सत्य, तथ्य, मिथ्या र विचार के हुन् वा के होईनन् भन्ने विषयमा विश्वभर बहस जारी छ । यसै सन्दर्भमा राजनैतिक, सामाजिक तथा नागरिक जीवनमा तथ्य, तथ्याङ्क र विश्लेषण वेवास्ता गर्दा हुने हानीका बारेमा विचारविमर्श पनि चलिरहेको छ । दैनन्दिन जीवनमा सत्य स्खलनका लागि धेरै क्षेत्र र निकाय जिम्मेवार भएता पनि राजनैतिक र नागरिक संवादमा सत्य लोप हुंदै जानुमा जनसंचारका माध्यमहरुको भूमिका विशेष रहेको मानिएको छ ।
‘सत्य’ बारे दार्शनिक चिन्तन धेरै छन् । सत्य के हो, सत्यको प्रकृति कस्तो हुन्छ, धु्रवसत्य वा शाश्वत सत्य के हो आदि विषयमा युगौंदेखि बहस हुंदै आएको छ । सत्य निरपेक्ष हुन्छ की सापेक्ष हुन्छ भन्ने तर्कहरु पनि पाईन्छन् । यहां सम्म की सत्य भन्ने नै हुंदैन भन्ने विषयमा समेत चर्चापरिचर्चा हुने गर्दछ । पछिल्लो समय अर्धसत्य र वैकल्पिक सत्य (अल्टरनेट ट्रुथ)का प्रसंगहरु पनि उठेको देखिन्छ । सत्यका सम्बन्धमा थुप्रै आधुनिक सिद्धान्त तथा उपागमहरु छन् ।
सत्याग्रहवादी नेता माहात्मा गान्धीले आफ्नो आत्मवृतान्त ‘सत्यको प्रयोग’ मा निरपेक्ष र सापेक्ष सत्यको बारेमा चर्चा गर्दै आफू निरन्तर निरपेक्ष सत्यका निम्ती लागिपर्ने र सो पत्ता नलागेसम्म सापेक्ष सत्य नै आफ्नो दिव्यज्योति, ढाल र रक्षक हुने बताएका थिए । सांच्चै, सत्यको खोजी एक असाध्य विषय हो । तर, यहां सत्यको बहस दार्शनिक दृष्टिकोणबाट नभई तथ्यको परिधिबाट गर्न खोजिएको छ । लौकिक जीवनमा तथ्य वा वास्तविकता अनुरुपको गुण हुनु नै सत्य मानिन्छ ।
‘तथ्य’ वस्तुगत सूचना हो जसलाई सिद्ध वा प्रमाणीत गर्न सकिन्छ र यो यथार्थको नजिक हुन्छ । तथ्य अपरिवर्तनीय भए पनि तथ्यको तार्किक व्याख्या उपलव्ध नयां सूचना तथा तथ्याङ्कको आधारमा समयकालसंगै विकसित हुंदै जान्छ । गलत, वास्तविकतासंग असंगत, बनावटी वा तोडमोड गरिएको सूचना मिथ्या हो । मिथ्यालाई सत्यको विपरित मानिन्छ । झुठो खबर (मिसईन्फरमेसन) गलत वा भ्रामक सूचना हो जुन अन्जानमा अथवा त्रुटीका कारण फैलन्छ भने दुश्प्रचार (डिसईन्फरमेसन) खास गरी राजनीतिक वा आर्थिक लाभका लागि जानाजानी फैलाईने गलत वा भ्रामक सूचना हो । सार्वजनिक दृष्टिकोणलाई प्रभाव पार्न वा सत्य लुकाउन पनि यसको प्रयोग हुन्छ । दुश्प्रचारलाई ‘प्रोपोगाण्डा’ को पर्यायवाचीको रुपमा लिईन्छ ।
त्यसै गरी, कुनै खास मुद्दाको बारेमा रहने विश्वास, दृष्टिकोण वा रायचाहिं ‘विचार’ हो । विचार सत्यतथ्यको नजिक पुग्नको लागि आवश्यक हुन्छ तर विचार ‘सत्य’ वा ‘तथ्य’ होईन । व्यक्तिगत विचार अथवा एकाध घटनालाई आधार मानेर गरिने नीति निर्माणले लोकतन्त्रलाई अपूरणीय क्षति पुग्ने मात्र नभई त्यसले सर्वसाधारण जनतामाथि ठूलो बोझ पनि थोपर्न सक्छ । नीति–निर्माण र निर्णयहरु तथ्य–तथ्याङ्क र तिनका विश्लेषणको आधारमा वस्तुगतरुपमै गरिनु पर्ने भएता पनि संधै संभव हुंदैन र कहिलेकाहीं मनोगत हुनजान्छ । यद्यपि, कतिपय मनोगत एवम् अन्तज्र्ञान (ईन्टुईसन) का आधारमा गर्नुपर्ने जटिल निर्णय पनि तथ्य–तथ्याङ्कको मद्दतबाट मनासिब तवरले गर्न सकिन्छ ।
