site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
अब कांग्रेसको अग्निपरीक्षा
Sarbottam CementSarbottam Cement

प्रतिनिधि सभा विघटनको विषय संवैधानिक पनि थियो । यसैले सर्वोच्च अदालतले सच्याइदियो । संसद् पुनःस्थापनापछि उत्पन्न राजनीतिक र नैतिक प्रश्नमा भने राजनीतिक दलका नेताहरूले बाटो पहिल्याउनुपर्छ । र, सायद यो निकै कठिन हुनेछ ।

प्रतिनिधि सभा विघटन गर्ने सिफारिस र निर्णयका पक्षविपक्षमा सडकमा पुगेको नेकपा औपचारिकरूपमा भने विभाजित भइसकेको छैन । यसैले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रका प्रतिस्पर्धी खेमाका नेताहरूको ध्यान अहिले पार्टीको आधिकारिकतामा कब्जा जमाउनमा केन्द्रित हुनु स्वाभाविकै हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेस भने प्रतिनिधि सभा भंग गरिएदेखि नै असमञ्जसमा परेको देखिएको छ । सभापति शेरबहादुर देउवा त प्रतिनिधि सभा विघटनविरुद्ध मुखर हुनै चाहेनन् । यद्यपि, कांग्रेसका अधिकांश प्रमुख नेता प्रतिनिधि सभा विघटन असंवैधानिक हो र अदालतबाट पुनःस्थापना भएमात्र संविधान जोगिन्छ भन्नेमा स्पष्ट देखिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंवैधानिक ठहर भएपछि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सके आफूले सत्ता नछाड्ने नभए नेकपाको अर्को खेमालाई सत्तामा पुग्न नदिने प्रयास पक्कै गर्नेछन् । यस्तै, ओली विरोधी समूह पनि सत्तामा पुग्न पक्कै चाहन्छ । नेकपाको दुवै खेमामा देखिएको कटुता हेर्दा अर्को समूहलाई रोक्न दुवै खेमाका नेताले हरसम्भव प्रयत्न गर्ने अनुमान सहजै लगाउन सकिन्छ ।

नेकपाका नेताहरूको किचलोबाट नेपाली कांग्रेसलाई हुने क्षणिकमात्र होइन प्रत्युत्पादक पनि हुनसक्छ । सभापति देउवा नै यसका भुक्तभोगी हुन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर सत्तामा जाँदा नेपाली कांग्रेसले चुनावमा पराजयका साथै सैद्धान्तिक विचलनको आरोप पनि भोगेको  छ । 

Global Ime bank

कम्युनिस्टहरूसँग आन्दोलनमा संयुक्त मोर्चा बनाउन सभापति देउवा तयार भएनन् । सिद्धान्ततः उनको अडान गलत पनि थिएन । तिनै कम्युनिस्टसँग सत्ता साझेदारी गर्ने हो भने देउवाको अडान अवसरवाद देखिन पुग्नेछ ।

यथास्थितिमा नेकपाका दुई खेमा मिलेर सरकार बनाउने सम्भावना कमै देखिन्छ । यद्यपि, ओली खेमाका केही सांसद दाहाल – नेपाल समूहमा गए भने जनता समाजवादी पार्टीसँग मिलेर बहुमतको सरकार बन्न सक्छ । ठूलै उथलपुथल नभए समग्रमा सरकार निर्माणमा कांग्रेसको भूमिका नै निर्णायक हुने देखिन्छ । 

कांग्रेसले आफ्नो निर्णायक महत्त्वलाई सत्तासँग साट्ने हो कि संविधान, लोकतन्त्र तथा राष्ट्रियताका पक्षमा उपयोग गर्ने हो ? नेपालमा लोकतन्त्र सुदृढ होस् भन्ने चाहना राख्ने नेपालीमात्र हैन अन्तर्राष्ट्रिय समुदायले पनि अहिले कांग्रेसलाई नियालिरहेको देखिन्छ । यसैले कांग्रेस अबका घटनामा निस्पृह रहन सक्तैन । साथै, कांग्रेसका कारण देशमा अस्थिरता र अराजकता बढ्ने अवस्था देखिन पनि हुँदैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बहुमत पाउँदा राज्यका सम्पूर्ण निकाय र अंग कब्जा गर्ने प्रयास गरेको देखियो । लोकतन्त्रमा विश्वास गर्ने कुनै व्यक्ति वा दलका लागि त्यस्तो प्रयास स्वीकार्य हुनसक्तैन । अहिले सभापति देउवाले सत्ताका लागि लोकतन्त्रका मूल्य मान्यता र संविधानको सर्वोच्चतामा सम्झौता गर्ने आशंका धेरैले गरेको देखिएको छ ।

अस्थिरताको कारक नबने तर सत्ताको लोभमा लोकतन्त्रका मूल्य मान्यता तथा संविधानको मर्यादामा सम्झौता पनि नगर्ने भूमिका नेपाली कांग्रेसले खेल्नुपर्नेछ । सत्तामा जाने मौका छाड्न पक्कै पनि सजिलो हुनेछैन । त्यसमाथि सभापति देउवाको विगतले उनले सत्तामा जान जस्तोसुकै सम्झौता पनि गर्ने गरेको देखाउँछ । उनलाई रोक्न सक्ने अरू नेता देखिएका पनि छैनन् । यही अग्निपरीक्षा अब कांग्रेसले पार गर्नुपर्नेछ ।

सिंगो संगठन अब महाधिवेशनमा होमिनु सम्भवतः नेपाली कांग्रेसका लागि लाभदायक हुनेछ । अर्को वर्ष स्थानीय तहको निर्वाचन पनि हुन्छ । त्यसभन्दा पहिले महाधिवेशन सकेर कांग्रेसले पार्टीको वैधानिकता पनि जोगाउनुपर्छ । नेपालमा अहिलेसम्म कम्युनिस्टको नेतृत्वमा संसदीय निर्वाचन भएको पनि छैन । 

महाधिवेशन सकेर एकजुट र सशक्त नेपाली कांग्रेसले आवश्यक भए निर्वाचन गराउने सरकारको नेतृत्व लिनुपर्ने पनि हुनसक्छ । यसैले कांग्रेस सत्ताका लागि सम्झौता गर्नेतिर हैन सैद्धान्तिक प्रतिबद्धताको बाटोमा अग्रसर भएमात्र लोकतन्त्र र राष्ट्रियता सबल हुनेछ । इतिहास साक्षी छ, लोकतन्त्र बलियो हुँदा सबैभन्दा धेरै लाभ नेपाली कांग्रेसलाई नै भएको छ ।   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC