site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
बिरामीकै सेवामा ५० वर्ष बिताएँ, गरिबसँग पैसा लिइनँ 
Sarbottam CementSarbottam Cement

समाजसेवी चिकित्सक डा. शंकरप्रसाद उप्रेतीको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा आइतबार निधन भएको हो । प्रस्तुत छ, उप्रेतीसँग बाह्रखरीले केही समयपहिले गरेको कुराकानीका आधारमा तयार पारेकाे पूरा कुरा अर्काइभबाट

...

लखनउबाट उनले आइएससी सिध्याए । परीक्षा दिए । नेपाल फर्किए । आफैंले केही गर्नुपर्छ, आफ्नो खुट्टामा आफैँ उभिन सक्नु पर्छ भन्ने मान्यता राख्ने उनी आफ्नै बलबुताले त्यहाँसम्म पुगेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले लखनउबाट फर्कँदा एकजना साथीलाई आफ्नो आइएससीको नतिजा पठाई दिन अह्राएका थिए । आइएससी गर्नुपूर्व नै उनले आउने दिनमा मेडिकल पढ्ने मनस्थिति बनाई सकेका थिए । एमबीबीएस पास गरेपछि आफ्नो मुलुक र गाउँमा गएर बिरामीको सेवा गर्नुपर्छ भन्ने मानसिकतामा उनी थिए । यो मानसिकताको बीज उनका पिताजीले रोपिदिएका थिए । फलतः उनी पिताजीको सोच सार्थक तुल्याउनतर्फ अग्रसर भए ।

डा. शंकरप्रसाद उप्रेती (८५) ले पचास वर्ष निरन्तर बिरामीहरुको सेवा गरे । चिकित्सा विज्ञान पढेर उनले जुन अठोट लिएका थिए, त्यसलाई पुरा गरे । मंगलबार उनको मालीगाउँस्थित निवासमा कुरागर्दै उनले सम्झिए, एमबीबीएसको सिट पाउँदाको त्यो क्षण ।

Global Ime bank

उनी भन्दै थिए, “म आइएससी पास भएको तार (आवा) साथीले पठाएको थियो । त्यस पछि कोलम्बो प्लान अन्तरगत मेडिकल पढ्नका लागि मैले शिक्षा कार्यालयमा आवदेन दिएँ । मलाई बोलाइयो । अन्तरवार्ता लिइयो । तर मेरो मार्कसिट नआएकोले मलाई भेटेरिनरी डाक्टर पढ्न भनियो । मैले मानिनँ । त्यसका लागि मेरो मार्कसिट फेरि खोजियो । तर मसंग आइएससी पास भएको साथीले पठाएको तार मात्रै थियो । मार्कसिट थिएन ।”

डा. उप्रेतीले एक वर्ष पर्खेर भएपनि मेडिकल नै पढ्ने आफ्नो उद्देश्य रहेको स्पष्ट बताएका थिए । जब मेडिकल सिटका लागि अन्तरवार्ता दिँदै थिए, त्यसबेला उनलाई भारतीय दूतावासका प्रतिनिधिले उनी लखनउ र कानपुरमा बस्दा जसको घरमा बसेका थिए, तिनीहरुले क्यारेक्टर सर्टिफिकेट दिन सक्छन भनेर सोधेका थिए । उनी पनि कम थिएनन् । उनले सीधै भनेछन्, “म जहाँ बसेँ । छोरा जस्तो भएर बसेँ । आफ्ना मातापिताले छोरालाई क्यारेक्टर सर्टिफिकेट दिन्छन् ।” भारतीय प्रतिनिधि नाजवाफ भए । 
समयमै कोलम्बो प्लानको नतिजा आयो । तर उनको नाम त्यसमा थिएन । उनको दाजुको घर थियो । उनी दाजु कहाँ पुगे । दाजु गंगाप्रसाद उप्रेतीले के गर्छस् भनेर सोधेछन् । उनले पनि तपाईं चिन्ता नगर्नुस् । जे गर्छु म आफै गर्छु भनेछन् । उनले आफूलाई कानपुरसम्म जाने पैसाको बन्दोबस्त गरिदिए हुन्छ भन्ने जवाफ दाजुलाई दिए । अर्थात् उनी फेरि कानपुर गएर थप अध्ययन गर्ने मनस्थितिमा थिए । किनभने उनलाई कानपुरका उनका अभिभावक आर.एस. नारायणका एकजना साथीले तलाईँ एम.ए. सम्म पढाउँछु भनेका थिए । त्यसैले उनी फेरि कानपुर जाने सोचमा थिए । 

भोलिपल्ट दिउँसो उनका दाजुका छिमेकी शंकरनाथ रिमालले उनलाई कराएर भने “ए शंकर, तिम्रो नाम मेडिकल सिटमा निस्कियो है । मैले आफै हेरेर आएको ।” उनलाई अचम्म लाग्यो । मेडिकलमा नाम कसरी निस्कियो । तर विश्वास गर्नै पर्यो ।

भोलिपल्ट उनी र उनका दाजु शिक्षा मन्त्रालय गए । फर्म भरे । त्यसैबेला शिक्षाका उपसचिव बज्रकान्त ठाकुरले शंकर उप्रेतीलाई बोलाएर सोधे, “ए केटा । तँ पास त छस् ? हैन भने मेरो जागिर पनि जान्छ । तेरो मेडिकल सिट पनि जान्छ ।” उनले ती उपसचिबलाई आफू पास भएको विषयमा आश्वस्त पारे । 

भएको के रहेछ भने, वि.सं. २००९ सालमा बनेको नियममा ‘कोलम्बो प्लान’मा डाक्टर वा इन्जिनियर पढ्न पठाउँदा एक जना तराईको, एकजना पहाडको विद्यार्थी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको रहेछ । तर त्यो वर्ष सबै काठमाडौंका मात्रै विद्यार्थी रहेछन् । तराई र पहाडका कोही परेका रहेनछन् । 

त्यही विषयलाई लिएर तराईका केही व्यक्तिहरुले यो विषयमा कुरा जोडदाररुपमा उठाएका रहेछन् । त्यसपछि पहाड र मधेशबाट एक एक जना लिनु भन्ने उर्दी जारी भएछ । त्यसैबेला तराईका एक जना परे । पहाडबाट भने शंकरप्रसाद परे । 

उनी भन्छन्, “जब मैले एमबीबीएसा लागि आवश्यक सम्पूर्ण कागजात मिलाएर बाहिर निस्किएँ । त्यसैबेला मैले आँखा चिम्लेर भगवानसँग प्रार्थना गरेँ, भगवान तिमीले मलाई धेरै कुरा दियौ । मेरो सोचाई र सामथ्र्यभन्दा बढी दियौ । त्यसैले म पनि मेडिकल पास भएपछि गाउँमा पचास वर्षसम्म बिरामीहरुको सेवा गर्नेछु ।”

र, त्यही प्रार्थनालाई उनले मूर्तरूप दिए, झापाको शनिश्चरेमा ४० वर्षसम्म निरन्तर मेडिकल सेवा प्रदान गरेर । त्यस अगाडि उनले धनगढीमा ६ वर्ष र भोजपुरमा ४ वर्ष त्यहाँको अस्पतालमा सेवा गरेका थिए । यसरी १० र ४० गरेर ५० वर्ष उनले निरन्तर बिरामीहरुको सेवा गरे । बिरामीकै उपचारमा आफ्नो जीवन समर्पण गरे । 

००० 

डा. शंकरप्रसाद उप्रेतीका पिताजी तेह्रथुमको आठराईबाट झापा झरेका थिए । उनका पुर्खा काभ्रेबाट आठराई पुगेका थिए ।

उनका पिताजीले दार्जीलिङबाट हाईस्कूल पास गरे । तर उनको हजुरबुबाको निधन भएका कारण उनको पढाई अगाडि बढेन । डा. उप्रेती र उनका दाजुभाइको बाल्यकाल अधिकांशतः आठराईमै बित्यो ।

पाँच दाजुभाइ मध्ये शंकरप्रसाद केही छुच्चो स्वभावका थिए । चित्त नबुझेको कुरा तत्काल भनिहाल्थे । यद्यपि, केही गर्नुपर्छ भन्ने अठोट उनमा हमेसा रह्यो । र त्यही अठोटले उनलाई चिकित्सा पेशामा निरन्तर ५० वर्ष समर्पित हुने क्षमता प्रदान गर्यो । 

सानै थिए उनी । त्यसबेला जोगबनीमा उप्रेती थरका एक व्यक्ति बस्थे । उनीसंग उनका पिताजीको राम्रो परिचय थियो ।

छोराछोरी नभएका उनले शंकरप्रसादका पिताजीलाई तिम्रो छोरालाई जोगवनी ल्याईदेउ । म पढाई दिन्छु भनेछन् । शंकर जोगबनी बस्न थाले । तर उनले त्यो घरमा कैयन दिन भान्छाको काम गरे । पढाई गर्ने अवसर मिलेन ।

तिनताक विराटनगर जुट मिलमा आन्दोलन जोरकासाथ चल्दै थियो । मजदुरहरु आन्दोलनमा उत्रिएका थिए । गिरिजाप्रसाद कोइरालाले मिलको आन्दोलनको कमाण्ड सम्हालेका थिए । उता जोगबनीमा मात्रिकाप्रसाद कोइराला बस्थे ।  

जोगबनीका ती उप्रेती पनि त्यही मिलमा काम गर्थे । र, उनको दैनिकी भनेको साँझपख जोगबनी फर्किएर मिलमा भएका सम्पूर्ण विवरण मात्रिकाप्रसादलाई सुनाउने हुन्थ्यो । त्यसबेला केटाकेटी शंकरलाई पनि लिँदै जान्थे उनी मात्रिका कहाँ । 

उनी सम्झिन्छन् त्यतिबेला मात्रिकाप्रसादले आफूलाई मिठाई खुवाएको प्रसंग । 

त्यही आन्दोलनका बखत उनले देखे आन्दोलनकारीलाई राणाका प्रहरी र सेनाले निर्धाहरुलाई लात्ताले हानेको । यहीँबाट उनमा राणा विरोधी सोच मौलायो । उनी पनि राणा विरोधी हुँदैगए । सहन नसक्ने स्वभाव त उनमा थियो नै । 

जोगबनीमा उनका अभिभावकका छोराछोरी थिएनन् । उनलाई लाग्यो यिनले आफूलाई धर्मपुत्र ल्याएका हुन् । त्यसैले उनले उप्रेती पत्नीलाई ‘आमै, म खस्र्याङ गएर पढछु’ भनेछन् । तर तिनले त ‘तिमीलाई पढाउन ल्याएको हो र’ भन्ने खरो जवाफ दिइछन् । 

यो सुनेपछि खरा शंकरप्रसादले उनको घर तत्कालै छोडे । उनी आफ्ना दाजुकोमा पुगे । र दाजुसँगै २००३ सालमा काठमाडौं आए । त्यसबेला उनीहरु सानो गौचरमा बस्थे । त्यहीँ उनले ट्युसन पनि पढ्न थाले । त्यसबेला ट्युसन पढाउने मास्टरले महिनाको पाँच रुपैयाँ लिन्थे । उनले सिक्नलाई कहिल्यै अल्छी गरेनन् । नत लाज र धक नै माने । जोसंग पनि सिक्दै गए । 

डा. शंकरप्रसाद भन्छन्, “काठमाडौंमा त्योबेला दुईवटा स्कूल थियो । दरबार हाइस्कुल र जुद्धोदय हाइस्कुल । दरबार स्कुलमा पैसा लाग्दैनथ्यो,” उनी भन्दै गए, ‘‘मैले त्यहीँबाट सात कक्षाको परीक्षा दिएँ । तर, परीक्षामा अंग्रेजी र म्याथ बिग्रिएकोले फेल भएँ । आठ क्लासमा उक्लन पाइनँ । त्यसैले मैले काठमाडौं छोडेर जाने निधो गरेँ । म भगवानप्रति आस्था राख्छु । आफैंलाई भने, यहाँ नबस् । अगाडि बढ् । म अगाडि बढें ।”

उनलाई अनुभव भयो कसैले अह्राई रहेको छ, यहाँ नबस् भन्दै । आफ्नो खुट्टामै उभिएर केही गर । उनले त्यही गरे । उनी एकदिन काठमाडौंबाट शिवपुरी डाँडा तिर लागे । 

उनको गोजीमा एक पैसा थिएन । तर उनी भोको पेट बसेनन् । उनी बुढानिलकण्ठभन्दा माथ्लो गाउँमा पुगे । एउटा घरमा बास मागे । त्यहीँ रातको खाना खाए । गोठालासँग सुते । तिनका जुम्रा पनि सारे । भोलिपल्ट त्यस गाउँमा ‘म बाहुनको छोरो, पढ्ने विद्यार्थी हुँ । मलाई सहयोग गर’ भन्दै गाउँ घुमे । दस मोहर पैसा उनको हातमा आयो । उनी त्यसपछि राती गोठालाले सारेको जुम्रा मार्दै नुवाकोट तिर लागे । किनभने त्यहाँ घरकाले कतै उजुरी गरे समाउन आउने डर जिउँदो थियो ।

उनी बाटो हिँड्दै गए । एक ठाउँमा पुगेर एक मोहरको दहि चिउराले पेट भरे । र, हिँड्न थाले । त्यसैदिन बेलुकी उनी नुवाकोटको एउटा गाउँमा पुगे । 

त्यहाँ उनले आफू विद्यार्थी भएको र फूर्सदमा भएकोले यसो विद्यार्थीलाई ट्युसन पढाएर अलिकती पैसा जोर्न सकिन्छ कि भनेर आएको बताए । त्यहीँका एकजना गाउँलेले उनलाई लिएर गए । तर त्यो जुवाडेको घर परेछ । जुवा खेल्ने ठाउँमा उन्नति हुँदैन । यही सोचे र उनी अगाडि बढे । 

भूगोलका विषयमा जानकारी राख्ने उनी धादिङ्गको सल्यानटार तिर लम्किए । बाटोमा एकजना महिलाले शंकरप्रसादलाई आफ्नो भाइ बनाईन् । किनभने उनका माइतिका मान्छे उनलाई भेट्न कोही आएका रहेनछन् । उनी पनि दिदीको भाइ बनेर खाना खाए । र अगाडि लागे । यसरी विभिन्न मानिसहरुसित भेट्दै, कुरागर्दै उनी गोर्खा जिल्लाको बोर्लाङ्गका थापा काजीहरुको घरमा पुगे ।

उनी भन्छन्, “म त्यहाँ पनि बस्न सकिनँ । थापा काजीका घरमा विद्यार्थी पढाउन पाइन्छ भनेर म गएको थिएँ । तर तिनको स्वभावले मलाई तिनी कहाँ नबस् भन्यो । उनले सानो कारणले गर्दा बुहारीलाई गाली गरेको देखेपछि यी रिसाहा कहाँ बस्दिन भनेर हिडेँ ।”

र, उनी अर्को गाउँका विष्णुप्रसाद सिम्खडा कहाँ पुगे । त्यहाँ उनले लामो समय बिताए । तिनका केटाकेटीलाई रुद्री चण्डीदेखि एबीसीडी र बाह्रखरी पनि सिकाए । माघदेखि असारसम्म बस्ने भनेका उनलाई दशैं सिध्याएर मात्रै त्यो घर छोड्ने अनुमति सिम्खडाले दिए । त्यो घरमा उनी परिवारको सदस्य झैं बसे ।

घर छोड्दा उनले केटाकेटी पढाए बापतको पाउनु पर्ने पैसा पनि पाए । र खल्तीमा पैसा राखेर उनी मस्र्याङ्दीपारि हुँदै बुटवल पुगे । यो लामो यात्रामा उनले अनेक सहयात्री भेटे । शंकरप्रसादलाई सबैले माया नै गरे । सहयोग नै गरे । 

उनको गन्तव्य थियो कानपुर । कानपुरमा धेरै कारखाना वा मिलहरु छ भन्ने उनलाई थाहा थियो । त्यहाँ पुगे काम पनि गर्न पाईने र पढ्न पनि सकिने उनको उद्देश्य थियो । उनी आफ्नो उद्देश्यलाई सफलिभूत बनाउन निरन्तर क्रियाशील रहे । उनको दृष्टि लक्ष्यमै थियो । र लक्ष्य थियो, भारतको कानपुर शहर । र कानपुर जानका लागि उनी बुटवल पुगे । 

०००

बुटबलमा उनले भारततर्फ जाँदै गरेका एकजना बन्दिपुरे साहु भेटे । उनले वृतान्त सोधे । उनले पनि आफू विद्यार्थी भएको र काम पनि गर्ने, पढ्ने पनि भन्दै कानपुर जान लागेको बताए । ती साहुले आफैसंग पारि बोर्डरसम्म जान भने । तिनै साहुले उनीसँग रहेको नेपाली रुपैयाँ सटही गरेर भारु दिए । र, दुई रुपैयाँ नेपाली नै राख्न भने । त्यही दुई रुपैया उनले बोर्डरका प्रहरीलाई घुस दिएका थिए । दुई रुपैयाँ दिएपछि प्रहरीले पनि सजिलै उता जान दिए । 

वरिष्ठ चिकित्सक डा.उप्रेती हाँस्दै भन्छन्, “मैले पहिलो पटक कसैलाई घुस दिएको थिएँ । नभए त सानो उमेरको भनेर मलाई बोर्डरपारि जानै दिँदैनथे ।”

बोर्डर पारि पुगेपछि उनी गोरखपुर हुँदै ट्रेन चढेर लखनउ पुगे । लखनउ रेल्वे स्टेशनमा ओर्लिए पछि उनले केही नेपाली महिला भेटे । तिनै मध्ये कि एउटीले उनलाई ‘घरबाट भागेर आएको’ भन्दै हप्काइन् । उनी बोल्न सकेनन् । उनलाई लाग्यो यहाँबाट भाग् । उनी तत्काल अर्को ट्रेन समाएर कानपुर हिँडे । 

कानपुर पुगेपछि स्टेशन बाहिर निस्किए । एउटा एक्का वाला (घोडाले तान्ने टाँंगावाला)ले उनलाई ‘कहाँ जाना है’ भनेर सोध्यो । उनले धर्मशाला पुर्याई दिन भने । उसले एक रुपैया माग्यो । हुन्छ भनेर उनी एक्का चढे । एकै छिनमा पुगियो । नजिकै रहेछ । त्यो टाँगावाला त धर्मशाला पुगेर अझै ‘एक रुपैयाँ और निकालो’ भन्न थाल्यो । उनलाई डर पनि लाग्यो । रातको समय । उनले केही नबोली दुई रुपैयाँ दिए ।

राति धर्मशालाको बास भयो । भोली पल्ट बिहानै उनी नित्यकर्म गरेर बाहिरिए । उनी सबै भन्दा ठूलो मिल कहाँ छ भनेर सोध्दै हिँडे । उनलाई  यति थाहा थियो, मिलमा काम गरेर समय मिलाएर पढ्न सकिन्छ । त्यसैले उनी ठूलो मिलको खोजीमा थिए । 
एकाबिहानै उनी एउटा ठूलो मिलको अगाडि पुगे । दरबानलाई कामका विषयमा सोधे । दरबानले उल्टो उनलाई गाली गर्यो, ‘यहाँ जवानको नोकरी नही मिलता, तुम बच्चेको क्या मिलेगा’ ।

उसैले नजिकैको बंगलातिर देखाएर त्यहाँ जान भन्यो । शंकरप्रसाद उप्रेतीलाई लाग्यो, उनलाई उनका ईश्वरले बाटो देखाइरहेका छन् । उनी एउटा बंगलाको अगाडि पुगे । त्यो बंगलाको ढोकाबाट उनी जस्तै केटो निस्कियो । उनले नोकरीको कुरो गरे । त्यो केटोले आफ्नो बुबाका अगाडि उनलाई पुर्यायो । र त्यही केटाको बुबाले उनलाई आर.एस. नारायणको सन्सर्गमा पुर्यायो । उनै आर.एस. नारायण कहाँ बसेर शंकरप्रसादले आफ्नो जीवनको यात्रालाई अगाडि बढाए । 

धर्मशालाबाट निस्किएको यस्तै एक दुई घण्टामा उनी आर.एस. नारायणको घरमा थिए । उनी त्यो घरमा काम गर्न भनेर पसेका थिए । तर उनले त्यहाँ आफ्नै परिवारको माया पाएँ । पढ्न पाए । उनको जीवनलाई एउटा पृथक मोडमा त्यो घरपरिवारले उनलाई पुर्याएको थियो । 

डा. शंकरप्रसाद उप्रेती भन्छन्, “मलाई ईश्वरले साथ दिँदै गयो । मैले पनि लौ कृष्ण भगवान तिमी नै पार लगाउ भन्दै गएँ । र मैले मेहनत गर्नलाई कहिल्यै अल्छी मानिन् । म तिनको घरको काम पनि गर्थें । तिनै आमैले मलाई अंग्रेजी पनि सिकाउँथिन् । र मलाई खानपानका अतिरिक्त महिनाको दस रुपैयाँ दिने कुरो पनि भएको थियो ।”

आर.एस. नारायण साउथ इन्डियन थिए । उनकी पत्नीले नाकको दुबै तर्फ फुली लगाएकी थिइन् । उनले यस्तो पहिलो पटक देखेका थिए । आरएसका उनीभन्दा केही साना साना छोराछोरी थिए । तिनलाई ट्युसन पढाउन एक जना शिक्षक आउँथे । ति शिक्षकसँग उनी पनि बसेर पढ्थे । ति शिक्षकले शंकरप्रसादलाई पनि खुबै माया गर्थे । 

त्यसैबेला उनले आफूसंग बाँकी रहेको पैसाले आठ  कक्षाको किताब किनेर पढ्न थाले । र केही समय बिते पछि उनी कक्षा आठमा भर्ना भए कानपुरकै एउटा स्कूलमा । र त्यहीँबाट उनले म्याट्रिक पास गरे ।

कानपुरबाट म्याट्रिक पास गरेपछि उनी आइएससी पढ्न लखनउ गए । र त्यहीँबाट उनले आइएससी पनि पास गरे । 

डा. शंकर उप्रेती सुनाउँदै थिए एउटा प्रसंग, “मैले त्यो घरमा बडो मेहनतका साथ काम गरेँ । तिनको घरको हरेक काम मैले हेर्थेँ । मैले पढाईलाई समय निकाल्नु पर्ने भएकोले बजारको काम छिटो सिध्याउँथे । मैले तिनको एक पैसा पनि खाइनँ । एक एक पैसाको हिसाब गरेर दिएँ । मलाई ‘दुई चार पैसाको हिसाब नदिए पनि हुन्छ’ भन्थे । त्यसबेला मैले भनेको थिएँ, यसले म पनि बिग्रिन्छु । तिमी पनि बिग्रिन्छौ । तिम्रो पैसा खेर जान्छ मेरो बानी बिग्रिन्छ ।”

०००

कोलम्बो प्लान अन्तर्गत उनी राजस्थानको जयपुर स्थित मेडिकल कलेजमा एमबीबीएस गर्न गए । त्यसबेला उनले छात्रवृत्ति १ सय ८० रुपैयाँ पाउँथे । करिब छ वर्ष उनले अथाह मेहनत गरे । मेहनत गर्न डराउने मानिस थिएनन् उनी । उनको मेहनतले नै त्यो रंग ल्याएको थियो । त्यसैले उनले आफ्नो वाचा पूरा गर्न पनि मेडिकल पढाईमा राम्रो गर्नु थियो ।

उनले साना साना काम पनि गर्दै गए । मेडिकलको पढाईमा अभ्यास जति गर्यो, त्यति सिकिने भएकोले सिक्नलाई उनले कहिल्यै लाज र घिन मानेनन् । सिक्दै गए । सिक्दै गए । उनी सिक्नलाई लजाउँथेनन् । हरेक विषयको ज्ञान आफूमा हुनुपर्छ भन्ने सोच उनको थियो । त्यसैले इन्टर्न गर्दा उनले बिरामीहरुको घाउ पनि धोए । डाक्टर भए पनि कम्पाउण्डरले गर्ने काम गरे । सुत्केरी गराउन पनि सिके । सिस्टरहरु सित सानोभन्दा सानो काम पनि सिक्दै गए । उनले काम गरेको देखेर त्यहाँका नर्सहरु छक्क पर्थे ।  

वि.सं. २०१८ साल तिर एमबीबीएस गरेर उनी काठमाडौं आए । उनको बिहे भइसकेको थियो । पत्नीलाई झापा शनिश्चरेमै छाडेर उनी काठमाडौं उक्लिए । जागिरका लागि आवेदन दिए । उनलाई धनगढी अस्पतालमा काम गर्नेगरि खटाइयो । त्यतिबेला धनगढी जंगल थियो । उनी काम गर्न धनगढी गए, भारतको बाटो हुँदै । 

धनगढीमा उनी ६ वर्ष बसे । धनगढी वरपरका मात्रै होइन, उनले भारतीय सीमावर्ती गाउँका बिरामीको पनि उपचार गरे । उनीसंग उपचार गराउनेहरुको संख्या बढदै गयो ।

धनगढीमा हुँदै नै उनले स्कूलको स्थापना गरे । उनकी पत्नीले पनि त्यहीँ पढाउन थालिन् । तर, पछि सानो कारणले गर्दा तत्कालीन स्वास्थ्यमन्त्रीले उनको सरुवा हुम्ला गरिदिए । उनी हुम्ला नगएर झापा फर्किए । र झापाबाटै राजीनामा पठाए ।

उनको राजीनामा स्वीकृत भएन । उनलाई भोजपुर अस्पताल जान भनियो । उनी भोजपुर अस्पतालमा काम गर्न पुगे । र त्यहाँ चार वर्ष बसे । त्यस पछि झापा झरेका उनले झापाको शनिश्चरेमा ४० वर्ष बिरामीको सेवा गरे । 

उनी भन्छन्, “मैले जुन दिन एमबीबीएसको सिट पाएँ त्यही दिन पचास वर्ष बिरामीको सेवा गर्छु भनेको थिएँ । मैले दश वर्ष सरकारी सेवामा र चालीस वर्ष झापामा रहेर बिरामीको सेवा गरेँ । मैले गरिबसँग कहिल्यै पैसा लिइन । मैले बिरामीको उपचारलाई नै मेरो कर्तव्य ठाने ।”

यसरी पचास वर्ष बिरामीको उपचारमा समय बिताउँदा उनले केही समय राष्ट्रिय सभाको सदस्य भएर पनि काम गरे भने केही वर्ष उनले परिवार नियोजन संघमा बसेर पनि काम गरे । र, आज उनी पूर्णतः अबकास जीवन बिताई रहेका छन् । उनको अनुहारले आज पनि उनी सक्रिय छन् भन्ने देखाउँछ ।  

(प्रस्तुति : राजेश खनाल ⁄२०७५ मंसिर २७)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC