिँदै आएको छ । तर, यी दुवै क्षेत्रले कुल गार्हस्थ उत्पादनमा प्रत्यक्ष र परक्ष रुपमा योगदान गर्छन् । घरजग्गाले प्रत्यक्ष र सेयर बजारले अप्रत्यक्ष रुपमा ।

घरजग्गा तथा रियल स्टेट गतिविधि कुल गार्हस्थ उत्पादनको प्रत्यक्ष योगदान दिने क्षेत्र हो । केन्द्रीय तथ्यांक विभागको संशोधित तथ्यांकअनुसार आव ०७६/७७ को कुल गार्हस्थ उत्पादनमा ९.११ प्रतिशत योगदान रियल स्टेट गतिविधिको छ । पछिल्लो १० वर्षमा रियल स्टेल क्षेत्रले ८ देखि १० प्रतिशतको बीचमा कुल गार्हस्थ उत्पादनमा योगदान गर्दै आएको छ ।

Rohto Landing

Agani Group

रियल स्टेट गतिविधि सेवामूलक उद्योग हो । गत वर्ष यस क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ३ खर्ब १७ अर्ब रुपैयाँ योगदान गरेको छ । अघिल्लो आवको कुल गार्हस्थ उत्पादनमा रियल स्टेटको २ खर्ब ९५ अर्ब रुपैयाँ योगदान थियो । १० वर्ष अघि अर्थात् आव ०६७/६८ मा यस क्षेत्रले १ खर्ब ४३ अर्ब रुपैयाँ योगदान गरेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) ले मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिबिम्बित गर्छ । जीडीपीले एक मुलुकभित्र भएको सम्पूर्ण कारोबारलाई जनाउँछ । निश्चित अवधिमा मुलुकभित्र भएको ‘मूल्य अभिवृद्धि हुने वस्तु तथा सेवा’को अन्तिम कारोबार मूल्यको योगफल नै जीडीपी हो । सबै निजी तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात–निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्छन् ।

sarbottam cement

अर्थात् मूल्य अभिवृद्धि हुने क्षेत्रले कुल गार्हस्थ उत्पादनलाई योगदान गर्छन् । ती क्षेत्रले मूल्य अभिवृद्धि अर्थात् भ्यालु एड कसरी गर्छ त ? विकास हुनु भनेको निर्माण हुनु, पूर्वाधार बन्नु, जलविद्युत् बन्नु, होटल निर्माण हुनु हो । यसले रोजगारीको अवसर सिर्जना गर्छ । बाटो बनेपछि गाडी चल्छन् । व्यापार व्यवसाय प्रवर्द्धन हुन्छन् । यी रियल सेक्टर हुन् जसले जीडीपीमा प्रत्यक्ष योगदान गर्छन् ।

यस्ता क्षेत्रले गर्दा हिजो आम्दानी नहुनेको आम्दानी हुन्छ । हिजो करेसाबारीमा फलेका सागले बजार पाउँछ । हिजो अँध्यारोमा बस्नेले आज बिजुली बाल्न पाउँछन् जसको शुल्क तिर्छन् । रियल स्टेल क्षेत्र यस्तै प्रत्यक्ष क्षेत्र हो । घरजग्गा पनि त्यही हो । यसले कारोबार बढाउँछ, कर तिर्छ जसले कुल गार्हस्थ उत्पादन बढाउँछ ।

तर, सेयर बजार भने कुल गाहस्थ उत्पादनलाई प्रत्यक्ष योगदान गर्ने क्षेत्र होइन ।

पुँजीबजारका दुई पाटा छन् । ती हुन् : प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारले लगानी व्यवस्थापन गरेर योगदान गर्छ । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत कोष तथा पुँजी सिर्जना हुन्छ । पुँजी उपलब्ध भएका कारणले विविध गतिविधि हुन सक्छन् । निर्माण हुँदै गर्दा रोजगारी सिर्जना हुन्छ । 

धितोपत्रको दोस्रो बजारले यति धेरै योगदान गर्दैन । तर, परोक्ष रुपमा पनि निकै कम योगदान गर्छ । अर्थात् यसमा बढेको कारोबारबाट राज्यले कर उठाउनुबाहेक कुल गाहस्थ उत्पादनमा खासै योगदान हुँदैन ।

यसो त दोस्रो बजारमा उपस्थित लगानीकर्ताको बैंक तथा वित्तीय संस्थामा खाता पनि थपिन्छन् ।

जानकारका अनुसार पनि जीडीपीमा सेयर बजारको योगदान हून्छ तर यति नै हुन्छ भन्न सहिँदैन । अर्थशास्त्री डा. रमेश पौडेलका अनुसार अर्थतन्त्रमा उत्पादक क्षेत्र क्रियाशील नहुँदा सेयर बजार बचत परिचालन गर्ने माध्यम हो । यसकारण सेयर बजार पनि जीडीपीको योगदानकर्ता क्षेत्र हुन सक्छ तर यदी अरु क्षेत्र उत्पादनमूलक देखिए, सेयर बजारले योगदान नगर्न पनि सक्ने उनको बुझाइ छ ।

“सेयर बजार यस्तो बजार हो जहाँ एउटाले कमाउँदा अर्कोले गुमाउँछ । तर, सोही बेला राज्यले कर संकलन गरेको हुन्छ,” पौडेलले भने, “ऋण लिएर लगानी गरेको छ भने बैंकलाई ब्याज तिर्छ । यी माध्यमबाट पनि जीडीपीमा योगदान हुन्छ ।”

