site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कृषि उत्पादनमा जलवायु परिवर्तनको असर बढ्दो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–२ का ६२ वर्षीय दिलनाथ अधिकारी कृषक हुन् । उनले आलुलगायतका खेती गर्दै आएको वर्षौँ भयो । तर, आलु उत्पादनमा पछिल्ला वर्ष आएको ह्रासले उनी चिन्तित छन् । “५ वर्षअगाडि एउटै बारीमा १५ मुरी आलु उत्पादन हुन्थ्यो । तर, अहिले विस्तारै–विस्तारै घटेर ७ मुरीमा झरिसक्यो,” उनले भने ।

सोही वडाकी सावित्री अधिकारी पनि विगत ११ वर्षदेखि कृषि पेसामा निरन्तर छिन् । उनले आलुसहित गोलभेँडा, काउली, खुर्सानीलगायतका बाली लगाउँछिन् । पछिल्ला वर्षमा आलु उत्पादनमा आएको ह्रासबाट उनी पनि चिन्तित छिन् ।

सोही वडाका अर्का कृषक हुन्, ६६ वर्षीय शोभाखर अधिकारी । कुनै समय ९० रोपनी क्षेत्रफलमा कृषि कर्म गरेका उनी हाल २० रोपनीमा सीमित छन्, त्यो पनि अरुको जिम्मामा दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यी तीनैजना कृषकको एउटै अनुभव छ, समयमा पानी नपर्दा नै कृषि उत्पादन वर्षेनि घटिरहेको छ । १० वर्षअगाडिसम्म समयमै पानी पर्ने गरेको उनीहरुको अनुभव छ । तर, त्यसयता पानी समयमा परेको छैन । पानी परे पनि कहिले धेरै पर्ने त कहिले माटो पनि नभिज्ने पानी पर्छ । कृषक सावित्री भन्छिन्, “आलु लगाएपछि दुईपटक पानी आइदियो भने पुग्छ । तर, पछिल्लोपटक आएको पानीले त माटो पनि भिजेको छैन । गत वर्षको जत्तिको पनि उत्पादन नहुने डर छ ।”

यस्तै डर छ, अर्का कृषक दिलनाथ अधिकारीलाई पनि । उनी भन्छन्, “राम्रोसँग आलु उत्पादन हुन पानी चाहिन्छ । अहिले समयमा पानी पर्ने गरेको छैन । यो वर्ष आलुको उत्पादन खासै होलाजस्तो छैन ।” उनले पछिल्ला वर्षमा आलुको आकारमा पनि धेरै परिवर्तन आएको बताए । केही वर्षअगाडि जुन आकारको आलु उत्पादन हुन्थ्यो, सोही आकारको आलु अचेल उत्पादन नभएको उनले बताए । “केही वर्षअगाडिको आलुको आकार र पछिल्ला वर्षमा आलुको आकारमा धेरै परिवर्तन आएको छ । केही वर्षअगाडि ठूला–ठूला आकारका आलु उत्पादन हुन्थे, अहिले साना आलु उत्पादन भएका छन्,” उनले भने ।

Global Ime bank

कृषक शोभाखर अधिकारी पछिल्ला वर्ष आलुमा विभिन्न रोग देखिने गरेको बताउँछन् । ‘डडुवा’ भन्ने रोगका कारण आलु उत्पादन प्रभावित बन्दै गएको उनले बताए । “पहिला डडुवा भन्ने रोग लाग्दैनथ्यो । पहिला ‘काय’ किराले अलि–अलि पात खान्थ्यो, आलु उत्पादनमा असर पार्दैनथ्यो । तर, अहिले ‘डडुवा रोगले आलु उत्पादनलाई निकै असर पु¥याएको छ,” उनले भने । विज्ञका अनुसार समयमा पानी परेन र आकाश डुम्म भइरह्यो भने डडुवा रोग लाग्छ, जसले आलु उत्पादनलाई निकै क्षति पुर्‍याउँछ ।

