काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको सुधार आयो । यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से ४० अंकले बढेको हो । नेप्से २४ सय ३२ अंकमा पुग्यो ।
जीवन बिमा समूह सबैभन्दा उच्च ३७२ अंकले बढ्यो भने निर्जीवन बिमा समूह पनि २२४ अंकले उक्लियो । लघुवित्त समूह ११३ अंकले बढ्दा होटेल र पर्यटन उपसूचक पनि ११२ अंकले उक्लियो । अन्य समूह ४७ अंकले बढ्दा वाणिज्य बैंक समूहमा पनि १९ अंकको सुधार आयो । चन्द्रागिरि हिल्सको सेयरमा आज पनि सर्किट लागेर ११ सय ७५ को मूल्यमा पुग्योे ।
यसदिन कारोबार रकम भने केही घट्यो । २१२ कम्पनीको ८६ लाख कित्ता सेयर ३ अर्ब ३७ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसदिन १५५ कम्पनीका सेयरधनीले कमाए, १५ कम्पनीका सेयरधनीले गुमाए भने आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको एक्सचेन्जले जनाएको छ ।