


1615004281.jpg)
रामकुमार सुवेदी
आमा तिमी
त्यो हावा देख्दिनौ
अरूले पनि देख्दैनन् आमा
नदेखे पनि
तिमीलाई मन पर्छ–
जीवन हुन्छ भन्छौ
हावाप्रति
भरोसा छ
आशा छ भन्छन्
तर आमा
म देख्छु हावा
त्यो बतास महसुस गर्छु
सर सर सरर हावा चल्दा
रहर हुन्छ तिमीलाई
निर्भर छन्
आमा त्यो हावादेखि
तर मलाई साह्रै डर लाग्छ
त्यो हावाले मलाई हुर्याउला झैँ गर्छ
किनकि यो बतास हो
आमा बतास
फैलिन्छ– पूर्व–पश्चिम
उत्तर दक्षिण
देशभरी–देशपारि
बतासे भन्छन् त्यसपछि आमा
मेरो कुरा हावा भन्छन्
म हावादारी हुँ सम्झन्छन् !
प्रत्येक बिहान डाँडामाथि
घामको झुल्को देखिँदा
पूर्व फर्केर सूर्यको रङ्गलाई
तिमी सूर्य देवाय नमः भन्छौ नि
घामको उदाउँदो किरण नै
नउदाओस् जस्तो लाग्छ
त्यो बिहानको उमंग रङ,
फुङ्ग उडेको पतङ्ग झैँ लाग्छ
तिम्रो पुष्पाञ्जली पूर्वको
मेरा लागि उत्तर बन्छ
मेरो उत्तर उनीहरुका लागि
प्रश्न बन्छ
अतः आमा
त्यो घामलाई
बादलले छेकिदियोस्
बादलले नरोके
हिमालमा अहिल्यै
अस्ताओस् जस्तो लाग्छ
किनकि आमा
सूर्यको रापले जल्छु आमा
अस्वीकार्य तापले बल्छु आमा !
तिमीले चढाएको पानी
तिम्रा लागि बिहानी भो
ममाथि कसैले चढेर
मलाई नै चढाएको त्यो पानी
मेरो जिन्दगानीको
दुर्दिन कहानी बन्यो
त्यो जलदान तिम्रा लागि
गर्व पर्व बन्छ होला आमा
तिम्रो कन्यादानबिनाको
त्यसको जलदान आमा
मेरा लागि क्षमादान गर्भ बन्यो
तिमी बाँच्न सक्दैनौ– पानी विना
हामी पनि सोच्न सक्दैनौँ– पानी विना
त्यो पनि रहन सक्दैन– पानी विना
पानी पनि रहन सक्दैन– पानी विना
तिम्रो तिर्खाको
त्यो पानी तिम्रा लागि
जिउने जिन्दगानी जल बन्ला
तृष्णा बेगरका त्यो पानी
मेरा लागि पिउनै नसकिने
ढलको पानी बन्यो
वर्षाको पानीमा भर हुन्छ
रहर हुन्छ तिमीलाई
बर्साइएको पानीले
डर लाग्यो आमा
जहर बन्छ मलाई
पानी जिन्दगानी
भन्थ्यौ खोलाको पानी
पानीले मेरो जवानी बगाइदियो
चोला उठाइदियो
त्यो थोपा थोपाले
थक्क–थक्क बनाउँछ
त्यो छिर्काले
छियाछिया गराउँछ !

उजेली भन्थ्यौ
अँध्यारो उचित लाग्छ आमा
पूर्नेको जून भन्थे
औंशी कुर्न थालेको छु
वायु चाहिन्छ भन्छन्
आयु चाहिएन भन्छु
पानी भन्थ्यौ
जिन्दगानी दिक्क लाग्न थालेको छ
बिहानी मन पर्दैन त्यसैले आमा
प्वाल टालिदेऊ
पानीदेखि भन्न लाग्छ
त्यसैले आमा
झ्याल बन्द गरिदेऊ
रहर लाग्दैन आमा
घाम पानी बतास
डर हो भर छैन
आग्लो लगाई देऊ
अग्लो पर्खाल बनाई देऊ
अँगालोमा राखिदेऊ
जले आँचलमा लुकाई देऊ
उडे आँतमा लुकाई देऊ
भिजे आँखामा लुकाई देऊ
तिम्रै कोखबाट आएँ आमा
कोखमै रोप्यो मलाई
काखमा लुकाई देऊ आमा !
(टेक्सास, अमेरिका ।)





