site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ सत्तासमीकरणमा कांंग्रेस : ओली र प्रचण्डमध्ये कता लाग्लान् देउवा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएका पुस ५ गतेसम्म संसद्को झन्डै दुईतिहाइ सिट नेपाल कम्युनिस्ट (नेकपा)सँग निहित थियो । त्यस बेलासम्म कम्युनिस्ट पार्टीबाहेक अन्य पार्टीको सत्तासमीकरणमा आँखासमेत लागेको थिएन । प्रधानमन्त्रीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि त्यो अवस्थामा परिवर्तन आएको छ ।

लामो समयदेखि विवादमा रुमल्लिरहेको नेकपा प्रतिनिधिसभा विघटनसँगै दुई चिरा परेको छ । तर, फरक–फरक समूहमा भए पनि कानुनी रूपमा पार्टी विभाजन भने भइसकेको छैन । तैपनि, नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेकपाकै अर्को समूहले संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको छ । दुवै समूहले नेकपाको आधिकारिकता आफ्नो पक्षमा रहेको भन्दै निर्वाचन आयोगमा दाबी प्रस्तुत गरेका छन् । आयोगले निर्णय गर्न ढिलाइ गरेकाले मात्र नेकपा कानुनी रूपमा विभाजित भएको छैन ।

प्रतिनिधिसभा विघटनपछि राजनीतिमा यो तहको उथलपुथल भएका बेला सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक घोषित गर्दै बदर गरिदियो । त्यसयता पनि प्रधानमन्त्री ओलीले आफैँले ‘हत्या’ गरेको संसद्को परीक्षणपछि मात्र प्रधानमनत्री पद छोड्ने, नत्र नछोड्ने अडान सार्वजनिक गरेका छन् । त्यसैले नेकपाका दुई समूहबीचको विवादमा संसद्मा निर्णायक भूमिकामा भने ६३ सिट मात्र रहेको नेपाली कांग्रेस आइपुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेकै स्थितिमा नेकपाको प्रचण्ड–नेपाल समूह वा ओली समूह जोसँग पनि कांग्रेस मिलेपछि नयाँ सरकार बन्ने अवस्था छ । नयाँ सरकार प्रचण्ड वा माधवकुमार नेपालको नेतृत्वमा बन्ने सुनिश्चित हुँदासम्म ओली समूहमा रहेका केही सांसद फर्कने हुँदा संसद्मा ३४ सिट रहेको जनता समाजवादी पार्टी (जसपा)लाई लिएर पनि प्रचण्ड–नेपाल समूहको सरकार बन्ने अवस्था हुनसक्छ । तर, सरकारको स्थायित्व र भरपर्दो गठबन्धनका लागि प्रचण्ड–नेपालले कांग्रेसलाई नै प्राथमिकतामा राखेर सरकार बनाउने प्रयास गरेका छन् । त्यसैले कांग्रेस सभापति शेरबहादुर देउवा कता लाग्छन् भनेर सबैको नजर उनीतर्फ नै सोझिएको छ ।

प्रतिनिधिसभा विघटनपछि चुनावका पक्षमा देखिएका कारण उनको निकटता ओलीतर्फ नै रहेको संकेत देखिएको थियो । तर, देउवानिकट स्रोतका अनुसार पार्टीको बहुमत प्रचण्ड–नेपालतिर रहेकाले देउवाले पनि त्यतै साथ दिँदा ओली धेरै कमजोर हुने र नेकपा नफुट्ने देउवाको निष्कर्ष थियो । त्यसैले उनले ओलीलाई भरथेग गरिरहेका थिए । अहिले पनि देउवा खुलेर सरकार बनाउन कोसँग उभिने भन्ने निर्णय गरेका छैनन् ।

Global Ime bank

बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले परिपक्व निर्णय गरेको छ । नेकपाका दुई समूहले फरक–फरक रूपमा सहयोग मागिरहे पनि कानुनी रूपमा नेकपा एउटै रहेको र त्यसको संसदीय दलको नेता ओली नै रहेको भन्दै कांग्रेसले नेकपाको आधिकारिकता नटुंगिदासम्म सहकार्यका विषयमा निर्णयमा नपुग्ने निर्णय गरेको छ ।

“पहिले त नेकपाका दुई समूहबीचको आधिकारिकता टुंगो लाग्नुपर्‍यो, त्यसपछि कांग्रेसले आफ्नो निर्णय गर्छ,” कांग्रेस नेता अर्जुननरसिंह केसीले पदाधिकारी बैठकको निर्णय सुनाउँदै भने, “उहाँहरु विवाद र विभाजनमा जानुभएको हो भने कांग्रेसले त्यही ढंगले निर्णय गर्छ । उहाँहरु आफैँ मिलेर सरकार बनाउनुहुन्छ भने कांग्रेस प्रतिपक्षमा बस्छ ।” उनले कांग्रेस सत्तामा जान हतारिनेभन्दा संसद्मा परिपक्व अवस्था निर्माण हुन दिने पक्षमा लागेको बताए ।

कांग्रेस सभापति देउवाले त एउटा लोकतान्त्रिक पार्टीले अर्को पार्टी फुटोस् भन्ने नचाहने भन्दै उनीहरु फुटमा जाने हो वा मिल्ने टुंगो गरेपछि मात्र कांग्रेस कहाँ उभिने भनेर निर्णय गर्ने बताएका छन् । “उहाँहरुको पार्टी फुटोस् भन्ने हाम्रो चाहना होइन । तर, उहाँहरु फुटमा गएको हो कि गुटको विवाद मात्र हो भन्ने टुंगो उहाँहरुले लगाउनुपर्‍यो,’’ देउवाले भनेका छन्, “त्यसपछि कांग्रेस सत्ता गठबन्धनमा कहाँ उभिने भनेर निर्णय गर्छ ।”

कांग्रेसले औपचारिक रूपमा अहिले निर्णय नगर्ने भने पनि सभापति देउवाको दुवै पक्षसँग कुराकानी भइरहेको छ । देउवा सरकारको नेतृत्व नै गर्ने पक्ष परिपक्व अवस्थाको खोजी गरिरहेका छन् भने कांग्रेसको संस्थापनइतर भने कांग्रेस अझै सरकारमा जान नहुने तर्क गरिरहेको छ । यस्तोमा कांग्रेसले ओली वा प्रचण्ड–नेपाल समूह कसलाई साथ दिन्छ भन्ने चर्चा पनि भइरहेको छ । कांग्रेले नेकपाको आधिकारिकता टुंगो नलाग्दासम्म कसैलाई पनि समर्थन नगर्ने भनेर बिहीबारको बैठकबाट निर्णय गरे पनि त्यही बैठकबाट निस्किएपछि वरिष्ठ नेता पौडेलले भने संसदीय प्रक्रिया सुरु हुँदासम्म कांग्रेस निर्णयमा पुग्ने बताएका छन् ।

“अहिले संसदीय प्रक्रिया सुरु भएको छैन । संसदीय प्रक्रिया सुरु नहुँदासम्म कांग्रेसको कुनै भूमिका पनि छैन,” पौडेलले भने, “अहिले नै कुनै निर्णयमा पुग्न हतारो हुन्छ । उहाँहरुले राखेका प्रस्तावलाई पनि हामीले प्रस्ताव मानेका छैनौँ । संसदीय प्रक्रिया सुरु भएपछि हामी आवश्यक निर्णय गर्छौँ ।” पौडेलेको भनाइबाट नै पुष्टि हुन्छ, कांग्रेस नेकपाको आधिकारिकताभन्दा संसदीय प्रक्रिया कुरिरहेको छ । संसदीय प्रक्रियामा नेकपाका समूह अहिले देखिएका विवाद लिएर गए भने कांग्रेसले एउटा समूहलाई समर्थन गर्छ भन्ने देखाउँछ ।

प्राध्यापक पुरुषोत्तम दाहाल कांग्रेस नेकपा फुटेपछि पनि दुईवटै समूहभन्दा सानो पार्टी बन्ने भन्दै सत्ता गठबन्धनमा सहभागी हुँदा ०५१ सालको मध्यावधिपछिको राप्रपाको भूमिकामा आउने बताउँछन् । त्यस्तो अवस्थामा कांग्रेसको भूमिका दुई नेकपाबीचको ‘नटबोल्ड’को जस्तो मात्र हुने भन्दै त्योभन्दा फरक अवस्थाका लागि फरक शैलीमा निर्णय गर्नसक्ने उनी बताउँछन् ।

“कांग्रेस दुई नेकपाबीचको नटबोल्ट मात्र बन्ने कि राजनीतिको निर्णायक भूमिकामा आउने बाटो रोज्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ,” प्रा. दाहालले भने, “त्यस्तो अवस्थामा नेकपाकै दुई समूहबीच सरकार बनाउन दिने वा सरकार निर्माणमा तटस्थ बसेर अल्पमतको सरकारलाई छ महिनाभित्र चुनाव गराउन दिने भन्ने निर्णय कांग्रेसले गर्न सक्छ ।” उनले नेकपाका जोसुकैसँग मिल्दा जोखिम रहेको भन्दै त्यसको निर्णय भने नेतृत्व वर्गको हातमा रहेको बताए ।

“कांग्रेस उम्लिएको पानीमा हात हाल्छ कि ठिक्क तातो पानीमा हात हाल्छ, त्यो उसको रोजाइ हो,” प्रा. दाहालले भने, “ओली जनताका नजरमा प्रतिगामी भएकाले उनको समूहसँग हात मिलाउनु भनेको राजनीतिक रूपमा उम्लिरहेका पानीमा हात हाल्नुजस्तै हो । प्रचण्ड–नेपालसँग मिल्नु पनि कांग्रेसलाई राजनीतिक रूपमा जोखिमुक्त हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC