site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
झेल, जेल र कर्मको खेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
मंगलबार थापाथलीस्थित बाह्रखरीको कार्यालयमा आइपुग्दा असिनपसिन थिए उनी । घडीले अपरान्हको साढे ४ बजाइरहेको थियो । उनी भन्दैथिए, “५ बजे रेकर्डिङका लागि गुञ्जन रेकर्डिङ स्टुडियो पुग्नु छ ।”
“त्यसो भए तपाईंलाई ढिलो हुने भयो,” मैले भनेँ ।
“हुँदैन, १५–२० मिनेट ढिलो भए पनि पुग्नुपर्छ,” प्रत्युत्तरमा उनले भने ।
त्यसपछि उनले फरर आफ्नो कथा सुनाए ।
उनी– यानेकि चल्तीका गजल गायक राज सिग्देल ।
 
० ० ०
सानैदेखि संगीतमा झुकाव राख्थेँ म । जन्मजात नै ममा संगीत मन पराउने र अभ्यास गर्ने गुण आएको थियो सायद । त्यसैलाई मैले पछ्याउँदै गएँ । त्यो समय रेडियो नेपालमा गीत बज्थे । एफएम नआइसकेकाले संगीतको सबैभन्दा भरपर्दो स्रोत रेडियो नेपाल नै थियो । म पनि रेडियोमै रमाएँ । त्यसबाहेक स्कुल र गाउँमा हुने स्टेज कार्यक्रममा ठूला–ठूला माइक र साउन्ड बक्सहरूमा गीत बज्थे । माहोल नै फरक हुन्थ्यो । सधैं त्यसैगरी गीत बजे हुन्थ्यो जस्तो लाग्थ्यो । तर, त्यस्तो कहाँ हुन्थ्यो र !
स्कुलमा कार्यक्रमहरू हुन्थे । त्यसमा म सधैं भाग लिन्थेँ र गीत गाउँथें । प्रतिक्रिया राम्रो आउँथ्यो । ‘तेरो स्वर राम्रो छ’ भन्थे सबैले, म पुलकित हुन्थेँ । ओहो ! म पनि गाउन सक्छु भन्ने लाग्थ्यो ।     
 
अतिथिको निम्तो 
म कक्षा ९ मा पढ्दै थिएँ । हिमालय युवा क्लबले सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो । मैले त्यहाँ आफ्नो कला देखाउने अवसर पाएँ । त्यहाँ गीत गाएँ तर कुन गीत गाएँ भन्ने अहिले याद छैन । नारायण गोपालको गीत नै गाएको थिएँ । त्यो कार्यक्रम मेरा लागि वरदान बन्यो । मेरो गलाको सबैले मुक्तकण्ठले प्रशंसा गरे । मलाई पनि मेरो स्वर राम्रै रहेछ भन्ने लाग्यो, गाउन सक्ने रहेछु भन्ने आत्मविश्वास पलाएर आयो । 
त्यसपछि म गाउँको सानोतिनो हिरो नै भएँ । मेरो गाउँबाट धेरै टाढाका स्कुल तथा क्लबमा कार्यक्रम हुँदा मलाई निम्तो आउन थाल्यो । ‘अतिथि बनेर कार्यक्रमको शोभा बढाइदिनुप¥यो’ भनेर बन्द खाममा चिठ्ठी आउँदा निकै आनन्द आउँथ्यो । ठूलै मान्छे पो भएछु जस्तो पनि लाग्थ्यो । कलिलो उमेरमा चौतर्फी प्रशंसाले होला, मन फुरुंग हुन्थ्यो । स्वाभाविक पनि थियो, त्यो बालसुलभ गुण पनि हो ।  
 
गह्रौं गीत
हुन त हाम्रोतिर लोकदोहोरी धेरै सुनिन्छ । लोकदोहोरीका स्रष्टा तथा सर्जक पनि धेरै हुनुहुन्छ । तर, मलाई भने आधुनिक गजल नै बढी मन प¥यो । आधुनिक र गजल के हो भनेर बुझेर होइन, नबुझ्दै मलाई त्यसले छोयो र म त्यतैतर्फ आकर्षित भएँ । 
मलाई गह्रुँगा गीतहरू मन पर्थे । आधुनिक र गजलमा मेरो रुचि थियो । किशोर कुमार, जगजित सिंहका गजल मलाई मन पर्थे । नारायणगोपाल, गोपाल योञ्जन र भक्तराजका आधुनिक गीतहरू मन पर्थे, जुन आज पनि कायमै छ । मेरो अवचेतन मनले मन पराएका गायक हो उहाँहरू । अझ भनौं, उहाँहरूको गायकी मलाई मन पर्दोरहेछ ।
 
