नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या शनिबार यो वर्षकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार भारतमा २४ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड १३ लाख ३३ हजार ७२८ पुगेको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार संक्रमितहरुको संख्या गत ८३ दिनपछिकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि, योभन्दा धेरै गत डिसेम्बर २० तारिखमा २६ हजार ६२४ जना संक्रमित भएको तथ्यांक सार्वजनिक गरिएको थियो ।
भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म एक लाख ५८ हजार ४४६ जनाको मृत्यु भएको छ । तीमध्ये १४० जनाको शनिबार बिहान ८ बजेभन्दा अगाडि पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले दुई लाख दुई हजार २२ जना संक्रमित अवस्थामै रहेका छन् । संक्रमणमुक्त भएकाको संख्या भने ९६.८२ प्रतिशत रहेको छ । रासस/पीटीआई