



लस एन्जलस । अमेरिकन गायिका लेडी गागाको चोरी भएका दुई कुकुर सुरक्षित रुपमा फेला परेको लस एन्जलस प्रहरी विभागले जानकारी दिएको छ ।
नाम नखुलाएकी एक महिलाले सुरक्षित रुपमा गागाको दुई फ्रेन्च बुलडग एलएडीपीलाई जिम्मा दिएको सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ । “एक महिलाले ती कुकुरहरु भेटाएपछि लेडी गागाको कर्मचारीलाई सुरक्षित फर्काएकी छन्,” विज्ञप्तिमा थप लेखिएको छ, “सक्रिय आपराधिक अनुसन्धान र ती महिलाको सुरक्षालाई मध्यनजरमा राख्दै ती महिलाको परिचय र कुकुर भेटाएको स्थान गोप्य राखिएको छ ।”
एलएपीडीले ती कुकुरलाई घुमाउने जिम्मा पाएका व्यक्ति रायन फिसरको स्वास्थ्य अवस्था पनि सामान्य भएको जानकारी दिएका छन् । रायन फिसरलाई गोली हानी गागाका कुकुरहरु आक्रमणकारीले चोरी गरेका हुन् । गागाले शुक्रबारै कोजी र गुस्ताव (कुकुरको नाम) को बारेमा जानकारी दिनेलाई पाँच लाख डलर इनाम दिने घोषणा गरेकी थिइन् ।
यद्यपि उनका कुकुर सुरक्षित घर फर्काउने महिलालाई इनाम दिएको वा नदिएको भन्ने बारे भने कुनै जानकारी सार्वजनिक भइसकेको छैन ।
-सीएनएन