बाँसुरीको लत 
थाहै नपाई मलाई बाँसुरीको धून मन पर्न थाल्यो । मैले पनि त्यस्तै बजाउनुपर्छ भन्ने लाग्यो । म आफैं बाँसको झ्याङमा गएर सानो बाँस खोज्थेँ र त्यसको टुप्पो काटेर बडो मेहनतले बाँसुरी बनाउँथें । कति पटक त प्वाल बनाउँदा बाँस फुट्थ्यो, तर पनि म हिम्मत हार्दिनथेँ, बनाएरै छाड्थेँ ।
 
त्यो बाँसुरीबाट सुमधुर धुन निस्किन्थ्यो कि कर्कश आवाज ?
बजाउन जान्दिनथेँ । सिकाइदिने पनि कोही थिएन । बेसुरमा बजाउँथेँ, कर्कश आवाज नै निस्किन्थ्यो । तर, पनि म त्यस्तै पनि बजाइरहन्थेँ । दिदीको घर भिमादमा थियो । त्यहाँ पुग्न घरबाट ४ घण्टा लाग्थ्यो । दिदीको घरमा जाँदा पनि बाँसुरी बजाउँदै जान्थेँ । बिस्तारै केही सुमधुर धून पनि निस्किन थालिसकेको थियो ।
 
यात्रा काठमाडौंको
०५७ सालमा एसएलसी दिएँ । त्यसपछि पढ्न भनेर काठमाडौं आएँ । काठमाडौंमा दाइ शालिकराम सिग्देल हुनुहुन्थ्यो, म उहाँसँगै बस्न थालेँ । काठमाडौं आउँदा पनि मेरो संगीतमोह भने हराएको थिएन । बरु उमेरसँगै बढ्दै थियो ।
दाइ संगीतको पारखी हुनुहुन्थ्यो । उहाँलाई मेरो संगीतप्रतिको झुकाव अवगत थियो । त्यसैले उहाँले मलाई नजरअन्दाज गर्नुभएन । संगीतका प्रशिक्षक चण्डीप्रसाद काफ्ले उहाँको साथी हुनुहुँदो रहेछ । संयोगवश उहाँ पनि हामी बसेकै ठाउँ गौशालामा बस्नुहुँदो रहेछ । दाइले मलाई उहाँसँग चिनाइदिनु भयो । उहाँसँग मेरो नियमित भेटघाट हुन थाल्यो र सिक्न पनि थालेँ । कुनै नयाँ धून कम्पोज भयो भने म उहाँलाई सुनाइहाल्थेँ । पछि उहाँसँगै नियमित सिक्न थालेँ ।
मलाई हरेक दुःखमा साथ दिने र मेरा प्रत्येक पाइलामा साथ दिने दाइले मलाई एकदिन वीरगन्जबाट आउँदा बर्थडे गिफ्ट हार्मोनियम ल्याइदिनुभयो । त्यो दिन दाइसँग म नतमस्तक भएको थिएँ । मलाई त्यो दिन संसार पाएजस्तो लागेको थियो ।
त्यसपछि मलाई मेरो स्वर संगीतमा मिसाउन झनै सजिलो भयो । त्यसमा नियमित अभ्यास गर्न थालेँ ।
 
यात्रा फ्रान्सको, साथ बाँसुरीको
पढाइ बीचमै छोडेर म फ्रान्स जाने भएँ, पैसा कमाउन । विदेश सयर गर्ने रहर पनि थियो । अवसर पनि विभिन्न तरिकाले जुट्यो । भारत हुँदै फ्रान्स जाँदै थिएँ । बाँसुरी त मेरो नशा थियो । भारतमा ४ हजार आईसीको बाँसुरी किनेँ । ४ वटा बाँसुरीको मुठो झोलामा हालेर फ्रान्स पसें म । ट्रान्जिटमा बसेर मज्जाले बाँसुरी बजाउँथेँ । फ्रान्समा हुँदा पनि दिनहुँ बाँसुरी बजाउँथेँ । पछिसम्म पनि ती बाँसुरी मसँगै थिए । 
जिन्दगी सधैँ सरल रेखामा नहिँड्दो रहेछ । कैयौं वक्ररेखाको यात्रा पनि गर्नुपर्दो रहेछ । म पनि अपवाद थिइनँ । वक्ररेखाले मलाई पनि पछ्याए । तिनको चंगुलमा फसेँ र सामना पनि गरेँ । फ्रान्स मैले सोचेजस्तो सजिलो रहेनछ । मानव तस्करहरूको जालोमा फसेको थिएँ म । विदेशको यात्रा त्यति सहज कहाँ हुन्छ र ! साउथ अफ्रिकाको माडागास्कर जेलमा ३ महिना बसेँ । त्यहाँबाट निस्किएर नेपाल आइपुग्न अर्को ३ महिना लाग्यो । जिन्दगीका अति असहज दिनमध्येका ती दिन पनि हुन्, जुन म कहिल्यै बिर्सिन्नँ ।
 
तानपुरा मोह
मध्यरातसम्म तानपुरासँगै खेलिरहने म बिहानैसम्म हातमा तानपुरा बोकेरै निदाएको छु कैयौं दिन । राति अबेरसम्म बसेर संगीतको अभ्यास गर्ने म बिहान ३–४ बजे उठेर फेरि उही तानपुरा र हार्मोनियममै हराउँथेँ । दिनरात यसरी गर्ने अभ्यासले मेरो जिउ सुकेर मुरली भएको थियो । मेरो त्यस्तो अवस्था देखेर हरेक दुःखमा साथ दिने दाइले ‘छोड्दे संगीत । पर्दैन सिक्न, छैन गायक बन्नु’ भन्नुहुन्थ्यो । तर, दाइका हरेक सुझाव शिरोपर गर्ने मैले त्यो आदेश भने मान्न सकिनँ । उहाँलाई चिन्ता थियो, भाइ संगीत सिक्दासिक्दै नढलोस् ।
हुन पनि हो । म पनि त्यस्तै थिएँ । संगीत मेरो नशा बनिसकेको थियो । म हरपल तानपुरा र बाँसुरीसँगै हुन्थेँ । मेरा साथी भन्नु नै यिनै थिए । जिउ सुकिरहेको थियो, मलाई त्यसको कुनै परवाह थिएन । मलाई केवल संगीत सिक्नु थियो । 
 
एकान्त खोज्दै पशुपति
फ्रान्सबाट फर्किएपछि म लगभग डिप्रेसनको अवस्थामा पुगेको थिएँ । दाइले विभिन्न स्रोतबाट जुटाएको ७ लाख डुबेको थियो । मानव तस्करहरूले डुबाए पनि मलाई भने मैले नै यो ऋण बोकाएजस्तो लागिरहन्थ्यो । यही पिरलोले मलाई बेहोसी बनाएको थियो ।
गौशालामा कोठा थियो । पशुपति नजिकै भएकाले त्यतै टहलिने बानी प¥यो । साथीहरू पनि त्यस्तै भेटिए । पशुपति जानु र घण्टौं बस्नु मेरा लागि अर्को लत बन्यो । मलाई एकान्त मन पर्न थालेको थियो । मन भावुक हुन्थ्यो, रुन्थ्यो र भक्कानिन्थ्यो । अब के गर्ने भनेर उपाय खोज्थ्यो । कतै पनि बाटो देखिएको थिएन । जताततै तगारामात्र दृश्यमा आउँथे । अनि म फेरि उसैगरी हातको बाँसुरी बजाउँथेँ र मनको बह पोख्थेँ । 
 
‘नतिजा आफूतिर पारेर गई’ 
गुरुसँग संगीत सिकिरहेकै थिएँ । त्यहीँ एकजना गंगा बहिनी पनि संगीत सिक्न आउनुहुन्थ्यो । म एल्बम निकाल्न राम्रो गीतको खोजीमा थिएँ । यसबारे संगीत कक्षामा कुरा चल्दा गंगा बहिनीले ‘मेरो मामा राम्रो गीत र गजल लेख्नुहुन्छ, उहाँसँग पनि लिन सक्नुहुन्छ’ भन्नुभयो । त्यसपछि मैले गंगाका मामा पुरुषोत्तम ढुंगेललाई भेटेँ । उहाँको डायरीमा निकै राम्रा गजलहरू रहेछन् । ‘ऊ जितेर गई या हारेर गई, नतिजा आफैँतिर पारेर गई’ धेरै मन प¥यो । 
योसहित पाँच वटा गीत संग्रह गरेर ‘गुरु’ एल्बम निकालेँ ०६८ सालमा । मैले त्यो एल्बम गुरुदक्षिणास्वरूप आफ्ना गुरु चण्डीप्रसाद काफ्लेलाई समर्पण गरेर निकालेको हुँ । १० वर्ष संगीत सिकेर निकालेको एल्बम हो ‘गुरु’ । ०६८ मै एल्बम बजारमा आए पनि यो गीत ०७० मा मात्रै हिट भयो । यो गीत हिट भएपछि बल्ल मलाई स्रोताले नोटिस गर्न थाल्नुभयो ।
गजल र आधुनिक गीत भनेका सागर रहेछन्, आफ्नै गतिमा मन्दमन्द बग्ने । चलचित्र र लोकदोहोरी गीतचाहिँ साउनको उर्लिंदो भेलजस्तो ।
मैले सोचेजस्तो पनि रहेनछ, नेपाली र संगीत उद्योग । गीत निकालेर मात्रै पनि नहुने रहेछ, त्यसको आक्रामक मार्केटिङ पनि गर्नुपर्ने रहेछ । सोच्थेँ, राम्रो सिर्जना भयो भने सञ्चारमाध्यम र स्रोता खोजीखोजी आउँछन् । तर, म भ्रममा बाँचिरहेको रहेछु ।
गीत निकालेपछि मेरो गीत भन्दै रेडियोमा जानुपर्ने रहेछ । मलाई कान्तिपुर एफएमको हेम दाइले बोलाएर कार्यक्रमको गेस्ट बन्न भन्नुभयो । मैले भनेँ, “म अहिलेसम्म नोटिस भइसकेको छैन । स्रोतालाई के भन्नू ? मसँग धेरै हिट नम्बर छैनन् ।”
उहाँले मलाई नाम टिपाएर क्युमा बसेका गायक÷गायिकाको लामो फाइल पल्टाएर देखाउनुभयो । म त छक्कै परेँ ।
 
मै हुँ भन्ने भ्रम छ
मैले यहाँ चर्को अस्वस्थ प्रतिस्पर्धा देखेँ । आफूभन्दा पछिल्लो पुस्तालाई ताते गराएर हिँड्ने हातहरू धारे हात लगाएर सराप्न प्रयोग हुँदा रहेछन् । अप्ठ्यारोमा समाइदिने हात पछि बसेर खुट्टा तान्न प्रयोग हुँदा रहेछन् । आफूलाई नेपाली संगीतको बाघ हुँ भनेर छाती फुलाउँदै हिँड्नेहरू अरुलाई सानोतिनो चरो सम्झने र त्यसलाई ठुँगीठुँगी मार्नुपर्छ भन्ने सोच लिएर पो हिँड्दा रहेछन् ! हामी जबसम्म यो भ्रम पालेर बस्छौँ, तबसम्म न हामी माथि उठ्न सक्छौँ, न हाम्रो संगीतले नै फड्को मार्न सक्छ ।
हाम्रो आफ्नै संगीत छैन । हामी भारतीय संगीत सिकिरहेका छौं र त्यसैलाई आफ्नो भनिरहेका छौं । हाम्रो आफ्नो संगीत त छ– त्यो हो लोकगीत । तर, अहिले यो सबैबाट उपेक्षित भएको छ । न राज्यले यसलाई हेरेको छ, न सर्जक तथा स्रष्टाले नै यसलाई आफूमा समाहित गर्न सकेका छन् । अहिले लोकगीत मेरो हो र यसका लागि म समर्पित छु भन्ने मान्छे मेरो नजरमा कोही छैन । लोकगीत हराउने अवस्थामा पुगिसकेको छ । 
गीतका आ–आफ्नै विधा हुन्छन् । लोक, आधुनिक, गजल, दोहोरी आदि । त्यसमा मेरो गलाले गजलका लागि अलि बढी ‘इन्टरटेन’ गर्छ । लोकगीत म चाहेर पनि गाउन सक्दिनँ ।
कलाकारिता बुझ्ने हृदय भएको नेता हामीकहाँ छैनन् । कलाकारिता बुझ्ने नेता नभएसम्म कला क्षेत्रको विकास हुँदैन । राज्यले कलाकारिताको संरक्षण र संवद्र्धनका लागि एउटा टिम खडा गर्नुपर्छ, जसले आफूलाई कला साहित्यको श्रीवृद्धिमा समर्पित भएर काम गरोस् ।
 
एल्बम
अहिलेसम्म २ सय गीत गाइसकें । ०७२ मा मात्रै ६० वटा गीत गाएँ । अहिलेसम्म ‘गुरु’बाहेक अरु एल्बम निस्किएका छैनन् । अरुकै गीत गाउन भ्याइनभ्याइ छ । तर, यसै वर्ष मेरो स्वरमा तीन वटा एकल एल्बम ‘तस्बिर’, ‘उपस्थिति’ र ‘शराव’ सार्वजनिक हुँदैछन् । हरि बास्ताकोटीको एलक शब्दमा ‘तस्बिर’, प्रकटकुरमार शिशिरको एकल शब्दमा ‘उपस्थिति’ र ज्ञानदेव हटुवालको एकल शब्दमा ‘शराव’मा काम भइरहेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २९, २०७३  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC