बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चित्रकला अस्थिरताको चक्र...
Godraj nepal
Godraj nepal
वर्षा महर्जन
बाह्रखरी - वर्षा महर्जन सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । बहुटाउको र हजारौं हातमा फरक अस्त्र बोकेको आधा शरीर देखिएको भगवान् शिवको मुख्य दायाँ हातले भाँडो बोकेका छन् भने बायाँ हातको हत्केला छुटिएको छ । त्यसको अघिल्लातिर उतानो परेर लडिरहेकी पार्वती देख्न सकिन्छ । भुइँमा तिरबितर भएका त्यही भग्नावशेष मूर्तिका अंगहरू छन् ।

यो विश्‍वरुपा मूर्तिको संरचना भएको आर्टले पशुपतिस्थित विश्वरुपा मन्दिरभित्रको हालको मूर्तिको अवस्था चित्रण गरेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षतविक्षत भएका धेरै धार्मिक सम्पदामध्ये विश्वरुपा मन्दिर पनि एक हो । भूकम्पले भग्नावशेष भएका मठ-मन्दिरहरूको पुनर्निर्माणको कार्यले गति लिइरहेको छ । कति संरचना पुनर्निर्माण भइसकेका छन् भने कति हुँदै छन् । तर पुनर्निर्माण सुरु भएको तीन वर्ष भइसक्दा पनि यो ऐतिहासिक र विशेष महत्त्व राख्ने ६ फिट अग्लो मूर्तिको पुनर्निर्माण भने आजसम्म हुन सकेको छैन ।

Agani Group

यसैलाई कलाकार कविराज लामाले उडकट विधिमार्फत कलामा उतारेका छन् । यो कामबारे उनी भन्छन्, “यो क्राफ्टम्यानसिपले बनाएको नेपालको इतिहासकै मूल्यवान् मूर्ति हो । जंगबहादुर राणाले बनाउन लगाएको यस्तो महत्त्वपूर्ण मूर्ति बनाउन राजनीतिकलगायत कुराले रोकिएको देख्दा एकदमै दुःख लागेको छ ।”

लामाले उतारेको यो मूर्तिको स्वरुप यस्तो थिएन । भूकम्पअघि पार्वती र शिव मुखामुख गरेर अंकमाल गरिरहेको थियो । 

sarbottam cement

यो मन्दिरभित्र विशेष पूजाबाहेक प्रवेश गर्न दिइँदैन । यसको फोटोलगायत कुनै अभिलेख छैन । यसको संरक्षणमा रहेका प्रहरीहरूले भगनावशेष अवस्थामा रहेका केही तस्बिर सामाजिक सन्जालमा सेयर गरेको देखेर लामाले यसलाई प्रिन्टमा उतारेका हुन् । यसका लागि उनले पुरातात्त्विक विभागका केही व्यक्तिहरूसँग पनि बुझेर र उनीहरूसँग भएको भग्नावशेषपछिको फोटोहरू हेरेर बनाएका हुन् ।

“इन्टरनेटमा यसको तस्बिर पाइँदैन । सार्वजनिक रुपमा आर्टमा आएको यो पहिलोपटक हो । किनभने यसको अनुमति नै छैन । स्केच तयार गर्न दुई वर्ष लाग्यो । हजार हातमा हजार अस्त्र छ । तर फोटोमा त यो सम्भव छैन त्यसैले मैले यहाँ इफेक्ट मात्रै हालेको छु,” लामाले भने ।

कलाकार लामाले ०७२ को भूकम्पपछि भत्किएको मूर्ति मठ-मन्दिरहरूलाई जस्ताको त्यस्तै प्रिन्ट मेकिङमार्फत उतारेका छन् । यसका लागि उनी हरेक दिन ती ठाँउमा गएर विस्तृत अवलोकन गरेर आर्टमा उतारेका हुन् ।

भूकम्पपछि केही वर्ष स्थिति अस्थिर रह्यो । विस्तारै पुनर्निर्माणको कामले गति लिन थाल्यो । यो दुई चरणलाई नै उनले आफ्नो काममा उतारेका छन् । ती तितरबितर भएका मूर्ति र मठमन्दिरदेखि पुनर्निर्माण भइरहेका मन्दिरहरूलाई पनि आफ्नो काममा देखाएका छन् ।

