site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अल्छी धेरै हुँदा सबै टेलिभिजन खस्किए
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
उनी नामजस्तै दिलदार छन् ।
छन् या छैनन् ?
मलाई यही जान्नु थियो । 
“तपाईंसँग अन्तर्वार्ता गर्न मन छ,” अघिल्लो साता मैले प्रस्ताव राखें ।
उत्साहित भएर उनले आइतबार बोलाए ।
आइतबार दिउँसो ‘कान्तिपुर टिभी’को चौथो तलामा उनको कोठा छिर्नेबित्तिकै मैले भनें, “अन्तर्वार्ताभन्दा पनि मैले केही आरोप टिपेर ल्याएको छु । सधैं अरुलाई प्रश्न गर्ने तपाईंप्रति पनि धेरैका प्रश्न रहेछन् ।”
उनी अक्क न बक्क भए ।
“ओह नाइस, कस्ता आरोप हुन् ?” उनी फिस्स हाँसे ।
“केही प्रोफेसनल, केही व्यक्तिगत,” मैले भनें, “जुन उत्तर कुनै न कुनै बेला तपाईंले दिनैपर्छ ।”
उनी एकछिन घोरिए ।
“तर एउटा सर्त छ,” मैले थपें, “प्रश्न सुनेर रिसाउन पाइने छैन, हाँसीहाँसी उत्तर दिनु पर्नेछ ।”
उनी मज्जाले हाँसे । भने, “म रिसाउन्नँ, नामजस्तै दिलदार छु ।”
फोटोग्राफर रोजितले क्यामरा तेस्र्याएपछि उनले भने, “यस्तै गेटअप ठीक छ है, म जस्तो छु, त्यस्तै ठीक लाग्छ ।”
उनले कपाल मिलाएनन् । सर्ट जस्तो थियो, त्यस्तै छाडिदिए ।
मैले ‘आइसब्रेक’ गरें । उनकै शैलीमा ।
 
सधैं अरुलाई प्रश्न सोध्नुहुन्छ । अरुले यसरी प्रश्न गर्दा कस्तो लाग्छ ?
राम्रो । बेलाबेला स्कुल–कलेजहरूमा मोटिभेसनल स्पिच दिँदा धेरैले प्रश्न गर्छन् । रमाइलो लाग्छ । तर, बानी परेको छ मलाई, प्रश्न सोध्न नै मन पर्छ । मुलुकमा धेरै प्रश्न भएर पनि होला, देश पूरै प्रश्नले घेरिएको भएर पनि होला– जवाफ दिनुभन्दा लिन मन पर्छ मलाई । जताततै प्रश्नैप्रश्न रुमल्लिएको मात्रै देख्छु ।
 
त्यस्तै अनेकन् प्रश्नमध्ये केही प्रश्न मलाई पनि कसैले सोधिदेओस् जस्तो लाग्दैन ?
लाग्छ नि । मेरो स्वभाव नै सेयरिङ गर्ने छ । मैले केही राम्रो पढें, केही सुनें भने सेयर गरिहाल्छु । हाम्रो नियमित मिटिङमा विषयवस्तुबारे छलफल हुन्छ । पहिले साथीहरूले असाइनमेन्टमात्रै दिन्थे । अथवा यो गर त्यो गर भनेर अह्राउँथे मात्रै । मेरो शैली अलि फरक छ । हामी हरेक बिहान अघिल्लो दिनको कामको समीक्षा गर्छौं र राम्रो भए खुलेर प्रशंसा गर्छौं । मैले टेलिभिजनमा अक्षर, श्रव्य र दृश्य सबैको आ–आफ्नै विशेषताका आधारमा ठीक विश्लेषण गर्न सक्छु जस्तो लाग्छ । यही आधारमा हामी फरक–फरक कोणबाट विषयवस्तुको विश्लेषण गर्छौं । म हरेकजसो समाचार सामग्रीमा साथीहरूसँग आफ्नो इनपुट तथा धारणा सेयर गरिरहेको हुन्छु । त्यस हिसाबले कसैले सोधिदियो भने मलाई उत्तर दिन मन पर्छ ।
 