तथ्य र तथ्याङ्कमा आधारित भएर गर्नुपर्ने राजनैतिक बहस तथा नीतिगत निर्णयहरु व्यक्तिगत धारणाका आधारमा हुंदा राज्यले आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक मूल्य चुकाउनु पर्ने हुन्छ । अहिले थुप्रै जनसंचारका माध्यमहरुमा समाचार संप्रेषण गर्दा व्यक्तिगत विचारले तथ्यहरुलाई ओझेलमा पारेको अवस्था छ जसले गर्दा सूचनाको विश्वासिलो श्रोतको रुपमा लिईने संस्थाहरुमाथि पनि जनविश्वास घट्न गएको देखिन्छ । विचार आफैंमा नराम्रा भन्न खोजिएको होईन । गहन विचार स्वथ्य समाजको लागि अनिवार्य खुराक हो । अपितु, समाचारका रुपमा विचार प्रस्तुत गरिनु तथ्यसंग सम्झौता गरिनु हो ।
संचार–जगतमा मात्र होईन, समग्र राजनैतिक, सामाजिक, सांस्कृतिक जीवनमा सत्य खस्किंदै गएको छ । अमेरिकी ‘थिङ्क–ट्याङ्क’ र्याण्ड कर्पोरेसनले गरेको अध्ययनमा सत्य–क्षय(ट्रूथ डिके)का चार प्रमुख प्रवृत्तिहरु औंल्याएको पाईन्छ जसमा तथ्य र तथ्यको ब्याख्या बारेमा असहमति बढ्दैजानु, विचार र तथ्यबीच रहेको भेद मेटिदै जानु, व्यक्तिगत अनुभव र विचारको अत्यधिक मात्राले तथ्यलाई प्रतिस्थापन वा प्रभावित गर्नु र विश्वसनीय मानिएका सूचनाका श्रोतहरुमाथि पनि अविश्वास बढ्दै जानु हुन् ।
तथ्यको बारेमा असमति बढ्नु सबैभन्दा ठूलो चुनौति हो । अपितु, समाचार संप्रेषण गर्दा वस्तुगत तथ्यलाई प्रमाणीकरण गर्न सकिन्छ । जस्तै संसद विघटन सम्बन्धमा पूर्वप्रधान न्यायाधीशहरुद्वारा जारी विज्ञप्तिमा लेखिएका कुरा, प्रधानमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्तावमा दस्तखत गर्ने सांसदको संख्या, दरवारमार्गमा प्रधानमन्त्री वलीपक्ष नेकपाद्वारा आयोजित सभामा उपस्थित सहभागीको संख्या आदि तथ्य हुन् ।
त्यस्तै, विचार र तथ्यबीचको भेद मेटिदै जाने क्रम यति व्यापक छ की कुन तथ्य हो र कुन विचार हो भनी छुट्याउन हम्मेहम्मे पर्ने स्थितिको सृजना भएको छ । यदि तथ्याङ्क र प्रमाणहरुले अन्यथा प्रमाणीत गर्दागर्दै पनि कुनै विचारलाई तथ्यको रुपमा पेश गरिन्छ भने त्यसबाट हुने नीतिगत निर्णयहरु गलत हुने र त्यसको आर्थिक, सामाजिक तथा राजनैतिक क्षेत्रमा दूरगामी असर पर्ने अवश्यम्भावी छ । विचार र तथ्यबीचको यो धमिलोपना शैक्षिक सोधकार्य, सरकारी तथा गैरसरकारी प्रतिवेदन एवम् प्रस्तुतिकरणहरुमा देखिए पनि छापा तथा श्रव्यदृश्य संचारमाध्यममा अधिक मात्रामा आईरहेको पाईन्छ ।
समाचारमा सत्य लोप हुंदै जानुमा विविध कारणहरु छन् । केही दशकयता विकसित चौबिस घण्टे समाचार चक्र एवम् सामाजिक संजालको व्यापक वृद्धिका साथै राजनीति र जनसंचारका माध्यमबीच रहने सामिप्यता वा विग्रहका कारणले गर्दा पनि सत्य क्षय भईरहेको छ । तर त्योभन्दा पनि अझ विशेष गरी विभिन्न किसिमका संचार माध्यमबाट प्रवाहित हुने गलत तथा नियतवश बंग्याईएका सूचनाहरुले सत्यलाई विनाश गरिरहेको अवस्था छ । अर्कोतर्फ, सामाजिक–संजालमा तथ्यलाई बंग्याएर गरिने प्रस्तुती, गलत सूचनाको संप्रेषण, ‘प्रोपोगाण्डा’ आदि जस्ता गतिविधि त डरलाग्दा छंदैछन् । समाजिक संजाललाई नियमन गर्ने की नगर्ने र समाचारको स्रोत मान्ने की नमान्ने भन्नेमा बहस जारी छ ।
र्याण्ड कर्पोरेसनको उल्लिखित अध्ययनले सत्य–क्षय हुने मुलभूत कारणहरुमा व्यक्तिले आफ्नो ज्ञान वा वोध प्राप्त गर्ने तरिका, उसमा भएको वोध पूर्वाग्रह, सूचना प्रणालीमा आएको परिवर्तन, परिवर्तीत सूचनाको प्रवाहलाई सामना गर्नसक्ने गरी शैक्षिक प्रणालीमा सुधार नहुनुका साथै आर्थिक, राजनैतिक तथा सामाजिक ध्रुविकरण मानिएका छन् ।
सत्य–क्षय एकदमै नविन तथा विगतमा हुंदै नभएको प्रवृत्ति भने होईन । हाल ईन्टरनेट र सामाजिक संजालमा भएको विकासजस्तै विगतमा पनि प्रविधिमा आएको परिवर्तनका बखत यस्ता प्रवृत्तिहरु देखिएका थिए । तर, वर्तमान्मा जस्तो यत्रतत्र हरेक क्षेत्रमा विश्वासको कमी भने थिएन । त्यसैले यो चिन्ताको विषय हो ।
यसै सन्दर्भमा ‘फेक न्यूज’ (नक्कली वा झुटो समाचार) को चर्चा पनि केही समयदेखि चलिरहेको छ । ‘फेक न्यूज’ आफैंमा समस्याको जड होईन यो त सत्यमा आएको ह्रासको एउटा लक्षण मात्र हो । त्यसैले ‘फेक न्यूज’लाई निस्तेज गर्ने रणनीतिले मात्रै समस्याको समाधान जरैदेखि गर्न सकिंदैन । सबैभन्दा महत्वपूर्ण कुरा ‘तथ्य’ के हो र के होईन भन्ने बारेमा हामीमाझ समान धारणा बनाउन र त्यसको परीक्षण विधि निर्धारण गर्न जरुरी छ । त्यस्तै गरी, व्यक्तिगत विचार के हो र यो कसरी तथ्यभन्दा फरक हुन्छ भन्ने बुझाई र परख पनि त्यतिकै आवश्यक हुन्छ ।
कतिपय मिडिया संगठनहरुले ‘हार्ड न्यूज’ पत्रकारिता नगरी विचारमा आधारित पत्रकारिता संचालन गरिरहेका हुन्छन् किनभने त्यस्तो पत्रकारिता चलाउन लागत कम लाग्नुका साथै कुनै निश्चित वर्ग अथवा समूहलाई लक्षित गरी संचालन गर्न सकिन्छ । यसले तथ्य र विचार बीचको फरकलाई विस्तारै धुमिल्याउंदै लैजान्छ जसले अन्ततोगत्वा सत्य विनाश गर्न भूमिका खेल्छ । मिडिया मात्र होईन, शैक्षिक प्रतिष्ठान, राजनैतिक क्षेत्र, राज्यका अङ्ग र सरकारी निकायहरुले पनि सत्यको क्षयीकरणमा भूमिका खेलिरहेका छन् । त्यस्तै गरी विदेशी शक्तिले पनि आफ्नो निहित स्वार्थका लागि सत्य धुमिल्याउने काम गरिरहेको देखिन्छ ।
तथापि, संचार माध्यममा प्रस्तुत गरिने अभिमत र समाचार आपसमा छ्यासमिस हुंदा सामान्य पाठकलाई कुन समाचार हो र कुनचाहिं विचार हो भनी खुट्याउन मुस्किल पर्छ । जसले वस्तुगत तथ्य र व्यक्तिगत धारणा बीचको अन्तर घटाएको छ । समाचार संप्रेषण गर्दा समग्र ‘स्टोरी’ को सट्टा कुनै खण्ड मात्र दिई अर्थको अनर्थ लाग्ने समाचार प्रसारण गरेर व्यक्ति अथवा संस्थाको अस्मितामाथि प्रहार गरिएका उदाहरणहरुले पत्रकारिताप्रति मोहभङ्ग हुने स्थिति छ । संचार माध्यमहरुले समाचार झै लाग्ने गरी संप्रेषण गर्ने प्रायोजित सामग्रीले त पाठहरुलाई दिग्भ्रमीत पार्ने नै भए जसले संचारमाध्यमको नियत र नैतिकतामाथि नै प्रश्नचिन्ह लगाउंछ ।
नैतिक पत्रकारिताको कुरा गर्दा वासिङ्गटन पोष्ट र बीबीसीजस्ता सम्मानित संस्थाको नीति उल्लेख गर्न उपयुक्त हुन्छ ।
‘वासिङ्गटन पोष्ट डेस्क बुक अन स्टाईल’ का अनुसार ‘अखबारको पहिलो उद्देश्य भनेको सत्य(पत्ता लगाउन सकिने जति) बताउनु हो । त्यस्तै, अखबारको कर्तव्य मालिकको व्यक्तिगत स्वार्थप्रति नभई पाठक र जनताप्रति हुनुपर्छ । अनि, सत्यको खोजी गर्दा आवश्यक परे सार्वजनिक भलाईका लागि अखबारले आफ्नो भौतिक सम्पतिको त्याग गर्न तयार हुनुपर्छ । अखबार कुनै खास स्वार्थको सहयोगी हुंदैन तर सार्वजनिक मामिला र सार्वजनिक व्यक्तिप्रति आफ्नो दृष्टिकोणमा निष्पक्ष, स्वतन्त्र र नैतिकवान रहन्छ’ भनिएको छ । त्यस्तै, बीबीसीका निर्देशनहरुमा पनि निष्पक्षता, निस्वार्थपना, गोपनीयता, शालीनता, हिंसा, टेलिभिजनमा बालबालिकाको चित्रण, स्वार्थको द्वन्द्व (कन्फ्लीक्ट अफ ईन्ट्रेस्ट) आदि थुप्रै विषयहरु प्रमुखताका साथ समावेश गरिएका छन् ।
अन्तर्राष्ट्रिय न्याय र सार्वजनिक जीवनको विश्वास तथा जवाफदेहीतामा आफूलाई केन्द्रित गर्ने दार्शनिक ओनोरा ओनिल भन्दछिन् “यदि मिडियाले भ्रम छर्छ वा यदि पाठकहरुले उनिहरुको रिपोर्टिङ्गको मूल्याङ्कन गर्न सक्दैनन भने सार्वजनिक प्रवचन र सार्वजनिक जीवनका कुवाहरु विषाक्त हुन्छन् ।” मिडियाको जिम्मेवारी सन्दर्भमा तेस्रो अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले पनि भनेका थिए “जब प्रेस स्वतन्त्र हुन्छ र हरेक व्यक्ति पढ्न सक्षम हुन्छ सबै सुरक्षित रहन्छन्” तर “सत्यलाई सम्मान गर्ने, कानुनको पालना गर्ने, व्यक्तिको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने” जिम्मेवारी पनि प्रेसको हो ।
अन्तमा, नागरिक संवाद खस्कनु, राजनैतिक अकर्मण्यता बढ्नु, राजनैतिक–सांस्कृतिक संस्थाहरुबाट व्यक्ति टाढिदै जानु, राष्ट्रिय तहमा नीतिगत अनिश्चितता देखापर्नु आदि सत्य स्खलनका परिणामहरु हुन् । अवश्य नै, सत्यको क्षय अमेरिका, युरोपलगायत विश्वभर जताततै भइरहेछ । तर, हाम्रोजस्तो चेतनाको कमी तथा बढी पूर्वाग्रही विचार भएको समाज, जहां विकास र स्थायीत्वको आवश्यकता टड्कारो छ, यसको प्रभाव अत्यन्त नकारात्मक हुन्छ । जब नागरिक विश्वासका आधारहरु भत्किन्छन् तब कुनै पनि काम अघि बढ्न सक्दैन । हरेक कुरामा शंका र संसयले मुलुकमा विकास र स्थायीत्व आउंदैन । तसर्थ, सत्यमा आएको स्खलनलाई रोक्नु समाजका सबै वर्ग र क्षेत्रको जिम्मेवारी हो । यसका लागि सरकारले जनताको विश्वास आर्जन गर्ने ठोस वातावरण विकास गर्नुपर्छ । पत्रकारिताले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ । वास्तवमा, पत्रकारिताको मूल मर्म भनेकै समाचार संप्रेषणमा तथ्यगत शुद्धता कायम गर्नु हो जसले अन्ततोगत्वा सत्यसंग अन्योन्याश्रित सम्बन्ध राख्दै समाजमा सत्य स्खलन हुनबाट जोगाउंछ ।