पछिल्लो चार वर्षमा बनाएका कामलाई उनले ‘अस्थिरताको चक्र’ शीर्षकमा प्रदर्शनीमा राखेका छन् । कलाकार लामाले प्रिन्ट मेकिङका विधाहरू इचिङ, लिथोग्राफी र वुडकटको प्रयोग गरेर बनाएका २३ वटा कामलाई प्रदर्शनीमा राखेका छन् । 

यस्तै उनले निर्माणका पुरानो विधिलाई पनि कलामार्फत पछिका पिँढीका लागि जोगाइराख्न खोजेका छन् । साथै उनले निर्माण भइरहेको छ, विस्तारै सबै संरचना पहिलेजस्तै पूर्ण रुपमा तयार हुन्छ भन्दै सकारात्मक सन्देश पनि दिन खोजेका छन् । अहिले कुनै पनि संरचना निर्माण गर्दा बाँसका खटहरू बनाएर निर्माण गरिन्छ । विस्तारै त्यो फलामको पेज कस्न मिल्ने स्काइफोल्डिङले विस्थापित गर्दै छ । भने केही वर्षपछि प्रविधिमा अझै विकास भएर निर्माणको स्वरुप नै परिवर्तन हुनेमा कलाकार लामा विश्वस्त छन् । जसले गर्दा यी प्रक्रियाहरू अभिलेख राख्न जरुरी ठानेर उनले कलामा उतारेका हुन् ।


उनले यी मठ-मन्दिरहरू तथा ढुंगेधारालाई पनि प्रिन्टमा उतारेका छन् । पहिलो धारामा पानी बगिरहेको छ, दोस्रोमा पानीबिनाको धाराको संरचना मात्रै छ भने तेस्रोमा ढुंगेधाराको बीचमा पाइप देख्न सकिन्छ ।

यी तीनवटा धाराले काठमाडौं उपत्यकामा मल्लकालमै बनेका ढुंगेधाराको वर्तमान अवस्थालाई चित्रण गर्न खोजिएको छ । “युरोपमा पानी कसरी वितरण गर्ने भन्ने थाहा नै नहुँदा हाम्रोमा राज कुलो बनाएर ठाउँठाउँ ढुंगेधारा बनाएर पानी वितरण गरिएको थियो । तर आज ती कति धारा सुकेका छन् । एकाधमा पानी आइरहेको छ भने कतिमा फलामको पाइप हालेर पानी ल्याएको छ ।”

उनले सुकेका ढुंगेधाराको आर्टको बाहिर पानीका थोपाथोपा राखेर पानीको महत्त्व र योबिना ढुंगेधाराको अस्तित्वलाई प्रस्तुत गर्न खोजेका छन् । पानीको मानवजीवनमा महत्त्वलाई उनले व्यांग्यात्मक र साथै सिम्बोलिकल रुपमा चित्रण गर्न खोजेका छन् ।

उनले यो प्राकृतिक प्रकोपले गर्दा विश्वसम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदाहरूमा पारेको सानोसानो क्षतिलाई पनि कलामा उतारेका छन् ।

वसन्तपुरको गद्दी बैठकको ठीकविपरीत लक्ष्मीनारायणको मन्दिरमा भएको ४ फिट अग्लो एउटै ढुंगामा बनाएको मूर्तिलाई पनि कलाकार लामाले प्रिन्ट मेकिङमा उतारेका छन् । भूकम्प गएको तीन वर्षसम्म पनि बेवारिस अवस्थामा रहेको यस मूर्तिको महत्त्वलाई बुझेर उनले प्रिन्टमा उतारेका हुन् । उनलाई यो कालो ढुंगामा खोपेर बनाएको मूर्तिले सधैं ध्यान तान्ने गर्दथ्यो । यसलाई कागजातमा अभिलेख गरेर राख्न पाए हुन्थ्यो भन्ने उनलाई सधैं लाग्थ्यो । 

तर भूकम्पपछि यसको पुनर्निर्माणमा गरिएको लापरबाहीले उनलाई यसलाई अभिलेखमा राख्न घच्घचाएको हो । 

०००

यी प्रिन्ट मेकिङबाट उतारेका संरचनाहरूमार्फत कलाकार लामाले २०७२ को भूकम्पलाई जनाउन खोजेका छन् । यी तस्बिरहरु हेर्नेबित्तिकै हरेकले त्यो समयलाई सम्झिनेछन् ।

जस्तै ९० सालको भूकम्पभन्दा हामीले अहिले नेगेटिभ फोटोमा हेर्न सक्छौं । त्यसैगरी ०७२ सालको भूकम्पभन्दा उनका यी प्रिन्ट मेकिङले दर्साउँछ ।
 
मल्लकालीन, राणाकालीन समयमा निर्माण भएका यी संरचनाहरूका कालीगढहरू अहिले यो संसारमा छैनन् । प्राय: हामीलाई कुन संरचना कसले निर्माण गरेको थियो भन्ने पनि थाहा छैन, कारण अभिलेख नहुनु । जसले गर्दा ती मठमन्दिर आज त्यही स्वरुपमा निर्माण हुन्छ भन्नेमा लामा शंका गर्छन् । “हरेक युगमा देवीदेवता र मन्दिरको स्वरुप परिवर्तन हुँदै जान्छ । थोरै मात्रै बिग्रेका कति मन्दिर र मूर्तिहरूमा सिमेन्ट प्रयोग गरेर टालटुल गरिएको छ । यसले गर्दा ती संरचनाको मौलिकता हराएको छ ।”

लामाका अनुसार प्रिन्ट मेकिङको इचिङ विधिमा काम गर्ने कलाकारहरू उडकट र लिथोमा काम गर्ने कलाकारभन्दा तुलनात्मक रुपमा बढी छन् । कारण त्यसमा प्रयोग हुने सामान नेपालमा सहजै उपलब्ध नहुनु प्रमुख रहेको उनीबताउँछन् । उनका अनुसार जर्मनीबाट सुरु भएको लिथोग्राफी विधिमा प्रयोग हुने विशेष खालको ढुंगा जर्मनीबाट मात्रै आउँछ ।

यी तीनवटै विधामा काम गर्न कलाकारले सर्वप्रथम पेपरमा स्केच तयार गर्छन् । त्यही स्केचलाई धातुको प्लेट, काठ र ढुंगामा राखेर आकार दिइन्छ र पछि नाइट्रो एसिड हालेर त्यसको स्वरुपलाई ती धातुमा छापिन्छ ।

डिजिटिल प्रिन्ट आएपछि प्रिन्ट मेकिङको महत्त्व अझै बढेको कलाकार लामाको बुझाइ छ । “डिजिटल प्रिन्टको विधिले यसको महत्त्व झनै बढेको छ । बाहिरी मुलुकले प्रिन्ट मेकिङका पुराना ठूला-ठूला म्यानुअल मेसिनहरू अहिले जोगाउन थालेका छन्,” उनी भन्छन् । 

डिजिटल प्रविधि आउनुअघि यसैको प्रयोग हुने भएकाले नयाँ पिँढीलाई अहिले हामीले यसबाट कसरी काम हुन्छ भनेर थाहा दिनुपर्ने उनको सुझाव छ । १९ फेब्रुअरीदेखि बबरमहल रिभिजिटमा रहेको सिद्धार्थ आर्ट ग्यालरी सुरु भएको उनको एकल कला प्रदर्शनी मार्च १९ सम्म चल्नेछ । कोरोना संक्रमणको जोखिमले कला प्रदर्शन हुने अवस्था न्यून छ । कलाकारहरुले आफूले जोखिम मोलेरै प्रदर्शनी गरिरहेको उनी बताउँछन् । “मैले जोखिम मोलेकै हो । हामीलाई अवलोकनकर्ता आउनुहुन्छ कि आउनुहुँदैन भन्ने चिन्ता थियो । तर पहिलो दिनमै दुई सयभन्दा धेरै अवलोकनकर्ता आएको देखेर हामी खुसी छौं,” उनले सुनाए, "हामीले अवलोकनकर्ता सबैलाई अनिवार्य मास्क लगाउनुपर्ने पनि भनेका छौं ।" 

प्रदर्शनीमा उनले भूकम्पपछि सन् २०१८ मा बेस क्याम्पमा केही दिनको प्रिन्ट मेकिङको कार्यशालामा कोरेका हिमालका तस्बिर बनाएर भूकम्पमा निधन भएकाहरूप्रति समर्पित गरेका छन् । जापानबाट प्रिन्ट मेकिङ पढेर सन् २०११ मा नेपाल आएका लामा अहिले आफ्नै स्टुडियो खोलेर प्रिन्ट मेकिङ आर्टलाई निरन्तरता दिइरहेका छन् ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्