दाङ । पश्चिम दाङको ट्वाङखोला जंगलमा ११ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिकामा पर्ने ट्वाङखोलाको जंगल हुँदै नजिकैको गाउँमा दही लिन जाँदै गरेकी ती बालिकामाथि मंगलबार बेलुका ६ बजेतिर उनकै उमेर समुहका दुई किशोरले बलात्कार गरेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम केसीले बलात्कारको अभियोगमा स्थानीय १२ र १३ वर्षीय किशोर पक्राउ परेको जानकारी दिए । प्रहरीका अनुसार १३ वर्षीय किशोरले जबरजस्ती बलात्कार गर्दा उनलाई १२ वर्षीय किशोरले सघाएका थिए । बलात्कृत बालिका छिमेकी गाउँमा रहेका आफन्तकोमा आएकी थिइन् ।
खोलामा माछा मारेर फर्किंदै गरेका ती दुई किशोरले उनलाई एक्लै देखेपछि बलात्कार गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।