पौडेलले भने झैं सेयर बजार क्रियाशि हुँदा लगानीकर्ताले दराजमा राखेको पैसा सेयर बजारमा हाल्छ, औपचारिक च्यानलमा पैसा आउँछ । यसले प्रतिफल दिन्छ, पुँजीगत लाभकर तथा आयकर तिरिन्छ ।

“सेयर बजार आफैं प्रोडक्टिभ क्षेत्र होइन,” पौडेल भन्छन्, “अर्थतन्त्र पूर्णरुपमा चलायमान नभएको अवस्थामा निष्क्रिय रहेको पुँजी सेयर बजारमा लगाएर चलायमान हुन सक्यो भने जीडीपीमा उल्लेखरित तरिकाले योगदान दिन सक्छ ।”

विश्वभर गरिएका अध्ययनले सेयर बजारले आर्थिक वृद्धि हासिल हुन्छ कि आर्थिक वृद्धि भएका बेलामा सेयर बजार चलायनमान हुन्छ ? भन्ने प्रश्न गरेका छन् । देश धनी भयो भने धनी मान्छेले सेयर बजारमा खेल्छन् भन्ने एकाथरी बुझाइ छ भने अर्काथरीले सेयर बजार विकसित भयो भने आर्थिक वृद्धिमा योगदान हुन्छ भन्छन् ।

तर, अर्थतन्त्र चलायमान हुनेबित्तिकै आय आर्जन हुन्छ र त्यसको निश्चित हिस्सा करका रुपमा राज्यको ढुकुटीमा जान्छ । कुल गार्हस्थ उत्पादन मापन गर्ने एउटा तरिकामा कर पनि जोडिन्छ । सो करलाई परिचालन गर्न सकियो भने आर्थिक गतिविधिमा योगदान दिन्छ । “यसले प्रत्यक्ष र परक्ष रुपमा जीडीपीमा योगदान हुन्छ,” पौडेलले भने ।

फेरि पनि नेपालको दृष्तान्टमा अन्त लगानी नगरेर सेयर बजारमा लगानी गर्नुपर्ने पो हो कि ? भन्ने जवाफ अर्थतन्त्रको लयले दिने गरेको छ ।

कोरोनाको अवधिमा अन्य क्षेत्रमा लगानी नगरेर सेयर बजारमा पैसा हाल्नु ‘ठीकै’ मानिएको थियो । अहिले परिस्थिति सहज स्थितिमा फर्कंदै गर्दा बजार ओरालो लयमा छ ।

नेपालमा कुनै यस्तो समय थियो, दुई वर्षमा लगानी दोब्बर हुने रियल स्टेटमा लगानी गरिन्थ्यो । अहिले सेयर बजारले पनि बेलाबेलामा यस्तै लक्षण देखाउने गरेको छ ।

यसर्थमा सेयर बजार निष्क्रिय बजार नभएको पौडेलको जिकिर छ । “तर, उत्पादनमूलक, ट्रेडिङ वा रियल स्टेटमा जस्तो द्रुतदरमा योगदान हुने भन्ने कुरा हुँदैन,” उनले भने, “धेरै भोल्युममा कारोबार हुँदा यसबाट राज्यले लाभकर प्राप्त गर्छ र विकासमा योगदान हुन्छ ।” यसबाट प्राप्त राजस्व आर्थिक गतिविधि परिचालन गर्ने सामथ्र्य भयो भने जीडीपीमा राम्रो योगदान गर्न सक्ने दाबी उनको छ ।

सेयर बजारका विज्ञको भने फरक मत छ । नेपालमा जीडीपीमा सेयर बजारको योगदान के हुन्छ भन्ने अध्ययन भइरहेको छ ।

विश्वका अन्य देशमा स्टकको रिटर्नलाई हेरेर जीडीपी ग्रोथलाई प्रोजेक्ट गर्छ कि भन्ने अध्ययन गरिने गरेको थियो । नेपालमा पनि सेयरको प्रतिफल जीडीपीको लिडिङ इन्डिकेटर हो कि होइन ? भनेर अध्ययन भइरहेको हो ।

सेयर बजार वित्तीय गतिविधि हो । जीडीपी रियल गतिविधमा आधारित हुन्छ । यसर्थमा सेयर बजारलाई पनि जीडीपीमा योगदान दिन कारक एउटा हुन सक्ने आकलन गरिएको छ ।

घरजग्गा कारोबार रियल गतिविधि हो । घरजग्गाको कारोबार गर्दा कारोबार रकम सामेल हुन्छ । मालपोत कार्यालयमा विविधि शूल्क तिरिन्छ । पुँजीगत लाभकर तिरिन्छ । करको जीडीपीमा योगदान छ ।

यता रियल गतिविधि मानिएको घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नसके राज्यले प्राप्त गर्ने करसँगै कुल गार्हस्थ उत्पादनमा असर पर्ने पौडेल बताउँछन् ।

उनी भन्छन्, “सरकारले अर्थतन्त्रलाई जसरी व्यवस्थापन गर्छ, त्यसैगरी राज्यलाई लाभ हुन्छ ।” जुन क्षेत्रको व्यवस्थापन राम्रोसँग गर्न सकियो भने त्यसले सरकारलाई लाभ दिन्छ । लाभ अर्थात् कर विकास निर्माण कार्यमा परिचालन गर्न सकिन्छ । र, जीडीपी बढ्छ । “नत्र, सिमित मान्छे मोटाउँछन्,” पौडेलले थपे ।

केन्द्रिय तथ्यांक विभागका अनुसार वित्तीय तथा बिमा गतिविधिले जीडीपीमा ६.७६ प्रतिशत योगदान दिने गरेको छ । विभागले सेयर बजारको योगदानलाई २१ मध्ये कुनै न कुनै क्षेत्रमा सामेल गर्ने गरेको छ ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत ५, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्