मौसममा आएको परिवर्तनका कारण फूल फुल्ने समयमा फूल नफुली कहिले अगाडि फुल्ने त कहिले पछाडि फुल्ने गरेको अनुभव पनि कृषकको छ । “जुन सिजनमा बाली उत्पादन हुनुपर्ने हो, त्यो सिजनमा भएको छैन । पानी आउने समयमा पानी आउँदैन, पानी नआउने समयमा पानी आउँछ । पानी आइहाल्यो भने कहिले धेरै आउँछ, कहिले कम आउँछ । १० वर्षअगाडि यस्तो थिएन,” सावित्रीले सुनाइन् ।

पहिलेको जस्तो अहिले खेतीका लागि राम्रो मौसम नभएको कृषकहरुले बताए । चाहिएको बेलामा पानी नपर्ने र नचाहिने बेलामा बढी पानी पर्नाले कृषि उत्पादन प्रभावित बन्दै गएको कृषकको भोगाइ छ । मौसमका कारण उत्पादनमा निकै ह्रास आएपछि उत्पादन बढाउन रासायनिक मलको प्रयोग बढाइएको उनीहरुले बताए । “मौसमअनुकूल नभएपछि उत्पादन बढाउन रासायनिक मलको प्रयोग बढाइयो । त्यसले थप माटोको उर्बरा शक्ति कमजोर बनाउँदा पनि उत्पादनमा ह्रास आयो,” कृषक शोभाखरले भने । उनका अनुसार १० वर्षदेखियताको अवधिलाई हेर्दा उत्पादन प्रत्येक वर्ष घट्दै आएको छ । जलवायु परिवर्तनको असरले समयमा पानी नपर्नु, परे पनि कम वा धेरै पर्नु प्रमुख कारण हो भने माटोको उर्बरा शक्ति कम हुँदै जाँदा पनि उत्पादन घट्दै गएको उनले बताए ।

किसान मात्रै होइनन्, विज्ञ एवं सरकारी अधिकारीहरु पनि पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा निकै परेको बताउँछन् । समयमै ध्यान नदिए जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा थप पर्ने अधिकारीहरुको भनाइ छ ।

जलवायु परिवर्तनका कारण नेपालको कृषि उत्पादन निकै प्रभावित भएको बताउँछन्, कृषि तथा वनविज्ञान विश्वविद्यालयका सहप्राध्यापक एवं किट विज्ञान विभाग प्रमुख डा. सुन्दर तिवारी । उनले पछिल्लो समयमा सुक्खाको मात्रा बढ्दै गएको बताए । “पहिले चिस्यान भएको ठाउँ अहिले सुक्खा छ । किराहरु ‘सिफ्टिङ’ भइरहेका छन् । तराईका बालीमा लाग्ने किराहरु अहिले हिमाल चढ्न थालेका छन्,” उनले भने । यस्तो हुनुको कारण तापक्रम बढ्दै जानु रहेको उनले बताए । “कुनै फूल फुल्ने बिरुवाको कुरा गर्ने हो भने लामो समयसम्म त्यो फूल रहन्थ्यो भने अहिले तापक्रम बढेर त्यो फूल छोटो समयसम्म मात्र रहन्छ । खेतीबाली प्रणालीमा कृषि पर्यावरणीय सेवा दिने चिजहरु जलवायु परिवर्तनले प्रत्यक्ष असर गर्छ,” उनले भने ।

उनका अनुसार सुक्खा बढ्दै जाँदा बालीका लागि राखिएको मल कुहिन नसक्ने र मल बिरुवालाई नपुग्ने हुन्छ । यस्तो जलवायु परितर्वनका कारणले गर्दा नै भएको उनले बताए । “यो ‘कम्प्लेक्स’ चिज हो । यो ‘कम्प्लेक्स’ चिजलाई जलवायु परिवर्तनले असर गरेको हुन्छ,” उनले भने । आफूहरुले गरेको अध्ययन–अनुसन्धानले पछिल्लो समयमा मौरीको संख्या घटेको देखिएको पनि उनले बताए । “मौरीको संख्या घट्नु, किराहरुको संख्या बढ्नु भनेको जलवायु परिवर्तनको मुख्य कारण हो,” उनले भने ।

कृषि विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की जलवायु परिवर्तनले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्र नै कृषि रहेको बताउँछन् । “यसको विस्तृत अध्ययन त भएको छैन । तर, फलफूल, तरकारी, अन्नबालीमा जलवायु परिवर्तनले असर पारेको छ । धानमा समयअगाडि नै बाला लाग्ने गरेको छ । अन्नहरु राम्रोसँग नलाग्नु जलवायु परिवर्तनको कारणले नै हो । त्यसैले हामीले ‘क्लाइमेट स्मार्ट एग्रिकल्चर’को कुरा गरिरहेका छौँ,” उनले भने ।

मन्त्रालयका सहसचिव डा. श्रीराम अधिकारीले मौसम परिवर्तन हुनेबित्तिकै आलुको प्रमुख रोग डडुवा हुने गरेको बताए । “आकाश डुम्म भइदियो भने बारी सबै डडुवाले खाइदिन्छ,” उनले भने । त्यसैले सतर्कताका साथ बाली लगाउने हो भने धेरै असर नगर्ने उनको भनाइ छ । डडुवा रोग नलाग्ने गरी औषधि हाल्नको लागि पनि प्रभावकारी औषधि सबै ठाउँमा पुर्‍याउन सकिन्छ कि सकिँदैन भन्ने रहेको समेत उनले बताए ।

कृषि विकास निर्देशनालय पोखराका प्रमुख वासुदेव रेग्मी अहिले जलवायु परितर्वनका कारण विस्तारै–विस्तारै तापक्रम पनि बढिरहेको र त्यसको असर वनस्पति तथा बालीहरुमा पनि पर्ने बताउँछन् । “जलवायु परिवर्तनका कारणले तापक्रम वृद्धि हुँदा पहिलेको तापक्रममा हुर्किरहेका वनस्पतिहरु बढेको तापक्रम सहन सक्दैनन् र लोप हुने अवस्था बनेको छ । त्यसले गर्दा बहुमूल्य चिजहरु पनि विस्तारै–विस्तारै लोप हुने अवस्थामा जान सक्छन् । अर्को, तापक्रमका कारण ती बालीहरु ‘सिफ्टिङ’ पनि हुने सम्भावना छ । अहिले मुस्ताङमा धान हुँदैन । तर, भोलि तापक्रम बढ्दै जाँदा त्यहाँ धानलाई उपयुक्त हुने वातावरण पनि बन्नसक्छ अर्थात मुस्ताङमा पनि धान लगाउने सक्ने अवस्था आउनसक्छ,” उनले भने । फेरि, त्यो तापक्रमका कारण त्यहाँ (मुस्ताङ)का रैथाने बाली, जडीबुटी, स्याउलाई तापक्रम बढी हुन थाल्ने र त्यहाँबाट स्याउ लोप भएर अझै माथि ‘सिफ्टिङ’ हुने वा लोप नै हुने सम्भावना रहने उनले बताए ।

के चाहन्छन् कृषक ?
आलु उत्पादन बढाउन सिँचाइको आवश्यकता परेको कृषक बताउँछन् । “आकाशबाट पानी आयो भने न धर्ती रसाउने हो, चिसो हुने हो,” सावित्री भन्छिन, “सिँचाइको व्यवस्था भए हामी उत्पादन बढाउन सक्थ्यौँ ।” अर्का किसान शोभाखर पनि सिँचाइको राम्रो व्यवस्था भए कृषि उत्पादनमा ह्रास नआउने बताउँछन् । “अहिले पानीका मूलहरु पनि घट्दो छ । पहिले वृक्षरोपण नहुँदा पनि पानी आउँथ्यो । तर, अहिले अत्यधिक वृक्षरोपण गर्दा पनि पानीको मुहान सुकिरहेका छन् । सिँचाइको व्यवस्था हुने हो भने यो क्षेत्रमा जुनसुकै खेतीको उत्पादन राम्रो हुन्थ्यो,” उनले आशा व्यक्त गरे ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर–२ बाट करिब २० किलोमिटर पर सराङकोटमा बोरिङ राखेको सुन्नमा आएको भन्दै सावित्री भन्छिन्, “हाम्रोमा पनि बोरिङ राख्न पाए हामी किसानलाई सहज हुन्थ्यो, उत्पादन बढाउन सक्थ्यौँ ।”

समयमा पानी नपरेपछि सिँचाइको आवश्यकता महसुस भएको बताउँछन्, अर्का किसान दिलनाथ । “सिँचाइको सुविधा भयो भने उत्पादन बढ्छ कि भन्ने आश छ,” उनले भने ।

यहाँका किसानलाई गाउँपालिकाले पानीको सुविधा नदिएको भने होइन । तर, त्यसले उत्पादन बढाउन नपुग्ने किसान बताउँछन् । अन्नपूर्ण गाउँपालिकाले गत वर्षदेखि ‘एक घर एक धारा’को व्यवस्था गरेको अध्यक्ष युवराज कुँवरले बताए । उनका अनुसार गाउँपालिकामा आलु उत्पादन बढाउन गत वर्ष ५० प्रतिशत अनुदानमा आलुको बीउ किसानलाई दिइएको थियो । अनुदान दिँदा धेरै किसानले खरिद गरेको र यो वर्ष पनि ४० प्रतिशत अनुदानमा १८ हजार किलोग्राम आलु किसानलाई उपलब्ध गराइएको उनले बताए ।

गाउँपालिकाको तथ्यांकानुसार गत आर्थिक वर्षमा ७४ हजार किलोग्राम आलु उत्पादन भयो । यो वर्ष पनि सोही परिमाणमा आलु उत्पादन हुने अपेक्षा गरिए पनि समयमा पानी नपरेकाले उत्पादन घट्ने करिब निश्चित भएको किसान बताउँछन् ।

कृषि विकास मन्त्रालयका सचिव डा. कार्की जलवायु परिवर्तनले कृषि क्षेत्रमा नकारात्मक असर पार्दै आएको र अझै पार्ने सम्भावना रहेकाले बेलैमा सचेत बन्नुपर्ने बताउँछन् । त्यसैले सरकारले ‘क्लाइमेट स्मार्ट एग्रिकल्चर’को बारेमा वन तथा वातावरण मन्त्रालय, आइयूसीएन, एफएओसँग मिलेर काम गर्ने गरी नीतिहरु बनाइरहेको उनले बताए । “खासगरी विश्व बैंक, एसियाली विकास बैंकसँग भएका परियोजनालाई पनि ‘इनभारमेन्टल फ्याक्टर’लाई हेरेर कामहरु गरिरहेका छौँ र त्यहीअनुसारको नीतिहरु बनाइरहेका छौँ । ‘लोकल एडम्बसन प्लान’, ‘नेसनल एडप्सन प्लान’ बनाइरहेका छौँ र विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाहरुले गरेका कुराहरुलाई पनि हामी पक्ष राष्ट्र भएकाले सकारात्मक धारणा बनाइरहेका छौँ,” उनले भने ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. तिवारीका अनुसार प्रांगारिक मल बढाउँदै लैजाने, छापो लगाउने, एकल बालीभन्दा मिश्रित बाली लगाउने, बारीको कान्ह्लाहरुमा पनि स–साना बुट्यान राख्ने गर्दा जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सकिन्छ । आलु उत्पादनका लागि सिँचाइ अति महत्वपूर्ण रहेको उनले बताए । “एक किलोग्राम आलु उत्पादन गर्ने ठाउँमा सिँचाइ गरिदियौँ भने दुई किलोग्राम सहजै उत्पादन गर्न सक्छौँ । आलुको उत्पादन बढाउन सिँचाइको ठूलो भूमिका रहन्छ,” उनले भने ।

जलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन प्रभावित भइरहँदा नेपालमा आलुलगायतका कृषि उपज आयात हुनेक्रम भने बढ्दो छ । भन्सार विभागको तथ्यांकानुसार गत आर्थिक वर्षमा ३३ करोड ४० लाख किलोग्राम आलु तथा आलुजन्य सामग्री आयात भएको थियो । आलु तथा आलुजन्य सामग्रीको आयात चालु आर्थिक वर्षमा थप बढ्न सक्ने देखिन्छ । विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै २२ करोड २२ लाख किलोग्राम आलु तथा आलुजन्य सामग्री आयात भइसकेको छ । सन् २०१७/१८ मा २८ लाख ८१ हजार टन आलु उत्पादन भएको तथ्यांक कृषि विकास मन्त्रालयको छ ।

(यो सामाग्री थमसन रोयटर्स फाउन्डेसनको मिडिया सीप विकास कार्यक्रमको हिस्साको रूपमा तयार पारिएको हो ।)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC