काठमाडौं । काठमाडौंको दक्षिणकालीमा चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यका लागि संयुक्त रुपमा भूमि पूजन कार्यक्रमको शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवम् स्थानीय समुदाय सदस्यहरुको उपस्थिति थियो ।
भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने यो ६६ औं विद्यालय भएको दूतावासले जनाएकाे छ ।
नेपालका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरुको पुनर्निर्माण गर्न भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।