तपाईं आफूले आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? नामजस्तै दिलदार हुनुहुन्छ कि नाममा केही छैन ?
मैले ठीक नाम पाएँ जस्तो लाग्छ । यो नाम मैले बडो आश्चर्यजनक तरिकाले पाएको हुँ । ४ देखि ५ कक्षा जाँदा बुवाले स्कुल परिवर्तन गरिदिनुभो । सरकारीमा पढिरहेको बेला एक्कासि जिल्लामै खुलेको एक बोर्डिङमा लगेर २ कक्षामा राखिदिनुभो । त्यतिबेला मेरो नाम दिनेश थियो । स्कुलसँगै नाम पनि फेरिदिनुभएछ । प्रिन्सिपललाई भन्नुभएछ, मलाई भन्न बिर्सिनुभएछ । प्रिन्सिपलले मलाई ‘दिलभूषण पाठक’ भनेर बोलाउनुभयो तर मलाई मेरै नाम थाहा थिएन । पछिमात्रै थाहा पाएँ । तर, नाम सही राखिदिनुभएछ बुवाले । यो नाम अरु कसैले प्रयोग गरेको देखेको छैन अहिलेसम्म । त्यसो त मेरा दुई दाइ कुलभूषण र विश्वभूषण पाठकको नाम पनि युनिक नै लाग्छ । म नामजस्तै दिलको मान्छे हुँ । साथीहरूले मलाई ‘तेरो दिल त छ नै, तँ भूषण पनि होस्’ भन्छन्, खुसी लाग्छ । एकदमै राम्रा कार्टुनिस्ट राजेश केसी (फलानो)ले ‘मानिस ठूलो दिलले हुन्छ’ भन्ने ‘मुनामदन’को एउटा लाइन फ्युजन गर्दै ‘मानिस ठूलो दिल भूषणले हुन्छ’ भन्ने टिसर्ट नै डिजाइन गरिदिनुभयो । हो पनि, मानिस ठूलो आखिर दिलले नै त हुन्छ । र, अहिलेको स्वार्थी युगमा दिलको झनै ठूलो महत्व छ ।
 
र, बल्ल मैले ८ जनासँग टिपेका आरोपको पोयो फुकाएँ । पहिलो प्रश्न त्यही राखें, जुन मलाई आठैजनाले सुझाएका थिए–
 
तपाईंसँग कुरा गर्न आउँदा मैले तपाईंनजिकका धेरै व्यक्तिसँग कुरा गरेको थिएँ । कतिपयले तपाईंको नाम र काम फरक छ भने । कतिले पूर्वाग्रही भने । कारण– तपाईं ‘कान्तिपुर टिभी’मा प्रधानसम्पादक भएर आएपछि १९ कर्मचारीले जागिर छाडेछन् । यो तपाईंको सफलता थियो कि असफलता ?
सुन्दर प्रश्न । मलाई कसैले यो प्रश्न सोधिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । यो प्रश्नचाहिँ तिनै १९ जना साथीहरूलाई व्यक्तिगत रूपमा भेटेर हरेकलाई सोधिदिनुभयो भने मलाई अझ बढी न्याय हुन्छ किनभने उहाँहरूका आफ्ना मुद्दाहरू थिए । इमानदार भएर भन्नुपर्दा मेरो कारणले आजसम्म कोही पनि मान्छे छाडेर गएका छैनन् । म मान्छेहरूलाई एकदमै धेरै सम्मान गर्छु । १३ वर्ष काम गरेको संस्थामा फेरि आउँदा म पत्रकारको मात्रै नभई व्यवस्थापकको भूमिकामा छिरेको हुँ । सुरुदेखि नै मेरो स्पष्ट दृष्टिकोण थियो । यहाँ पुनः आउनुअघि मैले मानव संशाधन तथा व्यवस्थापन विज्ञहरूसँग सोधेको पनि थिएँ– मेरो प्रपर अप्रोच, बडी ल्यांग्वेज के हुन सक्छ ? कति एग्रेसिभ रूपमा अगाडि बढ्ने ? यहाँ काम गर्ने कर्मचारीसँग म कुन हदसम्म अनुकूलन हुन सक्छु ? उनीहरूको मनोविज्ञान राम्रोसँग कसरी बुझ्ने ? यी सबै कुरा सोचविचार गरेर म टिभीमा छिरेको हुँ । आउनुअघि प्रबन्ध निर्देशकसँग भनेको थिएँ– पहिले म राम्ररी बुझ्छु, कसको विशेषता के छ, कसको क्षमता के हो, कसको कमजोरी के छ, को जाँगरिलो र को अल्छी छ भनेर मूल्यांकन गर्छु । संस्थाले मलाई दिएको सबैभन्दा ठूलो अधिकार कामका आधारमा म तत्काल कसैलाई पनि दण्ड र पुरस्कार दिन सक्छु । १० वर्षअघि मैले कान्तिपुर दैनिक छाडेपछि अहिलेसम्मको अवस्थामा धेरै परिवर्तन आइसकेको छ । कर्मचारीको कार्यशैली धेरै फेरिइसकेको छ । यो बीचमा विषयगत तालिम, अभिमुखीकरण केही भएका थिएनन् । यी कुरा मैले तत्काल सुधार गरें । 
जति पनि साथीहरू संस्था छाडेर जानुभएको छ, उहाँहरूमध्ये केही पहिले नै कारबाहीमा परिसक्नुभएको थियो । व्यवस्थापनले कतिपयलाई घटुवासम्म गरेको थियो । उहाँहरूले बाहिर निस्किने मौका खोजिरहनुभएको थियो । एउटा नयाँ टिभी आउँदैछ भन्ने समाचार उहाँहरूका लागि उमंगको खबर थियो । केही साथीहरू त्यतै लाग्नुभयो । केही तिनको प्रलोभनमा परी पछि लाग्नुभयो । २–३ जना राम्रा साथीहरू अन्य संस्थामा अलिक बढी पारिश्रमिक र सुविधा पाएपछि जानुभयो । म बसिरहेको कुर्सीमा १२ वर्षसम्म बस्नुभएका तीर्थ कोइराला दाइले केहीलाई लगेर अनलाइन सुरु गर्नुभयो, अझै केही साथी लैजान खोज्दै हुनुहुन्छ । 
बरु तपाईंलाई भन्दिऊँ– म आइसकेपछि १८–२० कर्मचारीको बढुवा भइसकेको छ, जुन अहिलेसम्म हुन सकेको थिएन । २५ भन्दा बढी साथीहरूको पारिश्रमिक बढेको छ । किनभने साथीहरूको मनोबलसँगै कान्तिपुर समाचारको स्तर बढाउनु पनि मेरो चुनौती छ ।
अहिले काम गरिरहेका साथीलाई सोध्नुभयो भने उहाँहरूले पक्कै भन्नुहुनेछ– अहिले यो कुर्सीमा बस्ने मान्छे धेरै व्यावसायिक, इमानदार र राम्रो उत्प्रेरक हो ।
 
छाडेर जाने त गए नै, अहिले तपाईंसँगै काम गरिरहेका कर्मचारीको पनि त गुनासो छ नि । तपाईंले आफूनिकटका व्यक्तिलाई काखी च्यापेर ‘क्यामेस्ट्री’ नमिल्नेहरूलाई जगेडामा राख्नुहुन्छ रे !
हाहा । एकपटक व्यवस्थापनमा गएर सोध्नुस् । आजसम्म मैले कुनै पनि व्यक्तिलाई कुनै पनि विभागबाट कतै लगेको छैन । उल्टै उनीहरूको सशक्तीकरणका लागि काम गरिरहेको छु– चाहे लजिस्टिकल्ली होस् या मनोवैज्ञानिक रूपले । चाहे प्रशंसा गरेर होस् चाहे प्रेरणा दिएर । मैले टिभीको स्क्रिनमा देखिने दृश्यमात्रै होइन, यहाँको मानव संसाधनमा पनि सुधार गर्न खोजिरहेको छु । म आइसकेपछि ३ पटक कार्यशाला गरिसकेको छु, जुन ‘कान्तिपुर टिभी’को १३ वर्षे इतिहासमा पहिलो पटक हो । मैले मेरो टिममा ‘एप्रिसियटिभ इन्क्वायरी अप्रोच’ अपनाएको छु ।
 
१० वर्षअघि ‘कान्तिपुर’ दैनिकबाट निस्किनुभो । अहिले टिभीमा झनै ठूलो जिम्मेवारी लिएर आउनुभयो । त्यतिबेला निस्किनुभयो किन र अहिले फेरि आउनुभयो किन ?
दुइटा कारण छन् । त्यतिबेला व्यवस्थापनसँग मेरा केही असन्तुष्टि थिए । मैले केही माग राखेको थिएँ । ती माग सम्बोधनमा आलटाल भएपछि निस्किएको हुँ । तर, चित्तदुखाइ थिएन है कोहीसँग । दोस्रोचाहिँ– त्यतिबेला मैले व्यक्तिगत रूपमा बनाएका ३ वटै डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा छानिएका थिए । ती डकुमेन्ट्री दर्जनभन्दा बढी फेस्टिबलमा गए । त्यतिबेलासम्म एकजना व्यक्तिले एउटै समयमा ३ वटा फरक–फरक डकुमेन्ट्री बनाएको सुनिएकै थिएन । त्यो अवसर छाड्न चाहिनँ । म त्यो विद्या एक्सप्लोर गर्न चाहन्थें । ‘कान्तिपुर’ छाडिसकेपछि १० वर्षजति स्वतन्त्र भएर काम गरें । परामर्शदाताको रूपमा एकदमै राम्रो नाम पनि बनाएँ । मिडिया रणनीतिदेखि लिएर त्यसको कार्यान्वयनमा मेरो सुझबुझपूर्ण काम देखेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था प्रभावित पनि भए । मेरो एउटा डकुमेन्ट्रीले सन् २००९ को ‘वल्र्ड टेलिभिजन अवार्ड’ पनि पायो । यो बीचमा ‘कान्तिपुर’ व्यवस्थापनले २–३ पटक कफी खान बोलायो पनि । मैले आलटाल गरें । पछि अरु भगिनी संस्थाका सम्पादकहरूले पनि आउन आग्रह गर्नुभयो । त्यसपछि म फर्किएँ ।
 
तर, कतिपय व्यक्ति तपाईंलाई संस्थाले कारबाही गरेर नेपालगन्ज पठाएको पनि भन्छन् । किन कारबाहीमा पर्नुभएको ?
हो । तर, संस्थाले कारबाहीको कारण देखाएन । तर, मैले बुझेसम्म त्यतिबेला पत्रकार महासंघको पहिलो प्रतिष्ठान शाखा खोल्दा म सभापतिको उम्मेदवार थिएँ । एकजना अर्का पनि उम्मेदवार थिए तर उनको स्वभाव, चरित्र अरु साथीहरूलाई मन पर्दैनथ्यो । मैले उम्मेदवारी दिएपछि व्यवस्थापनले रुचाएन । ‘यो बाठो भयो’ भनेर कारबाही गरेको बुझाइ आम साथीहरूको थियो । तर, त्यही कदम मेरा लागि जीवनको टर्निङ पोइन्ट भयो । नेपालगन्ज त बाहनामात्र भयो । सिंगो मध्य र सुदूरपश्चिमाञ्चल पुगेर मैले समाचार लेखें । त्यो बेला माओवादी हिंसा त्यहाँका २–४ जिल्लामा मात्र सीमित थियो । मैले पत्रकारितामा मेरो नाम पनि त्यहीँ गएर बनाएको हुँ ।
 
‘कान्तिपुर’ ठूलो मिडिया हाउस भएकाले यहाँभित्रका राम्रा–नराम्रा कुरा छिटो बाहिर पुग्छन् । ‘साँघु’ साप्ताहिकले त कतिपटक लेखेको लेख्यै गर्‍यो पनि । त्यसबाट आत्तिएर तपाईंले आफूमातहतका कर्मचारीलाई ‘साँघु’का रिपोर्टर भनेर हतोत्साही पनि गर्नुभयो रे ! आफ्नै कर्मचारीसँग कत्रो अविश्वास ?
‘साँघु’ धेरैले पढ्लान् पनि । उसलाई यस्ता विषय छाप्न मजा पनि आउँछ होला । यसमा पनि मेरो आग्रह छ– एकपटक ‘साँघु’का सम्पादक गोपाल बुढाथोकीज्यूलाई भेटेर सोध्नुहोला– तपाईंलाई सूचना र समाचार कसले दिन्छ र त्यसमा कति सत्यता हुन्छ ! म आउनुभन्दा धेरै अगाडिदेखि नै यहीँभित्र राज गर्न र जागिर खान ठूलो तहमा बस्नेहरूले समेत ‘साँघु’मा आफूअनुकूलका समाचार छाप्ने गरेका रहेछन् । त्यो म बसिरहेको कुर्सीमा बस्नेहरू हुन् वा अरु कुर्सीमा– सबैले गर्थे । म आइसकेपछि पनि विभिन्न बहानामा ममाथि प्रहार गरियो । यो गलत रिपोर्टिङसँग साथीहरू चिन्तित पनि हुनुहुन्छ । एक–दुई खुसी पनि होलान् ।
मैले ‘तपाईं साँघुको रिपोर्टर’ भनेर कसैलाई भनेको छैन, कसैसँग स्पष्टीकरण सोधेको छैन । आजसम्म कुनै पनि साथी अतिरिक्त समूहमा परेका छैनन् । कुनै पनि साथीको बिट परिवर्तन भएको छैन । बरु कामै नगर्नेलाई बढी जिम्मेवारी दिएका छौं । म कर्मचारी साथीहरूलाई जहिले पनि व्यावसायिक धर्म निभाउन भन्छु । जागिर खाइसकेपछि संस्था र यहाँका कर्मचारीलाई गिराउने गरी समाचार लेख्नु राम्रो होइन भन्ने गरेको छु । किनभने, व्यावसायिकतामा इमानदारी हुन्छ ।
 
इमानदारीको कुरा आइहाल्यो । केही समयअघि कान्तिपुर टेलिभिजनजस्तो ठूलो संस्थाले मिनासिंह खड्काबारे नबुझेरै त्यति धेरै बढाइचढाइ गर्‍यो  । यसबारे ठूलो विवाद पनि भयो । नबुझेरै अन्तर्वार्ता लिनुभएको हो ?
राम्रो प्रश्न गर्नुभयो । म मान्छेलाई जति धेरै प्रश्न उठाउँछु, त्यसको आधार मसँग हुन्छ । त्यसै अनुरूप म ‘टफ टक’मा प्रश्न सोध्छु । त्यो किनभने प्रश्न ममाथि पनि आउन सक्छन् । मिनासिंह खड्काको कुरामा म साथीहरूसँगसँगै चुकें । चुकेका केही साथीहरूले मलाई पनि चुकाइदिनुभयो ।
म खासगरी दुईथरी व्यक्तित्वहरूसँग अन्तर्वार्ता गर्छु– १) राजनीतिक व्यक्तिहरू, जो त्यो हप्ताको राजनीतिमा सबैभन्दा बढी चर्चामा हुन्छन् र जसका कुरा जनता सुन्न चाहन्छन् । २) राजनीतिभन्दा नितान्त फरक क्षेत्रका व्यक्तिहरू । यसको आशयचाहिँ दर्शकमा उत्प्रेरणा जगाउने हो ।
‘टफ टक’ भन्दाभन्दै म त्यस्ता धेरै मान्छेलाई ल्याउन रुचाउँछु, जसका कुरा सुनेर दर्शक प्रेरित होऊन् । म त्यस्ता व्यक्तिलाई खोजीखोजी ल्याउँछु । राम्रो काम गरिरहेका दृष्टिविहीनलाई ल्याएको छु, दुइटै हात नभएर पनि सरकारी निकायमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई ल्याएको छु । राम्रा, असल वैज्ञानिक र सामाजसेवीलाई ल्याएको छु ।
यही सिलसिलामा मिनासिंह खड्काको नाम आयो । हाम्रै संस्थाको ‘नेपाल’ म्यागेजिनले उहाँबारे एकदमै राम्रो फिचर छाप्यो । त्यो आलेखले मलाई तान्यो र ‘टफ टक’मा ल्याउँछु भन्ने लाग्यो । त्यो लेख्ने रिपोर्टरलाई दुईपटक सोधें । दुईपटक नै उनले आत्मविश्वास देखाए । मिनासिंह खड्का ‘टफ टक’का लागि एकदमै सुहाउँदो नाम हो भने । सम्पादकलाई सोधें, उहाँले पनि त्यही भन्नुभयो । कान्तिपुर मिडियाका सम्पादकहरूको एउटा विशेषता के हो भने– हामी आफ्ना रिपोर्टरहरूलाई उनीहरूको क्षमताको सम्मान गर्छौ र पूर्ण रूपमा विश्वास गर्छौं । ‘नेपाल’लाई मात्रै मैले आधार मानिनँ । खोजबिन गरें । ‘नागरिक’ दैनिकमै प्रा.डा. मिनासिंह खड्का भनेर लेख छापिएको पनि भेटाएँ । ‘गेट’ कलेजमा पनि उहाँको राम्रो उपस्थिति देखियो । सार्वजनिक कार्यक्रमहरूमा बडो गर्व र सम्मानसाथ उहाँलाई सहभागी बनाएको भेटियो ।
मैले कार्यक्रममा बोलाउँदा प्रमाणपत्र लिएर आउनुस् भन्न मिल्दैन । सामाजिक प्रभाव र मेरो अनुसन्धानको नतिजाका आधारमा मैले उहाँलाई ‘टफ टक’का लागि उत्तम ठानें । मेरो कार्यक्रममा बोल्दा पनि उहाँ ठीकै देखिनुभएको छ । उहाँले दिएका तथ्यहरू करिब–करिब मिल्छन् । पछि अरु अन्तर्वार्तामा जोस्याइयो पनि होला– उहाँले अलि गफ दिनुभयो । मिसेल ओबामादेखि हिलारीसम्मका कुरा गर्नुभो, जसमा सत्यता थिएन । मसँग कुरा गर्ने बेलामा उहाँका कुरा त्यति गलत भएजस्तो लागेन । मानसिक रोगीका कुरा पनि आए । आज ठीक भएको मान्छेले भोलि मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न सक्छ । तर, मेरो कार्यक्रममा आउँदा उहाँ ठीक हुनुहुन्थ्यो ।
कार्यक्रम बजिसकेपछि मैले उहाँसँग प्रमाणहरू मागेको थिएँ । उहाँले केही दिनुभयो पनि । मदर टेरेसासँग बसेको तस्बिर पनि सार्वजनिक गर्नुभयो । पीएचडीसम्बन्धी प्रमाण तुरुन्तै दिने वचन दिइसक्नुभएको छ । हार्भर्ड विश्वविद्यालय गएको देख्ने मान्छेहरू पनि रहेछन् ।
 
‘कान्तिपुर’को प्रतिस्पर्धी मिडिया ‘नागरिक’ले मिनाबारे उत्खनन् नै गर्‍यो । ‘नेपाल’ले छापेको प्रोफाइल र तपाईंले लिनुभएको अन्तर्वार्तामा दिइएका कति तथ्यभन्दा मिनासिंह खड्काको चरित्र र व्यक्तित्व भिन्न रहेको भन्दै महत्वसाथ रिपोर्ट छाप्यो । त्यो रिपोर्टले मिना गलत भएको प्रमाण पनि पेस गरेको छ । यति देखिसकेपछि तपाईंलाई ‘मैले त्यो अन्तर्वार्ता नलिएको भए हुन्थ्यो’ भन्ने लाग्छ कि लाग्दैन ?
लाग्छ । अन्तर्वार्ता लिइसकेपछि पनि मैले भेरिफाई गर्न एक हप्ता रोकेर राखेको थिएँ । त्यतिबेला पाएको सूचनाका आधारमा उनी सही नै छिन् भनेर हामीले अन्तर्वार्ता प्रसारण गर्‍यौं । हामीले पनि कसैसँग सन्दर्भ लिने हो, सूचना लिने हो । आफैंमा कोही परिपूर्ण हुँदैन । तपाईंले ‘नागरिक’को कुरा उठाउनुभो, त्यही ‘नागरिक’ले प्रा.डा. मिनासिंह खड्काको नाममा शिक्षा क्षेत्रबारे एउटा लेख नै छापेको छ कुनै बेला । मैले त्यसलाई सन्दर्भ सामग्री मान्ने कि नमान्ने ? प्रशस्त पत्रपत्रिका, म्यागजिन, टिभीमा उहाँको व्यक्तित्वसम्बन्धी सामग्रीलाई मैले सन्दर्भ मानेर अन्तर्वार्ता लिएको हुँ । ती सबै सन्दर्भ सामग्री गलत रहेछन् । उनीहरूले नै राम्ररी अनुसन्धान नगरेको पाइयो ।
 
यो दर्शकसामु माफी माग्नुपर्ने विषय थियो कि थिएन ?
एउटा कुनै निष्कर्षमा पुगियो र त्यसले समाजमा हानि गरेको देखियो भने माफी माग्नुपर्छ । सामाजिक सञ्जालमा धेरै मान्छेले ‘दिलभूषणले माफी माग्नुपर्छ’ भन्नुभयो । त्यसपछि मैले निरन्तर यो विषयमा अध्ययन गरिरहेको छु । मिनासिंह खड्का सही हुनुहुन्थ्यो कि गलत भनेर मैले अहिले पनि खोज्ने प्रयास गरिरहेको छु । मेरो अध्ययनले उहाँलाई पूर्ण रूपमा गलत भन्ने निष्कर्ष निकालिसकेको छैन । केही साथीले माफी मगाउन अलि हतार गर्नुभो । 
 
यसबारे सामाजिक सञ्जालमा प्रश्न सोध्दा सहन नसकेर धेरैलाई ब्लक गर्नुभो रे नि !
करिब–करिब दर्जन मान्छेलाई ब्लक गरें होला । नियोजित रूपमै कसैलाई दुःख दिने चरित्र बोक्ने र साह्रै अशिष्टहरूलाई मैले ब्लक गरेको हुँ । जसले मुकुण्डो लगाएका छन्, जसको कुनै परिचय छैन र जसले केही कुरा बुझेकै छैन, त्यस्तालाई पन्छाएकै हुँ । भीडमा आएर ढुंगा हान्नेलाई म अहिले पनि ब्लक गर्छु ।
 
अनि तपाईंले ‘टफ टक’का पाहुनाबाट आफ्नो निष्कर्ष र दृष्टिकोण बोल्न लगाउनुहुन्छ भन्ने आरोपलाई चाहिँ कसरी ब्लक गर्नुहुन्छ ?
म खर्च दिन्छु, केही अन्तर्वार्ता हेरेर यो आरोप पुष्टि गर्न लगाइदिनुस् न । मेरो निजी कमाइबाट त्यसका लागि फेलोसिप नै दिन्छु, कसैले तथ्य र प्रमाण पेस गरोस् । म अनुसन्धान नगरी कहिल्यै पनि अन्तर्वार्ताको सिटमा बस्दिनँ । म बरालिन्छु अथवा मेरा पाहुनाले सन्दर्भबाहिर कुरा गर्लान् भनेर प्रश्नावली प्रिन्ट गरेर राख्छु । म कुनै पनि विषयको अन्तर्वस्तुमा पुग्न प्रयास गर्छु । कुनै मान्छेलाई बोलाएर १ घण्टासम्म आफू जान्ने हुँदै प्रश्न सोध्ने र जवाफ नलिई पठाउने गर्दिनँ । जे सोध्नका लागि बोलाएको हुन्छु, त्यसको जवाफचाहिँ म लिएरै छाड्छु । मेरो कार्यक्रममा आएको पाहुनाले मन लागेको डम्फु बजाएर जान पाउँदैनन् । 
 
‘कान्तिपुर’ दैनिक छाडिसकेपछि बीचमा व्यावसायिक प्रयोजनका डकुमेन्ट्री बनाउनुभयो । पत्रकारिताको दैनन्दिन अभ्यासबाट टाढा हुनुभयो । अहिले ‘कान्तिपुर टिभी’मा आउनु अचानक थियो ? वा भनौं– डकुमेन्ट्री बनाउने मान्छे कसरी प्रधानसम्पादक हुनुभयो ?
टिभीका लागि समाचार संकलनका क्रममा ३ वटा पक्षको भूमिका हुन्छ– ड्राइभर, क्यामराम्यान र रिपोर्टर । म यी तीन वटै कुरामा आफूलाई अब्बल ठान्छु । परिस्थितिअनुसार मैले यी ३ वटै काम गरेको पनि छु थुप्रैपटक ।
त्यसपछिको चरण प्रोसेसिङको हुन्छ, जसमा स्क्रिप्ट लेखन/सम्पादन, भ्वाइसओभर र भिजुअल सम्पादन गरिन्छ । यी ३ वटै कुरा कुशलतापूर्वक गर्न म जान्दछु ।
अन्तिम चरण प्रस्तुति हो । यो काम पनि म राम्ररी गर्न सक्छु । अब भन्नुस्– म टिभीको अयोग्य सम्पादक कहाँनेर देखिएँ ?
‘कान्तिपुर’ दैनिकको स्थापनाकालदेखि जुनियर रिपोर्टर हुँदै सिनियर रिपोर्टरमा १० वर्ष बिताएपछि १३ वर्षअघि ‘कान्तिपुर टिभी’मा संस्थापक समाचार संयोजकको जिम्मामा पठाइएको थियो । त्यतिबेला सबै संयोजन गर्नुपथ्र्यो । त्यतिबेला थुप्रै समय समाचार उत्पादनसँगै पढें पनि । यहाँ छाडेर गएपछि म अझ परिस्कृत भएँ हुँला । समाज र पत्रकारितालाई अलिक पर बसेर अझ राम्रोसँग नियाल्ने मौका पाएँ होला । अमेरिकाको स्कुल फर इन्टरनेसनल ट्रेनिङ (सिट)मा ‘कन्फ्लिक्ट ट्रान्सफर्मेसन अक्रस कल्चर्स’ विषयमा अध्ययन गरेपछि अझ बढी परिपक्व भएँ जस्तो लाग्छ । समाजको द्वन्द्व र प्रभाव अरु बुझें जस्तो लाग्छ ।
‘कान्तिपुर टिभी’मा आउनुभन्दा २ वर्षअगाडिदेखि नै ‘न्युज २४’मा ‘टफ टक’ कार्यक्रम चलाइरहेको थिएँ । विजयकुमार पाण्डे दाइ भन्नुहुन्थ्यो– मिडियम म्याटर्स । जति ठूलो र प्रभावकारी मिडिया भयो, आवाज त्यति ठूलो हुन्छ । त्यसैले ‘कान्तिपुर’ आउनुपर्‍यो भन्ने आग्रह स्वीकारेर म आएँ । आउनुअघि मेरो ब्रान्ड लिएर आउन भनियो । यति ठूलो संस्थाले यति ठूलो जिम्मेवारीमा ल्याउनुअघि प्रशस्त गृहकार्य गरेको हुन्छ, तौलिएको हुन्छ ।
 
टिभीको प्रधानसम्पादकको आँखाले नेपालमा टेलिभिजनप्रतिको आकर्षण र भविष्य कस्तो देख्छ ?
नेपालमा टेलिभिजनको चार्म एकदमै छ, केही समय रहिरहन्छ । मान्छेलाई दृश्य हेर्न मन पर्छ । तर, दुःखको कुरा– टेलिभिजनमा काम गर्ने मान्छेहरू अल्छी भएका कारण यसको महत्व शून्यमा झरेको छ । इमानदार र गम्भीर भएर टिभीमा कमैले काम गरेको छ । आफ्ना निजी काममा व्यस्त भएर टिभीमा ध्यान दिनै सकेका छैनन् । निजी काम गर्नुपर्दा गजब गर्ने, जागिर खाएर काम गर्दाचाहिँ ओइलाउने । नेपालका टिभीसँग ‘करेक्ट’ भिजुअल छैन । भिजुअलको पनि सिद्धान्त वा व्याकरण हुन्छ । त्यो अनुसार काम भएको छैन । कति लगानीकर्ताले पनि लगानी गर्न सकेका छैनन् । कतिपय टिभीमा त कर्मचारीले तलबै खान सकेका छैनन् । यी कुरामा सुधार गर्ने हो भने नेपाली टिभीको भविष्य एकदमै राम्रो छ । 
 
‘कान्तिपुर टिभी’ यी समस्याबाट अपवाद हो ?
छैन । एकदमै छैन । जथाभावी भिजुअल प्रसारण भइरहेका थिए, त्यसमा सुधार गरिरहेका छौं । पछिल्लो समयमा यो सुधारको ग्राफ धेरै माथि पुगेको छ । हेर्दै जानु होला– परिवर्तन तपाईंले महसुस गर्नुहुन्छ । 
 
अघि भन्नुभो– टिभीमा काम गर्नेहरू निजी काममा व्यस्त भएकाले गुणस्तर बिग्रिएको हो । तपाईंको पनि निजी कम्पनी छ नि होइन ?
छ । अहिले त्यो कम्पनी मेरी श्रीमतीको जिम्मामा छ । उहाँले हेर्नुहुन्छ । अहिले त्यसमा मेरो कुनै संलग्नता छैन । अहिले त्यो श्रीमतीको संस्था भएकाले बिहान–बेलुकी (मागेका बेला) परामर्श दिनु त पतिधर्म पनि हो । तर, हाल म ‘कान्तिपुर टिभी’मा बिहान सबेरैदेखि रातिसम्मै बसिरहेको हुन्छु र अहिले मेरो पूरै ध्यान ‘कान्तिपुर समाचार’ र ‘करेन्ट अफेयर्स सो’मा छ ।
 
प्रस्तुति : लेनिन बञ्जाडे
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २९, २०७३  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC